Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
क्षयरोगः झन् खतरनाक - Himalkhabar.com

रिपोर्टशुक्रबार, फाल्गुण १६, २०७०

क्षयरोगः झन् खतरनाक

हिमालखबर

– बच्चु बिक, धनगढी

बीएस्सी तेस्रो वर्षका विद्यार्थी भुवनराज मल्ल (२२) ले आफूलाई क्षयरोग भएको पत्ता लागेपछि कैलालीको साँढेपानीस्थित घर नजिकैको स्वास्थ्य चौकीबाट औषधि लिए, तर नियमित सेवन गरेनन्। औषधि छुटाउनै नहुने ६ महीनाको अवधिमा होशियारी नगरेका उनी अहिले कञ्चनपुर सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार गराइरहेका छन्।

धौलीदेवी धामी ।

कैलालीकै टीकापुरकी धौलीदेवी धामी (३८) लाई धनगढीस्थित नेपिड नेपाल (अस्पताल) बस्न थालेपछि मात्र बाँच्ने आशा पलाएको छ। टीकापुरको स्वास्थ्य केन्द्रमा नौ महीना औषधि खाँदा पनि निको नभएपछि उनी धनगढीस्थित सेती अञ्चल अस्पताल अन्तर्गतको नेपिड नेपालमा आएकी हुन्। घरको कामको सुरमा नियमित औषधि नखाँदा क्षयरोग बिग्रेको बताउँदै उनी भन्छिन्, “अस्पताल नभएको भए त मरिसक्थें होला।”

गरीबी, धुम्रपान र मध्यपानले सघाउँदै आएको क्षयरोग (टीबी) लापरबाहीबाट कतिसम्म खतरनाक हुन सक्छ भनेर बुझाउन कैलालीका भुवनराज र धौलीदेवीको घटना काफी छ। जबकि, ‘माइक्रोब्याक्टिरियम ट्यूबरक्यूलोसिस’ बाट लाग्ने यो सरुवा रोग सहज उपचारले निको हुन्छ। नेपालमा ४५ प्रतिशत जनसंख्या क्षयरोगबाट प्रभावित रहेको राष्ट्रिय क्षयरोग केन्द्र बताउँछ। नेपालमा हरेक वर्ष सरदर ६६ देखि ९५ हजार नयाँ क्षयरोगी थपिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुमान छ। नेपालमा क्षयरोगले वर्षेनि ५–७ हजार मानिसको ज्यान लिंदै आएको छ।

डब्लुएचओले एचआईभी/एड्सपछिको दोस्रो ‘हत्यारा रोग’ मानेको टीबीबाट संसारभर प्रत्येक वर्ष ८६ करोड मान्छे प्रभावित हुन्छन् र १३ करोडको मृत्यु हुन्छ। क्षयरोगका लागि एशियालाई उर्वरभूमि मानिन्छ। एशियामा पनि चीन र भारत यसबाट प्रभावित मुख्य देशमा गनिन्छन्। यसको सीधा असर नेपालमा पर्ने नै भयो। भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूमा क्षयरोग बढी रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

खतराको घन्टी

नेपालमा क्षयरोग नियन्त्रण कार्यक्रम शुरू भएको ६ दशकपछि यो रोग ‘ड्रग रेसिस्टेन्ट (डीआर) टीबी’ का रूपमा देखा परेको छ। सामान्य क्षयरोगको औषधि स्ट्रेप्टोमाइसीन, आइसोनाइज्ड, रिफाम्पिसिन, पाइराजाइनामाइड र इथाम्बुटल छुटाउँदा र पौष्टिक आहारको अभावमा डीआर–टीबी हुन्छ। डीआर–टीबीको अर्को चरण ‘मल्टीड्रग रेसिस्टेन्ट (एमडीआर) टीबी’ हुने सेती अञ्चल अस्पतालका डा. सुभेषराज कायस्थ बताउँछन्। उनका अनुसार, एमडीआर–टीबी फोक्सो बाहेकका अंगमा छ भने पनि त्यो सरुवा हुन्छ।

नेपालमा सामान्य र एमडीआर–टीबी दुवै बढिरहेको बताउने राष्ट्रिय क्षयरोग केन्द्रकी ‘फोकल पर्सन’ कमला वाग्लेका अनुसार, देशभर एक हजार ६४६ जनामा एमडीआर–टीबी देखिएको छ भने १६ जनाको मृत्यु भइसकेको छ। नेपालमा प्रत्येक वर्ष ९९६ जना एमडीआर–टीबीका बिरामी थपिने अनुमान छ, तर तीमध्ये ३०० जना मात्रै अस्पताल आइपुग्छन्। धनगढीको नेपिड अस्पताल र केयर होममा यो वर्ष आएका २७ मध्ये ८ जना र देशभर ३५४ जनामध्ये २५ जनालाई एमडीआर–टीबीका बिरामीबाट सरेको भेटिएको छ। “यो निकै खतरनाक अवस्था हो”, वाग्ले भन्छिन्।

स्वास्थ्य संस्थामा पुगेर उपचार गराइरहेका एक हजार ६४६ एमडीआर–टीबीका रोगीबाट अरूमा सर्ने खतरा छ। अस्पतालमै राखेर उपचार गराउनुपर्ने एमडीआर–टीबी रोगीहरू त्यस्तो सुविधा नहुँदा घरबाटै ओहोर–दोहोर गरिरहेका छन्। देशभरका आठ ठाउँमा एमडीआर–टीबीको उपचार हुने भए पनि ९० जनाको लागि मात्र बसोबासको सुविधा छ। २० महीने उपचार पद्धतिका कारण कतिपय बिरामीले बीचमै छोड्ने, पौष्टिक आहारले नपुग्ने र औषधिले काम नगर्ने भएपछि एमडीआर–टीबी ‘इक्सटेन्सिभली ड्रगरेसिस्टेन्ट (एक्सडीआर) टीबी’ मा विकसित हुन्छ।

आइसोनाइज्ड र रिफाम्पिसिनका साथै फ्ल्यूरोक्वीनोलोन, एमिकासिन, क्यानामाइसिन र क्याप्रियोमाइसिनमध्ये एउटा औषधिले काम गर्न छोडेको अवस्थामा एमडीआर–टीबी एक्सडीआर–टीबी हुने महाकाली अञ्चल अस्पतालका डा. आरबी चौधरी बताउँछन्। “एक्सडीआर–टीबी भएका १७ प्रतिशत बिरामीलाई मात्र बचाउन सकिन्छ”, डा. चौधरी भन्छन्, “एक्सडीआर–टीबीबाट एक्सडीआर–टीबी नै सर्ने भएकोले यसको जोखिम अझ् बढी हुन्छ।”

सुदूरमा जोखिम बढी

सामान्य टीबीसँगै एमडीआर–टीबी र एक्सडीआर–टीबीको जोखिम देशका अन्य भागभन्दा सुदूरपश्चिममा बढी देखिएको छ। गरीबी, अशिक्षा र एचआईभी संक्रमण धेरै भएकोले यो क्षेत्रमा क्षयरोगको जोखिम बढेको हो। सामान्य मान्छेभन्दा एचआईभी संक्रमितमा क्षयरोगको जोखिम ३० गुणा बढी हुन्छ। मृत्यु भएका एचआईभी संक्रमितमध्ये २५ प्रतिशत क्षयरोगी हुने गरेका छन्। देशभरका एचआईभी संक्रमितमध्ये ४३ प्रतिशत सुदूरपश्चिममा रहेको सरकारी तथ्याङ्क छ।

सामान्य टीबीका बिरामीले नियमित औषधि नखाने, औषधि खाँदाखाँदै कामका लागि भारत जाने र पौष्टिक आहार नहुने गरेका कारण एमडीआर–टीबीको जोखिम बढी देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयरोग शाखा प्रमुख दयाकृष्ण पन्त बताउँछन्।

सुदूरपश्चिममा एमडीआर–टीबीको उपचार नेपिड नेपालले सञ्चालन गरेको अस्पताल र केयर होम, महाकाली अञ्चल अस्पताल र अछामको बयलबाटा अस्पतालमा हुने भनिए पनि बयलबाटामा यो सुविधा नहुँदा त्यस भेगका बिरामी कैलाली र कञ्चनपुर र्झ्नुपर्ने बाध्यता छ। एमडीआर तथा एक्सडीआर–टीबी उपचार केन्द्रका निर्देशक डिल्लीराज लेखक गरीब परिवारका त्यस्ता बिरामी लामो समय डेरा लिएर बस्न नसकेर त्यसै फर्किने गरेको बताउँछन्। सुदूरपश्चिममा एक हजारभन्दा बढी एमडीआर–टीबीका बिरामी भएको अनुमान गरिए पनि गत पाँच वर्षमा १२२ जना मात्र अस्पताल आएका छन्।

एमडीआर–टीबीका बिरामीको उपचार गर्दा महाकाली अञ्चल अस्पतालकी अनमी पार्वती बडाल र वीर अस्पतालमा कार्यरत उनकी बहिनी अनमी बेलमती बडाललाई सो रोग सरेको कर्मचारीहरू बताउँछन्। उनीहरू दुवैको मृत्यु भइसकेको छ। यसले गर्दा काम गर्न अप्ठ्यारो भएको महाकाली अञ्चल अस्पतालका एमडीआर केन्द्र प्रमुख नन्दराम भट्ट बताउँछन्। उनका अनुसार, एमडीआर र एक्सडीआर–टीबीका बिरामीलाई उपचार गर्दा मास्क र टेबुल फ्यानको भरमा काम गर्नुपर्ने बाध्यता छ। यो अवस्थाले बिरामी र स्वास्थ्यकर्मीबीचको दूरी बढाएको छ।

झञ्झटिलो उपचार

सामान्य क्षयरोगीका लागि देशभरका स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधि उपलब्ध भए पनि स्वास्थ्यकर्मीको निगरानी (डाइरेक्ट अभ्जर्भड टि्रटमेन्ट सर्ट कोर्स– डट्स) पद्धति अन्तर्गत लगातार ६ महीनासम्म नियमित खानुपर्छ। यो झ्ञ्झ्टका कारण धेरैजसो बिरामीले बीचैमा औषधि छाडेर एमडीआर–टीबी हुने गरेको चिकित्सकहरू बताउँछन्। सीमित स्वास्थ्य संस्थामा मात्र भएको एमडीआरको उपचार आफन्तजन, नातेदार तथा अन्य मान्छेबाट अलग्गै बसेर गराउनुपर्ने हुन्छ। यसमा २० महीनासम्म नियमित रूपमा सात प्रकारका औषधि र १५० देखि २०० वटासम्म सुई लगाउनुपर्छ।

भुवनराज मल्ल ।

सरकारले एमडीआरका बिरामीलाई प्रति महीना रु.१५०० दिए पनि यसबाट पौष्टिक आहार र दैनिक उपचारकेन्द्र आवतजावत खर्च धान्दैन। एमडीआर र एक्सडीआरको औषधि पनि निःशुल्क पाइन्छ, तर बिरामीलाई २० महीनासम्म एकाग्र भइराख्न सजिलो छैन। रु.८–१० हजारमा उपचार हुने सामान्य क्षयरोग एमडीआर र एक्सडीआरमा परिणत भएपछि सरकारले एक जनाका लागि १०–१२ लाख खर्च व्यहोर्नुपर्ने हुन्छ। नेपालमा एमडीआर र एक्सडीआर टीबीका बिरामीको उपचारमा बार्षिक प्रतिव्यक्ति रु.५५ लाख खर्च हुने गरेको छ। राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि गत वर्ष भएको ८६ लाख अमेरिकी डलर खर्चको ९२ प्रतिशत दातृ निकायहरूबाट जुटेको थियो।

एकातिर सामान्य क्षयरोगीको पहिचान तथा उपचारमा समस्या, अर्कातिर एमडीआर र एक्सडीआर टीबीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकोले सन् २०५० सम्म क्षयरोग उन्मूलन (प्रति दशलाखमा नयाँ क्षयरोगी एकमा झार्ने) गर्ने सहस्राब्दी विकास लक्ष्य हासिल गर्न सजिलो देखिंदैन।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>