अन्तर्वार्ता/विचारसोमबार, फाल्गुण १२, २०७०

‘११ महीनाभित्र नयाँ संविधान’

हिमालखबर

दोस्रो पटक संविधानसभा अध्यक्ष र चौथो पटक सभामुख निर्वाचित हुँदा कस्तो अनुभव भएको छ ?
यो मेरा लागि चुनौती र अवसर दुवै हो । सबै एकजुट भएर एक वर्षभित्रै संविधान निर्माण गर्नुपर्ने चुनौतीलाई अवसरमा रुपान्तरण गर्नुपर्छ । निर्विरोध निर्वाचित हुन पाउँदा सुखद् अनुभूति भएको छ ।

तपाईं सर्वसम्मतिबाट अध्यक्षमा चुनिनुले संविधान निर्माण र आगामी राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने लाग्छ ?
दलहरुको बीचमा तिक्तता देखिएको वेला संविधानसभा अध्यक्ष सर्वसम्मत निर्वाचित हुनु सकारात्मक संकेत हो । आवश्यक परेको वेलामा दलहरू एकजुट हुन्छन् भन्ने सन्देश पनि हो यो । दलहरूबीचको एकता कम्तीमा संविधान निर्माण नहुँदासम्म हुनुपर्दछ ।

अघिल्लो संविधानसभाले संविधान बनाउन किन नसकेको हो ?
त्यतिवेला संविधान निर्माणसँगै सेना समायोजन लगायतका शान्ति प्रक्रियासँग सम्बन्धित काम पनि बाँकी थिए । त्यसका बाबजूद पनि संविधानसभाले धेरै विवादलाई टुंगो लगाएकै हो ।

२ जेठ २०६९ मा दलहरूबीच सहमति पनि भइसकेको थियो । तर सहमति भत्किएपछि संविधान जारी हुन सकेन । भएको सहमतिको आधारमा संविधान जारी गरौं भन्ने मेरो प्रस्तावमा दलहरू सहमत भएनन् ।

संविधान जारी नहुनुमा तपाईंको भूमिका पनि कारक देखियो भनिन्छ नि ?
यस्तो धारणा आउनुमा संविधानसभाको अध्यक्षको भूमिका के हो भन्ने नबुझेर हो । काम गरिसकेर पनि संविधान जारी गर्न नसक्नुमा म लगायत सबै जिम्मेवार छौं । तर खास कारण दलहरूबीचको असहमति नै हो ।

अब चाहिं संविधान निर्माण हुने संभावना छ ?
हिजोको अनुभवबाट सिकेर पनि दलहरु सकारात्मक विन्दुमा पुग्छन् भन्नेमा म विश्वस्त छु । अघिल्लो संविधानसभामा भएको सहमतिको स्वामित्व ग्रहण गर्नुपर्दछ । अब हामीसँग जम्मा ११ महीना बाँकी छ । त्यसमध्ये कति समय सहमतिको प्रयास गर्ने र कुन विन्दुदेखि प्रक्रियामा जाने भन्नेमा दलहरूबीच मतैक्यता भयो भने निर्धारित मितिमै संविधान आउने पक्का छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>