खेलकुदआइतबार, फाल्गुण २५, २०७०

को को छन्, राखेप सदस्य सचिवको दौडमा

हिमालखबर

अर्को साता नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले बंगलादेशमा आयोजना गर्ने ट्वान्टी ट्वान्टी विश्वकप खेल्दैछ । नेपाली खेलकुदकै सर्वाधिक ठूलो सफलता हो, यो । राज्यले खेलकुदमा गरेको लगानी र खेल क्षेत्रलाई दिएको महत्व भन्दा पनि मुख्यतः क्रिकेट खेलाडीहरुको मेहनतको प्रतिफलका रुपमा हेरिएको छ, विश्वकपमा नेपालको सहभागितालाई ।

तर, देशभित्र खेलकुदलाई प्राथमिकतामा राख्ने काम भने अझै पनि शुरु भएको छैन । खेलकुदका क्षेत्रमा क्रियाशिल हुने राज्यको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद हो । तर, परिषदलाई अहिलेसम्म पनि नेपाली खेलकुदलाई उँभो लगाउने गरी काम गर्न सक्ने वातावरण बनाउनेतर्फ राज्यको ध्यान पुग्न सकेको छैन । सरकार परिवर्तनपिच्छे राजनीतिक नियुक्तिबाट पदाधिकारी फेरबदल गर्ने काम हुँदै आएको परिषदमा फेरि नयाँ राजनीतिक नियुक्तिको दौडधुप शुरु भएको छ ।

नयाँ गठबन्धन सरकारमा युवा तथा खेलकुद मन्त्रालय एमालेको भागमा आएसँगै परिषदको नेतृत्वका निम्ति एमालेभित्र कसरत तीब्र बनेको छ । परिषदमा सदस्य–सचिब प्रमुख कार्यकारी पद रहने गर्दछ । परिषदको संरक्षक प्रधानमन्त्री र अध्यक्ष खेलकुद मन्त्री रहने गर्दछन् । सदस्य सचिवसँगै परिषदमा उपाध्यक्ष र सदस्यहरु पनि नियुक्त हुन्छन्, जसमा विभागीय मन्त्री र मन्त्री सम्बद्ध दलको मुख्य भूमिका रहने गर्दछ ।

अहिले परिषदका सदस्य सचिब रहेका युवराज लामा एमाओवादी नेतृत्वको सरकारका पालामा एमाओवादीवाट नियुक्त भएकाले उनलाई हटाएर नयाँ सदस्य सचिब नियुक्ति गर्ने कसरत तीब्र बनेको हो । एमालेभित्र सदस्य–सचिब बन्न तीब्र प्रतिस्पर्धा देखिएको छ । दाबेदार धेरै देखिए पनि मुख्य चर्चा चाहिँ विनोद मैनाली, टेण्डी शेर्पा र पिताम्बर तिम्सिनाको छ ।

मैनाली अहिले एमाले सम्बद्ध नेपाल खेलकुद महासंघका उपाध्यक्ष हुन् । नेपाल क्रिकेट संघका उपाध्यक्ष समेत रहेका मैनाली यसअघि परिषदको सदस्य भइसकेका छन् । नेपालगञ्जका मैनाली एमालेका सबै शीर्ष नेतासँग सम्बन्ध भएका व्यक्ति मानिन्छन् भने सरकारको नेतृत्व गरेर गएका एमाले उपाध्यक्ष तथा उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमसँग उनको नजिकको सम्बन्ध छ ।

परिषदको सदस्य सचिबका अर्का प्रमुख दाबेदारका रुपमा देखिएका शेर्पा नेपाल नेपाल खेलकुद महासंघका महासचिब एवम् नेपाल बास्केटबल संघका अध्यक्ष हुन् । यसअघि एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको राजनीति गरेका शेर्पा अमृत साइन्स क्याम्पसका पूर्व स्ववियु सभापति समेत हुन् ।

अर्का दाबेदार तिम्सिना चाहिँ परिषदमा यसअघि उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । एमालेभित्र केपी ओली क्याम्पका मानिने तिम्सिनालाई अध्यक्ष झलनाथ खनालनिकट मन्त्री पुरुषोत्तम पौडेलका सहयोग नहुने पनि एकथरीको भनाई छ । त्यसकारण मैनाली र शेर्पा नै मुख्य दाबेदार रहेको बताइन्छ । उनीहरुमध्ये एकजनालाई सदस्य सचिव बनाइए एकजनालाई उपाध्यक्ष बनाएर थामथुम गर्ने मनस्थितिमा मन्त्री पौडेल रहेको स्रोत बताउँछ ।

अबको केही दिनमै राखेपमा नयाँ सदस्य सचिब नियुक्त गर्ने तयारी भइरहेको बताइन्छ । एमाले पंक्तिभन्दा बाहिरबाट चाहिँ खेलकुद बुझेको व्यक्तिलाई परिषदको नेतृत्वमा ल्याउनुपर्ने दबाब मन्त्री पौडेलमाथि छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>