ब्लगबुधबार, फाल्गुण १४, २०७०

जेल कि कालकोठरी

मिलन बगाले

गरीबका सन्तानलाई सस्तोमा स्तरीय शिक्षा उपलब्ध गराउने पहलका लागि नामी छन्, सञ्जेल। उनै सञ्जेलले लेख्ने–पढ्ने उमेरमा जेलमा परेका निर्दोष बालबालिकाका लागि समता स्कूल खोल्न वीरगञ्ज कारागार प्रशासनसँग सम्झौता गरेको राम्रो समाचार माघ तेस्रो साता पढ्न पाइयो। अब वीरगञ्ज कारागारमा २५० विद्यार्र्थी पढ्न सक्ने १० कोठाको समता स्कूल खुल्नेछ। जेलका बालबालिकाका लागि परी बनेर आएका राना र बस्नेतले सयौं नानीलाई बाहिर पुनर्स्थापना गरेर पढाइरहेका छन्।

खत्तम जेल

अखबारहरूका अनुसार, अहिले नेपालभरका ७४ वटा जेलमा १४ हजार जति कैदीबन्दी छन्। राज्यले ती कैदीबन्दीलाई न्यूनतम मानवीय सुविधा समेत दिनसकेको छैन। राज्यले थुनेर राखेका मान्छेलाई असल मान्छे बनाएर निकाल्ने सोच राखेको देखिएको छैन। राज्यले राणाकालीन कालकोठरीको धङधङीबाट मुक्त भएर सुधारगृह बनाउन सक्यो भने मात्र आफ्नो कर्तव्य पूरा गरेको ठहर्छ।

आमाको काखः आफ्नो संरक्षणमा रहेका बालबालिकालाई कारागारमा आमासँग भेट गराउँदै इन्दिरा राना । तस्वीरः एपी

नेपालका अधिकांश जेल असाध्यै जीर्ण छन्। राणाकालीन र पञ्चायतकालीन कालकोठरीबाटै काम चलाइएको छ। क्षमताभन्दा बढी कैदीबन्दी कोचिएका छन्।

उनीहरूलाई पर्याप्त उज्यालो नछिर्ने कोठामा सरसफाई बेगर राखिएको छ। उनीहरूलाई न पानीले पुग्छ न त शौचालयले। न किताब, टेलिभिजन, खेलकुद सामग्री जस्ता मन बहलाउने कुरा छन् न त आत्मनिर्भर बन्न सीपमूलक तालिमको व्यवस्था। उनीहरू जेलको चार पर्खालभित्र पिल्सिएर बस्न बाध्य छन्।

नेपालका अधिकांश नेता जेलका भुक्तभोगी छन्। र पनि, कसैले जेलको स्थिति सुधार्न ठोस पहल गरेको छैन। आस्थाको बन्दी र जघन्य अपराधी एकैठाउँमा राखिएका छन्।

सुविधासम्पन्न कारागार बनाउन एकाध कागजी कार्यदल नबनेको होइन। बाबुराम भट्टराई प्रधानमन्त्री छँदा सभासद देवी खड्काको संयोजकत्वमा बनेको ‘कारागारको भौतिक र व्यवस्थापकीय सुधार कार्यदल’ ले खुला कारागार बनाउने सुझाव दिएको थियो। तर, अहिलेसम्म जेल निर्माणबारे कुनै सकारात्मक समाचार आएको छैन।

दीर्घकालीन सोच

लोकतन्त्रमा विश्वास गर्ने राज्यले मान्छेलाई यातनागृहमा राख्दैन। त्यसैले देशैभरका कारागार सुधार गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम थाल्नु जरूरी छ। जसबाट पुग्दो धारा, शौचालय, भान्सा र पुस्तकालय भएको विपत् व्यवस्थाका उपाय अपनाइएका कारागार बनून्।

कारागारका जीर्ण भवन सम्झ्ँदै मैले भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) का आमोदमणि दीक्षितलाई “कारागार भवनहरूको भूकम्पीय जोखिमबारे कुनै अध्ययन भएको छ?” भनेर सोधेको थिएँ। यसमा उनको जवाफ थियो― “एनसेटले त्यस्तो कुनै अध्ययन गरेको छैन, तर हाम्रा जेलहरू ठूलो खतरामा रहेकोमा शंका छैन।”

विज्ञको यो भनाइबाट हाम्रा जेल र त्यहाँ थुनिएका मानिस कुन हदको जोखिममा छन् भनेर बुझिन्छ। यो कुरालाई ध्यानमा राखेर तत्काल पहल थाल्नुपर्छ। कारागार व्यवस्थापन विभागका इन्जिनियरहरू काम नभएर बसेका होलान्। काम गर्ने मौका दिए उनीहरू अवश्य उत्साही हुँदा हुन्।

उत्तम सञ्जेलले जेलभित्र विद्यालयको जग बसाउँदै छन्। राज्य र अरू परोपकारी व्यक्ति/संस्था पनि मिलेर लाग्दा सबै जेलका सबै कैदीबन्दीले मानवताको अनुभूति गर्नेछन्। अनाहकमा जेल पर्न विवश बालबालिकासँगै अरू सबै कैदीबन्दीको उद्दार गर्नेको जय होस्!

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...