ब्लगमंगलबार, साउन ३०, २०६९
फोटो ब्लग: रहस्यमय महाविहार

बल्ल आयो पालोः साउन महीनामा पालो पाएका अशोक बज्राचार्य उनकी बहिनीहरु शर्मिला, हीराशोभा, छोरी विशाखा र नातेदार धन बज्राचार्य ।

मूल पुजारीः साउन महीनाका वाफाचा अर्थात् मूल पुजारी आठ वर्षीय समन्त बज्राचार्य हरेक दिन बिहान र बेलुकी घण्ट बजाउँदै टोल परिक्रमा गर्छन् ।

सुनका अक्षरः सुनले लेखिएको ३०० पृष्ठको पुस्तक पढेर प्रज्ञा पारमिता पूजा गरिन्छ । श्लोक पढ्दै ८५ वर्षीय आशरत्न बज्राचार्य (माथि दायाँ) ।
किराँती राजा भाष्करदेव वर्णले निर्माण गराएको ललितपुर पाटनको क्वाबहालस्थित हिरण्यवर्ण महाविहारलाई विदेशी पर्यटकहरू ‘गोल्डेन टेम्पल’ भन्छन् । लोन्ली प्लानेट जस्ता यात्रा पुस्तकमा यसै भनेर लेखिएको विहारबारे बेलायत र जापानका विश्वविद्यालयबाट एक विदेशीसहित तीन जनाले विद्यावारिधी गरेका छन् । अनेक किम्वदन्ती र अनौठा परम्पराले रहस्यमय यो विश्व प्रसिद्ध सम्पदाबारे धेरै नेपालीहरू भने अनभिज्ञ छन् ।

नित्य पूजाः वाफाचा अर्थात् मूल पुजारी आठ वर्षीय समन्त र उनका सहायक २० वर्षका अश्विन साँझको नित्य पूजा गर्दै ।
पाटन क्वाबहालको हखा, नागबहाल, इलाननी र न्ह्योखाका शाक्य तथा बज्राचार्य परिवारका आठ वर्षीय बालक पुजारी हुने विहारको दैनिक कार्यसंचालन तथा पूजापाठको आफ्नै किसिमको परम्परा छ । विहारका करीब १००० परिवारका ५००० पुरुष सदस्यमध्ये एक जनाले पालैपालो मन्दिरको एकमहीने जिम्मेवारी लिन्छन् । हरेक वर्षको जनैपूर्णिमामा गुठीले जिम्मेवारी पाउने १२ जनाको नाम निकाल्छ । ५२ वर्षको उमेरमा यो साउनमा पालो परेका अशोक बज्राचार्यले आठ वर्षीय भतिज समन्तलाई वाफाचा अर्थात् मूल पुजारी र २० वर्षका छोरा अश्विनलाई सहायक पुजारी बनाएका छन् । अशोकका ८५ वर्षीय बाबु आशरत्नले ४५ वर्षअघि यो अवसर पाएका थिए ।
यो महीनाभर विहारको प्रवेश शुल्कदेखि भक्तजनले चढाउने भेटीसम्मको व्यवस्थापन र उपभोगमा अशोक बज्राचार्यको परिवारको खटनपटन चल्छ । पुजारीहरूलाई खाना पकाउन समन्तकी आमा शोभा ४ साउनदेखि मन्दिरमै छिन् । मूल पुजारीले सहायक पुजारीको सहयोगमा हरेक बिहान तीन बजे उठेर पूजा पाठ गर्छन् । बिहान पाँच बजेदेखि बुद्ध मूर्तिलाई नुहाएको पानी लिन आउनेहरूको भीड लाग्छ । साँझ् ६ बजेदेखि आठ बजेसम्म फेरि पूजा चल्छ । शाक्यमुनीको यो मन्दिरसँगै यहाँ स्वयम्भु महाचैत्य, बज्रसत्व, नाम सङ्गत, अभयपास लोकेश्वर, आर्यतारा, अमिताभ बुद्ध र शाक्य–बज्राचार्यको कुल देवताका मन्दिरहरु पनि छन्, जसको पुजा–पाठको जिम्मेवारी पनि अलग–अलग सदस्यलाई पालो लगाएर तोकिन्छ ।
तस्बीरहरु: डम्बरकृष्ण श्रेष्ठ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
