ब्लगबुधबार, फाल्गुण ७, २०७०
चन्दाको कुकुर मोह (तस्वीरसहित)
सुनसरीको इटहरीस्थित टेङ्ग्रा पुल नजिकै बस्ने चन्दा उनैले नाम राखिदिएका बेवारिसे कुकुरहरु माधुरी, राधिका, राते, टेढे, काले, काली र छुचुन्द्रासँगै खेल्दै बढ्दैछिन् । चिसो रातमा उनको सिरान–गोड्यानमा पनि यिनै साथीहरु लुटपुटिएका हुन्छन् । चन्दा भन्छिन, “दिउँसो यताउती गए पनि राति सवैजना सँगै हुन्छौं ।”
चन्दा जन्मनुअघि नै उनका बुवा–आमा भारतको जोगवनी नजिकैबाट यता बसाइँ सरेका थिए । चन्दाकी आमा वितेपछि रिक्साचालक बाबुले कान्छी ल्याए । कान्छी आमासँग ठ्याक नमिल्ने चन्दा दिनभर काम गर्ने र बेलुका सडक किनारमै बस्ने गर्न थालिन् । त्यसैबेलादेखि उनको कुकुरसँगको संगत बढेको हो ।
कुकुरहरुले राति चन्दाको वरपर कसैलाई पुग्न दिंदैनन्, त्यसैले चन्दा अहिलेसम्म सडकमा पनि सुरक्षित छन् ।
माधुरी नाम गरेको कुकुर चन्दाकी आमाले नै पालेकी थिइन् । त्यससँग खेल्दै हुर्किएकी उनले आमा वितेपछि कुकुरलाई नै परिवारसरह बनाइन् ।
स्थानीय माछा व्यापारीलाई बरफका ढिक्का ल्याइदिने र फुटाउने काम गर्ने चन्दालाई पढ्ने मन भए पनि उनका बाबुले उनलाई पढाउन सकेका छैनन् ।
हुर्कंदो उमेरकी चन्दालाई सडकको बास सँधैलाई गाह्रो हुन्छ भन्ने पनि थाहा छ, उनी भन्छिन्, “मेरो नानी ( मावलीकी हजुरआमा) बेलवारीमा हुनुहन्छ अव उतै जान्छु ।”
आफू बेलवारी जाँदा उनका साथी कुकुरहरुलाई चाहीं के गर्लिन ? उत्तर चन्दासँग पनि छैन ।
तस्वीरहरुः सीता मादेम्बा