रिपोर्टआइतबार, चैत्र २, २०७०

टी–२० विश्वकपः मनोबलको भर

हिमालखबर

२ चैतमा (आज साँझ) बङ्गलादेशको दोस्रो ठूलो शहर चितगाँवमा हङकङसँग ट्वान्टी–ट्वान्टी विश्वकपको पहिलो खेल खेल्नुअघि नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) मा दुई र बङ्गलादेशमा दुई गरी चार वटा अभ्यास खेल खेल्यो । विश्वकपका औपचारिक खेल खेल्नुअघि टीमको मनोबल बढाउन महत्वपूर्ण मानिने अभ्यास खेलको नतीजा नेपालका निम्ति सुखद् रहेन ।

३० फागुनमा बङ्गलादेशको फतुल्लाह स्टेडियममा भएको नेपाल र युएईबीचको अभ्यास खेल । तस्वीरः रामेश्वर बोहरा, ढाका

युएईलाई उसको घरेलु मैदानमै पराजित गरेको बाहेक तीन वटै खेलमा नेपाल पराजित भयो । ३० फागुनमा फतुल्लाह क्रिकेट मैदानमा ९५ रनको सामान्य योगफलमा समेटिएर युएईसँग पराजित हुँदै अभ्यास चरणका खेल टुंग्याएको नेपाली टीम चितगाँव पुग्दा अझ बढी दबाबमा हुनेछ ।

मनोबलको प्रश्न

एसीसी टी–२० प्रतियोगिताको उपविजेता बन्दै टी–२० विश्वकप छनोट प्रतियोगिताका निम्ति छानिएको नेपाली टीम सो प्रतियोगितामा शानदार प्रदर्शन गर्दै विश्वकपका निम्ति छनोट हुँदा टीमको मनोबल उच्च थियो । तर, विश्वकपको पहिलो खेल खेल्दा नेपाली टोलीको त्यो मनोबल सम्भवतः देख्न पाइने छैन ।

टी–२० विश्वकपमा छनोट भएपछि न्युजिल्याण्डमा सम्पन्न वान डे विश्वकप छनोट प्रतियोगितामा भोगेको नराम्रो पराजयले गुमेको नेपाली टीमको मनोबल अझैसम्म राम्ररी उकासिन सकेको देखिंदैन । अभ्यास चरणका खेलमा टीमले राम्रो लय समात्न नसक्नुले त्यही देखाउँछ । टीमको ब्याटिङ र त्यसमा पनि ओपनिङ जोडी जम्न नसक्दा पूरै टीम धर्मराएको देखिन्छ ।

कप्तान पारस खड्का पनि टीमले ओपनिङ जोडीबाट राम्रो सुरुआत नपाउँदा समस्या भएको बताउँछन् । “बलरले राम्रो गरेका छन्, मध्यक्रमले पनि आफ्नो जिम्मेवारी सम्हालेको छ, तर ओपनरले राम्रो सुरुआत दिनसकेका छैनन्” कप्तान खड्का भन्छन्, “ओपनरले राम्रो सुरुआत दिने हो र अरुले पनि कम्तीमा थप १०, १५ रनको योगदान गर्ने हो भने विश्वकपमा सकारात्मक परिणाम दिन सक्छौं भन्ने विश्वास छ ।”

विकेटकिपर सुवास खकुरेल र सागर पुनको ओपनर जोडी पछिल्ला खेलमा लगातार असफल हुँदै आएको छ । अविनाश कर्ण घाइते भएपछि उनको स्थानमा बोलाइएका अनिल मण्डल २९ फागुनमा ढाका आइपुगेकाले प्रशिक्षक पुबुदु दासनायकेका निम्ति ओपनरको एउटा विकल्प तयार हुन सक्छ । यद्यपि, खकुरेल र पुनको जोडीलाई नै ओपनरमा निरन्तरता दिने सम्भावना ज्यादा छ ।

अभ्यास चरणका खेलमा भोग्नुपरेको पराजयले टीमको मनोबलमा असर पर्ने भए पनि पूरै टीमले धेरै मिहिनेत गरेकाले सकारात्मक परिणाम दिन सक्नेमा कप्तान खड्का आशावादी छन् ।

नेपालका निम्ति क्रिकेट खेल देखाउने सबैभन्दा राम्रो अवसरमा ४० ओभर राम्रो खेल्नु प्रमुख चुनौती भएको उनको भनाइ छ । ३० फागुनमा युएईसँगको अभ्यास म्याचपछि उनले भने, “४० ओभर नै राम्रो खेल्न सक्यौं भने मात्र हामी सकारात्मक नतीजा दिन सक्नेछौं ।”

नेपालका निम्ति सुखद् पक्ष के छ भने ढाडको समस्याबाट पीडित कप्तान खड्का अहिले स्वस्थ बनेका छन् । ब्याटिङमा लयमा फर्किएका उनले अभ्यास खेलमा स्पिनरको रुपमा बलिङ समेत शुरु गरेका छन् ।

न्युजिल्याण्ड यात्रामा बिरामी परेका विकेटकिपर सुवास खकुरेलले पनि लय समात्न थालेका छन् । खड्का र खकुरेलको फिटनेसको समस्याले न्युजिल्याण्ड यात्रामा नेपाली टीम धर्मराउन पुगेको थियो । प्रशिक्षक पुबुदु दासनायके पनि टीमको फिटनेसको समस्या सुल्झिंदै गएकाले आशावादी देखिएका छन् ।

समूह चरणमा नेपालले हङकङ, आयोजक बङ्गलादेश र अफगानिस्तानको सामना गर्दैछ । समूह विजेता मात्र अर्को चरणमा प्रवेश गर्ने हुँदा टेष्ट खेल्ने मुलुक बङ्गलादेश र वान डे मान्यताप्राप्त अफगानिस्तानसँगै हङकङको चुनौती समेत नेपालका निम्ति सहज छैन ।

नतीजा जेसुकै हुन सक्ला, तर बङ्गलादेशमा नेपाली क्रिकेट देखाउने कप्तान खड्काको घोषणालाई साकार पार्न टीमको ब्याटिङ लय नै मुख्य चुनौती बन्न सक्छ । न्युजिल्याण्ड यात्रापछि खस्केको मनोबलबाट नेपाली टीम बाहिर निस्कन सक्छ या सक्दैन भन्नेमै यो कुरा निर्भर हुनेछ ।

रामेश्वर बोहरा, ढाकामा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>