रिपोर्टसोमबार, चैत्र ३, २०७०

‘वैद्य अस्त्र’ को भर

हिमालखबर

किरण नेपाल, मुमाराम खनालसुवास देवकोटा

२८ फागुन दिउँसो पौने ३ बजे लाजिम्पाटस्थित साङ्ग्रिला होटलको डेसमण्ड डोइग कक्षमा हिमाल लाई अन्तर्वार्ता दिन आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल अघिल्लो पटक २०६९ चैतको तेस्रो साता यस्तै अन्तर्वार्तामा भन्दा विल्कुलै भिन्न देखिन्थे । सुरक्षाकर्मीका अगुवा र पछुवा गाडी पहिले जस्तै भए पनि उनीसँग कार्यकर्ताको हूल थिएन । थिए त केवल एक जना स्वकीय सचिव ।

उनी पहिलेभन्दा दुब्लो र केही मलिन पनि देखिए । तर, ९० मिनेटको अन्तर्वार्तामा दाहालले आफ्नो स्वभाव अनुसार यो पटक पनि खुलेरै कुरा गरे । आफ्नो कमजोरीप्रति उनको स्वीकारोक्ति पनि निकै बढेको थियो । ‘निम्नमध्यम वर्गको परिवारबाट आएको मानिस, पार्टीको महासचिव बनें, अध्यक्ष बनें, जनयुद्धको नेतृत्व गरें, संविधानसभाको निर्वाचनमा ठूलो पार्टी बनाएँ, त्यसैले सधैं सफल हुन्छु भन्ने मेरो मनोगत निष्कर्षका कारण यो पटक हारिएला भन्ने सोच्न सकिएन’ दाहालको भनाइ थियो ।

आफ्नै निर्णयहरूका कारण पार्टी र आफू कमजोर बन्दा भएको ग्लानिबोध नलुकाएका दाहालमा यथासक्य चाँडो ठूलो पार्टीको नेता बनेर पहिले जस्तै राजनीतिको केन्द्रमा पुग्ने छटपटी पनि देखिन्थ्यो । त्यही छटपटीका कारण हुन सक्छ, २१ महीनाअघि पार्टी फुटाएका मोहन वैद्यसँग भेट्न उनी अन्तर्वार्ताका लागि पहिले निर्धारित दुई घण्टाको समय छोट्याएर आधा घण्टा अघि नै हिंडे । भोलिपल्टै त्यसको परिणाम पनि आएको छ– दुई माओवादीबीच कार्यगत एकताको रूपमा ।

माओवादीको अविश्वास

संविधानसभा निर्वाचनमा पराजित भए पनि पुनः शक्ति प्राप्त गर्न माओवादीसँग एकता गर्नुभन्दा अरू विकल्प नरहेको बुझेका एमाओवादी अध्यक्ष दाहालले निर्वाचन लगत्तैदेखि वैद्यसँग नजिकिने बाटो तयार पार्न थालेका थिए । वैद्य माओवादीले पार्टी एकताका लागि राखेको ‘वर्ग र राष्ट्रप्रति गरेको कमजोरीको आत्मालोचना गर्नुपर्ने’ शर्त स्वीकारेको छनक उनले अन्तर्वार्तामा पनि दिए । उनको भनाइ थियो, “हिजो वर्ग र राष्ट्रियताबारे केही कमजोरी भएकोले त्यसलाई सच्याउनुपर्ने महसूस भएको छ, मैले केन्द्रीय समितिमा पेश गरेको प्रतिवेदनमा पनि त्यो उल्लेख गरेको छु ।”

वैद्य माओवादीका केन्द्रीय सदस्य महेश्वर दाहाल एमाओवादीले ती विषय स्वीकारेर आत्मालोचना गरेमा दुई पार्टीबीच एकता हुने बताउँछन् । त्यसबाहेक, जनवादी क्रान्ति गर्ने कार्यदिशा लिनुपर्ने र संविधानसभाबाट संविधान बन्दैन भन्ने निष्कर्ष निकालेर सडक संघर्षमा आउनुपर्ने थप शर्त रहेको उनको भनाइ छ । तर, गत वर्ष हेटौंडामा भएको एमाओवादी महाधिवेशनले जनवादी क्रान्तिका धेरै काम पूरा भइसकेकाले अब समाजवादी क्रान्ति गर्ने निष्कर्ष निकालेको थियो भने संविधानसभाबाट संविधान बनाउने प्रतिबद्धता अहिले पनि दोहोर्‍याइरहेको छ ।

शक्तिका लागि सिद्धान्तको जलप लगाउन र फाल्न माहिर मानिने दाहाललाई वैद्य माओवादीका शर्त मान्न गाह्रो पर्ने चाहिं देखिंदैन । उनले स्थानीय निर्वाचन गर्न नदिने विषयमा वैद्य माओवादीसँग हात मिलाउनुले पनि यसको पुष्टि गर्छ । जबकि, ४ मंसीरको निर्वाचनअघि एमाओवादीले जारी गरेको चुनावी प्रतिबद्धतामा ‘नयाँ संविधान बनेपछि स्थानीय निकायको संरचना समेत नयाँ हुने भए पनि त्यो प्रक्रिया अझै केही वर्ष लाग्ने भएकाले संविधानसभा निर्वाचनको ६ महीनाभित्र स्थानीय निकाय निर्वाचन सम्पन्न गरिनेछ’ भनिएको थियो । अन्तर्वार्तामा भने दाहालले स्थानीय निकाय निर्वाचन गर्न शान्ति सम्झौताभन्दा अघिको ऐन प्रयोग गर्नुपर्ने भएकाले संविधान नबनी गर्न नहुने धारणा राखे ।

दाहालले अब वैद्य माओवादीसँगको एकताबाट अगाडि बढ्न संविधानसभाले जनपक्षीय संविधान बनाउने लक्षण नदेखाएको भन्दै सडक संघर्षको निर्णय गर्ने र जनवादी क्रान्ति वा समाजवादी क्रान्तिको कार्यदिशाबारे पार्टीमा ‘दुई लाइन संघर्ष’ चलाउने बाटो रोज्न सक्ने देखिन्छ । त्यसो गर्दा पार्टी एकता हुनसक्ने बताउँदै वैद्य माओवादीका एक नेता भन्छन्, “विचार मिल्यो भने पार्टी एकता गर्न हामी एक मिनेट पनि ढिलो गर्ने पक्षमा छैनौं ।”

तर, वैद्य माओवादीका तिनै नेता दाहालले संविधानसभाबाट संविधान बनाउने विषयमा ‘धेरैतिर’ प्रतिबद्धता जनाएकाले फर्कन सजिलो नरहेको धारणा राख्छन् । अहिले बाबुराम भट्टराईलाई तर्साउन आफूहरूसँग कार्यगत एकताको कुरा गरेको हुनसक्ने बताउँदै उनी भन्छन्, “जुनसुकै विषयमा आफ्नो हात माथि पार्न जे पनि गर्ने स्वभाव भएकाले उनले यही नै गर्लान् भन्न सकिंदैन ।”

वैद्य माओवादीसँग एकता गर्दा वरिष्ठ नेता भट्टराई र नारायणकाजी श्रेष्ठलाई साइजमा ल्याउन सहज हुने दाहालको विश्वास रहेको धेरै माओवादी नेता कार्यकर्ताको बुझाइ छ । भट्टराईसँगको अन्तरसंघर्षमा आफूलाई साथ दिने अधिकांश नेता कार्यकर्ता वैद्य माओवादीमा गएकाले अहिले दाहाललाई उनीहरूको अभाव खट्किएको महसूस भएको छ ।

बाबुरामसँग विरक्ति

बाबुराम भट्टराईप्रति दाहालको विरक्ति बढ्दै गएको अन्तर्वार्ताका क्रममा प्रष्ट देखिन्थ्यो । पछिल्लो समय आफ्नो समूहको भेला गरेको, निर्वाचनमा पराजयको दोष आफूलाई दिएको र पार्टी नसच्चिए नयाँ शक्ति जन्मिने बताउँदै छुट्टै पार्टी गठनको संकेत दिएकाले भट्टराईसँग दाहाल विरक्त हुन थालेको देखिन्छ । तर, अन्तर्वार्तामा उनले भट्टराईलाई सोझै चोट पुग्ने शब्दहरू भने प्रयोग गरेनन् ।

प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार निर्माण गर्न र प्रमुख निर्वाचन आयुक्तमा नीलकण्ठ उप्रेतीलाई ल्याउनमा भट्टराई पनि आफू बराबर जिम्मेवार रहेको बताउन भने उनले बिर्सेनन् । “पछिल्लो समय भएका निर्णयहरूमा हामी दुई जना बराबर जिम्मेवार छौं” दाहालले भने, “संविधानसभा विघटन हुँदा प्रधानमन्त्री हुनुभएकाले उहाँ उम्किन पाउनु हुन्न ।”

भट्टराईलाई राजनीतिक उचाइ दिन आफ्नो योगदान रहेको सम्झउन पनि दाहाल चुकेनन् । “मोहनविक्रम सिंहले उहाँलाई जिल्लाभन्दा माथि कहिल्यै ल्याएनन्, तर उहाँ विशिष्ट विगत सहितको बौद्धिक व्यक्ति भएको भनेर मैले नै पोलिटब्यूरो र स्थायी समितिमा ल्याएँ”, दाहालले भने । पार्टीको प्रमुख पद दिने विषयलाई भने उनले स्पष्ट शब्दमा अस्वीकार गरे । “प्रमुख नेतृत्वमा पुग्न पार्टीका सबैलाई विश्वासमा लिनुपर्छ, त्यसो नगरेपछि त समस्या भइहाल्छ नि”, दाहालको भनाइ थियो ।

उदारवाद र माक्र्सवादको ‘फ्यूजन’ गरेर त्यो विचारलाई बोक्ने पार्टी बनाउने निष्कर्षमा पुगेका बाबुराम भट्टराईले पार्टी फुटाउलान् भन्ने विश्वास चाहिं दाहाललाई नभएको अन्तर्वार्ताको क्रममा देखियो । एमाओवादीमा भट्टराईलाई संगठनात्मक क्षमता नभएको नेताको रूपमा लिइन्छ । कार्यकर्ता पंक्तिको पनि आकलन छ– पार्टी फुटाउने डर देखाएका बाबुरामले बार्गेनिङ क्षमता बढाउने र अन्ततः २०६१ मा रुकुमको चुनवाङमा भएको बैठकमा जसरी सम्पूर्ण मतभेद छाडेर दाहालसँग समर्पण गर्न सक्छन् ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...