Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रात्री बसमा तीन घण्टा - Himalkhabar.com

ब्लगमंगलबार, भाद्र ५, २०६९

रात्री बसमा तीन घण्टा

सन्त गाहा मगर

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले रिवन काटेर बसहरु गुडाउने शुभसाइत गर्नुअघि फर्माएको लम्बेतान भाषणले रात नपरेको भए श्रोता नपाउने निश्चित थियो । तर उनले बाध्य भएर उभिएको भीडको अगाडि राम्रै मौका छोपे । भाषण लम्बिंदा ८ बजे शुरु हुनुपर्ने रात्री बस आधा घण्टा ढिलो भयो ।

बा ३ ख १३८३ नम्बरको ३२ सिटे बसको अघिल्लो सिटमा उपप्रधानमन्त्री श्रेष्ठ विराजमान भएपछि १४ वटा बस एकसाथ चलायमान भए । घर पुग्ने हतारमा नेपालीपन देखाइरहेका यात्रुहरुलाई ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुले विना हप्कीदप्की छतबाट ओरालिरहेका थिए । उपप्रधानमन्त्री श्रेष्ठ सवार बस कान्तिपथ शंकरदेवहुँदै पुनः रत्नपार्क आउने थाहा भएपछि नेपाली टाइम्स का सुनिर पाण्डे, फोटो पत्रकार विक्रम राई र म कलंकी जाने बसमा चढ्यौं । शहीदगेट पुग्दानपुग्दै बसका सहचालक ‘टेकु, कालीमाटी, कलंकी जाने नाइट गाडी‘ भन्दै यात्रु बोलाउँदा बडो रमाइलो लाग्यो । बसभित्रका यात्रुहरुसँग कुराकानीका अझ् रमाइला पाटाहरु खुल्न गए ।

पाटनमा भएको पारिवारिक भोजमा जमेका महर्जन थरका एक यात्रु मोटरसाइकल त्यहीं छाडेर कलंकी जान माइक्रोबसबाट रत्नपार्क आएका रहेछन् । प्रहरीले ‘मापसे’ नियन्त्रण अभियान नचलाएको भए यतिबेला घरमा आराम फर्माइसकेको हुने मोटामोटी अनुमान उनले लगाए । पहिलो रात पहिलो रात्री बसमा चढेर महानगरको यात्रालाई यादगार बनाउन अगाडिका केही माइक्रो र मिनीबस जानाजान छुटाएका यात्रुहरु पनि रहेछन् । दुई युवक त धुमधाम प्रचार गरिएको रात्री बस चढ्नकै लागि  बाफलबाट पैदल घुम्दैघुम्दै रत्नपार्क आएका रहेछन् ।

९ बजे कलंकीमा ओर्लेपछि केही ट्याक्सी चालक ‘बानेश्वर-कोटेश्वर एक सय मात्र’ भन्दै कराइरहेको सुनियो । साँझ् ८ बजेपछि चढ्यो कि ३०० रुपैयाँ भन्ने ट्याक्सीहरु कसरी सस्तो भयो भनेर बुझ्दा समूहमा जानेलाई प्रतिव्यक्ति रु.१०० दर तोकेका रहेछन् । कलंकीमा साढे नौ बजेतिर पनि थानकोट जाने बस खोज्नेहरु धेरै थिए । उपत्यकामा चल्ने बसका कन्डक्टरहरु अब रात्री बसले सबै यात्रु सोहोर्ने भयो भनेर दिक्दार मानिरहेका थिए । कलंकीबाट पुनः रत्नपार्क फर्क्रने रात्री बसमा हामी पछिपछि एक जना प्रहरी पनि चढे । बर्दीमै रहेका ती प्रहरी बसमा यात्रु सुरक्षार्थ खटिएका दुई प्रहरी नजिकै बसे । उनलाई न कण्डक्टरले भाडा मागे न त उनी आफैंले तिरे । सबै तस्बीरः विक्रम राई/हिमालखबर

कलंकीबाटै चढेका दुई युवकमध्ये एउटाले अब ट्याक्सीवालाको हड्ताल झेल्नुपर्ने भविष्यवाणी गरे । उनको कुरा भुईंमा खस्न नपाउँदै अर्काले प्रतिवाद गरे, ‘यो बस पनि यातायात व्यवसायी महासंघकै हो । २३९ व्यवसायी आवद्ध महासंघले खै के स्वार्थले महानगरपालिकासँग मिलेर रात्री बसको एकांकी नाटक गरेको हो । हेरिराख्नु यो नाटक कहिल्यै पूर्ण हुँदैन ।’ टेकु आएपछि कन्डक्टरले नमाग्दै जनही रु.१५ भाडा हस्तान्तरण गरेर ‘अहिले जे कुरा भए पनि रात्री बस निरन्तर चलोस्’ भन्ने शुभकामना िदंदै ती दुई युवा ओर्लिए ।

१० बजेतिर पनि रत्नपार्कमा जो-कोहीले रात्री बसकै कुरा गरिरहेका थिए । कोटेश्वर-कलंकी रुटमा चल्ने नीलो रंगको माइक्रोका स्टाफले अब ट्याक्सीहरुको व्यापार ‘गोलखाडी’ हुने ठोकुवा गर्दै आफू पनि रात्री बसमा काम गर्ने इच्छा व्यक्त गरे । रत्नपार्कमा दोस्रो र तेस्रो तहको चर्चामा क्रमशः ‘मापसे’ र दुई दिनअघि सर्वोच्च अदालतद्वारा भ्रष्टाचारी ठहर पूर्व मन्त्री खुमबहादुर खड्का थिए । सडक डिभाइडरमा बसेका एक युवक डेढवर्षे जेलले खुमबहादुरलाई केही लछारपाटो नलाग्ने आफ्नो झुण्डलाई बताइरहेका थिए । सुरक्षामा खटिएका प्रहरीहरु यात्रुलाई गाडी चल्ने रुट बताइरहेका थिए । बा ३ ख ८२३२ नम्बरको बसका सहचालक र एक प्रहरी वर्षौं पछि भेट भएको मित्र झैं एकअर्काको हात समातेर ओहोरदोहोर गरिरहेका देखिन्थे ।

छोरी लिएर तीनकुने जानुपर्ने महिला रत्नपार्कबाट छुट्न लागेको रात्री बस बबरमहल नयाँबानेश्वर पुरानोबानेश्वर सिनामंगलहुँदै कोटेश्वर जाने थाहा पाएपछि ट्याक्सीको खोजीमा लागिन् । साँझ परेपछि यो महानगरमा जवान छोरी लिएर िहंड्नु कति आतंकपूर्ण छ भन्ने कुरा ती महिलाको अनुहारमा झल्किरहेको थियो । रामेछापका २३ वर्षीय तिलबहादुर आले भने ढुक्कसाथ कोटेश्वर रुटमा जाने बसमा चढे । नयाँबानेश्वरमा ओर्लेर शंखमूल पुलबाट पाटन तर्ने उनको योजना आज सहज रुपमा साकार हुँदैथियो । ठमेलको होटलमा काम गर्ने उनलाई बगलामुखी मन्दिर नजिकैको डेरामा दुई साताकी छोरी र श्रीमतीले पर्खिरहेका छन् ।

सीसीटिभी र दुई सुरक्षाकर्मी रहेको बसमा आज चालक र सहचालकको शानै अर्को छ । चालकले भोलिको मिडियामा आफ्नै बसको तस्बीर आउने ठोकुवा गरे किनभने करिब अढाई घण्टाअघि मन्त्री चढेको बस यही थियो । बस सर्वोच्च अदालत पुग्दा ट्राफिक प्रहरीको चेकिङ चलिरहेको रहेछ । मोटरसाइकलवाला र ट्याक्सी चालकहरुले कागजपत्र देखाइरहेका थिए तर हामी सवार रात्री बसले भीआईपीको गाडीले पाउने सुविधा पायो । बबरमहल पुगेपछि बस सीधै तीनकुने नगई सिनामंगल घुमेर कोटेश्वर जानुपर्ने कारणबारे जिज्ञासा राख्दा सहचालकले रातको समयमा बिरामीहरुलाई पनि सेवा पुगोस् भनेर अस्पताल पर्ने रुट तय गरिएको सगर्व जानकारी दिए । आहा क्या उत्तम व्यवस्था !

बानेश्वरमा रु.१५ थमाएर डेरातर्फ लाग्दा झ्रीले बेस्कन रुझायो । र पनि गुनासो थिएन आज । महानगरपालिका भइटोपलेको काठमाडौंले आजबाट कुनै पनि महानगरमा हुनै पर्ने सेवामध्ये एउटाको थालनी गरेको छ आज । तर पनि कलंकीबाट चढेर टेकुमा ओर्लेको युवकको आशंकालाई ढिस्मिस् गर्न सकिने आधार भने छैन ।

रात्री बस गुड्ने रुट

१. चक्रपथ परिक्रमा
क) कलंकीबाट नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, सातदोबाटो हुँदै कलंकीसम्म
ख) कलंकीबाट सातदोबाटो, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क हुँदै कलंकीसम्म
ग) कोटेश्वरबाट चाबहिल, नयाँ बसपार्क, कलंकी, सातदोबाटो हुँदै कोटेश्वरसम्म
घ) कोटेश्वरबाट सातदोबाटो, कलंकी, नयाँ बसपार्क, चाबहिल हुँदै कोटेश्वरसम्म

२. भित्री सहरी रुट
क) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन, कलंकी आवत जावत- २ वटा बस
ख) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट जमल, केशरमहल, लाजिम्पाट, महाराजगञ्ज हुँदै गंगालाल ह्रदय केन्द्र आवतजावत-२ वटा बस
ग) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट भृकुटीमण्डप, कृष्ण पाउरोटी, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, गौशाला, चाबहिल हुँदै जोरपाटी आवत जावत- २ वटा बस
घ) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट सिंहदरबार, बबरमहल, तीनकुने, सिनामंगल भई तीनकुने हुँदै कोटेश्वर आवतजावत- २ वटा बस
ङ) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, पाटन अस्पताल हुँदै सातदोबाटो रुटमा आवतजावत- २ वटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>