ब्लगमंगलबार, चैत्र ४, २०७०

पुलिसगिरीको विपक्षमा

महेश थापा

“प्रातः भ्रमणका लागि निस्किएका होनहार युवकहरूलाई विना कसुर झयालखानामा लगेर कोच्ने? यो लोकतन्त्र हो कि जोकतन्त्र?” बढी विद्यार्थी कम माननीयज्यूको यो हुँकारले भरङ्ग बनायो। बुझदै जाँदा कुरो गहिरो रहेछ। डिस्को, पार्टी, इन्टरनेट आदिमा लटि्ठएर भालेको डाँकमा सुत्ने अनि दिन ढल्दै जाँदा उठ्ने महानगरीय संस्कृतिमा ब्रहममुहूर्तमा मर्निङ वाक् गर्ने युवा समूह कर्मठ हुन् भन्ने सावित गर्न थप तर्क आवश्यक छैन। ‘आर्ट अफ लिभिङ’ बारे उनीहरूले समाजमा छर्ने सकारात्मक सन्देशको महत्व आँकिनसक्नु छ।

देहाततिर एक पाउ खुर्सानी किन्दा त ‘लावादुवा’ भन्दै दुई–चार ढिंडी थपिदिन्छन् भने सबै बन्दूक लाइसेन्सी हुँदाहुँदै नाथे एउटाको दर्ता मिति गुजि्रएको भन्दैमा लोकतन्त्रका पहरेदारहरूलाई यसरी थुन्नु हदैसम्मको पुलिसगिरी हो। लोकतन्त्रका खातिर पनि गैर–लोकतान्त्रिक प्रहरी अधिकृतलाई कारबाही अत्यावश्यक देख्छु। बाउको नाममा दर्ता बन्दूक छोराले बोक्यो भन्नु घुइरे आक्षेप मात्र हो। मामाको घोडामा भान्जाको हि..हि.. चल्छ भने बाउको बन्दूक छोराले बोक्न किन नपाउने?

त्यसमाथि, बूढो लोकतान्त्रिक पार्टीका तरुणहरूले भिरेको त्यो लोकतान्त्रिक बन्दूक हो। लोकहितमा समर्पितहरू हतियारबन्द भएर मर्निङ वाक्मा निस्कँदा डाम्या साँढेको हूल जस्तो देख्नु पुलिसिया दृष्टिदोष हो। सत्ताधारी पार्टीका युवराजहरू त्यसरी हिंड्दा सामान्यजनले सुरक्षित महसूस गर्छन् भन्ने सत्यतर्फ आँखा चिम्लेर बराहरूलाई हिरासतमा लिनु सरासर ज्यादती हो। तर, लोकतन्त्रमाथि आँच आउँदा कानमा बतास नलाउने पुलिसले लोकतन्त्रका पहरेदारहरूको रिहाइका लागि केही तोडफोड, पत्थरबाजी र चक्काजाम गर्दा जनतालाई सास्ती दिएको रूपमा बुझेको छ। यस्तो गैर–लोकतान्त्रिक चिन्तनशैलीबाट लोकतन्त्रमा नून छरेर अम्लीय बनाउने बाहेक अर्थोकको आशा गर्न सकिन्न।

खसोखास भन्ने हो भने त्यो केवल बन्दूक नभई कुवेरको सन्दुक खोल्ने साँचो पनि हो। सदनका माननीयलाई सडकको हुल्लडबाज ताननीयमा रूपान्तरित गर्न त्यही सन्दुकको सम्मोहनले बलठेल गर्‍या हुन सक्छ। राजतान्त्रिक समयमा प्रजातान्त्रिक समाजवाद सान्दर्भिक भए’नि गणतान्त्रिक नेपालमा ‘गनतान्त्रिक समाजवादी’ हुनुमै फलिफाप छ भनी बुझन किसुनजी र खुमबहादुरजीलाई सम्झिए पुग्छ। उपबुज्रुकहरूले ऊवेला गणमा शक्ति देखे, शक्तिको मुहान ‘गन’ हो भन्ने ती के जानून् बरा!

गन छ त धन छ। धन भए जन छ। यो मन्त्र आत्मसात् गरेका युवा/विद्यार्थी कांग्रेसले ‘गरीबसँग गनेश्वर’ जस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनु आवश्यक छ। ‘हातहातमा गन, धोक्रोभरी धन’ भन्ने सूत्र समात्दै ब्याजे डन, प्याजे डन, टाटे डन, पाटे डन, ओथारे डन, पोथारे डनहरूलाई बढावा दिई द्रुत विकासको डनमार्ग खोल्नु अझ् बुद्धिमानी हुनेछ। यस मार्गमा उद्यत युवा/विद्यार्थी कांग्रेसले माओवादीको वाइसिएल र एमालेको भाइसिएल जसरी पुलिसगिरीको अगाडि लोप्रेकान नलगाउन्!

लोकतन्त्र उर्फ विधिको शासन, विधिहरूको पनि विधान संविधान, अब संविधानको पनि विधाता सभासद महाशय स्वयम्ले साक्षात् उर्दी जारी गरिसके’सी बन्दूक त के क्षेप्यास्त्रै बोकेको भए पनि छाड्नु पर्नेथ्यो! तर, कानूनको यति सरल व्याख्यामा सर्वोच्चले समेत बुझ्पचायो। प्रहरीले खुसखुस घुस खाइद्या’भे पनि यत्रो होहल्ला हुने थिएन। बेकार हल्ला भएर प्रधानमन्त्रीलाई पनि अप्ठेरो परिर’छ।

लाइन मिलाउने, बाटो खुलाउने, सवारी चलाउने, हाजिर बजाउने जस्ता आधारभूत काम छाडी प्रहरीले मान्छे समाउने, कानून बताउने गर्न थाले’सी समाजमा अमनचयन कसरी कायम रहला? अतः फुली लगाउने र नेतागणको आदेश बजाउने प्रहरीको आदर्श जोगाउन ढिटहरूलाई कार्यक्षेत्रमा ढिम्किन दिनुहुन्न। बिग्रे भत्केका पद्धति बसाउन संविधान निर्माण गर्न लागिया वेला ऐन, नियमका कुरा झिकेर वर्षौंदेखिको बनिबनाउ पद्धति भत्काउन उद्यत प्रहरी लोकतन्त्रको लागि घातक हुन सक्छ। अतः समवेत स्वरमा कराऔं– कानून सुमसुम्याउँदै धरपकडमा उत्रने पुलिसगिरी मूर्दावाद! कानूनको कठालो समात्ने दादागिरी जिन्दावाद!

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...