टिप्पणीआइतबार, फाल्गुण २५, २०७०

आरनमा पड्केको युद्ध

मिलन बगाले

नेकपा एमाओवादीले ‘जनयुद्ध’ दिवस मनाएको एक साताभित्रै ८ फागुनमा जाजरकोटको दशेरा गाउँमा बम पड्कियो । दशेरा– ३, तल्लो गाउँ नजिकको जंगलमा पाइपको टुक्रो फेला पारेका जोखे थापाले त्यसबाट ओदान बनाउन कमारो चँदाराको आरनमा पुर्‍याए ।

त्यो टुक्रो आरनमै पड्केपछि चँदारा सहित जोखे थापा, भक्तबहादुर नेपाली, मनबहादुर थापा, नैनबहादुर नेपाली र नरसिंह थापा गम्भीर घाइते भए । उनीहरू सबैलाई काठमाडौंको महाराजगञ्ज शिक्षण अस्पताल ल्याइए पनि आरन चलाएर परिवार पाल्ने चँदाराको जीवन बम पड्काएर खाने उन्मादको शिकार भयो ।

युद्ध रोके पनि त्यसका अवशेषहरू फाल्ने इमान्दार प्रयास नगर्दा धेरै निर्दोषले शिकार हुनुपरेको छ ।

गएको ४ मंसीरमा दोस्रो संविधानसभा चुनावको बिहानै निर्वाचन विरोधीहरूले बम पड्काएर रक्तरंजित बनाएको काठमाडौंको भोटेबहालमा ८ वर्षीय समीर खड्गीकी हजुरआमा राम्रो चित्र बनाउने आफ्नो नातिका औंलाहरू खोजिरहेको दृश्य कम हृदयविदारक थिएन ।

समीर खड्गी र कमारो चँदाराले नेपाली समाजको सबैभन्दा तल्लो तप्काका नागरिकको प्रतिनिधित्व गर्छन् । ‘जनताको मुक्तिका लागि’ अझै ‘जनयुद्ध लड्न बाँकी’ देखेकाहरूले देशमा अझ्ै यस्ता धरापहरू थापेर असंख्य कमारो सिध्याउने रहर गरिरहेछन् । कति दुःखलाग्दो कुरा !

मृतकको सूची नबढोस्
हिजो हिंसात्मक आन्दोलन गर्नेहरूले जाजरकोट घटनाप्रति दुःखमनाउ गरेका छैनन् । जाजरकोटमा अधमरु भएर राजधानी ल्याइएका कमारोको प्राणपखेरु उडेको खबरले सरकारको कान पोलेको छैन ।

राष्ट्रिय मानवअधिकार आयोगले विस्फोटक पदार्थ हटाउन र घाइतेको उचित उपचार गर्न सरकारको ध्यानाकर्षणसम्म गरेको छ । यो समस्या सुल्झ्न सरकारको मात्र ध्यानाकर्षण भएर चाहिं पुग्दैन ।

५ मंसीर २०६३ मा नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीचको विस्तृत शान्ति सम्झैतामा दुई महीनाभित्र सबैखाले विस्फोटक पदार्थ हटाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

तर, त्यसयता समस्या समाधान होइन पड्किंदै, मान्छे मर्दै जाने अनन्त शृङ्खला शुरू भयो । ‘मैले यो–यो ठाउँमा धराप थापेको थिएँ, यता–यता बेवारिसे बम फालेको थिएँ’ भन्दै माओवादीले नै हिसाबकिताब नखोजिदिएसम्म बमहरू वेलाबखत पड्किरहने देखिन्छ ।

बारुदी सुरुङ, बेवारिसे बम र अन्य विस्फोटक पदार्थ रहेको क्षेत्र पहिचान गरी त्यसलाई निष्प्रभावी बनाउन सरकार र एमाओवादीको संयुक्त टोली देशभर दौड्ने काम गरिहाल्नु जरूरी छ । त्यसो गरिदिए मात्र १७ हजार मृतकको सूचीमा अरू थपिनुपर्ने छैन ।

एकपटक रोपिएको युद्धको बीउले अनन्त कालसम्म विषवृक्ष उमार्छ । त्यसले अनेक रूप र अवतार मार्फत समाजलाई डसिराख्ने कुरा सरकार र दलहरूका मानिसलाई थाहा नभएको कुरा होइन ।

यसैगरी बमहरू पड्किंदै गए युद्धका घाउ र अन्याय बढ्दै जान्छन् । न्यायविनाको समयले घाउहरूलाई छिटोछिटो पकाउँछ । यसमा सरकार र माओवादी गम्भीर हुनै पर्छ ।

वेलैमा युद्ध बिसाएर थप क्षति रोकेको एमाओवादी नेतृत्व जति इमान्दार बन्छ, उति उसको प्रतिष्ठा बढ्दै जान्छ । कमारो चँदाराको मासिएको जीउले सबैलाई हिंसाबाट १२ हात पर बस्ने शिक्षा मिलोस् ।

अनाहकमा मृत्युवरण गर्न विवश चँदाराप्रति हार्दिक श्रद्धाञ्जली । उनको आश्रित परिवारले क्षतिपूर्ति र न्याय पाएको सुन्न पाइयोस् । कुनै पनि खाले हिंसाको हिस्सा बन्न इन्कार गर्नेहरूको जय होस् ।

हिमाल खबरपत्रिकाबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>