ब्लगशनिबार, भाद्र २, २०६९

मस्तिष्क प्रतिगमन

कनकमणि दीक्षित

द्वन्द्वकालको सुरुआतसँगै अर्थतन्त्र मासिएको त थाहा भएकै कुरा हो, तर अब त अन्योल र अराजकताबीच हाम्रा व्यक्तिविशेषको मात्र नभई सामाजिक व्यक्तित्वको मस्तिष्कमा पनि ह्रास आएको शंका गर्नुपर्ने भएको छ । सरकार, राजनीतिक दल वा संघसंस्थाबाट आउने अनर्थका कुरा आफैंमा उदेकलाग्दा त हुन्छन् नै, तीबारे हुने टिप्पणी र विश्लेषणले पनि तर्क, विवेक र संवेदनशीलताको खडेरी प्रमाणित गर्दछन् । यत्रतत्र छरिएका मस्तिष्क ह्रासको उदाहरणका केही प्रमाण यहाँ प्रस्तुत छन् ।

बन्द उल्लंघन गरेको निहुमा नीजि गाडीमाथि जाइलाग्दै यूवा संघका कार्यकर्ता । तस्बीरः बिक्रम राई

प्रमाण १‍ एक होइन अनेकौं राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठन ‘विदेशी नाम’ का स्कूलमाथि भौतिक कारबाही गर्दैछन् । पश्चिमा मुलुकका प्रतिष्ठित नामको प्रयोग गरेर विद्यार्थी र अभिभावक तान्ने प्रायः १०±२ विद्यालय सञ्चालकहरूको ध्येय निन्दनीय त छँदैछ, तर ‘विदेशी’ नामै राख्न नपाइने भन्ने पनि त छैन । तैपनि नाम स्वीकृत गर्ने शिक्षा कार्यालय तथा तिनलाई निर्देशन दिने विभाग र मन्त्रालयलाई सचेत गराउनुपर्ने कुरा हो यो । अरू सिर्जनशील राजनीतिक कार्यक्रम गर्ने क्षमता नभएपछि के लाग्दो रहेछ र !

फेरि विदेशी नाम भनेकै के हो ? कुन विधि र तर्कद्वारा स्वदेशी र विदेशी छुट्याउने ? के अब यिसुख्रिस्टकी आमा ‘मेरी’ तथा उनका दक्षिणएशिया आएका अनुयायी ‘जेभियर’ को नाममा ६ दशक चलेका विद्यालयको नाम परिवर्तन गर्ने ? ‘विदेशी’ भन्नाले सीमापार, समुद्रपार सबैलाई भन्न खोजेको कि ‘पश्चिमा’ लाई मात्रै ?

कुनै चर्चित पश्चिमा विश्वविद्यालयसँग असली सहकार्य गर्ने संस्थालाई यो बन्देज लागू हुन्छ कि हुँदैन ? कुनै दक्षिणएशियाली ऐतिहासिक व्यक्तित्वको नाममा न्वारान गरियो भने के गर्ने, जस्तै गान्धी विद्याश्रम, फैज अहमद फैज संगीत विद्यालय, शाहजहाँ मदरसा वा र्साईबाबा गुरुकुल ? मलेसिया, खाडी मुलुक, चीन, जापानका नाम सापटी लिन पाइने कि नपाइने ? अमर्त्य सेन आफैंले ‘अमर्त्य सेन एकेडेमी’ खोल्न अनुमति दिए भने के गर्ने ? कति कम सोचका साथ यो अभियान चलाइएको छ, ‘युवा’ राजनीतिज्ञहरूद्वारा । तैपनि सुनिन्छ ? शिक्षा मन्त्रालय यसबारे कुनै कदम चाल्दैछ ।

प्रमाण २‍ श्रम तथा रोजगार मन्त्रालयले ३० वर्षन्दा कम उमेरका महिलालाई खाडी मुलुकमा रोजगारीमा जान नदिने सोचाइ बनायो र मन्त्रिमण्डलले अनुमोदन गर्‍यो । महिलाहरूमाथि दुर्व्यवहार भएको कारण यो कदम चालिएको हुनसक्छ, र आकांक्षा ठीकै पनि होला । तर ३० वर्षकिन र कुन आधारमा, बुझन गाह्रो छ । ३० नाघेका महिला परिपक्व हुन्छन् भने २५ नाघेका नहोलान् र ? ३० नाघेकाहरूको उमेर ‘ढल्केको’ हुनाले अलि सुरक्षित हुन्छन् भन्ने हो भने ओढारमा बस्ने साधुको आकलन जस्तो लाग्दछ । चेलीबेटी बेचबिखन रोक्न हो भने भारत जान बाध्य महिलाको संख्या कता हो कता बढी छ, तर यहाँ खाडीतिर मात्र ध्यान गएको छ ।

जे भए पनि यो प्रावधानले आधुनिक नेपालमा एउटा वयस्क पुरुषले जस्तै वयस्क महिलाले चाहेमा काम गर्न जान पाउने अधिकारको हनन् गर्दछ । राज्यले विदेशिएका महिला कामदारको सुरक्षाको लागि कुनै कसर बाँकी राख्नुहुँदैन, मुलुकभित्र ‘म्यानपावर एजेन्सी’ माथिको निगरानीदेखि खाडीमा कूटनीतिक सक्रियतासम्म । तर त्यसो गर्न नसकेर ३० ननाघेका महिलालाई जानै नदिने निर्णय सही हुन सक्दैन । यो त महिलाको मानवअधिकार हनन् हो ।

प्रमाण ३‍ मुलुकमा मन्त्र जस्तै भएको छ- ‘राजनीतिमा युवालाई मौका देऊ… राजनीतिमा युवालाई मौका देऊ… ।’ र, ठाउँठाउँ र छ्रि्रछ्रि्रबाट यो कुरा आउँछ । तर प्राप्त अनुभव अनुसार, ‘युवा’ हुँदैमा कसैको बुद्धि, साहस, जाँगर, सृजनशीलता उच्चकोटिको हुन्छ भन्ने कुरा गलत प्रमाणित भइसकेको छ । तर पनि मस्तिष्क ह्रास भएका हाम्रा विचार निर्माताहरूले दोहोर्‍याउन छाडेका छैनन् ? ‘युवालाई मौका देऊ !’

शुरूमै बुझनुपर्ने कुरा, ‘युवा’ कसलाई मान्ने ? ५० वर्षभन्दा मुनि ४०, ३०, २५, २० – राजनीतिमा मौका नपाएकालाई मान्ने हो भने वृद्धवृद्धालाई पनि मान्नुपर्ने हुन्छ । ‘नयाँ अनुहार’ लाई भन्ने हो भने आफूले नाम कमाउन केही नगरेकालाई स्थान दिएसरह हो । नयाँ विचार र कार्यक्रम पेश गरेर आफ्नो दललाई बाध्य तुल्याउनु एउटा कुरा, मिडियाको प्रयोग गर्दै ‘म युवा त्यसैले मेरो पालो’ भन्नु जस्तो लाचारी केही होइन । तर पनि हाम्रा केन्द्रीय विश्लेषकहरू यस्ता प्रस्तुतिलाई बढावा दिन्छन् ।

नेपालमा स्थानीय राजनीति कम बुझेका पश्चिमा कूटनीतिज्ञ र विकासे संस्थाहरूले युवाशक्तिको खुबै बखान गर्ने तथा अंग्रेजी बोल्न जान्ने केही तन्नेरी नेताहरूलाई पुल्पुल्याउने गरेका छन् । तर गोष्ठी र सेमिनारमा पल्केका ती युवा नेता आफैं मार्गचित्र कोर्ने साहस गर्दैनन्, दर्शन र सिद्धान्तमा आफ्ना ‘प्रौढ’ अग्रज भन्दा फितला देखिन्छन् । आजभोलि बाबुराम भट्टर्राई सरकारको खिलाफमा जान पनि तिनले तोडफोड, बन्द र टायर बाल्ने प्रवृत्ति नै अँगालेका या त मौनता साँधेका छन् । एउटै उदाहरणः अदालतद्वारा हत्यारा सावित माओवादी कार्यकर्ता बालकृष्ण ढुंगेललाई गिरफ्तार गर भनेर एउटै ‘युवा नेता’ अगाडि सरेको मैले सुनेको छैन ।

आज लोकतान्त्रिक सिद्धान्त र अहिंस्रक राजनीतिको कुरा गर्नेले भोलिको देश हाँक्नु पर्दछ, तर देश हाँक्ने त्यस्ता युवा क्षितिजमा देखिंदैनन् । दुइ-चार दशक पार गरेको मात्र भरमा तिनले हामीलाई भोलिको समृद्धितर्फडोर्‍याउँछन् भन्ने भ्रम पाल्नु र्व्यर्थ हो । बौद्धिक प्रतिगमनकै कारण आजका युवा जमात आमसभा गर्ने आँट गर्दैनन्, टायर बाल्नु, डण्डा बजार्नुलाई प्रगतिशील र अग्रगामी कदम ठान्दछन् ।

यो सबै सोच्ने क्रममा हालसालैको यूथफोर्सको ‘करामत’ सामु आउँदा मैले ‘फेसबुक’ मा लेखको थिएँ

ओई यूथ फोर्स !
के हो यस्तो लगातार बन्द र चक्काजाम ? ! कसलाई के भन्न खोजेको ? ! यस्तो जनता सताउने काम गर्दा लाज लाग्नुपर्ने हो ! तर लागेको जस्तो देखिएन ! वास्तविक शक्ति छ भने एउटा सहभागितापूर्ण आमसभा गरी देखाऊ त खुलामञ्चमा ! बन्द र चक्काजाम त कायरको बाटो पो हो ! धम्की, ढुंगामुढा र आगजनीद्वारा पसल बन्द गर्नु र सडक खाली गर्नु केही गाह्रो कुरा होइन । तर्सथ, यो लगातारको कायर क्रियाकलापले यूथ फोर्स भनेको गुण्डागर्दी फोर्स भन्ने बुझाउँछ ! अनि एमाले पार्टी बडेमान नेताहरूको के राय छ यस विषयमा किन आम नागरिकलाई यूथ फोर्सले खुल्लम खुल्ला दुःख दिंदा चुपचाप रमिते बसेको ? धिक्कार ! !

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>