अन्तर्वार्ता/विचारमंगलबार, फाल्गुण २७, २०७०
‘राउटेमा परिवर्तनको संकेत देखिंदैछ’
राउटेहरुलाई वन नियन्त्रक राख्ने निर्णय किन गर्नुभएको हो?
१ फागुनमा राउटे समुदायका तीन जना मुखिया मेरो कार्यालय आएर जर्वुटा गाविस ७ को सिद्धथकेनी सामुदायिक वनमा काठ काट्न नदिएकाले आफू भोकै मर्न लागेको गुनासो गरे। उनीहरुले आफ्नो पुर्खाको जंगल कसरी उनीहरुलाई दियौं पनि भने। त्यसपछि उनीहरुलाई वन दिंदा रक्षा गर्लान् कि भन्ने मलाई लाग्यो। त्यसपछि मैले जागीरको प्रस्ताव गरें। तर, चार जनालाई नै जागीर दिनुपर्ने भन्दै उनीहरुले त्यही पैसा चार जनामा बाँड्ने बताए।
उनीहरुले जागीर पाइसके?
२१ फागुनमै पाइसके, असार मसान्त २०७१ सम्मका लागि। सेवा करार निर्देशिका २०५९ अनुसार करारमा वन हेरालु बनाइएको हो।
यसले उनीहरुमा परिवर्तन आउन खोजेको संकेत दिन्छ?
यो नै सकारात्मक संकेत हो। सरकार र गैरसरकारी संस्थाहरुले जति प्रयास गर्दा पनि उनीहरु रुपान्तरण नहुनुमा हाम्रै विधि ठीक नभएर हुन सक्छ। तर उनीहरुबारे थाहा पाएपछि उनीहरुको वस्तीमै गएर घाउमा औषधि लगाएँ। त्यसपछि मलाई विश्वास गरेर भनेको मान्न थाले। मुखियालाई विश्वासमा लिंदा मनाउन सकिने रहेछ।
आर्थिक सहयोग दिने उद्देश्यले मात्र उनीहरुलाई जागीर दिनुभएको त होइन नि?
हैन। उनीहरुलाई देशको मूल प्रवाहमा ल्याउन गरिएको यो सानो प्रयास हो। उनीहरुद्वारा वनको दिगो व्यवस्थापन गराउने मेरो लक्ष्य हो। माछा दिनेभन्दा माछा मार्ने तरिका र जाल दिनुपर्छ भन्ने मेरो सोच छ।
वनमा आश्रितहरुलाई नै वन जिम्मा दिंदा जोगिएला र?
चोरको हातमा साँचो पर्यो भने चोरी हुँदैन। साझेदारी, सामुदायिक जस्ता वन व्यवस्थापनका मोडलका बारेमा विभाग र मन्त्रालयसँग समन्वय गर्नुपर्नेछ। केही ऐन नियमावली पनि संशोसन गर्नुपर्छ जस्तोलाग्छ।
प्रस्तुतिः प्रकाश पन्त, सुर्खेत