ब्लगशुक्रबार, फाल्गुण ३०, २०७०

गरीबले खाने च्याउ

जीवनप्रसाद राई

गएको पुस अन्तिम साता धुम्बाराहीस्थित गोर्खा मिलेनियम बहुउद्देश्यीय सहकारी संस्थामा पुग्दा शिताके च्याउ प्रति किलो रु.५०० मा बिक्री भइरहेको देखियो। काठमाडौंमा सामान्यतः हजार रुपैयाँभन्दा घटीमा नपाइने यो च्याउ यति सस्तोमा कसले उत्पादन गर्‍यो भनी सोधखोज गर्दा त्यहीँ नजिकै घर भएकी स्वस्तिका तुम्बाहाम्फेको नाम आयो। थप सोधखोज गर्दै उनको घरैमा पुग्दा दुई आना जग्गामा मजाले शिताके उमारेको देखियो।

कुराकानीको क्रममा स्वस्तिका एक सिर्जनशील महिला उद्यमी भएको थाहा भयो। चिनेजानेका फुर्सदिला महिलाहरुलाई समेत गार्डेनिङ, मौरीपालन, च्याउ उत्पादन जस्ता साना लाग्ने तर, मनग्ये फाइदा र धेरै आनन्द दिने काममा उत्प्रेरित गर्न एक वर्ष अघि सरकारी जागीर छाडेकी उनले शिताकेलाई गरीबले खाने च्याउ भनिन्। “यो किनभने ज्यादै पोषिलो छ”, स्वस्तिका भन्छिन्, “शुरू लगानीमा समस्या हुन सक्छ, तर एक पटक रोपेपछि ८–१० वर्ष उम्रिरहन्छ, पोषिलो खान र बेच्न पाइन्छ।”

शिताकेको नालीबेली

नेपालमा शिताके च्याउ खेती गर्नेहरूको संख्या अहिले उल्लेख्य रूपमा बढेको छ। पुर्व इलाममा शम्भु राई शिताकेका अगुवा किसान बनेका छन् भने पश्चिम बाग्लुङमा गंगा थापा मगरले सहकारी मार्फत यसलाई व्यावसायिकता दिइरहेका छन्। यसैगरी, पाल्पामा केशव कार्की, काभ्रेमा प्रेम लामा, खोटाङका गंगा विक लगायत शिताके अभियानमा छन्।

चीन हुँदै नेपाल आइपुगेको जापानी शिताके च्याउ नेपाली वनका लागि नयाँ चिज भने होइन। केही दशकअघिसम्म नेपाली पहाडमा मनग्ये उम्रने यसलाई मृगे च्याउ भनिन्थ्यो। खैरो रङको माथिल्लो भाग (छाता) मा सेतो थोप्लो हुने भएकोले ५० ग्रामदेखि १५० ग्रामसम्मको यो च्याउलाई नेपालीहरूले मृगे च्याउ भनेका हुन्। जापानको पनि रैथाने चिज भएकोले यसलाई जापानी भाषामा शिताके भनिएको हो। जापानीमा भाषामा ‘शि’ भनेको काठको मूढा र ‘ताके’ भनेको च्याउ हो।

यो च्याउको कृत्रिम खेती (व्यावसायिक) भने चीनमा शुरू भएको हो। यस्तो खेती प्रणाली चीनबाट जापानमा विस्तार भयो, जहाँ शिताकेलाई एउटा महत्वपुर्ण ‘डेलिकेसी’ मानिन्छ। वैज्ञानिक नाम लेन्टिनुला इडोडेसले हो। यो परिवारमा २० हजारभन्दा बढी प्रजातिका च्याउ पाइए पनि त्यसमध्ये दुई हजार जति खान हुन्छ। जापानी स्वयंसेवक वातानाबेले २०३७ सालमै शिताके च्याउ नेपाल भित्र्याएका भए पनि यसको खेतीले हालैका वर्षहरूमा मात्र प्रचार पाएको छ।

प्राविधिक पक्ष

शुरू लगानीमा समस्या हुन सक्छ, तर एक पटक रोपेपछि ८–१० वर्ष उमि्ररहन्छ, पोषिलो खान र बेच्न पाइन्छ। स्वस्तिका तुम्बाहाम्फे

सबभन्दा धेरै र लामो समय शिताके च्याउ उमार्ने काठ ओखर हो, तर ओखर लोपोन्मुख भएकोले च्याउको लागि यसलाई मास्ने काम बुद्धिमानी पूर्ण हुँदैन। ओखर पछि राम्ररी शिताके च्याउ हुने काठ उत्तिस, कटुस, सौर, लाकुरी, बाँझ्, खस्रु र खरी हो। यी जातका काठका कम्तीमा २०–३० सेमी गोलाइ र एक मिटर लामा मूढामा ड्रिल मेशीनले २–२ सेन्टिमिटरका प्वाल पारेर शिताकेको बीउ राखिन्छ। “यसको लागि कम्तीमा पाँच वर्षको रूखलाई कात्तिकदेखि माघसम्म काटेर राख्नुपर्छ”, स्वस्तिका भन्छिन्।

उनका अनुसार शिताके उमार्ने काठको बोक्रामा चोटपटक पार्नुहुँदैन र चिस्यानको मात्रा ४० प्रतिशत हुनुपर्छ। मोटाइ ठूलो भएको मूढामा १० लाइन र सानो मूढामा ६ लाइन प्वाल बनाउन सकिन्छ। प्वाल बनाएकै दिन त्यसमा बीउ लगाउनुपर्छ। त्यसपछि प्लास्टिकले छोपेर राख्नुपर्ने मूढाहरूलाई पहिलो महीना दुई पटक पानीले भिजाउनुपर्छ भने दोस्रो महीनाबाट पल्टाएर तलको मुढा माथि र माथिको तल पार्नुपर्छ। त्यसपछि फेरि सातामा तीन पटकसम्म भिजाउनुपर्छ। त्यसपछिको हरेक महीना मूढाहरू पल्टाउनुपर्छ। त्यसरी सातौं महीनामा ढुसी फैलिएर आठौं महीनाबाट च्याउ तयार हुन्छ।

शिताके च्याउको बीउ उत्पादनमा समेत सफलता हासिल गरेकी डा. केशरीलक्ष्मी मानन्धर नेपाली किसानले यो च्याउमा जाँगर देखाए भारतमा ठूलो बजार रहेको बताउँछिन्। भारतमा अहिले चीन र जापानबाट शिताके आपूर्ति भइरहेको छ। कास्की, डडेल्धुरा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, सुर्खेत, म्याग्दी, गुल्मी, स्याङ्जा, काभ्रे, संखुवासभा, रसुवा, मुस्ताङ, नवलपरासी र रूपन्देहीमा समेत शिताके च्याउ खेती शुरू भएकोमा डा. मानन्धर उत्साहित छिन्।

डा. मानन्धर भिटामिन, लवण र प्रोटिनको मात्रा उच्च हुने शिताके च्याउलाई प्राकृतिक स्वादमा खाने हो भने मरमसला लगाउन नहुने बताउँछिन्। “शिताके स्वादीलो र पोशिलो त छ नै”, डा. मानन्धर भन्छिन्, “नियमित खादाँ क्यान्सर लगायतका रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...