रमझममंगलबार, फाल्गुण २७, २०७०
आर्किटेक्चर: दिगो निर्माणमा स्थानीय सीप
स्थानीय सीप र साधन स्रोतको प्रयोगबाटै दिगो वास्तुको निर्माण सम्भव छ ।
९–२२ फागुनसम्म काठमाडौं, बबरमहलमा चलेको ‘सस्टेनेबल माउन्टेन आर्किटेक्चर’ प्रदर्शनीको निष्कर्ष हो, यो। आर्क आई प्लेटफर्म, एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र जलवायु प्लस परिवर्तनले गरेको प्रदर्शनीमा पर्वतीय क्षेत्रका दिगो संरचना सम्बन्धी नेपालका २० वटा उत्कृष्ट नमूना प्रदर्शनी गरिए। नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा स्वदेशी तथा विदेशी आर्किटेक्ट र योजनाकारहरूले कार्यपत्र, छलफल र बहस गरेका थिए।
आर्किटेक्ट तथा योजनाकार कई वाइजेले २२ फागुनमा ‘मध्यपुर थिमी अर्वनाइजेसन एन्ड एग्रिकल्चरलः प्लानिङ दि अनविल्ट’ तथा आर्किटेक्ट मेलिना इचिभार्डले पेरिस र भारतको अनुभवको आधारमा आर्किटेक्टको भूमिकाबारे प्रस्तुति दिएका थिए। २०१२ को ग्लोबल अवार्ड फर सस्टेनेबल आर्किटेक्चर विजेता अन्ने फिन्स्ट्राको अवधारणामा आयोजित कार्यक्रममा युएन ह्याविट्याट नेपालका प्रोग्राम म्यानेजर पिएस जोशीले
‘वर्क अफ युएन ह्याविट्याट टुवार्डस: अ मोर सस्टेनेबल एन्ड लायबल इन्भायरोमेन्ट’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए। अन्नेको डिजाइनमा निर्मित ललितपुरस्थित इसिमोड कार्यालयको रिसेप्सन कक्षबारे पनि अवलोकनकर्तालाई जानकारी दिइएको थियो। यो कक्ष बनाउँदा पाटनका नेवार समुदायको ज्ञान, सीप र सामग्री प्रयोग गरिएको छ (हे. तस्वीर)।
प्रदर्शनीमा अन्नेले अफगानिस्तानको तीन हजार मिटर अग्लो स्थानमा निर्मित सामुदायिक केन्द्र भवन बनाउँदाको अनुभव पनि सुनाए। उनले त्यहाँ पाइने ढुंगाको आकार र रंग सुहाउँदो भवन र झ्यालको डिजाइन गरेका थिए। उनले भवनको नाम नै ‘डान्सिङ विन्डो’ राखेका छन्। तापक्रम माइनस २५ डिग्री सेन्टीग्रेडसम्म झ्ार्ने उक्त क्षेत्रको भवनको पर्खाल ८० सेन्टीमिटर चौडा बनाइएको छ। भारतको लद्दाखमा निर्मित सिकाइ केन्द्र र सिक्किमको आवास गृहलाई कसरी राम्रो बनाइयो भन्ने अनुभव पनि उनले सुनाए।
दिगो निर्माणका लागि सबैभन्दा पहिला स्थानीयसँग कुरा गरेर उनीहरूको आवश्यकता र वस्तुस्थितिको अध्ययन गर्नुपर्ने अन्नेको सुझाव छ। उनी स्थानीयको क्षमता, सीप र साधन स्रोत प्रयोग गर्न नसक्दा दिगो आर्किटेक्चर सम्भव नहुने बताउँछन्।
सन्त गाहा मगर
साप्ताहिक खबरपत्रिका हिमालबाट