अन्तर्वार्ता/विचारसोमबार, चैत्र ३, २०७०
‘सफलताले ओभर कन्फिडेन्स बनायो’
शान्तिकाल, सशस्त्र विद्रोह र पुनः शान्ति प्रक्रियापछि पनि पार्टी नेतृत्वमा रहनुभयो, कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?
कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय परम्पराबाट हेर्दा स्वाभाविक देखिए पनि कम्युनिष्ट क्रान्तिपछि देखिएको प्रतिक्रान्तिको दृष्टिबाट हेर्दा लामो समय नेतृत्वमा रहनु बहसको विषय बन्छ । म पार्टीको नेतृत्वमा आएको २५ वर्ष भयो । तर माओ ४५ र स्टालिन त्योभन्दा अरू १०, २० वर्ष बढी नेतृत्वमा बसेकाले यो धेरै होइन । तर, एउटै मानिस नमरुन्जेल नेतृत्वमा बसिरहनु वैज्ञानिक भने होइन ।
अहिले विश्वमा नयाँ ‘मेकानिज्म’, नयाँ दर्शन, नयाँ मान्यता विकास भइरहेकाले हाम्रो पार्टीमा पनि त्यसरी नै विकास गर्ने कोशिश भइरहेको छ । ‘२१औं शताब्दीको जनवाद’ दस्तावेजको लेखनपछि मैले नै नेतृत्वबारे नयाँ ढंगले सोच्नुपर्छ भनेको हुँ ।
२०४६ को जनआन्दोलन भन्दा पहिले मैले चाहेर भन्दा परिस्थितिले मलाई प्रमुख नेतृत्वमा पुर्यायो । सेक्टर काण्डको नकारात्मक परिघटनापछि म महामन्त्री बनें । त्यसलगत्तै विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न मेरो ध्यान गयो । माओवाद, जनवादी क्रान्ति, सशस्त्र संघर्षको भूमिकालाई स्वीकार्ने समूहसँग एकता गर्नुपर्छ भन्ने लाग्यो । २०४६ को आन्दोलनले एकताको निम्ति वातावरण बनाएको थियो । एकाध वर्षको मिहिनेतपछि नेकपा (एकता केन्द्र) बन्यो ।
मोहनविक्रम सिंहले तपाईं, बाबुराम भट्टराई जस्ता क्षमतावानहरूलाई राजनीतिक संगतमा राख्न नचाहे जस्तै अहिले तपाईं र बाबुरामले पनि त्यही प्रवृत्ति पुनरावृत्ति गरे जस्तै लाग्दैन ?
अहिले नै मलाई त्यस्तो लागिसकेको छैन । सामाजिक रूपान्तरणको यति ठूलो ऐतिहासिक जिम्मेवारी अज्ञानताले होइन, ज्ञानले मात्र नेतृत्व गर्न सक्छ भन्ने माक्र्सवादको चुरो हो । त्यसको अन्तरवस्तु बुझेर नै मैले बुद्धिजीवी टाइपका प्रतिभाशाली व्यक्तित्वहरू केन्द्रीकृत गरें ।
मोहनविक्रम, निर्मल लामा, रूपलाल, रोहितहरूले रोकेर राखेका प्रतिभाशाली पात्रहरूमा मेरो ध्यान केन्द्रित थियो । जस्तै, मोहनविक्रमले बाबुरामलाई जिल्ला कमिटीमा मात्र राखेका थिए । ज्ञानको आवश्यकता र महत्वलाई कम आँक्ने यान्त्रिक सोच विरुद्ध मैले नै एकता र विद्रोहको पहल गरें ।
पछि नेकपा (एकता केन्द्र) माओवादीमा रूपान्तरण भयो । माओवादी बनिसकेपछि जनयुद्धको प्रारम्भिक चरण जटिल थियो र त्यसलाई हल गर्न युवा प्रतिभाहरूलाई नेतृत्वमा ल्याउनुपर्ने भयो । सामान्य सुधारको तरिकाले होइन, फड्कोको रूपमा गाउँको वर्गसंघर्ष र विभिन्न आन्दोलनबाट खारिएका युवाहरूलाई केन्द्रमा ल्याइयोे । उत्तराधिकारीको तयारी र युवा पिंढीलाई समयमै नेतृत्व छोडिदिनुपर्छ भन्ने बहस हाम्रो पार्टीमा छ ।
तर, पछिल्लो समयमा आफ्नो नजिक निष्ठावान व्यक्ति मात्रै राख्ने गरेको देखिन्छ नि ! जस्तै तपाईंको नजिक कृष्ण महरा र बाबुरामजीको नजिक टोपबहादुर । तर संसदीय प्रतिस्पर्धामा उहाँहरूको प्रस्तुति साह्रै कमजोर रहेको महसूस हुँदैन ?
हाम्रो समाजमा रहेको बहस र प्रवृत्तिहरू नै पार्टीभित्र आउने हुन् । हामी भौतिकवादी द्वन्द्ववादलाई मान्नेले मान्नु पर्छ, समाजमा चलिराखेका विचार, संस्कार र संस्कृतिको प्रतिबिम्ब हरेक पार्टीमा हुन्छ । पार्टीभित्र विभिन्न विचार समूह, गुट भन्ने कुरा नचाहँदा नचाहँदै पनि हुने कुरा हो । लिडर र विचारले मात्रै हल गर्न सक्दैन ।
माक्र्सलाई अहिलेसम्मकै सबैभन्दा बढी प्रतिभासम्पन्न बुद्धिजीवी र दार्शनिक मानिन्छ । तर, माक्र्सले पनि संगठनभित्र गुटहरू रोक्न सकेनन् । किन माक्र्सले आफैंले बनाएको कम्युनिष्ट लिग विघटन गर्नुपर्छ भने ? किनभने त्यो त्यतिवेलाको वर्गसंघर्षको परिणाम थियो । त्यसैले आदर्शवादी तरिकाले बुझ्नु धेरै अर्थपूर्ण हुँदैन । बरु, के कारणले भएको हो र त्यसमा कसरी संघर्ष गर्ने भन्ने सोच्नु उपयुक्त हुन्छ ।
तर, तपाईंले भन्नुभएको विषयमा हामी सबैभन्दा बढी चिन्तित छौं । दोस्रो पुस्ता जसरी आउनुपर्ने हो, हामीले जसरी ‘एडुकेट’ गर्नुपर्ने हो, त्यसमा कहीं न कहीं कमजोरी भएको छ । त्यसैले अहिले हामी कसरी सक्षम मान्छे तयार पार्ने भन्ने बहस गरिरहेका छौं । तर, यो बहस समूह वा गुटले भन्दा सिंगो राष्ट्रले गर्नुपर्छ ।
तपाईंका नजिकका यानप्रसाद गौतम, रवीन्द्र श्रेष्ठ र मातृका यादव नै तपाईंको विरोधी हुनुको कारण के हो नि ?
समर्थन गर्ने मान्छेहरूबाटै विरोधी जन्मिने हो । संसारमा को नेता छ, जसले नजिक हुनेबाट विरोधको सामना गर्नु नपरेको होस् । नजिक भएको मान्छे विरोधी हुने नै विज्ञान हो । बाबुरामको नजिक भएका मणि थापा र मुमाराम पनि विरोधी भए । त्यसकारण यसलाई आग्रह पूर्वाग्रह भन्दा वस्तुगत यथार्थबाट हेर्नुपर्ने हुन्छ । शान्ति प्रक्रियापछि गिरिजाप्रसाद कोइरालाले सबैभन्दा बढी माया गर्ने मान्छे महन्थ ठाकुर, विजय गच्छदार, जयप्रकाश गुप्ता पनि विरोधी भएका थिए ।
तर, कम्युनिष्ट पार्टीमा आलोचनात्मक चेतलाई पहिलेदेखि नै जगेर्ना गर्न सकेको भए यो स्थिति आउने थिएन भन्ने तपाईंलाई लाग्दैन ?
यो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको समीक्षा र माक्र्सवादको गहन अध्ययन, बहससँग जोडिएको विषय हो । यसलाई एकाध व्यक्तिसँग जोडेर हेर्नुहुँदैन र सकिंदैन । मेरो कुरा गर्नुहुन्छ भने अलिकति बढी आलोचना गर्नेलाई आफूतिर ल्याउनुपर्छ भन्ने मेरो मान्यता छ ।
समर्थन गर्नेलाई मैले वास्ता गरिनँ भनेर मेरो आलोचना हुने गर्छ । आलोचना गर्नेलाई मात्र नजिक ल्याउन खोज्ने गरेको भन्छन् । २०४६ देखि शान्ति प्रक्रियासम्म आइपुग्दा मेरो ध्यान सबैलाई समेट्ने तिर नै गयो । अहिलेसम्म पनि मेरो ध्यान त्यतै छ ।
कम्युनिष्ट पार्टीमा सामान्य आलोचना गर्दा पनि शत्रुकै रूपमा व्यवहार गर्ने प्रवृत्तिलाई के भन्नुहुन्छ ?
यो पनि वर्गसँग सम्बन्धित विषय नै हो । डेमोक्र्याट भनिने पार्टीमा त आफ्नो वर्गीय हितमा थोरै असर पर्ने वित्तिकै अझ निर्मम, क्रूर र फासिष्ट हुने गरेका छन् । बरु, उनीहरूको तुलनामा कम्युनिष्टहरू उदार देखिन्छन् । त्यसैले, स्टालिनलाई ज्यादै गाली गर्नु भनेको वर्ग दृष्टिकोण छोडेको भन्ने नै हुन्छ ।
पार्टीभित्रको संघर्षमा नि ?
भित्री संघर्ष पनि वर्ग संघर्षकै प्रतिबिम्ब हो भन्ने बिर्सनुहुँदैन । कांग्रेस, एमाले, माओवादी जहाँ पनि त्यो देखिन्छ । तर, पार्टीभित्रको संघर्ष र बाहिरको वर्ग संघर्ष एकै ढंगले चलाउनुपर्छ भन्ने होइन । एउटा सीमासम्म पार्टीभित्र चल्ने संघर्ष मित्रतापूर्ण, आलोचनात्मक हुन्छ ।
बहस, छलफल र रूपान्तरणद्वारा त्यसलाई हल गर्ने प्रयत्न गरिन्छ । तर, कम्युनिष्ट आन्दोलनमा अलिकति भिन्न विचार हुने वित्तिकै दुश्मन, गद्दार, दलाल भन्ने परम्परा छ । खासगरी स्टालिनको वेलामा त्यो बढी भएको हो ।
हाम्रो सन्दर्भमा पनि भिन्न मत र विचारलाई ठीक ढंगले समाहित गर्न सकिएन । संवादद्वारा त्यसलाई मिलाउन सकिएन भने पार्टी रहँदैन । विचारको द्वन्द्वले नै पार्टीको अस्तित्व राख्छ । २०४६ पछि मैले सबैभन्दा बहस चलाएको विषय यही हो । त्यही भएर वैद्यजीहरू जाँदा पनि म उहाँहरूको कार्यक्रममा गएको हुँ ।
पार्टी विभाजन हुँदा ठूला सैद्धान्तिक कारणहरू भनिए पनि अहिले फेरि एकताको कुरा आएको छ । यसलाई कसरी हेर्ने ?
केही समयदेखि कम्युनिष्टहरूमा डबल स्ट्यान्डर्ड बढेर गएकै हो । स्टालिनको समयमा हावी भएको अधिभूतवाद माओसम्म आउँदा पनि घटेन । जस्तो मलाई कुनै पद चाहिएको छ वा कुनै स्वार्थ पूरा गर्नुछ भने सिद्धान्तको भारीभरकम कुरा गरेर बुझिनसक्नुको बनाउने । स्वार्थ पूरा भएपछि सिद्धान्त पनि एकैछिनमा मिल्ने । लेनिनले सबैभन्दा बढी बहस यसैमा चलाउनुभएको थियो । सरल ढंगले मिल्ने कुरालाई सिद्धान्त बनाउँदा एकैठाउँमा बस्नै नसक्ने हुन जान्छ ।
हेटौंडामा महाधिवेशनमा भनेको कुरा शान्ति प्रक्रियामा आउनासाथ भनेको भए पार्टी विभाजन नहुने र तपाईको परिचय ढुलमुल कुरा गर्ने नेता बन्दैनथ्यो भन्ने लाग्दैन ?
त्यो ‘हाइपोथेसिस’ को कुरा भयो । त्यति वेला त्यस्तो गर्न सकिंदैनथ्यो । उत्तारचढाव र ठक्करको अनुभवले हेटौंडा महाधिवेशन भएको हो । पहिल्यै त्यो भनेको भए हेटौंडा महाधिवेशन नै हुँदैनथ्यो । पार्टी यहाँसम्म आइपुग्दैनथ्यो । शान्ति प्रक्रिया नै शुरू हुँदैनथ्यो ।
बाबुरामले अहिले बोल्नुभएको र हेटौंडा महाधिवेशनले पारित गरेका कुरा मेल खान्छन् ?
ती कुरा किन बोल्नुभएको हो भन्ने उहाँलाई नै सोध्नु ठीक होला । तर, हेटौंडा महाधिवेशनको लाइन एकमतले पारित गरेको हो । प्रधानमन्त्री भएकाले विभिन्न निर्णयमा उहाँकै हात बलियो थियो । किनभने उहाँले अडान लिंदा हुन्थ्यो ।
प्रधानमन्त्रीले भने अनुसार नै सरकार बनाउने, नियुक्ति गर्ने काम भए । उहाँले अहिले बोलेका कुरा महाधिवेशनको लाइन र अस्ति भर्खर केन्द्रीय समितिले पारित गरे अनुसार पनि छैन । नयाँ शक्ति भनेर उहाँले आफ्नो पार्टी भन्दा अर्कै नयाँ केही जस्तो भन्नुभएको छ । त्यो महाधिवेशन, पार्टी र क्रमिक विकाससँग संगति राख्दैन ।
बाबुरामले अहिलेसम्म आफूलाई तपाईको सहयोगी भन्दै आउनुभएको छ । अहिले पनि सहयोगीकै सम्बन्ध छ कि फेरियो ?
अहिले यसबारे म धेरै भन्न चाहन्न । बाबुरामजी धेरै विशिष्ट पृष्ठभूमिको बुद्धिजीवी हुनुहुन्छ । उहाँलाई पार्टीमा समुचित स्थान हुनुपर्छ भनेर लड्ने व्यक्ति हुँ म । एकता केन्द्र बन्दा मैले नै जोड गरेर उहाँलाई पोलिटब्यूरोमा ल्याएँ । हाम्रो पृष्ठभूमि र सोच्ने तरिकामा केही अन्तर छ भन्ने हामीले मानेकै हौं । त्यो कहिलेकाहीं टकरावमा पनि आउँछ । जनवादी क्रान्ति गर्ने र समाजवादतिर जानेमा हामी एकठाउँमै छौं । म अध्यक्ष भए उहाँ उपाध्यक्ष, म महामन्त्री हुँदा उहाँ पोलिटब्यूरो सदस्य, यस अर्थमा उहाँ सहयोगी नै हो ।
बाबुरामले उठाउनुभएको विषयको अन्तरवस्तु तपाईं नेतृत्वबाट हट्नुपर्छ भन्ने हो ?
यो बहसकै विषय छ । अहिले धेरै खुलेर भन्नु उपयुक्त लाग्दैन । बाबुरामले अध्यक्षले र आफूले पनि छाडेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भनेको जस्तो लाग्छ । तर, त्यसले समस्या हल गर्दैन । हामीले छाड्दा अर्को पुस्ताले सरर्र लैजान्छ भन्ने मलाई लाग्दैन । उहाँको नियतमा म शंका गर्दिनँ । तर, उहाँले भने अनुसार हुने हो भने पार्टी झन् छिटो विघटन हुन्छ । उहाँले भने अनुसार टोपबहादुर र महराजीलाई दुई वर्ष तयारी नगरी छाड्दा झन् छिटो समस्या आउँछ । उहाँले अर्कै चिज खोजेको हो भने त म भन्न सक्दिनँ ।
तपाईंको जस्तो डायनामिज्म तपाईं जसरी बोल्ने बाहेक दोस्रो पुस्तामा किन हस्तान्तरण नभएको होला ?
(हाँसो) भइराखेको छ र हुन्छ । तर, बाबुरामजी र म शान्ति प्रक्रिया निष्कर्षमा नपुगेसम्म र संविधान नबनेसम्म जिम्मेवारीबाट हट्न नैतिक रूपमा पनि मिल्दैन ।
त्यसो भए तपाईंले नै उहाँलाई छोड्दा हुँदैन र ?
मैले हेटौंडा महाधिवेशनमै अब तयारी गरौं भनेको हुँ । तर, सबैको मन जित्न त खोज्नुपर्छ नि ! पार्टीभित्र सबै एकनाशको हुँदैनन्, मेशीनबाट निकालेको बोइलर जस्तो पनि मान्छे होइन । सबैलाई समेट्ने गरी उहाँले तयारी गर्ने हो भने म छोड्छु । बाबुरामजीलाई पनि तपाईं अध्यक्ष हुने हो भनेर मैले भनिसकेको छु, यो कुरा पार्टीका अरू साथीसँग पनि भनेको छु । तर, उहाँले अर्थाेक गर्दै हिंड्नुभयो भने त समस्या खडा हुन्छ नि !
बाबुराम र तपाईंले पार्टीका सबै नैतिक मापदण्डहरू आफूमा केन्द्रित गरेकाले समस्या आएको भन्ने लाग्दैन ?
हामीले दुई जना मात्रै हुुनुपर्छ भनेर भनेका पनि होइनौं । तर, गर्दा गर्दै यस्तो हुन गयो । जनता, कार्यकर्ताले पनि हामी दुई जनालाई सँगै हेर्न खोजे । दुई जनाले भनेपछि कार्यकर्ताले पनि चित्त बुझाए । त्यही कारण छलफल दुई जनामा बढी केन्द्रित भयो । ‘कलेक्टिभ’ छलफल भएन । त्यसले गर्दा अरू साथीहरू अलि टाढा हुने भए भन्ने अहिले महसूस हुन्छ । अरू नेता÷कार्यकर्ताको भूमिकालाई अलि कम गरियो कि भन्ने लागेको छ ।
व्यक्तिगत रूपमा आफैंलाई हेर्दा पनि के महसूस भएको छ भने म महामन्त्री भएँ एउटा समूहको । त्यो समूहलाई विघटन गराएर एकता केन्द्र बनाएँ र त्यसको पनि महामन्त्री भएँ । एकता केन्द्रमा संघर्ष भएर माओवादी बन्यो । माओवादीको पनि म नै महामन्त्री भएँ ।
जनयुद्ध शुरू भयो र २०५७ मा प्रचण्डपथ संश्लेषण भयो । त्यसको प्रवर्तकको रूपमा म देशभरि स्थापित भएँ । शान्ति प्रक्रियामा पछि संविधानसभाको पहिलो निर्वाचनमा भारी जित, गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएपछि मैले जे सोच्छु गलत हुँदैन भन्ने मलाई पर्यो, लगातार विजय मात्रै भएकोले ।
जनताले पनि हाईहाई मात्रै गरे । मलाई के लाग्यो भने आर्मी, ब्यूरोक्रेसी पनि मेरै हो । हारिन्छ जस्तो लाग्दै लागेन । सामान्य किसानको छोरो मिहिनेत गरेर सबैलाई मिलाएर लैजाने मान्छे थिएँ, म । सफलताले मलाई मनोगत र ‘ओभर कन्फिडेन्ट’ बनायो । जसले अरूप्रति अविश्वास गर्ने र अरूसँग छलफल गर्ने कुरालाई नजरअन्दाज गर्ने पनि बनायो भन्ने अहिले मलाई गहिरो ‘फिल’ भएको छ ।
सबैलाई मिलाएर लैजाने क्रममा परिवार चाहिं छुटेको हो ?
निर्वाचनको समीक्षा गर्दा संश्लेषण राख्ने क्रममा मैले भनेको छु, नजिककोलाई ध्यान नदिने मेरो कल्चर बन्यो । मेरो श्रीमतीले मलाई आलोचना गर्दै छोराछोरी पढाउनुपर्छ भन्ने मतलब नराखेको भन्ने गरेकी छिन् । राम्रो स्कूलमा राखौं भनेको भए सकिन्थ्यो । तर, मलाई मतलब भएन । त्यतिवेलाको लिडरसीपमा सबैभन्दा बेहाल मेरै परिवारको थियो । आफू जहाँ गएको छ उतै लगेको छ । पढाइको ठेगान छैन । पार्टी, आन्दोलन, क्रान्ति भन्दा बढी मेरो दिमागमा केही गएन ।
तर, (भावुक हुँदै) मलाई परिवारले ठूलो सहयोग गर्यो । मेरो श्रीमती, छोराछोरी सबैले रुकुम, रोल्पा, भारतको कुनाकुनामा गएर साथ दिए । तर उनीहरूका लागि मैले गर्नुपर्ने जति गरिनँ । छोराछोरीका लागि गर्छु भनेको भए आन्दोलनमा अहिले गरे जति गर्न सक्दिनथें होला । तर, पश्चात्ताप भने छैन ।
पारिवारिक भरणपोषणमा कहाँनेर चुके जस्तो लाग्छ ?
चुकें भन्ने त लाग्दैन । शिवनगरमा डेढ विघा जग्गा थियो । जनयुद्ध शुरू गर्ने वेलामा पार्टीको प्रमुख लिडरले बेचेर दिनुपर्छ भनेर दिएँ । केन्द्रीय समितिका साथीहरूले पनि दिनुभयो । जनयुद्धको वेलामा पार्टीले छोराछोरीको जिम्मा लिने कुरा पनि भएन । मलाई चुकें जस्तो त लाग्दैन तर सके जति गरिनँ भन्ने चाहिं लाग्छ । उनीहरूको पढाइमा ध्यान दिनुपर्थ्यो।
आफ्नो परिवार सम्हाल्न नसक्नेले देश कसरी सम्हाल्छ भन्दा परिवारको बेवास्ता गरेर गरिने राजनीतिले कहीं पनि पुर्याउँदो रहेनछ भन्ने लाग्दैन ?
त्यस्तो त म मान्दिनँ । मेरो परिवारमा मेरो विरोधी कोही पनि छैन । जनयुद्धमा परिवारका सबैको समर्पण रहयो । अहिले पनि साथ छ । पढाइ, आर्थिक व्यवस्थापन नभए पनि राजनीतिक व्यवस्थापन गर्न सकिनँ भन्ने लाग्दैन ।
तपाईंका छोराछोरीले भोलि हाम्रा बुबाले आफ्नै लागि मात्रै गर्नुभयो भन्लान् भन्ने लाग्दैन ?
भन्न त सकिंदैन । तर त्यो स्थितिसम्म मेरो परिवार पुग्दैन भन्ने विश्वास छ ।
वैद्य समूहसँग पार्टी एकताको लागि तपाईंले अलिकति ‘लेफ्ट–सिफ्ट’ गरेकोे र बाबुरामले हेटौंडा महाधिवेशनबाट ‘राइट–सिफ्ट’ गरेकाले बढी अन्तरविरोध आए जस्तो लाग्दैन ?
यो प्रश्न धेरै महत्वपूर्ण र अर्थपूर्ण छ साथै साँचो पनि हो । हेटौंडा महाधिवेशनको ‘जनरल लाइन’ बाट नभए पनि निर्वाचनको परिणाम आकलन गरेजस्तो नआएपछि त्यसको समीक्षा गर्ने सन्दर्भमा लेफ्टतिर जानुपर्छ भनेर मैले दस्तावेजमा पनि भनेको छु ।
हामीले आफ्नो क्लासलाई ध्यान दिएर उनीहरूको इन्ट्रेस्टलाई सम्बोधन गर्नुपर्नेमा क्लाससँगको सम्बन्ध कमजोर भयो । ठूला पूँजीपतिसँगको सहकार्य, खानपिन, उठबस धेरै भयो । त्यसैले हामी विचलनमा गयौं भन्ने मेरो समीक्षा छ ।
राष्ट्रियतामा पनि संवेदनशीलता अनुसार जनपरिचालन गर्नुपर्नेमा हामीले कूटनीतिलाई बढी महत्व दियौं । तर, मेरो लेफ्ट टिल्ट मात्रै हो । जनयुद्ध, जनविद्रोहमा जाने संभावना छैन । शान्ति प्रक्रियालाई टुङ्ग्याएर निर्वाचनमा जानुपर्छ । शान्ति प्रक्रियामा आएपछि आफ्नो वर्गसँगको सम्बन्धलाई टुटाउनुपर्छ भन्ने पनि त छैन ।
बाबुरामजीको चाहिं तपाईंले भने जस्तो हो कि होइन भन्ने हेर्नुपर्छ । अहिले नै म त्यस्तो आरोप पनि लगाउन चाहन्न ।
२०६२/६३ को क्रान्तिपछि तपाईं लगायत नेताहरूको जीवनमा ठूलो परिवर्तन आए पनि जनताको जीवनमा आएन । नेताको लागि यही क्रान्तिले परिवर्तन ल्याउने तर जनताका लागि चाहिं अर्काे क्रान्ति हुनुपर्छ भन्नु पाखण्ड भएन र ?
नेतृत्व पंक्तिको जीवनमा रूप र सारमा परिवर्तन आउँदा जनताको जीवनमा परिवर्तन नआउने भएपछि अविश्वास बढ्नु अस्वाभाविक होइन । त्यसैले नेताहरूलाई कसरी तल फर्काउने भन्ने विषयमा केन्द्रीय समितिमा छलफल पनि भएको छ । जिल्लाका कार्यकर्ता र जनताले नेतालाई अनुमोदन गर्नुपर्छ । तर निरपेक्ष ढंगले नेता र कार्यकर्ता हिजो जस्तै भएर बस्न सक्दैनन् । पार्टीकै नीति अनुसार प्रधानमन्त्री भइसकेको मान्छेले बस्ने र सुरक्षाको न्यूनतम क्राइटेरिया मान्नै पर्छ ।
निर्वाचनमा पराजय भोग्नु र वैचारिक हिसाबले झन्डै एमालेको बाटोमा पुग्नुले तपाईंलाई आफू असफल भएको लाग्दैन ?
हारेको सेनाले युद्धको नियम बुझ्छ भनिन्छ । त्यस हिसाबले निर्वाचनको यो परिणाम पार्टी निर्माणका लागि सकारात्मक हुन सक्छ । अब हामीले निर्मम ढंगले आत्मसमीक्षा गर्दै आफ्नो कमजोरी हटाएर जनतासँग जोडिन लाग्नुपर्छ । ठीक शिक्षा लिएर अघि बढे यहींबाट अर्को विजय अभियान शुरू हुन सक्छ । र, त्यसो गर्न हामीले शुरू पनि गरेका छौं ।
तर, हामी एमालेको बाटोमा जाँदैनौं । त्यता जाने हो भने एमालेसँग एकता हुन्छ । दुई वटा उस्तै वाम पार्टीको आवश्यकता छैन ।
पार्टी भनेको विचार हो । विचारले समाजको निश्चित वर्गको हितलाई प्रतिबिम्बित गर्छ । एमालेको वर्ग समन्वयवाद कहिलेकाहीं कांग्रेस भन्दा पनि दक्षिणमा पुग्ने गरेको छ । भर्खर हामीबाट बाहिरिनुभएको वैद्यजीहरू भने असाध्यै जडतामा हुनुहुन्छ । ती दुई बीचमै हो, हाम्रो राजनीतिक स्पेस । हाम्रा केही कमजोरीले पराजित भए पनि त्यो स्पेस अहिले पनि कायम छ ।
हेटौंडा महाधिवेशनले भनेको नेपालको आर्थिक/सामाजिक चरित्र एमालेको आठौं महाधिवेशनमा घनश्याम भुसालहरूले प्रस्तुत गरेको दस्तावेजसँग मिल्दोजुल्दो छ । ढिलोचाँडो एमाले त्यहाँ पुग्यो भने एउटै कार्यदिशा हुनेछ, त्यो वेला अलग पार्टी चाहिएला र ?
यो कुरासँग म सहमत छु । विस्तारै किरणजीहरू पनि त्यो रिलाइज गर्ने ठाउँमा आउनुपर्छ । घनश्यामजीहरू जस्ता माक्र्सवादको अध्ययन गर्नेहरू पनि त्यसमा आउनुपर्छ । एमालेदेखि वैद्यजीहरूसम्मको एउटै केन्द्र बन्नुपर्छ ।
शान्ति प्रक्रियामा आइसकेपछि एमालेसँग दुई चार राउण्ड कुरा पनि भयो । सानो समूह बनाउँदा पनि राइट र लेफ्ट सेन्टर हुने भएपछि एकै ठाउँमा किन नबस्ने भने । केही डकुमेन्ट पनि तयार भए ।
हेटौंडा महाधिवेशनका निर्णय र माओवादबीच के समानता छ र माओवाद नछाड्नुभएको ?
त्यो म मान्दिनँ । किनभने माओवाद भनेको माक्र्सवादको सार्वभौम सिद्धान्तलाई चीनको विशेषतामा ढालिएको हो । त्यसैले माओले माक्र्सवादको चिनियाँकरण भन्नुभयो । त्यसैले, हेटौंडा महाधिवेशनलाई माक्र्सवादको नेपालीकरण किन नभन्ने ! नेपालको सामाजिक अवस्था, वर्ग संघर्ष र विश्व अवस्थामा यसरी मात्रै क्रान्ति अगाडि लैजान सकिन्छ भनेर किन नबुझ्ने !
तपाईंले प्रष्ट नबोल्नु र दोहोरो कुरा गर्नुलाई एउटा प्रमुख समस्या भनिन्छ नि ?
मैले दोहोरो कुरा गरेको छैन । ममाथि समयमै ‘ड्याङ’ बोलेन भन्ने आरोप लाग्ने गरेको चाहिं स्वीकार्छु ।
भारतसँग तपाईंहरूले राजनीतिक तहमा भन्दा एजेन्सीको तहमा मात्र संगत गर्नाले माओवादीलाई ड्यामेज गर्यो भनिन्छ नि ?
कूटनीतिक ढंगले हल गर्न खोजियो भन्नुको अर्थ राजनीतिक सम्बन्धतिर गइएन भन्ने होइन । राजनीतिलाई प्रष्ट गरेर कूटनीति गर्नुपर्नेमा कूटनीति अन्तर्गत राजनीति भयो भन्ने मात्र हो । त्यसले धेरै ‘सर्भ’ गर्दो रहेनछ भन्ने शिक्षा पनि भयो ।
अहिलेसम्म आफूले गरेको सबैभन्दा ठूलो राजनीतिक कमजोरी के हो भन्ने लाग्छ तपाईंलाई ?
जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा सिद्धान्त र व्यवहारको हिसाबले पार्टीलाई तयार पारेर ल्याउने क्रममा नजरअन्दाज गर्नु ठूलै कमजोरी हुन गयो भन्ने मलाई लागेको छ । सैद्धान्तिक कुरालाई व्यावहारिक ढंगले समाधान गरेको भए मैले त्यो वेला सक्थें ।
संघीय लोकतान्त्रिक गणतन्त्रपछि प्रधानमन्त्री बन्ने अवस्थामा शान्ति प्रक्रियाका सहयात्री दलहरूसँगको सहकार्यलाई ‘मेन्टेन’ गरेर संविधान बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्न सक्नुपर्थ्यो । तर, म छिटछिटो ठूल्ठूला परिवर्तन गर्नतिर बढी केन्द्रित भएँ । गिरिजाबाबुलाई राष्ट्रपति बनाउनभन्दा किन दिने राष्ट्रपति आफैंले लिन्छु भन्नेतिर लागें । सेनाका आठ जना हटाउने र प्रहरीमा पनि परिवर्तन गर्नेतिर लागें । त्यसले गर्दा १२ बुँदेका सहयात्रीसँग चाहिए स्तरको सम्बन्ध राख्न सकिएन । सबैभन्दा बढी गिरिजाबाबुलाई हर्ट भयो । त्यहींबाट चिजहरू ढलपलायो जस्तो लाग्छ ।
कटवाल प्रकरण पनि अर्को तरिकाबाट हल गरेको भए संविधान बनाउन सहज हुन्थ्यो जस्तो लाग्छ । उनी तीन महीनापछि जानेवाला नै थिए । स्पष्टीकरण मागिसकेकोले आइन्दा नगर्नु भनेको मात्र भए हुनेथियो । कारबाही गर्नेतिर मात्रै गयौं । पार्टीकै निर्णय भए पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष भएको नाताले म नै बढी जिम्मेवार थिएँ ।
दोस्रो संविधानसभाको निर्वाचनको क्रममा गरिएको निर्णयमा पनि थुप्रै कमजोरी भए । अलि बढी सब्जेक्टिभ भइयो । तर यी निर्णय गर्दा बाबुरामजी र म सँगै थियौं । बरु, अरू साथीहरूको आलोचना थियो । प्रधानमन्त्री, निर्वाचन आयुक्तबारे उहाँहरूको मतभेद थिए ।
ओभर कन्फिडेन्स भइयो भन्ने भए पनि पश्चात्ताप चाहिं छैन । तर, पहिलो पार्टी हुन्छौं भन्ने विश्वास वस्तुगत हुन सकेन । संविधानसभाको चुनावको विकल्प पनि त हामीसँग थिएन । ठूलो पार्टीको अध्यक्षको हिसाबले संविधानसभा ल्याउन पहल गर्र्नै पर्थ्यो । अहिले संविधानसभा छ र कमसेकम देश एउटा ट्रयाकमा त छ ।
तपाईंले सोच्नुभएको कुरालाई तुरुन्तै कार्यान्वयनमा लैजान उकास्ने कोही थिए कि, जस्तो कटवाल काण्ड वा तयारी नगरी शान्ति प्रक्रियामा आउने जस्ता कुरामा । फस्दै फस्दै त्यहाँ पुगियो भन्ने त लागेको छैन ?
मलाई त्यस्तो चाहिं धेरै लाग्दैन, तपाईंले सोधेको स्तरमा । किनभने यो प्रक्रियामा आउने कुरा ठूलो ऐतिहासिक र चुनौतीपूर्ण हो भन्ने थाहा थियो । पेरु, टर्की, बर्मा जस्ता देशमा कम्युनिष्टहरू धरासायी भएका थिए । त्यसरी नजाने हो भने ध्वस्त हुन्छ भन्ने जानेरै आएको हो । शान्ति प्रक्रियालाई ‘रिस्क’ लिएरै टुंगो लगाइयो ।
जस्तो गिरिजाबाबुलाई राष्ट्रपति बनाउन पाए हुन्थ्यो भन्ने भित्री मनमा आए पनि वरिपरिका साथीहरूले बनाउनुहुँदैन भनेपछि ठीकै छ भन्थे । तर, म अलि उदार भएको र प्रभोक गर्दा प्रभोक हुने गरेको भने साँचो हो ।
कटवाल प्रकरणको वेला पार्टीभित्रको संघर्ष पनि चर्कियो । त्योभन्दा पहिला खरिपाटीमा ठूलो बहस पनि भएको थियो ।
कटवाललाई कारबाही गर्नुभन्दा पहिला गिरिजाप्रसाद कोइरालाले तपाईंलाई यो मामलामा हात नहाल्नु भनेको सही हो ?
सही हो ।
खरिपाटीमा पार्टीको प्लेनम हुँदा तपाईंले आर्मीसँग सहयोग मागेको पनि सही हो ?
त्यो चाहिं सही होइन ।
देशको प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्दा आर्मीलाई के गर्छ भनेर सोध्नुभएको थियो ?
त्यही केही हुन्छ कि भन्ने चर्चा चाहिं चलेको थियो । प्रधानमन्त्री भइराखेको मान्छेलाई सेक्युरिटीले ध्यान त दिनै नै भयो । तर आर्मीको सहयोग चाहिन्छ भन्ने ठाउँमा म पुगेको थिइनँ । र त्यो कल्पना पनि गरेको थिइनँ ।
चर्चा चाहिं चलेको हो ?
चर्चा भन्दा पनि त्यहाँ कस्तो बहस चलेको छ, बहसमा के हुन्छ भन्ने कुरामा चाहिं ध्यान दिइएको थियो ।
भृकुटीमण्डपमा भएको प्लेनममा पार्टीभित्र फजुल खर्च, अपारदर्शी, भ्रष्टाचार व्याप्त भयो भन्ने विषय उठेपछि आयोग बने पनि आयोगले एउटा पनि भ्रष्टाचारी फेला पारेन ? यसलाई के भन्ने ?
(हाँसो) आयोगले गम्भीर प्रकृतिको भ्रष्टाचार भनेकालाई स्पष्टीकरण सोधिएको छ । कारबाही पनि भएको छ । केही पार्टी छोडेरै गइसक्नुभएको छ ।
पार्टीका महत्वपूर्ण नेताहरूले कैयौं ठाउँमा लगानी गरेका छैनन् भन्न सक्नुहुन्छ ?
(गम्भीर हुँदै) ढुक्कसँग त भन्न सक्दिनँ । मेरो जानकारीमा चाहिं त्यो छैन ।
त्यसलाई रोक्ने उपाय के हुन सक्छ ? मुख्य नेतृत्वले नै संरक्षण दिन नसकेकाले यी समस्या आएको त होइन ?
एकहदसम्म तपाईंको यो भनाइमा सत्यता छ । तर हामी सुधार्न बल गर्दैछौं ।
आर्थिक समाज परिवर्तनका लागि बन्दूक चाहिंदैन भन्ने निष्कर्षमा पुग्नुभएको हो ?
जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने र समाजवादी क्रान्तिको निम्ति रणनीति तयार गर्ने निष्कर्ष निकालेको छ, हेटौंडा महाधिवेशनले । त्यसका निम्ति आर्थिक उत्पादन र समृद्धिमा जोड दिनुपर्छ र समाजवादतिर जान सकिन्छ भन्ने पनि निर्णय गरेको छ ।
जनवादी क्रान्तिका बाँकी कार्यभार शान्तिपूर्ण ढंगले पूरा हुन्छ । तर समाजवादी क्रान्ति पनि शान्तिपूर्ण ढंगले हुनुपर्छ भन्ने निष्कर्षमा हाम्रो पार्टी छैन । त्यहाँ जनताको बल प्रयोगको आवश्यकता पनि पर्न सक्ने कुरालाई इन्कार गरिएको छैन ।
हिंसात्मक बल प्रयोग ?
बल प्रयोग भनेपछि हिंसात्मक र अहिंसात्मक भन्ने हुँदैन । जनताले बल प्रयोग गर्छन्, बस । शान्तिपूर्ण भनेको पनि त बल प्रयोग नै हो नि । शान्तिपूर्णमा पनि ढुंगामुढा र पुलिसको लाठीचार्ज हुन्छ । त्यसको अर्थ जनताको विद्रोह विना समाजवाद आउँदैन भन्ने हो ।
बहुदलीयता, बहुलवादलाई दार्शनिक, सैद्धान्तिक रूपमै स्वीकार्नुभएको हो ?
बहुलता भन्ने दार्शनिक मान्यतालाई हामीले स्वीकार गरेका छैनौं । राजनीतिक शक्ति सन्तुलन अनुसारको बहुदलीय प्रतिस्पर्धालाई भने हामीले स्वीकारेका छौं ।
बहुलवादलाई अस्वीकार गर्नुपर्ने कारण के हो ?
बहुलवाद भन्ने दार्शनिक मान्यता हो । यसले संसार, ब्रह्माण्ड युनिफाइड छ भन्छ । तर, हामी विपरीतहरूको एकत्वको रूपमा मान्छौं । हामी बहुलता मान्दैनौं ।
एक वर्षभित्र संविधान बन्ला ?
चुनावयताको चार महीनाको क्रियाकलाप हेर्दा एक वर्षभित्र संविधान बन्छ भनेर ढुक्क हुने स्थिति छैन ।
तपाईंसँग कत्तिको परामर्श भइराखेको छ ?
केही समयदेखि त परामर्श पनि भएको छैन । कांग्रेस र एमालेका साथीहरूको तरीकाले एक वर्षभित्र संविधान बन्ला भन्ने लाग्दैन ।
तर, पार्टीहरू एकठाउँमा बसेर मिहिनेतपूर्वक छलफल गर्ने हो भने असम्भव भइसक्यो भन्ने पनि लाग्दैन ।
संविधान बन्नु भन्दा पहिला स्थानीय निर्वाचन गर्ने सहमति किन नमान्ने भन्नुभएको हो ?
स्थानीय चुनावको आवश्यकता रहेको साँचो हो । तर, ६ महीनामा संविधान बनाएर चुनाव गर्दा सहज हुन्छ भन्ने हाम्रो भनाइ छ । स्थानीय चुनावका क्रममा पार्टीहरूमा देखिने तिक्तता संविधान निर्माणमा प्रतिबिम्बित हुन सक्छ । तसर्थ अहिले संविधान निर्माण महत्वपूर्ण हो । समयको हिसाबले पनि अहिले निर्वाचन उपयुक्त छैन, दुई तीन महीनाअघि चुनाव घोषणा गर्नुपर्छ । त्यतिवेलासम्म प्रतिस्पर्धामा समय बित्छ ।
फेरि, स्थानीय चुनाव गर्ने विषय अन्तरिम संविधानले परिकल्पना गरेको छैन । चुनाव गर्न शान्ति सम्झौता भन्दा पहिलाको ऐन प्रयोग गर्नुपर्छ । त्यो शान्ति सम्झौता र अन्तरिम संविधानको भावना र मर्म अनुसार हुँदैन ।
११ बुँदे सहमतिमा यो तर्क किन नआएको ?
(झोक्किंदै) ११ बुँदेको खण्डन चार बुँदेले गर्यो भनेर बुझ्नुपर्यो नि ! त्यही भएर त उच्चस्तरीय राजनीतिक समितिले चारबुँदे गर्यो ।
स्थानीय निर्वाचन एमाओवादीका लागि संगठन सुधार्ने मौका हो भन्ने लाग्दैन ?
लाग्छ । सबैभन्दा बढी फाइदा हामीलाई नै हुन्छ । हाम्रा हजारौं होलटाइमर कार्यकर्तालाई व्यवस्थापन गर्न सक्छौं । तर संविधान निर्माण गरेर परिवर्तनलाई संस्थागत गर्ने हिसाबबाट हेर्दा चुनाव प्राथमिकतामा पर्दैन ।
संविधानसभाकै हार दोहोरिन्छ भनेर त होइन नि ?
त्यो तर्क पनि मान्छेले गर्न सक्छन् । त्यसलाई इन्कार गर्दिनँ । तर अघि भनेको तर्क महत्वपूर्ण हुन् ।
एमाले महाधिवेशनको संघारमा छ । त्यहाँको विकासक्रम तपाईंका लागि कत्ति महत्वपूर्ण छ ?
माथि भने जस्तो लेफ्ट र राइटको बीचमा हाम्रो स्पेस भएको हुनाले लेफ्ट र राइटमा हुने छलफल, महाधिवेशन हामीलाई महत्वपूर्ण हुन्छ । यो मैले एमालेको आठौं महाधिवेशनका वेला म प्रधानमन्त्री हुँदा नै बुझेको थिएँ । आफूले चाहे जस्तो होस् पनि भनें ।
कम्युनिष्टहरूलाई ध्रुवीकृत गर्ने किसिमको महाधिवेशन होस् भन्ने मेरो र मेरो पार्टीको स्वार्थ हो । बुटवल महाधिवेशनमा चाहिं हामीले चाहे जस्तै भएको थियो ।
तपाईंमाथि आक्रमण गर्ने एमाले पंक्तिमा अहिले विभाजन आएको छ । तपाईंको निम्ति रमाइलै भएको होला होइन ?
लामो हाँसो ।
तपाईंलाई पछिल्लो समय मिडियामा कम आए जस्तो लाग्दैन ?
(हाँसो) कम आउने प्रतिबद्धता गरेको छु । पार्टीको काममा बढी समय दिने कोशिश गरेर हो । हिमाल हाम्रो र मेरो आलोचक भए पनि तपाईंहरूसँग कुरा गर्न मज्जा आउने भएकाले कुरा गरेको हुँ ।
साप्ताहिक खबरपत्रिका हिमालबाट