रमझमशनिबार, फाल्गुण २४, २०७०

व्यस्त रङ्गमञ्च

हिमालखबर

– ऋषिराम कट्टेल

अग्निको कथामा सरिता गिरी र प्रविण खतिवडा।

अनामनगरको मण्डला थिएटरमा हेप्छाकुप्पा मञ्चन भइरहेकै वेला बत्तीसपुतलीस्थित गोठाले थिएटरमा १७ फागुनबाट कोमा शुरु भएको छ। त्यसअघि ७–१२ फागुनमा कालिकास्थानको सर्वनाम थिएटरमा मधुमालतीको कथा मञ्चन भएको थियो।

त्यसअघि ३५ दिनसम्म कोर्टमार्शल मञ्चन भएको लाजिम्पाटको थिएटर भिलेजमा १७ फागुनबाट चारुमती शुरु भएको छ। शैली थिएटरले १२ फागुनबाट थालेको राष्ट्रिय बाल नाटक महोत्सव १८ फागुनमा सकिएको छ।

यो गतिविधिले राजधानी काठमाडौंलाई भित्रभित्रै नाटकमय बनाएको देखाउँछ। राजधानीमा यसरी बाक्लै नाटक मञ्चन मात्र भएका छैनन्, तिनमा दर्शकको उपस्थिति पनि उत्तिकै उत्साहजनक छ। वरिष्ठ नाट्यकर्मी तथा सर्वनाम नाट्य समूहका अध्यक्ष अशेष मल्ल टेलिभिजन र सिनेमाको आगमनपछि सुस्ताएको नेपाली नाटकले अहिले पंख फिजाएको बताउँछन्।

कोट मार्शलमा दिया मास्के ।

२०५९ मा आरोहण गुरुकुलले पुरानो बानेश्वरमा नाटकघर खोलेसँगै नेपाली रंगकर्ममा पुनर्जागरण आएको थियो। गुरुकुलले दर्शकलाई आकर्षित गर्न उत्कृष्ट नाटकहरु मञ्चन गरेको थियो। अहिले त एकपछि अर्को नाट्यशाला खुलेर नेपाली नाट्यकर्ममा क्रान्ति नै आएको प्रतीत भएको छ।

अहिले सर्वनाम नाट्य समूहको सर्वनाम थिएटर, मण्डला नाटक समूहको मण्डला थिएटर, शिल्पी समूहले शिल्पी थिएटर र नाट्यग्राम नाट्य समूहको थिएटर भिलेज गुल्जार छन्।

भाडाको हल छाड्नु परेकोले २०६८ बाट नियमित नाटक मञ्चन रोकेको आरोहण गुरुकुल पनि भृकुटीमण्डपमा भवन बनाउने तयारीमा छ। दुई साताअघि थिएटर भिलेजमा अग्निको कथा मञ्चन गरेको आरोहणका अध्यक्ष सुनिल पोखरेल नेपाली नाट्य क्षेत्रमा साँच्चै आनन्ददायक बहार आएको बताउँछन्।

फर्केको समय
रंगमञ्चका कलाकारहरू धमाधम चलचित्र/ टेलिचलचित्रतिर लाग्दा २०५० को दशकमा नेपाली रंगमञ्च सुस्ताएको थियो। तर, नेपाली चलचित्रले अभिनय विधाका दर्शकको रुचिलाई धान्न सकेन। त्यसबाहेक टेलिभिजन र सिनेमाले जीवन्त ढंगले व्यक्त गर्नै नसक्ने पक्ष हेर्न दर्शकहरु थिएटरमै आउनुपरेको रंगकर्मी/निर्देशक अनुप बराल बताउँछन्।

नाटक सुनकेसरीमा सृजना अधिकारी र सोमनाथ खनाल।

“१० वर्षअघिसम्म नाटकका दर्शकले एउटै नाटक हेर्नु पर्थ्यो, अहिले छानीछानी हेर्न पाउँछन्”, बराल भन्छन्, “र पनि, नाट्यशालामा दर्शकको उपस्थिति साँच्चै उत्साहजनक छ।”

नाटकमा विधावारिधि गरिरहेका रंगकर्मी कृष्ण शाह यात्री स्तरीय फिल्महरु नबन्दा र राम्रा नाटकहरु मञ्चन हुन थाल्दा थिएटरमा दर्शकको भीड लाग्न थालेको बताउँछन्। त्यसो त अहिले पहिला जस्तो चनाचिउराको भरमा नाटक खेल्नुपर्ने अवस्था पनि छैन।

नाट्यकर्मीहरुले राम्रो पारिश्रमिकसँगै देशविदेश गर्न पाउँछन्। रंगमञ्चबाट गएको कलाकार अभिनित फिल्म बढी चल्न थालेपछि सिनेमामा पनि रंगमञ्चकै कलाकारको दबदबा बढ्दो छ। शिल्पी नाट्य समूहका अध्यक्ष घिमिरे युवराज भन्छन्, “नाटकका आफ्नै दर्शक हुन्छन्, राम्रो कुरा पस्किन सके सिनेमा र टेलिभिजनले यसलाई पछि पार्न सक्दैन।”

अहिले स्कूलहरुमा पनि नाट्य प्रशिक्षणको चलन बढेको छ। अचम्म चाहिं के छ भने, नाटकको क्षेत्रमा काम गर्नुपर्ने निकाय नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान प्राज्ञहरुको सुविधा बढाउने दाउमै अल्झिाएर बसेको छ।

नेपालमा मल्ल कालमा शुरु भएको नाटक राणाहरुको दरबारबाट सर्वसाधारणको पहुँचमा आएको सात दशक पुग्दैछ। नेपाली रंगमञ्चमा २०२५–२०४२ को अवधिलाई धेरै उर्वर समय मानिन्छ। त्यो समयमा अनि देउराली रुन्छ, मुनामदन, रातको प्रथम प्रहर, फर्केर हेर्दा, मालती मंगले, सडकदेखि सडकसम्म, विज्ञापन लगायतका नाटक महीनौंसम्म मञ्चन भएका थिए।

“नेपाली रंगमञ्चमा अहिले त्यही समय फर्केको छ”, रंगकर्मी अशेष मल्ल भन्छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>