रिपोर्टबुधबार, चैत्र ५, २०७०
पक्राउ नपर्ने ‘गुन्डा’
-डम्बरकृष्ण श्रेष्ठ
१३ साउन २०६४ मा काठमाडौंबाट समूह लगेर दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उद्धवबहादुर थापालाई कार्यकक्षमै कुटेर ‘फरार’ भएका मणिराज गुरुङ (मनराज) राजधानीमा बीएमडब्लु कारमा गुडिरहेका छन्। र पनि, उनी ‘गुन्डा’ नसहने महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी रमेश खरेलको नजरमा पर्दैनन्। किनकि उनी सुरक्षाका सबै निकायमा दह्रो पहुँच बनाएका काजी शेर्पाका सहयोगी हुन्।

उद्दण्डताको नमूनाः १३ साउन २०६४ मा दोलखाका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापालाई कुटपिट गरेर कार्यालयबाट बाहिरिंदै 'गुन्डा दस्ता'।
काजी चार वर्षअघिसम्म राजधानीको कुख्यात ‘गुन्डा’ को प्रहरी सूचीमा थिए। प्रहरीले उनलाई पटक–पटक थुनेको पनि थियो। तर, पछिल्लो समय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जवानको छाक टार्ने राशन ठेकेदार समेत बन्ने हैसियत बनाएका उनको ‘पहुँच’ यति माथिसम्म छ कि प्रहरीका डीआईजी तहका अधिकृतहरू समेत उनी विरुद्ध खुलेर बोल्दैनन्। २०६४ सालदेखि नै सशस्त्र प्रहरी र नेपाली सेनाको राशन ठेकेदार रहेका काजीको चाँगेस्तान कन्स्ट्रक्सन कम्पनीले २०६७/६८ सालमा तीन वटै सुरक्षा अङ्गका सिपाहीलाई राशन खुवाउने पौने ३१ करोड रुपैयाँको ठेक्का पायो।
‘पहुँच’ कै कारण हनुमानढोकास्थित महानगरीय परिसर र अपराध महाशाखाको ‘गुन्डा’ सूचीबाट काजी र उनका दाहिने हात मनराजको नाम–तस्वीर हटिसकेको छ। प्रहरीका एक उच्च अधिकृत मुद्दा चलेका केसका मिसिल र प्रमाणहरू रेकर्डबाट हटाउन नमिल्ने भए पनि काजी र मनराजको सबै रेकर्ड ‘गुन्डा–प्रहरी सेटिङ’ ले हटाएको बताउँछन्। अहिले भोजपुरमा सिडिओ रहेका उद्धवबहादुर थापा भने राज्यले आफूलाई न्याय दिनेमा विश्वस्त छन्। “कुनै आपराधिक घटनाका पीडितले राज्यबाट जे अपेक्षा गर्छ मेरो अपेक्षा पनि त्यही छ”, थापाले हिमाल सँग भने, “ममाथि आक्रमण गर्नेहरू किन पक्राउ परेनन् भन्ने सम्बन्धित निकायलाई थाहा होला।”

दोलखाका तत्कालीन प्रजिअ थापामाथि कार्यालयभित्रै सांघातिक आक्रमण गर्ने मणिराज गुरुङ (बायाँ) र उनलाई संरक्षण गर्ने काजी शेर्पा (दायाँ)।
मनराज गुरुङले १३ साउन २०६४ मा माओवादीका जिल्ला नेता विशाल खड्का विरुद्ध सार्वजनिक मुद्दा चलाएको निहुँमा दोलखाका सिडिओ थापामाथि आक्रमण गरेका थिए। मनराज विरुद्ध १६ साउन २०६५ मा दोलखा जिल्ला अदालतले जारी गरेको म्याद तामेलसम्म भए पनि, उनी हाजिर भएका छैनन्। सिडिओ कुट्नेहरू विरुद्ध प्रहरीले उतिवेलै मुद्दा दायर गरे पनि अदालतले फरार तीन जना पेश नभएको भन्दै पक्राउ परेका ११ जनालाई सामान्य तारेखमा छाडेर मुद्दा मुल्तबीमा राखेको थियो।
‘फरार’ भनिएका मनराज वेलावेला सार्वजनिक समारोहमा अतिथि भएर दोलखा पुगिरहन्छन् र प्रशासन प्रमुखहरूसँग कुम जोडेर बस्छन्। दोलखाका अधिकारकर्मीहरू यो सिलसिलालाई गुन्डाराज र दण्डहीनताको पराकाष्ठा मान्छन्। सिडियो कुटिएको घटनापछि दोलखाका मानवअधिकारकर्मी तथा कानून व्यवसायीहरू समेत त्रासमा छन्। नेपाल बार एसोसिएसन दोलखाका एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने “सिडियो कुट्ने गुन्डाले राज्यबाट संरक्षण पाइरहनुले राज्यकै उपहास भइरहेको छ। सिडियो नै सुरक्षित नभएपछि अरूको के सुरक्षा होला र!”
दोलखाका प्रजिअ प्रहलाद पोख्रेल भने अदालतमा पुगिसकेको केस भएकाले कार्बाहीको ‘फलोअप’ प्रहरीले गर्ने बताउँछन्। सात महीनाअघि दोलखा प्रहरी प्रमुख बनेका डीएसपी सुरेश काफ्लेले मुद्दा अदालतबाटै नटुङ्गिएकोले प्रहरीसम्म आइनपुगेको बताए। ज्यान मार्ने उद्योगमा दर्ता भएको यो केसलाई एक वर्षअघि जिल्ला अदालत दोलखाका न्यायाधीश प्रभा बस्नेतको एकल इजलासले कुटपिटमा परिणत गरिदिएपछि सरकारी वकीलको कार्यालयले एक महीना अगाडि पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेको छ।
पक्राउ पछि ‘क्लिन चिट’
काठमाडौंका प्रहरी प्रमुखमा एसएसपी रमेश खरेल आउनासाथ पक्राउ परेका ‘गुन्डा’ हरू प्रमाण नपुगेकोले धमाधम छुट्न थालेका छन्। खरेललाई कार्यालयमै भेट्न जाँदा समातिएका क्यासिनोका ऋण लगानीकर्ता बलराम सापकोटा (बले) र चक्रे मिलनका भाइ तेजेन्द्र गुरुङ रु.३–३ हजार धरौटीमा १९ फागुनमा छुटे। समातिएका सबैमाथि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएकाले एसएसपी खरेल उनीहरूलाई २४ दिनभन्दा बढी हिरासतमा राख्न सक्ने अवस्थामा छैनन्। दीपक मनाङे, शुक्रबहादुर तामाङ (बाघे), समीरमानसिंह बस्नेत लगायतका सबैले यसरी नै ‘क्लिन चिट’ पाउने छन्।
अपराधशास्त्री डा. रजितभक्त प्रधानाङ्ग नयाँ प्रहरी हाकीम आउँदा ‘काम देखाउन’ यसरी ‘गुन्डाहरू’ समातिने कुरा नयाँ नभएको बताउँछन्। तर, कुनै प्रमाण विना समातेर ‘बनिबनाउ आरोप’ लगाउँदै सार्वजनिक मुद्दा दायर गर्नुलाई ऐनको दुरुपयोग भन्छन्, उनी। शान्ति सुरक्षाका नाममा जम्माजम्मी २४ दिन थुन्नका लागि जबरजस्ती कानून प्रयोग गर्नुलाई राम्रो अभ्यास नमान्ने डा. प्रधानाङ्ग भन्छन्, “गुन्डा नियन्त्रणका लागि सरकारले छुट्टै कानून ल्याउनुपर्छ।”

गुन्डाका मित्र र शत्रुः ढकबहादुर कार्की (बायाँ) जसले काठमाडौं प्रहरी प्रमुख हुँदा शुरु गरेको गुन्डा संरक्षणको सञ्जाल अझै कायम छ। रमेश खरेल (दायाँ) जसले नियन्त्रणका लागि 'गुन्डा अपरेशन' नै चलाइरहेका छन्।
गुन्डागर्दी नियन्त्रण ऐन नभएकैले सार्वजनिक अपराध ऐनको प्रयोग गर्नु परेको बताउने एसएसपी खरेल ठेक्का–पट्टा, वैदेशिक रोजगार, सहकारी, हुन्डी लगायतकालाई समेत समेट्ने कानून आउनुपर्ने बताउँछन्। तर, मिडिया प्रचार हुने भएकोले एसएसपी खरेलले छाड्नकै लागि गुन्डा पक्रने गरेको आरोप पनि लाग्न थालेको छ। “प्रहरीको अनुसन्धान प्रमाणमा आधारित हुनुपर्छ”, एक प्रहरी अधिकृत भन्छन्, “गुन्डाको ट्याग लगाएर सार्वजनिक अपराधमा मुद्दा चलाउँदा हुने प्रचारबाजी मात्र हो।”
नेपाल प्रहरीको प्रशासन विभाग प्रमुख रहेका डीआईजी राजेन्द्रसिंह भण्डारी पनि गुन्डाहरूलाई पक्रेर थुन्नु तत्कालको उपाय मात्र भएको बताउँछन्। उनका भनाइमा, गुन्डा समाजकै उपज भएकाले पहिले पर्दापछाडिका गुन्डाहरू पहिचान गरेर यसको सञ्जाल तोड्नुपर्छ। तर, राजनीतिक संस्कारले गुन्डाहरूलाई समाजमा हावी बनाएको बताउँदै डीआईजी भण्डारी भन्छन्, “भन्नलाई कसैले भनेको नमान्नुस्, ठोक्नुस् भनेर आदेश दिने र भाषण गर्नेहरूकै साँठगाँठ गुन्डासँग हुनु दुःखको कुरा हो।”
पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना व्यवसायी, ठेकेदार र नेताहरूबाट गुन्डा ग्याङ परिचालन हुने भएकाले उनीहरूमाथि अनुसन्धान गर्ने र सम्पत्तिको स्रोत छानबिन गर्ने अधिकार प्रहरीलाई हुनुपर्ने बताउँछन्। काठमाडौंमा रमेश खरेलको आगमनपछि भएको गुन्डाहरूको पक्राउ अभियानलाई सकारात्मक रूपमा लिने पूर्व आईजीपी राना सबै प्रहरीले त्यसै गरे गुन्डागर्दी निर्मूल हुने बताउँछन्। तर, भर्खरै जेलबाट छुटेका दीपक मनाङेलाई समेत फूटबल हेरिरहेको ठाउँबाटै उठाएर प्रशंसित भएका एसएसपी खरेल सिडिओ कुट्ने मनराज, हत्या अभियोगमा अदालतबाट सजाय पाएका बालकृष्ण ढुङ्गेल, दह्रो राजनीतिक संरक्षण पाएका गणेश लामा र काजी शेर्पा जस्ता अभियुक्तहरूलाई नदेखेकोमा आलोचित पनि हुन थालेका छन्।
काजीको कथा
म्यानपावर कम्पनीको चौकीदारदेखि डान्सवार वाउन्सरसम्म बनेका काजी शेर्पाले दीपक मनाङेको विश्वासपात्र बनेपछि राजधानीको भूमिगत संसारमा आश्चर्यजनक प्रगति गरेको प्रहरी अधिकृतहरू बताउँछन्। हुन पनि, २०५० सालतिर सोलुको सल्लेरीबाट राजधानी छिरेका काजीको आर्थिक उन्नति पत्याइनसक्नु छ। सुडान घोटाला काण्डमा निलम्बित डीआईजी रमेशविक्रम शाह प्रबन्ध प्रमुख भएको समयमा मंसीर २०६७ मा नेपाल प्रहरीको पनि राशन टेन्डर हात पारेपछि उनको प्रगतिले गति लिएको हो। धादिङको आँखुखोला–१ विद्युत् परियोजनाका लगानीकर्ता रहेका काजीका स्काभेटर, टि्रपर व्यापारदेखि ठूलो क्रसर कम्पनी र बालुवा खानीसम्मका दर्जनौं कारोबार छन्।

कुनै आपराधिक घटनाका पीडितले राज्यबाट जे अपेक्षा गर्छ मेरो अपेक्षा पनि त्यही छ। ममाथि आक्रमण गर्नेहरु किन पक्राउ परेनन् भन्ने सम्बन्धित निकायलाई नै थाहा होला। उद्धवबहादुर थापा प्रजिअ, भोजपुर
राजधानीको रात्रि व्यवसायमा स्थापित भएपछि मनाङेका परम शत्रु चक्रे मिलनसँग पनि नजिकिएका काजी मनाङेका एक सहयोगीलाई खुकुरी हानेर जेल समेत परेका थिए। जेलबाट निस्केर काजीले गणेश लामा र चक्रेका सहयोगी कुमार घैंटेसँग पनि समूह बनाए। तर, प्लाटेनियम डिस्कोका सञ्चालक अमित लामालाई गोली हानेका घैंटेलाई शङ्कर होटलमा बोलाएर उनैले प्रहरीको फन्दामा पारेका थिए। त्यसपछि मनराज गुरुङ र समिर बस्नेतलाई सहयोगी बनाएर अर्को समूह खडा गरेका उनले टेन्डर, कन्स्ट्रक्सन, बालुवा आदिको धन्दामा आफ्नो ‘साम्राज्य’ खडा गरे।
आधा दर्जन आपराधिक घटनामा संलग्न काजीलाई योविघ्न मजबूत बनाउनेमा भ्रष्ट प्रहरी अधिकृतहरूको ठूलो भूमिका छ। त्यसमा पनि काठमाडौंका तत्कालीन प्रहरी प्रमुख ढकबहादुर कार्कीको सबभन्दा ठूलो हात भएको प्रहरीका अनुसन्धान अधिकृतहरू बताउँछन्। त्यो वेला प्रहरीले गुन्डा समातेर ल्याउनासाथ एसपी कार्की लेनदेन मिलाउन सक्रिय हुने गरेको उनीहरूको भनाइ छ। “कार्की हनुमानढोकामा प्रमुख रहँदा खुकुरीदेखि गोलीकाण्डसम्मका अपराधीले छुट पाए”, नाम उल्लेख गर्न नचाहने एक अधिकृत भन्छन्, “काजी शेर्पाको आजको अवतारमा पनि उनकै प्रमुख योगदान छ।”
एसपी कार्की हनुमानढोकामा छउञ्जेल काजी, मनराज गुरुङ लगायतका आधा दर्जन आपराधिक घटनाका फाइलहरू अगाडि बढ्दैनथे, बढाउनै परे पनि मुद्दालाई कमजोर बनाएर लगिन्थ्यो। त्यसवेला मनराजलाई पक्रने सोह्रखुट्टेका इन्स्पेक्टर वेद विष्टलाई जागीर खाइदिने धम्की दिनेदेखि गुन्डा विरुद्ध उभिएका दरबारमार्गका इन्स्पेक्टर आभूषण तिम्सिनालाई हेडक्वाटरमा थन्क्याउनेसम्मका काम गरेका थिए, एसपी कार्कीले। ज्याठामा दुई प्रहरीलाई मरणासन्न बनाउने मनराजलाई सार्वजनिक मुद्दा लगाएर उम्काएको घटनाले एसपी कार्कीप्रति प्रहरीभित्रै ठूलो रोष उत्पन्न भएको थियो।
यो पनि पढ्नुहोस्: ‘गुण्डा’को रजाइँ
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
