रिपोर्टबुधबार, फाल्गुण २१, २०७०

जबरजस्ती जुवाघरको जालो

हिमालखबर

– डम्बरकृष्ण श्रेष्ठ

“क्यासिनोमा नेपाली प्रवेश गरेको फेला परे म्यानेजरलाई समेत ल्याएर थुन्छौं।” रमेश खरेल एसएसपी

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा गृहमन्त्री हुँदा क्यासिनोमा नेपाली प्रवेश रोक्न कडाइ गरेर चर्चामा आएका वामदेव गौतम अहिले फेरि गृहमन्त्री बनेका छन्। पदबहाली ‘क्यासिनोमा एक जना पनि नेपाली प्रवेश गर्न दिइने छैन, बरु क्यासिनो बन्द भए होस्’ भनी अभिव्यक्ति दिएका बामदेवका लागि महानगरीय प्रहरी प्रमुखमा एसएसपी रमेश खरेल हुनु सहज हुन सक्छ। खरेलले गौतम गृहमा आउनुअघि नै क्यासिनोमा नेपाली प्रवेश रोक्ने अभियान थालिसकेका थिए। एसएसपी खरेल भन्छन्, “क्यासिनोमा नेपाली प्रवेश गरेको फेला परे म्यानेजरलाई समेत ल्याएर थुन्छौं।”

तर, उनको अभियानले रु.६५ करोड राजस्व तिर्न बाँकी रहेका राजधानी र पोखराका क्यासिनोलाई ऐन विपरीत नेपालीलाई जुवा खेलाउन रोक्न सकेको थिएन। हरेकले १० वटा मिनी क्यासिनो खोल्न पाउने गरी तीन कम्पनीलाई अघिल्ला सरकारले अनुमति दिएकाले अहिले काकडभिट्टादेखि महेन्द्रनगरसम्म पनि जुवाघर चलिरहेका छन्। पर्यटन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्याल भने ती मिनी क्यासिनोको लाइसेन्स अहिलेसम्म ‘रिन्यु’ नभएकोले तिनलाई बन्द गर्नु गृहमन्त्रालयको जिम्मेवारी भएको बताउँछन्। उनका अनुसार ७ चैतसम्म राजस्व तिरेर नयाँ नियम अनुसार लाइसेन्स ‘रिन्यु’ नगरे ठूला क्यासिनोहरूको पनि लाइसेन्स स्वतः खारेज हुनेछ।

सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिपरिषद्ले २०२३ मा होटल सोल्टीमा क्यासिनो खोल्ने अनुमति दिएको थियो। त्यसपछि बहुदलपछिका गिरिजाप्रसाद कोइराला, लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल र माधवकुमार नेपाल सरकारले संस्कृति तथा पर्यटन मन्त्रालयको सिफारिशमा अरू क्यासिनो खोल्ने ‘लाइसेन्स’ दिएका थिए ।

क्यासिनोमा करोडौं हार्ने तथा क्यासिनो लूटपाट, अपहरण, हत्या लगायतका अपराधमा संलग्न अपराधी उत्पादन गर्ने कारखाना भएको आवरण रिपोर्ट हिमाल ले १६–३० कात्तिक २०६७ को अङ्कमा प्रकाशित गरेको थियो।

देशभर जुवाघर

२०४६ को परिवर्तन लगत्तै क्यासिनोको संख्यामा बृद्धि भयो। २०६२/६३ को दोस्रो जनआन्दोलन लगत्तै नेकपा माओवादी खुला राजनीतिमा आएपछि क्यासिनो खुल्नेक्रम त झनै बढ्यो। नेपालीलाई खेल्न दिने शर्तमा माओवादीले क्यासिनोहरूमा ८० प्रतिशत मजदूर भर्ना गराएर युनियनमा कब्जा नै जमायो। ती युनियन मार्फत माओवादीको आडमा क्यासिनोले खुलेआम नेपालीलाई जुवा खेलाउन थाले। जसले, क्यासिनो मार्फत अरू क्षेत्रमा पनि अपराधीकरण बढायो।

माओवादी अध्यक्ष दाहालको प्रधानमन्त्रीत्वमा संस्कृति तथा पर्यटन मन्त्री बनेकी हिसिला यमीले १३ फागुन २०६५ मा ‘सेन्ट्रल मिडिया’ नामको कम्पनीलाई १० वटा मिनी क्यासिनो खोल्ने अनुमति दिलाइन्। त्यसको ८ महीनापछि २५ कात्तिक २०६६ मा माधवकुमार नेपाल नेतृत्वको सरकारका संस्कृति तथा पर्यटन मन्त्री शरत्सिंह भण्डारीले ‘रक इन्टरनेशनल’ नामको कम्पनीलाई अरू १० वटा मिनी क्यासिनो खोल्ने अनुमति दिए। नेपाल नेतृत्वको कामचलाउ सरकार रहेकै अवस्थामा पर्यटन मन्त्री शरत्सिंह भण्डारीले ‘हयाप्पी आवर प्रालि’ नामको कम्पनीलाई थप १० वटा क्यासिनो खोल्ने ‘लाइसेन्स’ दिए। ती कम्पनीले ‘इलेक्ट्रोनिक्स मेशीनबाट खेल खेलाउन’ पाउने गरी एउटा क्यासिनोले वार्षिक रु.५० हजार राजस्व बुझाउनुपर्ने शर्त थियो।

तर, ती कम्पनीले कुन कुन ठाउँमा मिनी क्यासिनो खोलेर चलाइरहेका छन् भन्ने थाहा नभएको पर्यटन मन्त्रालयका सहसचिव अर्याल बताउँछन्। उनको त्यो भनाइले ती क्यासिनोहरूले अहिलेसम्म राजस्व नतिरेको समेत बुझन सकिन्छ। हिमालको अध्ययनले भने काकडभिट्टादेखि महेन्द्रनगरसम्मका ९ शहरमा एक दर्जन मिनी क्यासिनो चलेको देखाएको छ। तीमध्ये जनकपुर र चितवनका मिनी क्यासिनो केही समयअघि मात्र बन्द भएका छन्।

वीरगञ्ज अलखियारोडको होटल सुरजमा ‘फोर्चुन सिटी’ नामको मिनी क्यासिनो चलिरहेको छ भने नगवामा रहेको होटल बाबा इन्टरनेशनलमा खोलिएको ‘हयाप्पी आवर’ नामको मिनी क्यासिनो सात महीनाअघि बन्द भएको छ। क्यासिनो फोर्चुन सिटीका दैनिक ५० जनाभन्दा बढी ग्राहकमा धेरैजसो स्थानीय हुने गरेका र उनीहरूले भारतीय भएको बताएर खेल्ने गरेको पाइएको छ।

यो क्यासिनोमा रेशमकोठीमा किराना पसल भएका गुप्ता थरका एक ३० वर्षीय व्यापारीले तीन महीनामा रु.२० लाख हारेपछि ऋण तिर्न नसकेर पसल बेचेका र विष खाएर आत्महत्याको प्रयास गरेका थिए। वीरगञ्जको माईस्थानका अर्का सुन व्यापारी त्यही क्यासिनोमा रु.९२ लाख हारेपछि ऋण तिर्न नसकेर लुकेका छन् भने परिवारको विचल्ली भएको छ।

“क्यासिनोमा एक जना पनि नेपाली प्रवेश गर्न दिइने छैन् बरु क्यासिनो बन्द भए होस्।” वामदेव गौतम, गृहमन्त्री

काकडभिट्टाको रियाज होटलमा एक वर्षअघि खुलेको ‘एसिस लाउन्ज रक इन्टरनेशनल गेमिङ क्लब’ क्यासिनोका प्रबन्धक किरण पोखरेल आफ्ना ग्राहक भारतीय, बंगलादेशी र दार्जीलिङ, सिक्किमका नेपाली भएको दाबी गर्छन्। नेपाली छिराएर तीन करोड रुपैयाँको लाइसेन्स खतरा नपार्ने बताउँदै उनी नेपालीहरू जुवा खेल्न भारतको सिक्किम जाने गरेको बताउँछन्।

तत्कालीन पर्यटन मन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरेको विराटनगरको रत्ना होटलमा रहेको सीएमजी क्लब र स्वागतम् होटलमा त्यसपछि खुलेको हयाप्पी आवर मिनी क्यासिनोका ग्राहक स्थानीय मारवाडी युवा भएको पाइएको छ। विराटनगरका क्यासिनोमा लाखौं रुपैयाँ हारेका एक युवाका अनुसार, विराटनगरका एक युवकले बाबुको सुनको पसल क्यासिनोमा हारेर सके भने इटहरीका अर्का युवाले रु.६० लाख हारेपछि आत्महत्या गरे।

मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेल भने पछिल्लो एक साता अनुगमन गर्दा क्यासिनोमा नेपाली नभेटिएको दाबी गर्छन्। नेपाल र भारत दुवैतर्फ नागरिकता भएकाहरू चाहिं क्यासिनोमा जाने गरेको स्वीकार्दै उनी भारतीयको परिचयपत्र बोक्ने भएकाले नेपाली भनेर चिने पनि पक्राउ गर्न नसकिएको बताउँछन्।

ऋण दिने मालामाल

जुवाको खालमै ऋण दिने गिरोहका कारण क्यासिनो खेल्नेहरू कङ्गाल बनेको देखिन्छ। मोटरसाइकल, सुन, गाडी, घर–जग्गा धितोमा लिएर लाखौं ऋण दिने ‘दादा’ हरू क्यासिनोमै बसेका हुन्छन्। भोलिपल्टै चुक्ता नगरेमा यस्तो ऋणको ब्याज दिनहुँ बढ्छ। हनुमानढोका, काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलले जुवाडेमाथि लगानी गर्ने बलराम सापकोटा (बले) लाई पक्रेर सार्वजनिक मुद्दा चलाएका छन्। तर, क्यासिनोहरूमा अखडा बनाएका बले जस्ता अरू लगानीकर्ताको कारोबार रोकिएको छैन।

यसअघि पनि पक्राउ परेका ‘बले’ प्रहरीका उच्च अधिकारी र नेताहरूको दबाबमा छुट्दै आएका थिए। दश वर्षअघिसम्म सामान्य आर्थिक हैसियत भएका बले अहिले करीब १० करोडको मालिक छन् र रु.७० लाख पर्ने गाडी चढ्छन् भने उनका भाइ मिलन पनि त्यसरी नै करोडपति बनेका छन्। क्यासिनो रोयलमा बले र पूर्व गृहमन्त्री विजय गच्छदारका सहयोगी गणेश लामाको ३० प्रतिशत लगानी रहेको बताइन्छ।

लाजिम्पाटको क्यासिनो र्‍याडमा कविन शाक्य, मनराज गुरुङ र पूर्ण गुरुङले ऋण लगानी गर्छन्। २०६८/६९ मा तीनै सुरक्षा निकायहरूलाई राशन आपूर्ति गर्ने ‘दादा’ काजी शेर्पाको ‘दाहिने हात’ मानिने मनराज १३ साउन २०६४ मा दोलखाका तत्कालीन प्रजिअ उद्धवबहादुर थापालाई पिटेर फरार भएका थिए। भेनस क्यासिनोमा भने दिनेश अधिकारी (चरी), सोभित सिलवाल, विनोद ओलीले ऋण दिन्छन्।

एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष चरी राधे भण्डारीलाई तरबार हानेपछि भारत हुँदै सिंगापुर पुगेको बताइन्छ भने सिलवाल केही वर्षअघिसम्म ड्राइभर थिए। क्यासिनो अन्नामा रमेश सुनुवार, विष्णु लामा र दाबा लामाले पनि ऋण लगानी गर्ने गरेका छन्। विष्णु र दावा गणेश लामाका प्रतिनिधि हुन्। दीपक मनाङेका ‘मान्छे’ मानिने सुनुवार भने आफैं नामूद जुवाडे हुन्। अजय श्रेष्ठले अन्ना र र्‍याड क्यासिनोमा ऋण लगानी गर्छन्।

सोल्टी होटलको क्यासिनोमा विनोद ओली र छोटा राजनले ऋण लगानी गर्छन्। बानेश्वरको एभरेष्ट होटलमा कर्मचारी र एमाओवादी युनियनले ऋण दिन्छन्। कुमार घैंटे, समिरमान सिंह बस्नेत, कविन शाक्य, अजय लामा, सञ्जीव लामा, दावा लामा, नारायण श्रेष्ठ, मिलन सापकोटा, दिनेश अलकत्रे, दावा शेर्पा ‘सेट्ठी’, राजु लामा, कुमार ए र बी पनि क्यासिनो खेल्नेहरूलाई ऋण दिनेमा पर्छन्। ऋण दिएर कारोबार बढाएबापत उनीहरूलाई क्यासिनोले पाँच प्रतिशत कमिसन दिने स्रोत बताउँछ।

उनीहरूले जुवाडेलाई ऋण दिंदा पैसा नभएको ब्याङ्क खाताको चेक काट्न लगाउने र वैदेशिक रोजगारमा पठाइदिने भनेर पैसा लिएको कागज बनाउने गरेको देखिन्छ, चेक बाउन्स र ठगीमा फँसाउने गरी। रु.१ लाख ऋण लिंदा रु.९० हजार मात्र दिन्छन्, जित्दा व्याजसहित रु.१ लाख २० हजार बुझाउने गरी। त्यस्तो ऋण लिएर सम्पत्ति सकेकाहरू विगतमा ख्याति श्रेष्ठको हत्या, डा. उपेन्द्र देवकोटाको छोरी अपहरण र डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न भएको प्रहरी बताउँछ।

रु.६५ करोड तिर्न बाँकी

राजधानी र पोखराका १० वटा क्यासिनोले सरकारलाई गत असार मसान्तसम्मको रु.६५ करोड ६४ लाख ९६ हजार तिर्न बाँकी छ । प्रत्येक क्यासिनोले सरकारलाई वार्षिक रु.२ करोड रोयल्टी तिर्नुपर्छ। सोल्टी होटलको क्यासिनो नेपालले सबैभन्दा बढी रु.२६ करोड ६८ लाख २ हजार १५० बुझाएको छैन। क्यासिनो अन्नाले रु.१३ करोड २६ लाख ८२ हजार ५७ र याक एण्ड यतीको क्यासिनो रोयलले रु.६ करोड ३१ लाख ३५ हजार राजस्व बुझाउन बाँकी छ।

आर्थिक ऐनमा भदौ मसान्तभित्र रोयल्टी नबुझाए १५ प्रतिशत व्याज पनि तिर्नुपर्ने प्रावधान छ। तर, क्यासिनोहरूले बक्यौता बुझाउन अटेर गर्नेदेखि जानकारी नदिई नाम समेत फेर्ने गरेका छन्। सोल्टी होटलको क्यासिनो नेपाललाई माजोङ र हायात होटलको क्यासिनो तारालाई स्टार क्यासिनो बनाइएको छ। पर्यटन मन्त्रालय मातहतका पर्यटन उद्योग महाशाखाका एक पदाधिकारी होटलको मातहतमा क्यासिनो रहेकाले राजस्व तिर्ने जिम्मा होटल सञ्चालकको भएको बताउँछन्। राजधानी र पोखराका १० मध्ये काठमाडौंको सांग्रिला होटलको क्यासिनोले असार मसान्तसम्मको राजस्व चुक्ता गरी बन्द भएको छ भने बन्द भएको पोखराको ग्राण्ड होटलको क्यासिनोले रु.८ लाख २७ हजार ५०० तिर्न बाँकी छ।

७ साउन २०७० मा सरकारले ल्याएको ‘क्यासिनो नियमावली २०७०’ मा नेपालीलाई प्रवेश निषेध गरिएको र प्रवेश गराएको पाइएमा क्यासिनोको लाइसेन्स खारेज गरिने उल्लेख छ।

साथमा गोपाल गडतौला झापा, कमल रिमाल विराटनगर, विम्मी शर्मा वीरगञ्ज

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>