रिपोर्टबिहीबार, फाल्गुण १५, २०७०

जताततै घातक रसायन

हिमालखबर

– श्रीलाल साह

जताततै देखिने ग्रील उद्योग, ट्रान्सफर्मर, विद्युतीय उपकरण आदिमा प्रयोग हुँदै आएको बिजुलीको तेलमा पोलिक्लोरिनेटेड वाइफिनाइल (पीसीवी) रसायन मिसाइएको हुन्छ। पीसीवीयुक्त तेल मानिसले छुँदा, भुईंमा पोखिंदा वा अरू कुनै प्रकारले माटो, हावा, पानी, जीवजन्तु र वनस्पतिको सम्पर्कमा आइसकेपछि प्राकृतिक, जैविक, रासायनिक, जलीय वा अन्य कुनै प्रकारले नष्ट हुँदैन।

राष्ट्रसंघीय पप्स महासन्धिमा सूचीकृत २२ वटा ननासिने रसायन (पप्स) मध्येको एक पीसीवीलाई पक्ष राष्ट्रहरूले आगामी सन् २०२५ सम्ममा वातावरण सुहाउँदो तरीकाले नष्ट गरेर त्यसको लगत राख्नुपर्ने व्यवस्था छ। ५ अप्रिल २००२ मा पप्स महासन्धिको पक्ष राष्ट्र बनेको नेपालमा भने अहिले देशभर लाखौं लिटर पीसीवीयुक्त बिजुलीको तेल घना बसोबास क्षेत्रमा भण्डारण गरिएको छ।

अझ् खतरनाक कुरा के छ भने नेपालमा हातखुट्टाका जोर्नी, ढाड, पिठ्यूँ दुख्दा बिजुलीको तेलले मालिस गर्ने चलन छ। जबकि, त्यसो गर्दा डाइअक्सिन र फ्यूरान नामक दुई वटा पप्स उत्सर्जन भएर आँखा पोल्ने, छाला चिलाउने, टाउको दुखाउने, स्नायु प्रणालीमा असर पार्ने, रोग प्रतिरोधात्मक शक्ति घटाउने, कलेजो बिगार्ने, प्रजनन शक्ति घटाउने, क्यान्सर लाग्ने र ज्यानैसम्म लिने खतरा रहेको विज्ञहरू बताउँछन्। जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले चार वर्षअघि काठमाडौं उपत्यकाका ग्रील उद्योगमा काम गर्ने १०५ कामदारमाथि गरेको अध्ययनले उनीहरूमा कुनै न कुनै स्वास्थ्य समस्या देखाएको थियो।

प्रभावितको अनुभव

ग्रील उद्योगका कामदारहरू पीसीवीयुक्त बिजुलीको तेलबाट सबभन्दा बढी प्रभावित छन्। १२ वर्षअघिदेखि बिजुलीको तेलयुक्त वेल्डिङ मेशीनमा काम गरिरहेका नारायण खातीको आँखा जहिल्यै पाकेको जस्तो देखिन्छ। बिजुलीको तेलमा हात हालेपछि टाउको दुख्नुको साथै शरीरभरिको छाला उप्किने उनी बताउँछन्। “तर, वेल्डिङको काम गर्नेले बिजुलीको तेल छुन्न भनेर हुँदैन”, ललितपुरको नखिपोटस्थित सिन्धु मेटल वर्क्समा कार्यरत खाती भन्छन्, “मेशीन बिग्रेको वेला हातै डुवाएर बनाउनुपर्छ।”

सिन्धु मेटल वर्क्सका संचालक शिवबहादुर सुनारले पनि वेल्डिङ मेशीनमा काम गर्दा पीसीवीको प्रभाव भोगिसकेका छन्। वेल्डिङ मेशीन तातेको वेला धूवाँबाट निस्कने डाइअक्सिन र फ्यूरानले मानव स्वास्थ्य र वातावरणमा दीर्घकालसम्म असर पार्ने सुनार बताउँछन्। तैपनि, यसको विकल्प अपनाउन नसकेको उनले बताए। अहिले बिजुलीको तेलयुक्त मेशीनमा करीब एक लाख कामदारले काम गरिरहेको अनुमान छ।

मुलुकभरका करीब ९ हजार ग्रील तथा स्टील व्यवसायीमध्ये आधाजसोले बिजुलीको तेलयुक्त वेल्डिङ मेशीनलाई सुक्खा वेल्डिङ मेशीनले विस्थापित गरेको ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल बताउँछन्। उनका अनुसार, एउटा सुक्खा वेल्डिङ मेशीनलाई रु.१० हजारदेखि रु.२ लाखसम्म पर्छ भने तेलयुक्त मेशीनलाई कम्तीमा रु.१५ हजारदेखि अढाइ लाखसम्म। तर, तेलयुक्त मेशीनमा पहिल्यै लगानी भइसकेकोले सुक्खा मेशीन ल्याउन नसकेको व्यवसायीहरू बताउँछन्।

गन्धविहीन पीसीवी ठोस र तरल दुवै रूपमा हुन्छ। यो रसायन नबल्ने, गह्रौं, बाक्लो र बिजुलीको कुचालक हुन्छ। ताप सोस्ने, पानीमा नघोलिने, लामो समयसम्म उही अवस्थामा रहने र वृद्धि हुँदै जाने भएकोले पीसीवी विद्युतीय उपकरणहरूमा बढी प्रयोग हुन्छ। पीसीवीयुक्त बिजुली तेलको प्रयोग ट्रान्सफर्मर, हाइड्रोलिक, रेलको स्लिपर, अग्नि निरोधक, ताप निरोधक आदिमा हुन्छ।

फालाफाल पीसीवी

पीसीवी रसायनको पहिलो उत्पादन सन् १९२९ मा अमेरिकामा भएको हो। त्यसपछि बेलायत, रसिया, फ्रान्स, जर्मनी, जापान, इटली, अस्ट्रिया, चीन आदि औद्योगिक राष्ट्रले यसको उत्पादन बढाए। १९८० को दशकमा आइपुग्दा मानव स्वास्थ्य र वातावरणको लागि पीसीवी अत्यन्तै हानिकारक रहेको प्रमाणित भएपछि ती राष्ट्रहरूले उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाउन थाले। पीसीवी र पीसीवीयुक्त तेल भण्डारणको क्रममा समस्या देखिएपछि उनीहरूले विभिन्न बहानामा अविकसित देशहरूमा पठाउन थाले। १९९० को दशकतिर विकसित राष्ट्रहरूमा पीसीवी पूर्णतः प्रतिबन्धित हुँदै गर्दा हजारौं लिटर पीसीवीयुक्त तेल नेपाल आइपुग्यो।

वातावरण मन्त्रालयको पप्स प्रोजेक्टको सन् २००५ को पीसीवी लागत प्रतिवेदन अनुसार, देशभरका ६४ स्थानमा एक लाख ६ हजार १८५ लिटर बिजुलीको तेल छ। त्यसमध्ये ९० हजार ६२३ लिटरमा ५० पीपीएम (पार्ट पर मिलियन) भन्दा बढी पीसीवी छ। (हे. टेबुल) यो मात्रालाई अति जोखिमपूर्ण मानिन्छ। तर, यो जोखिम न्यूनीकरण हुनुको साटो झ्न् सस्तोमा बजारमा पुगिरहेको जानकारहरू बताउँछन्। विद्युत् विकास विभागको मर्मतसम्भार केन्द्रले प्रयोग भइसकेको बिजुलीको तेल किनबेचमा रोक लगाए पनि भण्डारबाट निर्वाध रूपमा स्टील र ग्रील वर्कसपहरूमा पुगिरहेका छन्।

पीसीवी आयातमा नेपाल सरकारले कुनै अंकुश वा प्रतिबन्ध नलगाएकोले पीसीवी भण्डारमा यसको मात्रा थपिएको छ, तर कति थपिएको छ भन्ने तथ्याङ्क कतै भेटिंदैन। सबैखाले आयातको तथ्याङ्क राख्ने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार, आर्थिक वर्ष २०६९/७० मा रु.२७ लाख ५ हजार ५६६ को ३१,९१२ किलो पीसीवी आयात भएको देखिन्छ।

पीसीवीयुक्त बिजुलीको तेलबारे जनचेतना जगाउन राष्ट्रसंघीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रम र जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र लगायतले विभिन्न कार्यक्रम चलाएका छन्। वातावरण मन्त्रालयको पीसीवी राष्ट्रिय कार्यान्वयन योजनाले पनि पीसीवीयुक्त बिजुलीको तेल बिक्री वितरण बन्द गराउने र वातावरण मैत्री तथा गैरभष्मीकरण प्रविधिबाट व्यवस्थापनको पहल गरिरहेको छ, तर सुस्त कार्यशैलीले कार्यान्वयन प्रक्रिया प्रभावकारी बनाउन सकेको छैन।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>