टिप्पणीबिहीबार, फाल्गुण १५, २०७०
अनिवार्य आयो नुन
नेपालको हिमाली र उच्च पहाडी भू–भागमा आयोडिनयुक्त खाना तथा वनस्पति कम छन्। त्यसैले त्यस क्षेत्रमा गलगाँड र सुस्त मनस्थितिका बालबालिकाको समस्या छ। यो समस्या हटाउने रामबाण भनेको आयोडिनयुक्त नुन नै हो। स्वस्थ मानव शरीरको लागि चाहिने आयोडिनको ९८ प्रतिशत आवश्यकता आयो नुनले पूरा गरिदिन्छ। त्यही भएर नेपालले पनि अंग्रेजी महीनाको फेब्रुअरीलाई आयोडिन महीनाको रूपमा मनाउन थालेको हो।
आयोडिन नपुग्दा
घाँटीको अगाडिपट्टि रहने थाइरोइड ग्रन्थीका लागि आयोडिन अति आवश्यक तत्व हो। यो ग्रन्थीले उत्पादन गर्ने हर्मोनले शारीरिक विकास र तन्दुरुस्तीमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। आयोडिन पुगेन भने शरीरमा शक्ति उत्पादन, उचित तापक्रम कायम र बालबालिकाको वृद्धि प्रक्रिया प्रभावित हुन्छ।
मानिसको शरीरमा करीब ५० मिलिग्राम आयोडिन हुन्छ भने दिनहुँ थप १५० माइक्रोग्राम (०.१५ मिलिग्राम) आयोडिन चाहिन्छ। सन्तुलित भोजन र पर्याप्त पानीबाट यो आवश्यकता परिपूर्ति हुन्छ। दूध, मासु, सागपात र अन्नमा पनि थोरै–थोरै आयोडिन हुन्छ, तर काउली र बन्दामा हुने गोइट्रोजन नामक पदार्थले थाइरोइड ग्रन्थीलाई आयोडिन उपयोग गर्नबाट रोक्छ। थाइरोइडले आयोडिन पाएन भने गलगाँडको समस्या आउँछ।
बालबालिकालाई आयोडिन पुगेन भने गलगाँड मात्र होइन, सुस्त मनस्थिति, लाटो–लठेब्रो, आँखा डेडो हुने, मांसपेशी कमजोर हुने, स्मरणशक्ति कमजोर हुने आदि समस्या आइपर्छ। गर्भवती महिलाको थाइरोइडमा गडबडी आउँदा महीना नपुगी नै व्यथा लाग्न सक्छ। पटक–पटक गर्भ खेर गएका महिलाहरू यो समस्यामा झ्नै होशियार हुनुपर्दछ।
गर्भावस्थामा उत्पादन हुने विभिन्न किसिमका हर्मोन र रक्तवहाव बढ्ने हुनाले गर्भवतीहरूको थाइरोइड हल्का बढ्न सक्छ। गर्भावस्थामा महिलाको मिर्गौलाबाट बढी थाइरोइड हर्मोन निष्काशन भएर वा गर्भे शिशु र सालमा पनि आयोडिनको खपत बढ्न गई शरीरमा आयोडिनको कमी हुन सक्छ। गर्भे शिशुको थाइरोइड ग्रन्थी १२ हप्तासम्म आमाबाट आउने थाइरोइड हर्मोनमै निर्भर हुन्छ।
गर्भावस्थाको थाइरोइड समस्याबाट आलस्य, कब्जियत, जाडो खप्न नसक्ने, मांसपेशी दुख्ने, निद्रा नलाग्ने, तौल बढ्ने, नाडी दुख्ने, कपाल र्झ्ने, स्वर परिवर्तन हुने, स्मरण शक्ति घट्ने, थाइरोइड ग्रन्थी बढ्ने, आँखा वरिपरि सुन्निने, छाला सुक्खा हुने आदि हुन्छ। यो समस्या भएका गर्भवती महिलाको रक्तचाप बढ्न सक्छ, प्रसूतिपछि पनि अधिक रक्तश्राव हुन सक्छ, कम तौलको बच्चा जन्मिन वा गर्भभित्रै शिशुको मृत्यु हुन सक्छ। साथै, पटक–पटक गर्भ खेर जाने र रक्त अल्पताको समस्या पनि देखिन सक्छ।
यस्तो समस्या हजार गर्भवती महिलामध्ये दुई जनालाई हुन सक्छ। थाइरोइड ग्रन्थीको धपेडी बढ्यो भने नर्भस हुने, गर्मी खप्न नसक्ने, धड्कन बढ्ने, उल्टी आउने, तौल घट्ने, गलगाँड आउने, आँखा ठूलो र बाहिर आएको जस्तो देखिने हुन्छ। यस्तो समस्या भएका महिलाको गर्भ खेर जाने र ‘हर्ट फेल’ हुनेसम्मको परिणाम देखिन्छ।
रोकथाम
समुन्द्री खानामा अत्यधिक आयोडिन पाइन्छ, जुन नेपाल जस्तो भूपरिवेष्ठित देशका लागि ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भने जस्तो मात्र हुन्छ। यो अवस्थामा हामीसँग उपलब्ध भरपर्दो विकल्प भनेको आयोडिनयुक्त नुन नै हो। त्यसैले, ढिके वा खुला ठाउँमा राखिएको हैन, प्याकेटको आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्छ। आयोडिनयुक्त नुन राखिएको खानेकुरालाई धेरैबेर पकाउने वा पटक–पटक तताउने गर्नुहुँदैन।
यसबाहेक, वेला–वेलामा थाइरोइड हर्मोनको परीक्षण गराउनु बुद्धिमानी हुन्छ। थाइरोइड समस्याले गर्भावस्थामा प्रतिकूल असर पुर्याउने प्रमाणित भइसकेको हुनाले गर्भावस्थामा झ्न् चनाखो हुनुपर्छ। गर्भ अगाडि नै थाइरोइडको मात्रा सामान्य अवस्थामा ल्याउनु धेरै बुद्धिमानी हुन्छ। थाइरोइड समस्या भएका महिलालाई परिवार नियोजनको अस्थायी चक्कीले राम्रो नगर्ने हुनाले अन्य विकल्प खोज्नुपर्छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट