खेलकुदबुधबार, फाल्गुण २८, २०७०
नेपालको झिनो हार
बंगलादेशमा २८ फागुन राति भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो । नेपालले दिएको १३८ रनको लक्ष्य पाँच विकेटको क्षतिमा पाँच बल बाँकी छँदै आयरल्याण्डले भेट्टायो ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले सबै ओभर खेल्दै सात विकेटको क्षतिमा १३७ रन जोड्यो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ४७ रन र कप्तान पारस खड्काले ३१ रन बनाए । नरेश बुढाएरले १४, सुवास खकुरेलले १०, शरद भेषवाकर ९, सागर पुन ६, शक्ति गौचन तथा विनोद भण्डारीले ५–५ र अनिल कर्णले ४ रन जोडे ।
गौचनले ३ र जितेन्द्र मुखियाले २ विकेट लिए । बंगलादेशमा २ चैतदेखि शुरु हुने ट्वान्टी–२० विश्वकपअघि नेपाल र आयरल्याण्डबीच अभ्यास खेल भएको हो ।
२३ चैतसम्म चल्ने ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाल सहितका ८ टीमले समूह चरण खेल्नु पर्नेछ । समूह चरण खेल्ने नेपाल, अफगानिस्तान, हङकङ, आयरल्याण्ड, नेदरल्याण्डस्, युएई, बंगलादेश र जिम्बाबेमध्ये दुई टीमले सुपर टेन चरणमा प्रवेश पाउने छन् ।
बंगलादेश र जिम्बाबे टेष्ट मान्यताप्राप्त टीम हुन् । समूह चरणमा नेपालले बंगलादेश, अफगानिस्तान र हङकङको सामना गर्नुपर्नेछ ।