Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाली वैज्ञानिकको आविष्कार सुरक्षा साइरन - Himalkhabar.com

रिपोर्टबुधबार, फाल्गुण २८, २०७०

नेपाली वैज्ञानिकको आविष्कार सुरक्षा साइरन

हिमालखबर

– रामेश्वर बोहरा

काठमाडौंको गोङ्गबुस्थित बुद्धमार्ग टोलमा इनार सफा गर्न पसेका व्यक्ति डोरी चुडिएर खसेपछि आत्तिएका स्थानीयले टोलमा जडान गरिएको ‘कम्युनिटी साइरन’ बजाएर टोलभरका मानिस जम्मा गरे। उनीहरूमध्येका एक जना पूर्व सैनिक जवानले अक्सिजन सिलिन्डर र डोरीको सहायताले इनारबाट ती व्यक्तिलाई निकाले। तुरुन्तै ननिकालेको भए अक्सिजन नपुगेर इनारमै उनको मृत्यु हुनसक्थ्यो।

काठमाडौं बालुवाटारको इक्षुमती मार्गमा रहेको गुणराज मेमोरियल नर्सिङ कलेजको तेस्रो तलामा रहेको छात्रावासमा बिजुलीको तार सट भएर आगलागी हुँदा त्यहाँ बस्ने छात्रा कोही थिएनन्। आगो लागेको देखेर बोलाउँदा कसैले नसुनेपछि स्थानीयले ‘कम्युनिटी साइरन’ बजाएर टोलभरिका मानिस जम्मा पारे। टोलका मानिसले बाल्टिनबाट पानी ओसारेर प्रहरी आउनुअघि नै आगो नियन्त्रणमा लिए।

काठमाडौं डल्लुको सडकमा मोटरसाइकल दुर्घटनामा घाइते भएका व्यक्तिलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याउँदा ‘ओ नेगेटिभ’ रगत चाहिने भयो। तत्काल सो समूहको रगत नपाएपछि स्थानीयले साइरन बजाएर टोलवासीलाई जम्मा गरे। सो समूहको रगत फेला परेपछि गम्भीर घाइतेको ज्यान जोगियो।

गोङ्गबु, बालुवाटार र डल्लुमा समुदाय मिलेर जडान गरिएको ‘कम्युनिटी रेस्क्यू साइरन’ ले जनधन जोगाएको उल्लिखित घटनाले देखाउँछन्। नुवाकोटका जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण रिमाल (३०) ले आविष्कार गरेको ‘कम्युनिटी रेस्क्यू साइरन’ प्रणाली अहिले धेरैको ज्यान र धन जोगाउने माध्यम बनेको छ।

समुदायलाई एकगठ पार्ने माध्यम

१५ वर्षअघि एसएलसी उत्तीर्ण गरेर काठमाडौं छिरेका नुवाकोट मदानपुर–५ का राम–लक्ष्मणले आठ वर्षअघि कम्युनिटी साइरन प्रणाली विकास गरेका हुन्। चोरी, लूटपाट लगायत अपराध नियन्त्रण गर्न प्रहरीको सहयोगी बन्ने सोचले विकास गरिएको यो प्रणालीले अपेक्षित परिणाम दिएको छ।

“कुनै घटना भएमा प्रहरी नियन्त्रण कक्षको १०० नम्बरमा डायल गर्दा प्रष्ट लोकेशन थाहा नभएर प्रहरी समयमै आउन नसक्ने भएकाले छिमेकीहरूको सहयोग लिने प्रणाली विकास गरिएको हो” साइरन प्रणालीबारे राम भन्छन्। विश्वमा नौलो मानिएको यो प्रणालीको उनीहरूले विश्वव्यापी ‘पेटेन्ट राइट्स’ पनि पाएका छन्।

कम्युनिटी साइरनको उपकरण देखाउँदै राम र लक्ष्मण रिमाल। तस्वीरः बिक्रम राई

यो प्रणालीमा हुने डिभाइसमा राखिने सिम कार्डसँग सदस्यहरूको मोबाइल वा ल्याण्डलाइन फोन निश्चित ‘कोड नम्बर’ दिएर जोडिन्छ। त्यो कोडसँगै सदस्यहरूको नाम, ठेगाना तथा टेलिफोन नम्बर पनि सिस्टममा राखिएको हुन्छ। समस्यामा परेका सदस्यले आफ्नो फोनबाट सो नम्बर डायल गरेपछि टोलमा राखिएको लाउड स्पीकर सहितको साइरन बज्छ। साइरनसँगै सबै सदस्यको मोबाइलमा बोलाउनेको नाम, फोन नम्बर र ठेगाना सहितको सन्देश पुग्छ।

पाँच मिनेटभित्र त्यही नम्बरमा दोस्रोपटक डायल गर्दा सो सन्देश महानगरीय प्रहरी आयुक्त कार्यालयमा रहेको ‘कम्युनिटी साइरन नियन्त्रण कक्ष’ मा पुग्छ। “समुदाय जम्मा हुने हुँदा धेरैजसो घटनामा प्रहरी आउनुपर्दैन” गोङ्गबुको बुद्धमार्ग टोल सुधार समितिका रामभक्त घिमिरे भन्छन्, “चोर वा अपराधी समातेपछि प्रहरीलाई खबर गर्ने गरेका छौं।” सो टोलमा १०० घर साइरन प्रणालीमा आबद्ध छन् भने नयाँ २५ घरलाई पनि जोडिंदैछ।

यो प्रणाली जडान गरिएका क्षेत्रमा चोरी लगायतका आपराधिक गतिविधि उल्लेखनीय रूपमा कम भएको देखिन्छ। गोङ्गबुको बुद्धमार्ग टोलका घिमिरे चोर पसेपछि कसलाई खबर गर्ने भन्ने समस्या हटेकोले चोरीका घटना नभएको बताउँछन्। टोलमा शंकास्पद व्यक्ति देखिए साइरन बजाएर नियन्त्रणमा लिइने र टोलका तीन जनाले नचिने प्रहरीको जिम्मा लगाउने गरिएको उनको भनाइ छ। ६५ घरमा साइरन जोडिएको बालुवाटारको इक्षुमती मार्गका अगुवा कमल स्वाँर पनि यो प्रणाली जडान भएपछि अपराध घटेको बताउँछन्।

काठमाडौंको लैनचौरमा पनि साइरन राखेपछि लागूऔषध प्रयोगकर्ताको बिगबिगी, चोरी र लूटपाट हुन छाडेको छ। “दुईचार जनाले केही भन्दा आक्रमणमा परिने खतरा हुन्थ्यो” राम–लक्ष्मणसँग सहकार्य गरेको टेक्नोलोजी सेल्स प्रालिका अध्यक्ष तथा स्थानीय केबी भण्डारी भन्छन्, “साइरन बजेपछि टोलका ५०–६० जना मानिस जम्मा भएर लागूऔषध प्रयोगकर्तालाई लखेट्न थालेपछि उनीहरू देखापर्न छाडे।”

काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था हेर्ने महानगरीय प्रहरी आयुक्त रहेका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकाल पनि साइरन प्रणालीले प्रहरी र जनताबीचको सम्बन्ध जोडेको र प्रहरीको भार कम गरेको बताउँछन्। छरछिमेक, टोल र समुदाय मिल्दा प्रहरीले दिने सुरक्षाभन्दा प्रभावकारी हुने उनको भनाइ छ।

नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलको पहलमा उनको घर रहेको काठमाडौं चन्डोलको कञ्चन आवास क्षेत्रमा पनि साइरन जोडिएको छ। यसले चोरीका घटना हुन छाडेको र समुदायमा ‘सेन्स अफ सेक्युरिटी’ जगाएको उनको भनाइ छ। चोरी रोक्न सेक्युरिटी गार्डभन्दा साइरन प्रभावकारी हुने निर्क्योल गरेर राखिएको बताउँदै पौडेल भन्छन्, “यसले सुरक्षासँगै समाजमा ऐक्यबद्धता बढाएको छ।”

समस्या नपर्दा पनि साइरन बजाउँदा टोलवासीले अनावश्यक दुःख नपाउन् भनेर समस्या नपरी साइरन बजाउनेहरूलाई समुदायले नै जरिवानाको व्यवस्था गरेका छन्। जस्तो, गोंगबुको बुद्धमार्ग टोलमा पहिलो पटक विना कारण साइरन बजाएमा रु.५००, दोस्रोपटक बजाएमा रु.२५०० जरिवाना गरिने र तेस्रोपटक बजाएमा प्रणालीबाट नाम हटाउने सम्मको व्यवस्था गरिएको छ।

राम–लक्ष्मणका अनुसार, अहिले काठमाडौं उपत्यका, पोखरा, भैरहवा, विराटनगर, वीरगञ्जका एक हजार ठाउँ (समुदाय) मा यी साइरन जडान भएको र नेपालगञ्ज लगायत ठाउँमा विस्तार गर्न लागिएको छ। २५ देखि ४० घरको समुदायमा साइरन जडान गरिंदा प्रभावकारी हुने उनीहरूको भनाइ छ। साइरन जडान गर्ने एउटा घरबाट उनीहरूले रु.२ हजार र नवीकरण शुल्कबापत वार्षिक रु.२०० लिने गरेका छन्। एउटा समुदायमा पाँच घरलाई भने निःशुल्क साइरन जडान गर्ने गरिएको लक्ष्मण बताउँछन्।

कमजोर आर्थिक अवस्थाका पाँच परिवार छान्ने जिम्मा पनि समुदायलाई नै दिने गरिएको छ। यसमा ४० घण्टासम्म धान्ने ‘ब्याकअप व्याट्री’ जडान गरिएकाले लोडसेडिङले समस्या पार्दैन। कम्युनिटी साइरन प्रणालीलाई काठमाडौं ठमेलको भित्री टोलमा खानेपानी आउने समयमा साइरन बजाएर समुदाय उठाउन पनि प्रयोग गरिएको छ।

प्रविधिमा तीक्ष्ण

राम–लक्ष्मणले यसअघि पानी तान्ने नयाँ प्रविधि आविष्कार गरेका थिए। मोटरबाट पानी तान्दा घरको माथिल्लो भागमा राखिने पानीट्यांकीमा जम्मा हुने पानीको अधिकतम तह नाघ्नासाथ मोटर स्वतः बन्द हुने र न्यूनतम तहभन्दा पानी घट्दा मोटर चल्ने उनीहरूले विकास गरेको प्रविधि थियो। ‘रिजर्भ ट्यांकी’ मा पनि न्यूनतम तहभन्दा पानी तल पुग्दा मोटर बन्द हुने प्रविधि विकास गरेका छन्। यसले लोडसेडिङको मार नपर्ने, बिजुली कम खपत हुने र पानी खेर नजाने लक्ष्मण बताउँछन्।

यस्तो मेशीन जडान गरेपछि बिजुलीको स्वीच अन गर्नुपर्छ, त्यसपछि अन–अफ गर्नुपर्दैन। रु.५५०० पर्ने यो मेशीन ७ हजारभन्दा बढी ग्राहकले जडान गरेको उनीहरू बताउँछन्।

उनीहरूले ‘ग्लोबल पोजिशनिङ सिस्टम’ (जीपीएस) लाई नेपाली परिवेश सुहाउँदो बनाएर नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाएका छन्। अपराध र अपराधीको ‘ट्रयाकिङ’ गर्न महत्वपूर्ण मानिएको यो प्रविधि काठमाडौं उपत्यकाभित्र महानगरीय प्रहरीका ८२ वटा ‘सीआरभी’ गाडीमा जडान गरिएको छ।

यो प्रविधि उनीहरूले प्रहरीलाई रु.२० लाखमा बिक्री गरेका थिए। जसमा, मोबाइलको सिमकार्ड सहित हरेक गाडीमा एउटा डिभाइस मार्फत महानगरीय प्रहरी आयुक्त कार्यालयमा रहेको नियन्त्रण कक्षबाट ती गाडीको गतिविधि निगरानी गरिन्छ। गत वर्ष महानगरीय प्रहरी आयुक्त कार्यालयले राष्ट्रपतिबाट ‘बेस्ट टेक्नोलोजी अवार्ड’ यही प्रविधिका कारण पाएको थियो। बजेट हुँदा यो प्रविधिलाई देशभर विस्तार गर्ने प्रहरीको योजना छ।

उनीहरूको यो प्रविधि ट्रक व्यवसायी महासंघका १२ हजार ट्रकमा पनि जडान गरिएको छ। ट्रक कहाँ पुग्यो भन्ने विवरण सर्भर हेरेर थाहा पाएपछि महासंघले ट्रकधनीलाई पठाउने गर्छ।

गत २१ माघमा सम्पन्न नेकपा एमालेको संसदीय दलको निर्वाचनमा प्रयोग गरिएको ‘इलेक्ट्रोनिक भोटिङ मेशीन’ उनीहरूले नै निर्माण गरेका हुन्। पाँच वर्षअघि निर्माण थालिएको यो प्रविधि अहिले पूर्ण बनेको लक्ष्मण बताउँछन्। नेपालमा गत संविधानसभा निर्वाचनमा भारतबाट ल्याइएको भोटिङ मेशीन एकपल्ट प्रयोग गरेपछि काम लाग्दैन भने उनीहरूको भोटिङ मेशीन सफ्टवेयर ‘मोडिफाइ’ गरेपछि पुनः प्रयोग गर्न सकिन्छ।

यो मेशीनको ‘सेक्युरिटी सिस्टम’ बलियो रहेको, धेरै ठाउँमा रेकर्ड रहने र स्थानीय निर्वाचनमा समेत प्रयोग गर्न मिल्ने गरी तयार पारिएको उनीहरूको भनाइ छ। “यसको पेटेन्ट राइट्सका लागि दर्ता गरे पनि अझै ग्रान्ट मिलेको छैन” लक्ष्मण भन्छन्, “पेटेन्ट मिल्यो भने मुलुक बाहिर निर्यात गर्ने बाटो खुल्नेछ।”

सरकारी तथा अन्य कार्यालयहरूमा नेपाली भाषामा विद्युतीय हाजिरी समेत शुरु गरेका उनीहरूको ड्रिम प्रोजेक्ट हो– बिजुलीको आवश्यकता निर्धारण र आपूर्ति नियन्त्रण गर्दै लोडसेडिङको मार कम गर्ने। उनीहरूले यो प्रविधिको ‘पेटेन्ट राइट्स’ पनि लिइसकेका छन्।

तर, विद्युत् प्राधिकरणले उनीहरूको प्रस्ताव स्वीकार गरेको छैन। “यो प्रायोरिटी बेस्ड डिस्ट्रिव्युसन सिस्टम हो, यसलाई ‘मास–बेस्ड’ मै गर्नुपर्छ, विद्युत् प्राधिकरणका अधिकारीहरूले अहिलेसम्म बुझनुभएको छैन” लक्ष्मण भन्छन्, “उहाँहरूले बुझेर यसलाई ग्रहण गर्ने हो भने लोडसेडिङको मार धेरै हदसम्म कम गर्न सकिन्छ।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>