ब्लगआइतबार, फाल्गुण २५, २०७०

विमोचनको मजा

आनन्द पी राई

पछिल्ला केहि वर्षदेखि राजधानीमा विभिन्न विद्याका पुस्तक विमोचनको क्रम बढेको छ । हिजोआज त मौलिक, अनुदित वा संकलनहरुको विमोचन नभएको दिनै हुँदैन । पुस्तक लेखन, प्रकाशन र विमोचन आफैंमा उत्साहबर्धक कुरा हो । यसमा प्रकासित सबै पुस्तकको विमोचन हुँदैन भन्ने तथ्य आफ्नो ठाउँमा छँदैछ । विमोचन समारोहहरुमा बारम्बार दोहोरिने एउटा बिझाउने बिषय पनि छ– नचाहिदो महिमामण्डनको ।

कतिपय विमोचन समारोह लेखकको महिमामण्डनकै लागि गरिएको प्रतित हुन्छ, जसको पोल पुस्तकको पाना–पानाले खोलिदिन्छ । त्यस्ता समारोहमा छानिएका वक्ताहरुले गुणवत्ताको हिसाबले यो नै अन्तिम कृती हो भने झैं गरेर व्याख्यान दिन्छन् । लेखकले पनि किताबको रचनागर्भदेखि लेखन–सम्पादनको चरणसम्म गरेको तपस्याको फेहरिस्त सुनाउँछन् । अलिअघि बागबजारमा भएको विमोचन समारोहमा लेखकले नेपाली साहित्यको भण्डारमा नियात्रा विद्याको एउटा गतिलो कृती चढाउन आफूले कहिल्यै यात्रा संस्मरण नपढेको बताएका थिए । कृतीमा अरुको प्रभाव नपरोस् भनेर त्यस्तो तपस्या गर्नुपरेको उनको कथन थियो । समारोहका अरु वक्ताहरुले पनि नेपाली साहित्यिकारहरुको लहरमा एक जना ‘भूतो न भविष्यती’ टाईपका प्रतिभा थपिएको धारणा राखे ।

प्रज्ञा प्रतिष्ठानमा २४ फागुनमा आयोजित विमोचन समारोह भने धेरै हिसाबले भिन्न रह्यो । सन्दर्भ सुर्य सुवेदीद्वारा संकलित/सम्पादित अन्तरवार्ता ग्रन्थ ‘सिर्जना र दृष्टिकोण’को हो, जहाँमा महिमामण्डनको कुनै मोह देखिएन । कृती र कार्यक्रम नै महत्वपूर्ण भएपछि आत्माप्रशंसाको दरकार नपर्ने यो समारोहमा देखियो । कार्यक्रमका ‘कर्ता’ सुवेदीले ६१२ पेजको ग्रन्थ नेपाली साहित्यलाई चोटीमा पुर्याउने ‘बेबल’ निर्माणको महान अभिलाषाबाट ओतप्रोत भएर तयार पारेको दाबी गरेनन् । बरु, उनले लेखकीय परिपक्वता र इमान्दारी झल्काउँदै ‘फुर्सदको समयमा समाजपयोगी काम के गर्न सकिन्छ त ? भनेर सोच्दै जाँदा यसमा हात हालेको’ बताए ।

सूर्य सुवेदीको पुस्तक ‘सिर्जना र दृष्टिकोण’ विमोचनअघि २४ फागुनमा काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान परिषरमा फोटो खिचाउँदै नेपाली साहित्यका वरिष्ठ साधकहरु । तस्वीरः विक्रम राई/हिमालखबर

कथा, उपन्यास र स्मृती ग्रन्थ गरी तीन कृतीका लेखक सुवेदीले आफ्नो पहिलेको काममा चित्त नबुझेका कारण पनि यो कितावमा मेहनेत गरेका रहेछन् । सुवेदीले बडा सरलताका साथ भने, “२०२७/२८ सालतिर रेडियो नेपालमा काम गर्दा सिद्विचरण श्रेष्ठ, वालकृष्ण सम लगायतको अन्तरवार्ता लिएँको थिएँ, तर त्यती बेला परिपक्व काम गर्न सकिन भन्ने लागिरहेको थियो ।”

‘लेखकको व्यक्तित्व र कृतीत्व’ माथि प्रकाश पार्ने औपचारिकतामा वक्ताहरुले पनि त्यहाँ  कुनै झिल्लि झारेनन् । त्यसो त, त्यहाँ वक्ताहरु नै खगेन्द्र त्रिपाठी, अभि सुवेदी, सत्यमोहन जोशी, ताना शर्मा लगायत दिग्गजहरू थिए । ६५ वर्षीय सुवेदीले संग्रह गतिलो नभएर गफ नदिएको वा वक्ताहरुले अतिप्रशंसा नगरेको भने होइन । कितावमा ५९ साहित्यकारका छोटो शब्दचित्रसहित अन्तरवार्ता छन् । यी अन्तरवार्ताहरुलाई ‘प्याराफ्रेजिङ’ गर्ने हो भने कुनै गतिलो जर्नल, पत्रिका वा कितावका लागि ५९ थान आलेख तयार हुन्छ– नेपाली साहित्यको कुनै विद्या–हाँगा वा सम्बन्धित साहित्यकारको जीवनी कै लागि पनि । सोध्यो, टिप्यो, छाप्यो नगरी अन्तरवार्ता लिनुअघि सम्बन्धित लेखक र उनका कृती/प्रवृत्तीमाथि सुवेदीले गरेको अध्ययन/मेहनेतले यस्तो सम्भव भएको हो ।

‘सिर्जना र दृष्टिकोण’को विमोचन किनपनि मजाको भयो भने, संग्रहका लागि अन्तरवार्ता दिएका वयोवृद्ध साहित्यकारहरु  विमोचन समारोह अघि उत्साहका साथ फोटो सेसनमा सहभागी भए । उमेरले ‘आँगन नै परदेश’ को अवस्थामा पुगिसकेका उनीहरुबीच भएको भेटघाट/भलाकुसारी आफैंमा महत्वपुर्ण थियो । अन्तरवार्ता लिएर किताव तयार गर्ने क्रममै जगदीश घिमिरे, माधवलाल कर्माचार्य र भानुभक्त पोखरेलको मृत्यु भईसकेको छ । कार्यक्रममा बडा रौसिएर बोलेका ९५ वर्षीय कविवर मावधप्रसाद घिमिरेले भने पनि, “आज यति धेरै श्रष्टा एक ठाउँमा भेला भएर तस्वीर खिचाउने काम भयो, यो नै अन्तिम पनि हुन सक्छ ।”

क्रमशः एक्लिदै गएका नेपाली साहित्यका यी मनिषीहरुलाई किताव बिमोचनको निहुँ पारेर केहि घन्टा भएपनि एक ठाउँमा भेला पार्ने जुक्तिका लागि पनि सुर्य सुवेदी धन्यवादका पात्र भए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>