रिपोर्टशुक्रबार, फाल्गुण २३, २०७०
बाटो खुल्यो, बाइक गुड्यो
– डम्बरकृष्ण श्रेष्ठ
शहर–बजारमा सवारी साधनको भीड बढिरहेका वेला गन्तव्यमा पुग्ने सबभन्दा सजिलो साधन बनेका दुईपाङ्ग्रे सवारी दुर्गम पहाडी क्षेत्रमा समेत बरदान बनिरहेका छन्। सुगम क्षेत्रमा पीच सडकसँगै बढेका दुईपाङ्ग्रे सवारी मोटरबाइक पहाडतिर खुलेका सडक ट्रयाकमा पनि आवतजावतको चल्तीका साधन बनिरहेका छन्।
दिनभर हिंड्नुपर्ने बाटो केही घन्टामै तय गर्न अहिले गाउँ–गाउँमा मोटरबाइक चढ्नेको संख्या बढेको छ। देशभर गुड्ने करीब १० लाख मोटरबाइक र स्कुटरमध्ये काठमाडौंमा करीब चार लाख छन्। बाँकी मोटरबाइक र स्कुटर तराई र पहाडका कच्ची सडकमै गुडिरहेका छन्।
दुर्गम पहाडी क्षेत्रका ट्रयाक खुलेका अधिकांश सडकमा बाइक गुडिरहेको देखिन्छ। बजारमा उपलब्ध विभिन्न मोडलका दुईपाङ्ग्रे सवारीमध्ये दुर्गम पहाडी सडकहरूमा पल्सर, ग्लाडिएटर, यामाहा, भीआर, हिरोहोण्डाका युनिकन, साइन, वाईबीएक्स, अपाचे, टीभीएस लगायतका मोटरबाइक चल्तीमा छन्।
कच्ची र धूले सडकमा मोटर गुडाउनु त्यसै पनि चुनौतीपूर्ण हुन्छ। त्यसमा पनि पहाडी सडकमा ट्याक्टरबाट सामान ढुवानी गर्ने चलन रहेकाले बाटोको अवस्था खराब हुन्छ। तर, अधिकांश पहाडी सडक हल्का वर्षा हुँदा पनि चिप्लो र हिलाम्मे हुने भएकाले चारपाङ्ग्रेभन्दा दुईपाङ्ग्रे साधन गुडाउन समस्या हुन्छ।
भर्खरै खनिएको सडकमा खहरे खोला–खोल्सासँगै भत्किरहने ढिस्का प्रशस्तै भएकाले धेरैजसो ठाउँमा त मोटरबाइकलाई मान्छे लगाएरै बोक्नुपर्ने हुन्छ। ग्राहक आकर्षित गर्न सबैजसो बाइक कम्पनीले दुई वर्षको वारेन्टी सहित निश्चित समयका लागि निःशुल्क सर्भिस दिए पनि पहाडी क्षेत्रमा गुड्ने बाइकहरूले समयमै सर्भिसिङ पनि पाउँदैनन्।
यस्ता चुनौतीका बीचमा पनि युवाहरूले गाउँमा मोटरसाइकल भित्र्याउने क्रम बढ्दो छ। यसमा युवा रहर मात्र नभई आर्थिक समृद्धिको कारण जोडिएको छ। पूर्वको ताप्लेजुङ, पाँचथर, संखुवासभा पश्चिमाञ्चलको लमजुङ, मध्यपश्चिमको जुम्ला र सुदूरपश्चिमको अछामका नयाँ बाटो खुलेका स्थानमा मोटरबाइक गुडाइरहेका युवकहरू प्रशस्तै देख्न सकिन्छ ।
बाइकको महत्व
पाँच वर्षअघि दुई चार वटा मात्र मोटरबाइक भएको ताप्लेजुङमा अहिले २०० भन्दा बढीसँग मोटरबाइक छन्। तीन वर्षदेखि पल्सर बाइक चढिरहेका निघुरादिन–१ का मणिशंकर पोमु (३०) लाई बाइक भएपछि सदरमुकाम फुङलिङ आवतजावत गर्न सजिलो भएको छ। एक वर्षअघिदेखि हिरोहोण्डा चलाइरहेका दोखु–३ का भीष्मराज बराल (२८) घरबाटै कार्यालय धाउन बाइक किनेको बताउँछन्।
पाँचथर र इलामका करीब एक दर्जन गाविसका बासिन्दाको एक मात्र सवारी साधन मोटरबाइक हो। राँके, रवि, दमक सडकमा दुई सय जति मोटरबाइक चल्छन्। अलैंची उत्पादन हुने सो क्षेत्रका कतिपयले घोडा र घडेरी बेचेर मोटरबाइक किनेका छन्। कतिपयले मोटरबाइक रवि बजारमा राखेर सडक नपुगेको घरमा हिंडेर जाने गर्छन्। “नियमित झापाका बजार नपुगे व्यापार चलाउन गाह्रो हुन्छ”, रवि बजारका जुत्तापसले मनिनन्द राई भन्छन्, “त्यसैले वार्डनम्बर ३ मा पर्ने आफ्नो घरमा सडक नपुगे पनि मोटरबाइक किनेको छु।”
चैत २०५९ देखि रवि–दमक ४७ किलोमिटर सडक खुले पनि १८ किलोमिटर रतुवा खोलाको मूल प्रवाहमा पर्छ, जहाँ वर्षायाममा ट्रयाक्टर बाहेकका साधन गुडाउन सम्भव हुँदैन। तैपनि, स्थानीय युवकहरूले मोटरसाइकल कुदाउन नछाडेको रविका व्यापारी रुद्र सुवेदी बताउँछन्।
हिमाली जिल्ला सोलुखुम्बुमा पनि कच्ची सडकले छोएको ठाउँका कतिपयले मोटरबाइक किनेका छन्। तीन वर्ष अगाडि १५० सीसीको पल्सर बाइक किनेका शिखर एफएमका प्रबन्ध निर्देशक मनोजकुमार श्रेष्ठ बाइकले समय बचत भएको बताउँछन्। कामको सिलसिलामा जिल्ला बाहिर जानु परे पनि सजिलै जान सकिने बताउँदै उनले भने “काठमाडौं पनि बाइकमै जान्छु, बाइक हुँदा त्यहाँ पनि काम भ्याउन धेरै सजिलो हुन्छ।”
चार वर्ष अगाडि किनेको भीआर बाइकबाटै सल्लेरी–७ स्थित घरबाट जिल्लाको नेले, वेनी, फेरा, नेचा बतासे, बेतघारी, तिङ्ला, सल्यान, केरुङ, तामाखानी र गार्मा गाविस आउ–जाउ गर्ने योङ्ग स्टार क्लब सोलुखुम्बुका कार्यकारी निर्देशक दीपक राजभण्डारी कच्ची र साँघुरो बाटो भए पनि बाइकले काममा धेरै सजिलो भएको बताउँछन्।
सोलुमा अधिकांशले पल्सर, भीआर, होण्डा र यामाहा मोटरसाइकल चलाइरहेका छन्। दुई वर्ष अगाडि १६० सीसीको अपाचे किनेका सल्लेरी–५ का लेखापढी व्यवसायी राजकुमार श्रेष्ठ बाइकले विभिन्न गाविस र जिल्ला बाहिर जान पनि सहज बनाएको बताउँछन्।
उता दक्षिण–पश्चिम लमजुङको सीमभञ्ज्याङ–८ का किसान बालकुमार जोशी पहिले खेताला खोजेर दुई घन्टामा कृषि उपज सडकमा पुर्याउनुपर्ने समस्या मोटरसाइकलले टारेको बताउँछन्। एक वर्षअघि गाउँसम्म सडकको ट्रयाक खुलेपछि यामाहा बाइक किनेका जोशी भन्छन्, “मोटरसाइकलमा ओसार्दा खर्च कम, समयको पनि बचत।”
त्यस्तै पुरानकोट गाविस लमजुङका वृषराज गुरुङ अहिले सदरमुकाम बेसीशहर बस्छन्। गाउँमा सडक खुलेपछि उनी पनि मोटरसाइकलमा गाउँ आउने जाने गर्छन्। होण्डा मोटरसाइकल चलाउने वृषराज गुरुङ भन्छन्, “पहिले गाउँ जान दिनभरको काम नै माया मार्नुपर्थ्यो, अहिले बाइकले धेरै सजिलो भएको छ।”
बेसीशहर–चामे सडक खण्डमा अहिले मोटरसाइकलको लर्को देखिन्छ। मनाङ जाने काठमाडौं, पोखरा लगायतका स्थानका कतिपय आन्तरिक पर्यटक पनि मोटरसाइकलमै देखिन्छन्। पहिले तीन दिन लाग्ने यात्रालाई अहिले मोटरसाइकलले ८/९ घन्टामा सीमित बनाइदिएको छ।
मनाङ गएर फर्किएका काठमाडौंका श्याम महर्जनले बेसीशहर–चामे सडकको डरलाग्दो भीरमा गाडी भन्दा मोटरसाइकल सुरक्षित लागेको बताए। एक वर्षअघि खुलेको यो सडकमा चारपाङ्ग्रेभन्दा मोटरसाइकल नै बढी चलेको देखिन्छ। सीमभञ्ज्याङका पल्सर चालक ओमवीर गुरुङ भन्छन्, “सानोतिनो ढिस्को झ्रे पनि चारपाङ्ग्रे रोकिनुपर्छ तर मोटरसाइकललाई ट्रयाक भए पुग्छ।”
उता शान्तिनगर बसपार्क जुम्लाका होटल व्यवसायी हरिबहादुर डाँगीले २०६३ सालमा सडक पुग्नासाथ पल्सर बाइक किने। बाइकले कामलाई छिटोछरितो पारेको उनको अनुभव छ। तर, जुम्लामा बाइक संख्या बढे पनि बिग्रँदा मर्मतको समस्या भएको उनले बताए। लाम्रा–१ श्रीनगरका शिक्षक मिमराज डाँगीले पहिले एक घन्टा लाग्ने सदरमुकाम अहिले एकछिनको बाटो भएको बताए।
पेट्रोल र मर्मतमा समस्या
दुर्गमका सडकमा बाइक कुदाउनेहरूको मुख्य समस्या भनेको पेट्रोल र मर्मत हो। अधिकांशले सदरमुकाम आउजाउ गर्न सहज भए पनि कम गुणस्तरको पेट्रोल र मर्मत समस्याले हैरान बनाएको बताए। जस्तो, पम्प नभएको ताप्लेजुङमा पेट्रोलको पूरै आपूर्ति कालाबजारले धानेको छ भने बाइक मर्मतका लागि इलाम वा झापाको वर्कशपमा झार्नुपर्छ।
सोलुखुम्बुमा पनि पेट्रोल र वर्कशपको त्यही समस्या छ। लमजुङका वृषराज गुरुङले पुरानकोट जाँदा बिग्रिएको बाइकलाई जीपमा हालेर बेसीशहर ल्याउनुपरेको बताए। ६३ किलोमिटर लामो बेसीशहर–चामे सडकमा कहीं पनि मोटरसाइकल वर्कशप छैन। तर, बेसीशहर बाहेक सोतीपसल, दुईपिप्ले, भोटेओडार, सुन्दरबजार लगायतका स्थानमा वर्कशप खुल्न थालेका छन्।
देशभरका ७९ स्थानमा डिलर खोलेको एचएच बजाजले जुम्ला लगायतका विकट ठाउँमा पनि सर्भिसिङ सेवा विस्तार गर्ने तयारी गरेको छ। देशभर ७० सर्भिस सेन्टर चलाएको हिरोहोण्डा मोटरसाइकल बिक्रेता ज्योति समूहले ग्राहकको सुविधाका लागि विभिन्न स्थानमा मोबाइल सर्भिस शुरू गरेको छ।
——————————————————————————————————————————————
कमाइ गर्ने साधन
फुङलिङ–१, ताप्लेजुङका हेमसागर भट्टराईले १० वर्षदेखि यामाहाको एसएस मोटरबाइकबाट गाउँघरमा उत्पादित दूध र साग–सब्जी बिक्री वितरण गर्दै आएका छन्। हलुका र सहज भएकोले यामाहा बाइक रोजेको बताउने उनी पहाडमा कुनै वेला बाइकले एम्बुलेन्सको काम गर्ने बताउँछन्। “घरमै बसेर मासिक सरदर रु.३० हजार कमाइ पनि बाइकले सम्भव बनाएको हो”, भट्टराईले भने।
———————————————————————————————————————————–
सन्तुष्टिको स्रोत
वीरपथ गाविस–१ अछामका रवीन्द्र शाही (२७) ले कैलालीबाट होण्डा बाइक किनेर पहाड उकाले। बाइकलाई उकालो चढाउँदै अछाम पुर्याउँदा संसारै जिते जस्तो लागेको बताउने शाही सदरमुकाम मंगलसेन बस्छन्। उनी चार वर्षदेखि हिलो, धूलो, गाह्रो–साह्रो केही नभनी होण्डा हाँकिरहेका छन्। “कहिलेकाहीं गाउँ जाँदा बाइक हेर्नेहरूको घुइँचो लाग्छ”, शाही भन्छन्, “पेट्रोल नपाउँदा र बाइक बिग्रेर डडेलधुराको अमरगढी पुर्याउनुपर्दा चाहिं दिक्क लाग्छ, तैपनि कमै मानिससँग बाइक भएकोले सन्तुष्ट छु।”
साथमा राजेन्द्र श्रेष्ठ ताप्लेजुङ, लक्ष्मी गौतम पाँचथर, बुद्धवीर बाहिङ सोलुखुम्बु, युवराज श्रेष्ठ लमजुङ, नेत्र शाही जुम्ला र पूर्ण खड्का अछाम।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
