खेलकुदबुधबार, साउन ३१, २०६९

लन्डन ओलम्पिकका नायक र विश्व किर्तिमान

Sandesh Panta

शिवेन यी

माइकल फेल्प्स: दुई व्यक्तिगत स्वर्ण सहित ४ स्वर्ण गरी कूल ६ पदक जितेका फेल्प्स सर्वकालिन महान् पौडी खेलाडीको सुचीमा आफुलाई उभ्याउन सफल भए । आफ्नो अन्तिम ओलम्पिक्समा सहभागिता जनाएका २७ वर्षिय फेल्प्सको नाममा किर्तिमानी १८ स्वर्ण सहित २२ पदक छ ।

युसेन बोल्ट : बेइजिङ ओलम्पिक्समा पुरुष १०० मिटर र २०० मिटर तथा ४ गुना १०० मिटरमा स्वर्ण जितेका २५ वर्षे बोल्टले यस पटक पनि तीनवटै इभेन्टमा जमैकाका लागि स्वर्ण जित्दै महान् धावक बन्न सफल भए ।

शिवेन यी : चीनकी १६ वर्षिया पौडीबाज यीले महिला २०० मिटर र ४०० मिटर इन्डिभिजुअल मेड्लीमा विश्व किर्तिमान सहित स्वर्ण जित्दा सबै आश्चर्यचकित भएका थिए । कतिले त उनले प्रतिबन्धित औषधी सेवन गरेको समेत शंका गरे । तर अन्तरराष्ट्रीय ओलम्पिक परिषदले आरोप झुटो भएको बताउँदै उनी प्रति सम्मान देखाउन आग्रह गरेको थियो ।

सर क्रिस होए : बेलायतका ३६ वर्षिय साइक्लिस्ट होएले लन्डन ओलम्पिक्समा २ स्वर्ण जित्दै कूल ६ स्वर्णका साथ सबैभन्दा सफल बेलायती ओलम्पिक खेलाडी बन्न सफल भए ।

इम डोङ ह्युन : सामान्य मानिसले भन्दा ९० प्रतिशत कम देख्ने दक्षिण कोरियाका यी आर्चरी खेलाडीले वरियता चरणमा ७२ पटक वाण हान्दा आफैले राखेको ६९६ अंकको किर्तिमान लाई भङ्ग गर्दै ६९९ अंक ल्याए । त्यति मात्र नभई उनले आफ्ना दुई साथी खेलाडीहरुसंग मिलेर कूल २१६ पटकको वाण प्रहारमा २१८७ अंक प्राप्त गरे जुन अघिल्लो विश्व किर्तिमान भन्दा १८ अंकले बढी हो । तर एकल र टिम इभेन्ट दुबैमा उनले काँश्य पदक मै चित्त बुझाउनु पर्‍यो ।

रुटा मेलुटाइट : १५ वर्षिया लिथुआनियाकी पौडीबाजले १०० मिटर ब्रेस्ट स्ट्रोकमा स्वर्ण जित्दै सनसनी मच्चाईन् । यससंगै उनले ओलम्पिक्स इतिहासमा आफ्नो देशको लागि पहिलो स्वर्ण जित्ने सौभाग्य पनि प्राप्त गरिन् ।

यी बाहेक जसले आफ्नो देशलाई पहिलो ओलम्पिक फुटबल स्वर्ण दिलाउन सफल मेक्सिकोको पुरुष फुटबल टोली, टेनिस करियरको पहिलो ठुलो उपाधि जित्न सफल बेलायतका एन्डी मरेका साथै मो फराह (बेलायत, ५००० र १००० मिटरका स्वर्ण विजेता) र रानोमी क्रोनोमोविजोजो (नेदर्ल्यान्ड्स, ५० र १०० मिटर फ्री स्टाइलमा विश्व किर्तिमान सहित दुई स्वर्ण) लाई पनि ओलम्पिक्सले सधैँ सम्झिरहनेछ ।

साउदी अरेबियाले पहिलो पटक महिला खेलाडी सहभागी गराएर खेलकुदमा नयाँ पाइला राख्यो । वोज्दान शेहरकानीले जुडोमा सहभागी हुँदै इतिहास रचिन् ।

देशको लागि पहिलो पदक

बोट्स्वाना, गाबोन, ग्वाटेमाला, साइप्रस, ग्रनाडाले ओलम्पिक इतिहासमा आफ्नो पहिलो पदक जिते । ग्रनाडाका किरानी जेम्सले ४०० मिटरमा स्वर्ण जितेका थिए भने सर्बियाले पनि आफ्नो ओलम्पिक इतिहासमा पहिलो स्वर्ण जित्न सफल भयो ।

दक्षिण एशियाली प्रदर्शन
आठ दक्षिण एशियाली मुलुकहरु मध्ये केवल दुई मुलुकले मात्र अंक तालिकामा नाम लेखाउन सफल रहे । छिमेकी भारतले दुई रजत ( शूटिङ्ग र कुश्ती ) तथा ४ काँश्य सहित तालिकामा स्थान प्राप्त गर्‍यो भने अफ्गानिस्तानले एक काँश्य पदक जित्यो । नेपालको प्रदर्शन खासै सम्झन लायक रहेन ।

सुखद क्षणहरुसंगै केहि बिर्सन लायक घटनाहरु पनि घटे । महिला युगल ब्याड्मिन्टनमा चार जोडीलाई अर्को चरणमा सजिलो प्रतिद्वन्द्वीसँग खेल्ने उद्देश्यले जानी जानी खेल हार्न खोजेको आरोपमा ओलम्पिक्सबाट निलम्बित गरियो । पुरुष ११० मिटर हर्डल्सतर्फ स्वर्णका दावेदार चीनका लिउ जियाङ हिटमै लडेर घाइते भएपछी दौड पुरा गर्न नसकेको क्षण पनि दुखद थियो ।

महिला फुटबलमा उत्तर कोरियाको खेल अघि रङ्गशालाको स्क्रीनमा खेलाडीको फोटो संगै भुलवश दक्षिण कोरियाको झन्डा देखाइयो जसले गर्दा उत्तर कोरियाली खेलाडी तथा अधिकारीहरुले खेल बहिष्कार गर्ने चेतावनी दिए । तर खेल आयोजकले माफी माग्नुका साथै सही झन्डा देखाएपछि खेल सुरु हुन सक्यो ।

जुडोको पुरुष ६० के.जि. समुहका ब्राजिलका खेलाड फिलिपे कितादाइले आफुले पाएको काँश्य पदक नुहाउँदा पनि नझिके पछी दुर्भाग्यवश पदक भाँचिन पुगेको घटनाले पनि पनि चर्चा पायो । त्यस्तै डाइभिङका खेलाडी टम डालीलाई चौथो स्थानमा आउँदै पदक विहिन बनेपछी ट्वीटर मार्फत गाली गरेको अभियोगमा एक १७ वर्षिय किशोरलाई बेलायती प्रहरीले पक्राउ गरेको खबरले पनि सनसनी मच्चायो । ती किशोरले १८ वर्षिय डालीलाई ” तिमीले तिम्रा बुवालाई दु:खी बनायौ र मलाई लाग्छ तिमीलाई पनि यो कुराको अनुभव भएको होला ” भन्दै ट्वीट गरेका थिए । उनका पिता रोबर्टको गत वर्ष दिमागको क्यान्सरका कारण निधन भएको थियो ।

केहि तीता अनुभवलाई छाड्ने हो भने बेलायतले लन्डन ओलम्पिक्स सफलता पुर्वक आयोजना गरेको कुरामा कसैको दुई मत छैन । ५४ देशले स्वर्ण तथा समग्रमा ८५ देशले पदक तालिकामा नाम लेखाउन सफल यस ओलम्पिक्समा थुप्रै किर्तिमान बने तथा कैयौँ खेलाडीहरुले खुशीको आँशु बगाए त केहिले पीडाको अनुभव पनि गरे ।

देशको लागि पदक जित्नु गौरवको कुरा हो जसले खेलाडीहरुलाई युगौँ युगसम्म चिनाइरहन्छ तर सहभागी भई ठुला हस्तीहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनु सानो उपलब्धी भने अवश्य होइन । खेलकुद मार्फत विश्व समुदायमा स्वस्थ प्रतिस्पर्धा र भाइचाराको सन्देश दिँदै दुई हप्ताभन्दा बढी समय सम्म अरबौँ दर्शकहरुलाई रोमान्चित बनाउन सफल लन्डन ओलम्पिक्स एक अविष्मरणिय खेल मेला सावित भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...