ब्लगशुक्रबार, फाल्गुण १६, २०७०
भ्यालेस्थानी ठक्कर
यसपालि सामाजिक सञ्जालका सत्तलहरूलाई छपक्क छोपेका प्रेमिल सन्देशहरू पढ्दा लाग्थ्यो, हामी मर्त्यलोकमा नभई वेग्लै प्रेमलोकमा छौं, जहाँका समस्त जीव आपसमा प्रेम मात्र गर्दछन्।
यसपालि अमूक धर्मावलम्बीको जनसंख्या कसरी बढ्यो भन्दै सडक बन्द गर्न तम्सिने हाम्रा पहिचानवादी बाँसुरीवादकहरू बाहय संस्कृतिको छायामा आफ्नो संस्कृतिको काया नामेट हुनलाग्यो भनी कुर्लिएको पनि कतै सुनिएन। नेपाली समाजमा जम्न पुगेको समस्त मयलको जननी स्वस्थानी नै हो भने झैं गरी नारीवादीहरूको एउटा जत्था भने टुप्पी कसेर पौराणिक कथाको पुच्छर निमोठ्न व्यस्त देखियो।
उनीहरूले देवाधिदेव महादेवलाई नशावाज भन्दै दुत्कार्नेहरूले सतीदेवीको मृत शरीर बोकी विक्षिप्तावस्थामा समस्त भू–तल चहार्ने उनको उत्कट प्रेमभावलाई नजरअन्दाज गर्न पुगे। विष्णुलाई बलात्कारी भन्नेहरूको एकोहोरो पेलाइबाट विरक्तिएको कुनै पुरुषवादी तोरीलाहुरेले जालन्धरको रूप पक्षमा मात्र लटि्ठएर चालढाल र हाउभाउ विचार नगरी आफूलाई समर्पण गर्ने वृन्दाको निष्ठामा कैफियत खोजेमा उत्पन्न हुनसक्ने विवादको निप्टारा कसले लगाइदिने?
समाजशास्त्रको दपेटाइमा राजनीतिशास्त्र टुहुरो बन्न पुगेको यस विलक्षण घडीमा भ्यालेन्टाइन डे र स्वस्थानीको साङ्गे एकसाथ फ्युजन हुनपुग्दा उत्पन्न कन्फ्युजनबारे समाजशास्त्रीय विश्लेषण होला नै। तपाईं भन्नुहोला, महीना दिन लामो म्याराथन चाड भएकाले स्वस्थानीको साङ्गे हुन्छ, एकैदिनमा तुरिने भ्यालेन्टाइन डेको के उद्घाटन? के साङ्गे?
तर, एकदिवसीय अन्तर्राष्ट्रिय चाड भए तापनि भ्यालेन्टाइन डेको समेत साङ्गे हुने गर्दछ। तीव्र रफ्तारको पश्चिमी सभ्यतामा जन्मेहुर्केको चाडलाई हामी धिमा पूर्वीय संस्कृतिका मान्छेको सुस्त नजरले झवाट्ट हेर्दा आँखा तिरमिराउनु अस्वाभाविक होइन। महीनाभर स्वस्थानीमाताको कठिन ब्रत बस्दा एकथान वर फेला पर्ने भर हुन्न भने दुई पेग लगाएर सन्त भ्यालेन्टाइनको पुकारा गर्दा दुई–चार थान वर फेला पर्ने सम्भावना रहन्छ। तपाईं भ्यालेन्टाइन साङ्गेमै गच्ची खाइरहनुभएको होला। कुमारजीको आज्ञा लिएर भन्दैछु– हेर्नुस्, भ्यालेन्टाइन डे भनेको समष्टिगत स्वरुप हो।
जुकरवर्गीय भित्तोमा एकाबिहानै भ्यालेन्टाइन मर्निङ्गका रूपमा श्रीगणेश भई भ्यालेन्टाइन आफ्टरनुन्, इभनिङ्ग, नाइटहुँदै भ्यालेन्टाइन मिडनाइटमा पुगेपछि भ्यालेन्टाइनको साङ्गे हुन पुग्दछ। बिहानीको झुल्के घामसँगै आगेसाल अझ् घच्चीको भ्यालेन्टाइन फेला पार्ने संकल्प लिंदै ब्रत तोडिन्छ।
आफू हाम्रो संस्कृतिलाई अरूले खेदे भन्दैमा परसंस्कृति लखेट्दै हिंड्ने मान्छे परिएन। बिनासित्ती यति लामो भूमिका बाँध्दै गलफत्ती गर्न खोजेको पनि होइन। यो विषय उठानको खास कारण छ। गुह्य कुरो के भने यसपालि भ्यालेन्टाइन डेको चक्करमा नेपाली राजनीति घनचक्कर बन्नपुगेको हो भन्ने शंकाजन्य आधार फेला परेकाले यारहरूको चाडबारे प्यार–प्यार गर्नुपर्या हो।
अहिले हाम्रो शासन व्यवस्थामा निर्णायक ओहोदाधारी महामनाहरू भ्यालेन्टाइनविहीन जीवन गुजरबसर गरिरहेका रहेछन्। निर्वाचन पछि गति पक्रन आँटेको राजनीतिक रथको पाङ्ग्रो भ्यालेन्टाइन डेको थाङ्ग्रोमा अड्कनासाथ अनपेक्षित परिदृश्य देखापर्न थाले। आलङ्कारिक राष्ट्रपतिले कार्यकारी प्रमुखका नाममा निर्देशनात्मक आदेश जारी गरे। युवावयमा समेत जोडीको कुनै रहर नदेखाएका कार्यकारी प्रमुखले पनि बुढेसकालमा खुबै गृहमोह देखाए। उता व्यवस्थापिकाका ‘एंटिक’ सदस्यले सरकारलाई धन्यवाद दिन कञ्जुस्याइँ गर्दा ‘खै के, खै के’ भन्नुपर्ने भयो।
‘अन्तरात्माको आवाज’ सुनेका मन्त्रिपरिषद् अध्यक्षले भने सारा लोकलाई छक्क मात्र नभई हक्क न बक्क पार्दै विरही जीवन बिताइरहेका बुढालाई भ्यालेन्टाइन गिफ्ट दिए। यो डे केही महीनाअघि आइद्या’भे विचरा वैद्य बा पुरानो भाका हाल्न एक्लै ‘रियाज’ गरिबसेका हुने थिएनन्।
गोलगोल घुमिरहेको राजनीतिक भद्रगोलको दोषभागी एकातर्फ मात्र देख्नु समावेशी लखेटाइ भएन भन्नुहुन्छ भने दुई चाडको टक्करबाट ग्रह, नक्षत्रमा पर्न गएको दुष्प्रभावलाई दोषी मान्नुपर्ने हुन्छ। संक्षिप्तमा यसलाई भ्यालेस्थानी टक्कर भन्नु उपयुक्त होला। प्यालेस्टाइनी टक्करका कारण मध्यपूर्वको मरुभूमिमा लागेको भुतभुतेबारे सबै जानिफकारै छन्। नेपाली राजनीतिले बेहोर्नु परेको यो भ्यालेस्थानी ठक्करको पार्श्व असरको विश्लेषण गर्ने जिम्मा ज्योतिषाचार्यहरूलाई!
साप्ताहिक खबरपत्रिका हिमालबाट