ब्लगशुक्रबार, फाल्गुण २३, २०७०

स्वामित्व ग्रहण

महेश थापा

थोक निर्णयमा बानी परेको नेपाली राजनीतिक नेतृत्वलाई एकाध निर्णयमा पछुताउनु पर्‍या भे’पो फुर्सदमा पछुताउनु! र पनि, ज्यास्ती ‘रचनात्मक’ बन्न खोज्नेहरूको पछुतो अद्यापि जारी छ। दुईतिहाइ ल्याउने दम्भमा संविधानसभा भङ्ग गराउनेहरूको बैरागी भाका सुनिनसक्नु छ भने सेनापति जिस्क्याउनुको, पशुपतिका भट्ट चलाउनुको, सेना समायोजन गर्नुको, वेलैमा सेना समायोजन गराउन नसक्नुको, हुलमुलमा नेपाली म्याग्नाकार्टा जारी गर्नुको अनि बाह्रबुँदे, एक्काइस बुँदे, अनेकन् बुँदे सहमतिको पछुतो गर्नेहरूको फेहरिस्त लामो छ।

अत्तो थाप्नु, लत्तो छाड्नु, निर्णय गरेको पत्तो नपाउनु र पछुताउनु हाम्रो राष्ट्रिय राजनीतिक चरित्र बनेको छ। हालसम्म नेतागणले चाल पाउन नसक्या त्यस्तै घामट कुरा हो– स्वामित्व ग्रहणको विषय। सोचविचार नगरी सुमरिएको सास्ती भएकोले यो विषयलाई घामट भनिएको हो।

मतदानको दिनसम्म भए’नि घोषणापत्र जारी गर्ने चटारोमा अघिल्लो सभामा मुख मिलेका विषयको स्वामित्व ग्रहण गर्छौं भन्ने कबोल गरिहाले, जुन अहिले भालुको कन्पारो हुँदैछ। कुखुरीको अण्डाले लिखुरे भूत पन्छाए झैं यो समस्याबाट निजात पाउँला भन्ने ठान्या भए नेताजीहरू समस्याको बहुआयामबारे बेखबर रहेछन् भनी बुझनुपर्ने हुन्छ।

‘स्वामित्व’ भन्ने शब्दले स्वामी वा अधिपति हुनाको भाव दर्शाउँछ। यस्तो लिङ्गभेदी शब्दले समावेशी लोकतान्त्रिक मान्यता सहितको भावी संविधानलाई कुपोषित गर्ने सम्भावना प्रबल छ। तपाईं भन्नुहोला, नाममा के छ? सारमा गोता लगाऔं। तर हजुर, नाममा बहुत कुछ छ।

हाम्रा विकासे अभियन्ताहरूले वर्षौंको अथक मिहिनेत र करोडौंको लगानी पश्चात अन्य कुराहरू यथावत रहे पनि अपाङ्गता भएकाहरूको लागि नयाँ नाम फुराएका छन्– फरक क्षमता भएका! त्यस्तै, राजमार्ग पुरानो नेपालको द्योतक हो भने लोकमार्गले नयाँ नेपालको सुवास छर्छ। अख्तियार प्रमुख लोकमान नभई राजमान भइदया’भे त्यो नामले यो दिन देख्न पाउँथ्यो होला? त्यसकारण, नयाँ नेपालमा जे छ नाममै छ।

संसारमा जति युद्ध, झ्गडा र लफडाहरू भए, ती सबै स्वामित्व ग्रहणकै दौरान भए। नेतृत्वको पालि विवाद, खेतबारीको आली विवाद, हलोको फाली विवाद, अड्डा–अदालतको जाली विवाद, मोही–तलसिङको बाली विवाद, चटकेहरूको ताली विवाद, ठिटाहरूको गाली विवाद, ठिटीहरूको लाली विवाद, दाम्पत्य जीवनको साली विवाद सबै प्रत्यक्ष/परोक्ष रूपमा स्वामित्वसँग सम्बन्धित छन्। माता द्रौपदीको विवादले महाभारत निम्त्यो भने सीताको विवादले लंका डढायो। नेपाली नेताजीहरू यस्तो खतरनाक जिनिस ग्रहणमा फसान फसे भन्नोस्।

विनाश, विग्रह र विद्वेषको कलविखलाई कल्पवृक्ष सम्झेर ग्रहण गर्न तम्सनेहरूले वर्ष दिनमा संविधान बनाई खालान् भनी कसरी पत्याउनु? अघिल्लो सभाले गरेको काम नयाँको थाप्लोमा थोपर्नु प्राकृतिक कि अप्राकृतिक? भन्ने खिचातानीमा कसले कसको धतुरो झर्ला भनी जान्न चाहिं केही समय कुर्नै पर्ला।

सभामुखको आसनमा स्वामित्वको ‘ह्याटि्रक’ गर्नेले संविधान निर्माणको ११ महीने रोडम्याप निकाल्दै ‘अब स्वामित्व ग्रहणको पहल गर्ने, नत्र चार वर्षमा’नि संविधान नबन्ने’ भनेका छन्। तर, चोंच मिलाएको भरमा संविधान बन्ने भा’भे दोस्रो सभा जन्माउने दुःख बेसाउनै पर्थेन क्यारे! जितुवाहरूले जितौंला भन्ने चालपा’भे स्वामित्व ग्रहणको टण्टा मोल्ने थिएनन्। हरूवाहरूले हार्ने सुईंको पा’भे डण्डा घुमाएर एकथान संविधान झार्नेतिर लाग्थे भन्ने कुरा जस्तै कोचेलगाँडाले’नि बुझया छन्।

सबैको साझा केही हुनै नसक्ने नयाँ नेपालाँ सबैले आ–आफ्ना रुचिका परिकार ट्वाप्प टिपेर क्वाप्प मुखाँ हाल्ने हुँदा घुमिफिरी आइपुगिने उही रुम्जाटार हो। अब संविधानसभाले स्वामित्व ग्रहण गर्ने हो या स्वामित्व लफडाले संविधानसभामा ग्रहण लगाउने हो, रमिता हेर्न तम्तयार बसौं।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...