टिप्पणीसोमबार, फाल्गुण १२, २०७०
ज्यानमारा लापरवाही
४ फागुनमा अर्घाखाँचीको मसिने लेकमा नेपाल वायुसेवा निगमको नाइन्एन–एबीबी ट्वीनअटर विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । हवाई असुरक्षामा नेपाल यति बदनाम छ कि नेपाली विमानसेवा प्रदायकहरू तीन महीनादेखि यूरोपियन यूनियनको कालोसूचीमा छन् । हुन पनि, २०६३–६८ को अवधिमा आठ हवाई दुर्घटना भए, जसमा ११४ जनाको ज्यान गएको छ ।
क्यानाडामा निर्मित डीएचसी–६ ट्वीनअटर नेपालको जस्तै अप्ठ्यारो पहाडी क्षेत्रमा चुनौतीपूर्ण उडानलाई ध्यानमा राखेर बनाइएको हो । त्यसैले ट्वीनअटर विमानलाई ‘पंखावाल ल्यान्ड रोभर’ पनि भनिन्छ । अनुभवी पाइलटहरूका अनुसार ट्वीनअटर मर्मत गर्न र चलाउन सजिलो हुुनुका साथै टिकाउ पनि छ । तर, जहाज जति नै बलियो भए पनि लापरबाही ढङ्गले उडाइयो भने त्यसले गन्तव्यमा नपुर्याउँदो रहेछ ।
नेपालको जस्तो अप्ठ्यारो भूगोल र क्यानाडाको आर्कटिक क्षेत्रको जस्तो कठोर मौसममा उडान भर्न बनाइएका ट्वीनअटरहरू बढी दुर्घटनामा परेका छन् । सन् १९६५ यता ‘डे हेभिल्यान्ड क्यानाडा’ कम्पनीले बनाएका ८४४ मध्ये २६३ वटा ट्वीनअटर संसारभरि दुर्घटनामा परिसकेका छन् । ती दुर्घटनामा १,४२३ जनाको ज्यान गएको छ । जबकि, ६७३ वटा बीचक्राफ्ट– १९०० विमानमध्ये ३३ वटा मात्र दुर्घटनामा परेका छन् ।
नेपाली आकाशमा उडेका कुल २५ ट्वीनअटरमध्ये १६ वटा दुर्घटनामा ध्वस्त भइसकेका छन् । नेपाल वायुसेवा निगम (पहिले शाही नेपाल वायुसेवा निगम) ले २०२८ सालदेखि ट्वीनअटर विमान उडाउन शुरू गरेको हो । यो अवधिमा निगमको १२ वटा ट्वीनअटरमध्ये सात वटा दुर्घटनामा ध्वस्त भइसकेका छन् । निगमसँग बचेका चार वटामध्ये तीन वटा इञ्जिन नभएर थन्किएका छन् भने एउटा ‘तारा एयर’ ले भाडामा लिएको छ ।
पछिल्लो दुर्घटनामा परेको ट्वीनअटर निगमले दोस्रो विश्वयुद्धकालीन डीसी डकोटा विमानलाई प्रतिस्थापन गर्ने क्रममा २०२८ सालमा ल्याएको दुईमध्ये एउटा थियो । त्यसअघि शाही उडान सेवाले नेपाल भित्र्याएको एउटा एन–आरएफ ट्वीनअटर एक वर्षमै दुर्घटनामा परेको थियो । त्यसपछि नेपाली सेनाले ल्याएको आरएएन– २६० ट्वीनअटर पनि २०३९ सालमा जोमसोममा दुर्घटनामा पर्योे ।
पछिल्लो दुर्घटनामा परेको जहाज ४२ वर्ष पुरानो थियो भन्ने थाहा पाउँदा धेरैले आश्चर्य माने तर, यी ट्वीनअटरहरू यति बलिया हुन्छन् कि मर्मत र उड्डयन नियम पालना गरे जति बूढो भए पनि उडिरहन्छन्– नयाँ जस्तै । यसको बडी मात्र पुरानो हुन्छ, इन्जिन सधैं नयाँ हुन्छ । माल्दिभ्स्मा पनि ४५ वर्ष पुराना ट्वीनअटर उडिरहेका छन् ।
२०५१ सालयता भएका विमान दुर्घटनामध्ये ९० प्रतिशत सीएफआईटी (कन्ट्रोल्ड फ्लाइट इनटू टेरेइन) को कारणबाट भएका छन् । प्राविधिक भाषामा सीएफआईटी भनिने यस्तो दुर्घटनामा पाइलटले लापरबाहीवश जहाजलाई बादलले छोपेको पहाडमा ठोक्काउन पुग्छन् । नेपालमा इन्जिनियरिङ त्रुटिबाट कुनै पनि ट्वीनअटर विमान दुर्घटना नभएको विभिन्न प्रतिवेदनले देखाएका छन् ।
लुक्ला र ताल्चा जस्ता खतरनाक धावनमार्गमा सहजै विमान अवतरण गराउने नेपालका पाइलटहरूले विश्वभर ख्याति कमाएका छन् । तर, धेरैजसो विमान दुर्घटना ‘टेकअफ’ र ‘ल्याण्डिङ’ कै क्रममा हुने गरेकाले चुनौतीपूर्ण पहाडी भूगोलमा विमान उडाउने पाइलटहरूको तालिम र अनुभवको पुनः मूल्याङ्कन गर्नुपर्ने देखिन्छ ।
२६ वैशाख २०५५ मा पोखराबाट काठमाडौं उडेको नेकोन एयरको एचएस–७४८ बाहेक काठमाडौं आउजाउ गर्ने ‘ट्रंक रुट’ मा कुनै विमान दुर्घटनामा परेका छैनन् । विमान दुर्घटनाका लागि मौसम र भूगोल बाहेक अन्य पक्ष पनि जिम्मेवार छन् । व्यक्तिगत लाभ लिएर कर्मचारीहरूले ‘ओभरलोड’ गरेका विमान दुर्घटना भएको भेटिएको छ ।
त्यसो त, नेपालमा सडकयात्रा पनि कम जोखिमपूर्ण छैन । जुनसुकै प्रविधिको उपयोग गर्दा त्यसका नियमहरू पालना गर्नै पर्ने हुन्छ । तर, नेपालमा मेशीनरीको नियमित मर्मतसम्भार र नियमसंगत सञ्चालन कमैले गर्छन् । सञ्चालनमा नियमको पूर्ण पालना नहुनु, सजिलो प्रक्रिया अपनाउन खोज्नु र अहम् प्रदर्शन दुर्घटनाका कारण हुने गरेका छन् । विमान उडाउँदा यस्ता कुरामा ध्यान नदिनु त आत्महत्या गरेसरह नै हो । विना मर्मतसम्भार पुरानै पार्टपुर्जाका भरमा प्रतिस्पर्धा गरिरहेका र आर्थिक रूपमा जर्जर वायुसेवा प्रदायकहरू कालोसूचीमा पर्नु अनौठो कुरा हैन ।
धेरैजसो हवाई दुर्घटना मानवीय गल्ती, मौसम र सीएफआईटीकै कारण हुने हुँदा सबै आन्तरिक उडानमा कडाइका साथ आँखाले हेर्ने भीएफआर (भिजुअल फ्लाइट रुल्स) लागू गरिनुपर्छ । विमानहरूमा जमीन, डाँडाकाँडाको नजिक पुगेको पूर्व जानकारी दिने ‘इन्हान्स्ड ग्राउण्ड प्रोक्सिमिटी वार्निङ सिस्टम’, जहाजमा परेको बरफ पगाल्ने र मौसम सम्बन्धी जानकारी दिने राडार जडान हुनु अनिवार्य बनाउन उड्डयन नियम नै संशोधन गर्नु जरूरी छ ।
तर, जतिसुकै सुरक्षा व्यवस्था अपनाइए पनि मानवीय लापरबाहीबाट भने केहीले पनि जोगाउन सक्दैन । यस्तो ज्यानमारा लापरबाहीका लागि अब कुनै बहाना बाँकी पनि छैन ।
साप्ताहिक खबरपत्रिका हिमालबाट