रिपोर्टसोमबार, फाल्गुण २६, २०७०
के भएको हो ओलीलाई
-रामेश्वर बोहरा
२३ माघमा हिमालका लागि अन्तर्वार्ता शुरू गर्नुअघि सेतो टालोमा बेरिएको सुन्निएको दाहिने हत्केला इङ्गित गर्दै ‘के भएको हो ?’ भनी सोध्दा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको जवाफ थियो, ‘युरिक एसिड बढेर सुन्निएकोले घामबाट जोगाउन टालो बाँधेको हो ।’ ‘जथाभावी खानपिन भयो कि भन्ने प्रश्नको उत्तरमा उनले भनेका थिए, “छैन । कुखुराको मासु खाएकोले यस्तो भएको होला । युरिक एसिडको औषधि खाएको छु । कम होला ।”
खाना खाने समय परेकाले उनले खानासँगै अन्तर्वार्ता गर्ने निधो गरियो । सामान्य व्यक्तिका लागि दुई गाँस हुने भात, तरकारी र साग खाइसक्न ओलीले झन्डै पौने घण्टा लगाए । खानाको बीचमा ‘जैतुन पाउन’ भन्दै उनले ‘ओलिभ’ का केही दाना मागेर खाए । त्यसपछि केही स्याउका टुक्रा र एक कप दूध । अन्तर्वार्तामा सहज प्रस्तुत भएका ओलीले खानामा लगाएको समय हामी र त्यहाँ रहेका कार्यकर्ताका लागि असहज लाग्नेथियो ।
दाहिने हात नराम्ररी सुन्निंदै गएपछि युरिक एसिड बढ्नुको परिणाम ठानेर त्यसकै ‘एन्टिवायोटिक’ प्रयोग गरिरहेका ओली करीब दुई महीनासम्म सुधार नभएर खुट्टामा पनि त्यस्तै समस्या देखिएपछि ९ फागुनमा धापासीस्थित ग्रान्डी अस्पताल पुगे । अस्पतालका मेडिकल डाइरेक्टर एवम् हाडजोर्नी विशेषज्ञ डा. चक्रराज पाण्डे, मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. दिव्या सिंह शाह लगायतका चिकित्सकको टोलीले प्रारम्भिक चेकजाँचपछि उनलाई अस्पताल भर्ना हुने सल्लाह दियो ।
अस्पताल भर्ना भएर स्वास्थ्य परीक्षण गर्दा ओलीको स्वास्थ्यमा अरू धेरै समस्या देखिए । करीब तीन महीनादेखि हात सुन्निन थाले पनि उनले युरिक एसिडको मात्र उपचार गरेको खुल्यो । प्रोस्टेट ग्रन्थी बढेको, खानेकुरा समेत चपाउन नसक्ने गरी गिजा सुन्निएको, पाइल्सका कारण धेरै रक्तस्राव भएर रगतमा हेमोग्लोबिनको मात्रा अत्यन्त कम भएको, रक्तचाप न्यून भएको र सुगरको मात्रा बढेर ५६० पुगेको भेटियो ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, अरू केही दिन ढिला गरेको भए ओली गम्भीर बिरामी बन्न सक्थे । किनभने उनलाई देखिएको सुगर, संक्रमण लगायतका समस्या मिर्गौला प्रत्यारोपणपछि सेवन गरेका औषधिको ‘डोज’ तल–माथि भएर तथा युरिक एसिडको आशंकामा सेवन गरेको औषधिको ‘साइड इफेक्ट’ का रूपमा सिर्जित थिए ।
दुवै मिर्गौला ‘ड्यामेज’ भएपछि साउन २०६४ मा मिर्गौला प्रत्यारोपण गरेर त्यसयता नियमित औषधि सेवन गरिरहेका ओलीले पछिल्लो १६ महीनायता स्वास्थ्य परीक्षण गराएका थिएनन् । जबकि, मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिले समस्या नदेखिए पनि तीन महीनामा नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ।
कुनै समस्या देखिंदा त मिर्गौला प्रत्यारोपण सम्बन्धी विज्ञलाई नै जँचाएर औषधि सेवन गर्नुपर्छ । “राजनीतिक व्यस्तताले होला, नियमित चेकजाँच र स्वास्थ्य परीक्षण ढिलो भएको रहेछ” ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. पाण्डे भन्छन्, “हामीले धेरै किसिमका परीक्षण गरेर अहिले देखिएका समस्याहरू (हात र खुट्टामा देखिएका संक्रमण, सुगर, औषधिका साइड इफेक्टहरू) नियन्त्रण गर्यौं, तर मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रिया गरेका चिकित्सकलाई देखाउँदा राम्रो हुने भएकाले भारत जान सल्लाह दियौं ।”
ग्राण्डीमा उपचार गराउँदा ओलीको हात र खुट्टाको ‘वायप्सी’ लिए पनि संक्रमणको वास्तविक कारण पत्ता नलागेकोले थप परीक्षण गर्न सल्लाह दिएर १४ फागुनमा अस्पतालले डिस्चार्ज गर्यो । त्यसपछि ओली १८ फागुनमा भारत गए ।
उनको मिर्गौला प्रत्यारोपण गरेका वरिष्ठ मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. अनन्त कुमारलाई देखाउन नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा भर्ना भएका ओलीको सबै किसिमका परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको त्यहीं रहेका सहयोगी इन्द्र भण्डारीले नयाँदिल्लीबाट हिमाललाई बताए । ओलीको मिर्गौला प्रत्यारोपण गर्दा अपोलो अस्पतालमा रहेका डा. अनन्त कुमार अहिले म्याक्समा छन् । “सबै रिपोर्ट आइसकेपछि डाक्टरले अहिले सेवन गरिरहेको औषधि परिवर्तन गर्न सक्ने संकेत गर्नुभएको छ” भण्डारीले भने ।
लापर्बाहीले समस्या
यसअघि १७ कात्तिक २०६९ मा श्वासप्रश्वासमा समस्या आएपछि काठमाडौंको त्रिपुरेश्वरस्थित
‘ब्लु–क्रस’ अस्पताल लगिएका ओलीलाई सोही दिन नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । कडा निमोनियाको संक्रमणबाट फोक्सोमा पानी जमेकाले स्वास्थ्यमा सुधार नआएपछि उनलाई ‘बाहय भेन्टिलेटर’ मा राख्नु परेको थियो । डा. भरत रावत, डा. वजेन्द्र श्रीवास्तव र डा. गजेन्द्र शर्माको टोलीले उपचार गरे पनि स्थिति नसुध्रिएपछि थप उपचारका लागि भारत लैजान सल्लाह दिइयो ।
बेहोशी अवस्थामै रहेका ओलीलाई भारतको गुडगावँस्थित मेदान्ता मेडिसिटी अस्पतालबाट पठाइएको ‘एअर एम्बुलेन्स’ मार्फत १९ कात्तिकमा भारत लगियो । त्यहाँ करीब डेढ सातासम्म उपचार गरेपछि डिस्चार्ज भएका उनी थप डेढ साता नयाँदिल्लीमा बसेर ११ मंसीरमा नेपाल फर्केका थिए ।

‘अहिले उहाँमा राजनीतिक जिम्मेवारी धेरै छ, तर उहाँ आफ्नै शरीरको जिम्मेवारी पूरा गर्नबाट चाहिं टाढिंदै गए जस्तो देखियो ।’ डा. ऋषिकुमार काफ्ले, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ
यो पटकको समस्या त्यो वेला जस्तो गम्भीर नभए पनि केही दिन ढिला गरेको भए गम्भीर बन्ने खतरा रहेको चिकित्सकहरूको भनाइ छ । त्यसको मुख्य कारण स्वास्थ्यलाई ‘केयर’ नगर्नु रहेको उनीहरू बताउँछन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार, मिर्गौला प्रत्यारोपणपछि शुरूमा प्रत्येक हप्ता, त्यसपछि प्रत्येक दुई हप्तामा, प्रत्येक एक महीनामा र दुई महिना हुँदै दुई वर्षपछि हरेक तीन महीनामा सम्भव भएसम्म प्रत्यारोपण गर्ने चिकित्सक र नभए प्रत्यारोपण विशेषज्ञबाट नियमित स्वास्थ्य जाँच गर्नुपर्छ । डा. काफ्ले भन्छन्, “मलाई के भएको छ र ! भन्ने सोचले समस्या ल्याउँछ ।”
कुनै व्यक्तिका दुवै मिर्गौलाले काम गर्न छाडेपछि उसको जीवन लम्ब्याउने दुइटा उपाय हुन्छन्– नियमित डायलाइसिस गर्ने, या अरूको मिर्गौला प्रत्यारोपण गर्ने । डायलाइसिस गर्दा दीर्घजीवन नहुने र आर्थिक हिसाबले पनि महँगो पर्ने भएकाले प्रत्यारोपण गरिन्छ ।
अरूको मिर्गौला शरीरमा राख्नु र त्यस मार्फत शरीर सञ्चालन गर्नु स्वाभाविक र प्राकृतिक प्रक्रिया होइन । मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. दिव्या सिंह शाह प्रकृति विरुद्ध गएर गरिने काम भएकाले प्रत्यारोपणपछि शरीरमा त्यसलाई अवरोध गर्ने प्रयास हुने र औषधि मार्फत त्यसलाई सन्तुलनमा राखिने बताउँछिन् । उनी भन्छिन्, “त्यो अंग (मिर्गौला) पनि जोगाउँदै मान्छेको शरीरलाई पनि जोगाउनु भनेको गाह्रो काम हो ।”
शरीरको प्रतिरक्षा प्रणालीले अरूबाट ल्याएर राखिएको मिर्गौलालाई नचिन्ने भएकाले स्वीकार गर्दैन र आक्रमण गरेर नष्ट पार्न खोज्छ । त्यसो हुन नदिन शरीरको प्रतिरक्षा प्रणालीलाई औषधि दिएर लठ्याइन्छ । प्रतिरक्षा प्रणाली कमजोर नपार्ने हो भने प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाड्छ भने प्रतिरक्षा प्रणालीलाई धेरै कमजोर पार्दा अन्य भाइरस वा व्याक्टेरियाले शरीरका अन्य प्रणाली आक्रमण गर्न सक्छन् ।
त्यही कारण प्रत्यारोपण गरेपछि शरीरको प्रतिरक्षा प्रणाली सन्तुलनमा राख्नुपर्ने हुन्छ । “यसमा थोरै पनि तलमाथि हुनुहुन्न, औषधिको डोज मिलाउनुपर्छ” डा. शाह भन्छिन्, “प्रत्यारोपण गरिएका व्यक्तिको शरीरमा सामान्य व्यक्तिभन्दा निकै चाँडो र डरलाग्दो किसिमले संक्रमण हुन सक्छ ।”
स्वास्थ्यमा कुनै समस्या नआए पनि हरेक तीन महीनामा प्रत्यारोपण सम्बन्धी विशेषज्ञसँग परीक्षण गर्नुपर्ने कारण ‘डोज’ थाहा पाउन हो । ‘डोज’ तलमाथि परेको थाहा नहुँदा एकदिनमै रुघा लागेर निमोनिया हुने र तत्कालै मृत्यु समेत हुनसक्ने चिकित्सकहरू बताउँछन् । तर, ओलीले यसमा लापर्बाही गरेको देखिन्छ । १६ महीनाको बीचमा एकपल्ट स्वास्थ्य परीक्षणका लागि भारत गए पनि सम्बद्ध चिकित्सक नभेटिएपछि उनी त्यहाँ ‘राजनीतिक भेटघाट’ गरेर फर्केका थिए ।

‘नियमीत स्वास्थ्य परीक्षण, औषधिको सही मात्रा सेवनसँगै जीवनशैली र खानपिनलाई पनि नियममा बाँध्नुपर्छ ।’ डा. दिव्या सिंह शाह, मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ
पछिल्लो पटक ग्रान्डीमा उनको उपचार गरेकी मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. शाह नियमित स्वास्थ्य परीक्षण नभएकाले समस्या देखिएको बताउँछिन् । ओलीको उपचारमा संलग्न रहँदै आएका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. काफ्ले पनि ठीक समयमा र ठीक मात्रामा औषधि सेवनका लागि नियमित स्वास्थ्य परीक्षण नहुनुलाई नै समस्या मान्छन् । “सबै कुरा समयमा गर्नुपर्छ, उहाँ यसमा सचेत रहने गरेको मान्छे पनि हो” उनी भन्छन्, “यसपटक चाहिं अलि केयरलेस गर्नुभयो, नियमित उपचार गर्न भारत पनि जानु भएन, यहाँ पनि नियमित चेकजाँच गरेको देखिएन ।”
चिकित्सकहरूका अनुसार, मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिलाई शरीरको प्रतिरक्षा प्रणाली र मिर्गौला दुवैलाई सन्तुलनमा राख्न प्रेड्निसोलोन, साइक्लोस्पोरिन, माइकोफिनोलेट मोफेटिल, अजोरन, ट्याक्रोलिमस र सिरोलिमस नामका औषधि दिनुपर्छ । यीमध्ये शरीरलाई ‘म्याच’ गर्ने तीन वटा औषधि दिइन्छ । नेपालमा बढी जसो ‘प्रेस्क्राइब’ गरिएका औषधि प्रेड्निसोलोन, ट्याक्रोलिमस र माइकोफिनोलेट मोफेटिल हुन् ।
डा. शाहका अनुसार, प्रत्यारोपणपछि ओलीले सेवन गर्दै आएका औषधि पनि यिनै हुन् । तर, शरीरको प्रतिरक्षा प्रणालीलाई ‘तटस्थ’ पार्ने यी औषधिको ‘साइड इफेक्ट’ ले प्रत्यारोपण गरेका मानिसको शरीरको सञ्चालन प्रणाली कमजोर पार्छ । विभिन्न रोगका भाइरस र व्याक्टेरियाहरूले सामान्य मानिसलाई भन्दा बढी संक्रमण गर्ने हुँदा उनीहरूको स्वास्थ्य बिग्रने खतरा बढी हुन्छ ।
तर, स्वास्थ्यमा जस्तोसुकै समस्या आउँदा पनि मिर्गौला प्रत्यारोपण गरेका बिरामीले अरूले जस्तो औषधि प्रयोग गर्नु घातक हुन सक्छ । किनभने बाहिर देखिने स्वास्थ्य समस्याको चुरो मिर्गौलासँगै जोडिएको हुन सक्छ । मिर्गौला प्रत्यारोपण सम्बन्धी विज्ञ चिकित्सकसँग जाँच नगरी बाहिर देखिएको समस्याको आधारमा अरू चिकित्सकले ‘प्रेस्काइब’ गरेको औषधि सेवन वा प्रयोग गरेमा प्रत्यारोपणपछि प्रयोग गरिरहेको औषधिलाई समेत प्रभावित गर्न सक्छ ।
डा. शाहका भनाइमा, स्वास्थ्यमा अरू समस्या देखिंदा प्रत्यारोपणबारे जानकार चिकित्सकसँग सल्लाह नगरी औषधि सेवन/प्रयोग गर्नु खतरनाक हुन सक्छ । “एउटा औषधि प्रयोग गर्दा अर्को असर पर्न सक्छ” डा. शाह भन्छिन्, “स्वास्थ्यमा जेसुकै समस्या आउँदा पनि मिर्गौला प्रत्यारोपण सम्बन्धमा विज्ञ चिकित्सकसँग सल्लाह गरेर मात्र अरू औषधि प्रयोग गर्नुपर्छ ।”
मिर्गौला प्रत्यारोपण गर्दा के कस्ता समस्या आएका थिए भन्ने बारेमा प्रत्यारोपण गर्ने चिकित्सकलाई मात्र जानकारी हुन्छ । त्यसकारण सम्बन्धित चिकित्सकसँगै नियमित स्वास्थ्य परीक्षण गराउनु अनिवार्य मानिन्छ ।
त्यस बाहेक स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या आउँदा मिर्गौला प्रत्यारोपण सम्बन्धी विज्ञ चिकित्सकसँग सल्लाह गरेर मात्र आवश्यक उपचार गरेमा त्यसले मिर्गौला प्रत्यारोपणपछि सेवन गरिरहेको औषधिलाई नकारात्मक असर पर्ने खतराबाट जोगिन सकिन्छ । “अहिले त भएका समस्या हामीले कम गर्यौं र थप परीक्षणका लागि भारत पठायौं” ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. पाण्डे भन्छन्, “तर, दीर्घायुका लागि नियमित स्वास्थ्य परीक्षण र विशेषज्ञ चिकित्सकसँग जाँच गराइराख्नुको विकल्प छैन ।”
शरीरको जिम्मेवारीमा ‘अबुझ’
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिका लागि खानपिन र जीवनशैली पनि उत्तिकै मत्वपूर्ण हुन्छ । मिर्गौला प्रत्यारोपण गरेपछि यी सबै कुरामा ध्यान दिंदा प्रत्यारोपण गरेका व्यक्तिहरू २५–३० वर्षसम्म सक्रिय जीवन बाँच्न सक्छन् । नेपालमै २०–२५ वर्षसम्म सक्रिय जीवन बाँचिरहेका थुप्रै व्यक्ति रहेको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. काफ्ले बताउँछन् । यो वेग्लै हो कि, कतिपयको प्रत्यारोपण गरेलगत्तै पनि मृत्यु हुने गरेको छ । प्रत्यारोपण गरिएको मिर्गौला दिने व्यक्तिको स्वास्थ्य अवस्था र मिर्गौला म्याच गरे/नगरेका विषयले यसमा असर पारेको देखिन्छ ।

संविधानसभा निर्वाचन प्रचारप्रसारका क्रममा झापा–७ मा आयोजित सभालाई सम्बोधन गर्दै ओली । तस्वीरः गोपाल गडतौला
ओली मिर्गौला प्रत्यारोपण गरेको केही दिनपछि नै सक्रिय राजनीतिक जीवनमा फर्किएका थिए । संक्रमणको खतरालाई ख्याल गर्दै चिकित्सकहरूले मास्क लगाएर हिंड्न सुझाए पनि उनले केही सातापछि ‘म बिरामी देखिन चाहन्न, सामान्य जीवन जिउन चाहन्छु’ भन्दै मास्क उतारे । मिर्गौला प्रत्यारोपण गरेको केही महीनापछि उनी झपा–७ बाट संविधानसभा निर्वाचनमा उम्मेदवार बने । र, दिनहुँजसो राजनीतिक कार्यक्रमहरूमा सरिक भए ।
चुनाव हारे पनि उनले ‘निडर, प्रष्ट वक्ता र माओवादीप्रति आक्रामक’ को छवि बनाए । त्यसपछि उनले देशभित्र र बाहिर समेत गतिविधि तीव्र पारे । लामो विदेश भ्रमणका क्रममा गत वर्ष अमेरिका पुग्दा उनी बिरामी परेर अस्पताल भर्ना भए ।
यो संविधानसभा निर्वाचनमा महीनौंसम्म आफ्नो निर्वाचन क्षेत्र र अरू निर्वाचन क्षेत्रमा पनि ओली खटे । संविधानसभा निर्वाचनबाट एमाले दोस्रो ठूलो पार्टी बनेपछि उनको सक्रियता अझै बढ्यो । संसदीय दलको नेता बन्न उनले गरेको दौडधूप हेर्दा उनी मिर्गौला प्रत्यारोपण गरेका बिरामी झै लाग्दैनथ्यो । तर, त्यही क्रममा उनको हात सुन्निन थालिसकेको थियो । तर, त्यसमा हेलचेक्र्याईं गर्दा अस्पताल नै भर्ना हुनुपर्ने अवस्था आयो ।
घटनाक्रम हेर्दा स्वास्थ्यको ख्याल नगरी गतिविधि गरेको वेला ओलीलाई स्वास्थ्य समस्या बढेको देखिन्छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. काफ्लेका भनाइमा, मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा शरीरले वेला वेलामा खतरापूर्ण अवस्था सूचित गरिरहन्छ, जसलाई नजरअन्दाज गर्दा ज्यान समेत जान सक्छ । “पोहोर खतरनाक निमोनिया भयो, यसपालि त्यति नै गम्भीर नभए पनि इन्फेक्सन भयो, अब चाहिं शरीरले सबै कुरा सहन नसक्ने वेला आएको संकेत गरेको हुन सक्छ” डा. काफ्ले भन्छन्, “यसले अब कतिपय गतिविधिमाथि नियन्त्रण गर्नुपर्ने अवस्था आएको देखाउँछ ।”
चिकित्सकहरूका अनुसार मिर्गौला प्रत्यारोपण गरेका मानिसलाई संक्रमणबाट बच्न सकेसम्म धेरै मान्छेसँग नभेट्ने, भीडभाडमा नबस्ने र थकान हुने गरी तनाव नलिई आराम गर्न सल्लाह दिइन्छ । यस्ता कुरामा ध्यान नदिई ‘प्रत्यारोपण गरेका व्यक्तिले पनि सामान्य व्यक्तिसरह सक्रियता देखाउन सक्छन्’ भन्ने उदाहरण बनेका ओलीले पछिल्लो समय आफ्नो स्वास्थ्यमाथि ‘बढ्तै जोखिम’ लिएको चिकित्सकहरू बताउँछन् ।
बिहान ७ बजे उठेर तयार भइसक्ने ओली राति ११–१२ बजेसम्म पनि बैठक, कार्यक्रम, भेटघाटमा व्यस्त रहन्छन् । परिवार र सहयोगीहरूले स्मरण गराउने ‘डाक्टरको सल्लाह’ को उनी परवाह गर्दैनन् । कसैले केही भन्दा पनि ‘मलाई के भएको छ र, म पूर्ण स्वस्थ छु’ भन्छन् । “बाहिरबाट हामी उहाँलाई जति स्वस्थ देख्छौं, त्यो संकटाभिमुख अवस्था पनि हुन सक्छ” डा. काफ्ले भन्छन्, “मिर्गौला प्रत्यारोपण गरेपछि उहाँले त्यति ठूलो जिम्मेवारी लिनु परेको थिएन, अहिले जिम्मेवारी पनि धेरै छ, तर उहाँ आफ्नै शरीरको जिम्मेवारी पूरा गर्नबाट चाहिं टाढिंदै गए जस्तो देखियो ।”
मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिले आफ्नो स्वास्थ्यमा कति सजगता अपनाएको छ भन्ने महत्वपूर्ण हुन्छ, जसमा ओली चुकेका देखिन्छन् । बाल्यकालमै आमा गुमाएका र बाबुले दोस्रो बिहे गरेपछि आफन्तको सहारामा हुर्केका ओलीको स्वास्थ्य २०३० देखि २०४४ सम्म १४ वर्ष लगातार जेल बस्दा झ्न् बिग्रेको थियो । जेलमा पाएको यातना र खानपानमा स्याहार नहुँदा उनी सधैं ख्याउटे रहे, मिर्गौला प्रत्यारोपणपछि पुक्क फुलेको देखिए पनि ।
जेलमा ओलीसँगै बसेका नेता राधाकृष्ण मैनाली खानामा रुचि नराख्ने र थोरै तर मीठो खान खोज्ने उनको स्वभाव अहिले पनि सम्झ्न्छन् । “शरीर अचाक्ली कमजोर भएकाले उहाँलाई एकहप्ता लगातार हिकहिक बाडुल्की लाग्थ्यो, हामी आफ्नो छाक काटेर पनि पोषिलो खानेकुरा खुवाउने प्रयास गथ्यौं” मैनाली भन्छन्, “अरू हट्टाकट्टा साथीहरू जेलसजाय काटेर फर्केनन्, केपीजी त झन् के जोगिनुहोला र जस्तो लाग्थ्यो, बाँच्नको लागि संघर्ष गरिरहँदा उहाँमा दह्रो आत्मबल थियो, शायद त्यसैले उहाँलाई टिकायो ।”
ओलीको आत्मबलमा अहिले पनि कुनै कमी देखिन्न । तर त्यसवेला जस्तो शरीरको सञ्चालन प्रक्रिया चाहिं स्वाभाविक छैन । मिर्गौला प्रत्यारोपणसँगै चढ्दो बुढ्यौलीले पनि उनको आत्मबल र शरीरको तागतबीचमा धेरै अन्तर ल्याएको छ । यस्तोमा खानपानको महत्व सबैभन्दा बढी हुन्छ । औषधिले कमजोर बनेको शरीरलाई तागतदार बनाएर बाहिरबाट हुनसक्ने संक्रमणबाट जोगिन पनि उचित खानपान चाहिन्छ ।
‘मीठो र थोरै खाने’ पुरानै स्वभाव भएका ओली अहिले पनि खानामा त्यत्तिकै ‘चुजी’ छन् । मिर्गौला प्रत्यारोपणपछि चिकित्सकले नै धेरैजसो खानामा बन्देज लगाएकाले शरीरले पचाउन सक्ने सादा खाना मात्र खाइरहेका उनले कतिपय अवस्थामा शरीरलाई आवश्यक ‘डोज’ पुग्ने गरी खानामा समेत अरुचि राख्ने गरेको सहयोगीहरू बताउँछन् । कहिलेकाहीं त उनले ‘साथीभाइको जमघटमा जे भेटिन्छ, त्यही खानपिन’ गर्छन् ।
मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. शाह प्रत्यारोपणपछिको जीवनलाई सामान्य मानिए पनि उनीहरूलाई हुने संक्रमण असामान्य हुने हुँदा उत्तिकै सजग रहनुपर्ने बताउँछिन् । “उहाँलाई भएको निमोनिया वा संक्रमण साधारण मान्छेलाई हुने खालको होइन, त्यस्तोबाट जोगिनुपर्छ” उनी भन्छिन्, “त्यसका लागि नियमित स्वास्थ्य परीक्षण, औषधिको सही मात्रा सेवनसँगै जीवनशैली र खानपिनलाई पनि नियममा बाँध्नुपर्छ ।”
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
