ब्लगबुधबार, फाल्गुण २८, २०७०

रिफर गर्द्याछु

महेश थापा

निधारमा टुप्लुकिएको पिलोले गर्दा गाउँमा दुःखजिलो गुजारा गरिरहेका मनप्रसाद दम्पतीको होश गुम भयो। अस्पताले भूतबाट तर्सिएर वैद्य गुहारे, धामी पुकारे। वैद्यले डाले घाँस सुँघाएर बाख्री झवाम पारे भने झाँक्रीले ढ्याङ्ग्रो ठटाएर कुखुरो।

पुष्टकारी जत्रो पिलो तिलौराकार भएपछि श्रीमती मनमायाले खोरको लामकाने बेचेर अस्पतालको आँट कसिन्।

सरकारी अस्पतालको सेवा लिएकाहरूको घेवा देखेका उनीहरू शहरमा चल्तीको एक निजी शिक्षण अस्पताल पस्दा डाक्टर साहेबले कम आत्मीयता देखाएका हैनन्।

“ओहो! बडो सही ट्याममा आइपुग्नुभो। थोरै विलम्बले लमतन्न पार्न सक्थ्यो। निधारको पिलोको तार गिदीमा जोडिएको हुने भएकोले रिस्क मोल्न सकिन्न। लौ, तुरुन्त सिटी स्क्यान, एमआरआई र कल्चर गराइहालौं।”

“हैन, त्यो फ्यात्त भइसक्या घाउलाई सुइले प्यात्त पार्दे हुँदैन र! इस्केन–फिस्केन क्यार्न खोजिछौ?” मनमाया आत्तिइन्।

“क्यार्न–फ्यार्न होइन, अब तैयार हौ बिरामी स्याहार्न। ज्यान ठूलो कि धन ठूलो?”

शतप्रतिशत होशमा रहेका मनप्रसादले मुख खोल्न नभ्याउँदै स्ट्रेचरमा हालेर विद्युत् वेगमा दौडाए अनि मिलिक्क गर्न नपाउँदै सर्वाङ्गीण परीक्षण सकेर फर्काए।

त्यसपछि म्यानेजरले दुई हात लामो बिल धराउँदै भने, “चेकजाँचको पचहत्तर हजार, अप्रेसन खर्च पच्चीस हजार र भर्ना डिपोजिट पचास हजार गरी कुल डेढ लाख जम्मा गराइहाल्नु। अनि थप रकमको इन्तजाम पनि थाल्नु।”

“ए बूढा! यत्रो पैसोका लागि त गैरीखेतकै कित्ताकाट गर्नुपर्छ।” मनमाया बेसुर हुन खोजिन्।
मनप्रसाद स्टे्रचरमै हिरिक्क भई ढले।

“मैले भनेकै थिएँ नि, समस्या गम्भीर छ। आईसीयुमा लगिहालौं”, डाक्टर चिच्याए।

नवसिखिया डाक्टरलाई एउटा इन्जेक्सन लगाइदिन अह्राउँदै डाक्टर आईसीयु कक्षबाट बाहिरिए।

सिकारुले सहपाठीसँग सोधे, “सुई नसामा दिने कि मासीमा?”

“जाँ भे’नि घचक्क पार्दे न यार।”

घचक्क पारेसँगै मनप्रसाद काटेको कुखुरो जस्तो फ्याट्फ्याट् गर्न थाले।

“सिरिन्जमा झोल पनि तान्यौ कि हावा भरेर हान्यौ?” डाक्टर आएर सोधे।

“याँ नर्सले भाउ नदेर भेजा भइरा वेला, धेर रेला गर्ने होइन। करोड तिरेर पढ्न आउनु छ, गुरुसुरु भन्दिनँ नि फेरि…”, चेलाले गुरुलाई घुरे।

त्यही वेला हनुमन्ते झोलाधारी अप्सरा मस्कँदै प्रकट भइन् र भनिन्, “हाम्रा औषधिमाथि पनि निगाहा बक्स गर्दिनु पर्योध, हजुर।”

“मैले निगाह राखेको धेरै भयो, बरु तिमीबाटै भएन” डाक्टर कुत्कुतिए, “औषधिको पोटेन्सियल चाहिं कस्तो छ कुन्नि?”

“ल्यापटप र आइफोन हाताहाती, बम्पर उपहारमा चारपाङ्ग्रे।”

षोडषीले दिएको एउटा स्याम्पल चक्की बिरामीको मुखाँ राखिदिंदै डाक्टरले भने, “लौ यो चिरिप्प पार्नुस् त।”

मनप्रसाद हिक्क–हिक्क गर्न थाले।

“तिमेर्का चिरिप्पले मेरा बूढा झिरिप्प हुन लागिसके। हे भगवान! बिरामीका लागि को अनशन बस्देला खै?” मनमाया कड्किन खोजिन्।

अनशन भनेको सुन्नासाथ चिटचिट पसिना काढ्दै डाक्टर साहेब म्यानेजर भएतिर दगुरे। म्यानेजरले सोधे, “रस र्झ्छ कि पगटा मात्र बाँकी हो?”

“खासै झर्ला जस्तो छैन।”

“बैलागाई स्याहारेर धन्दाको टाइम खोटी गर्ने होइन। हिरिक्क गयो भने अर्को लफडा, तुरुन्त कुरियर गर्देऊ।”

डाक्टर साहेबले मनमायालाई सम्झाउँदै भने, “हामीले सक्ने जति गर्यौंफ। सुविधासम्पन्न अस्पताल रिफर गर्द्याछु, तुरून्त लैजानु।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...