खेलकुदबिहीबार, चैत्र ६, २०७०
विश्वकपमा नेपालको ऐतिहासिक जित
बगलादेशमा जारी टी–२० विश्वकपमा अफगानिस्तानविरुद्धको रोमाञ्चक प्रतिस्पर्धामा नेपालले ९ रनको जित निकालेको हो । बंगालदेशको जाहुर अहमद चौधरी स्टेडियममा ६ चैतमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १३२ रनमै समेटियो ।
प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेलले सर्वाधिक ५६ रन जोडे । वान डे वरियतामा १२ औं तथा टी–२० वरियतामा ११ औं स्थानमा रहेको अफगानिस्तानलाई नेपालले पहिलो पटक हराएको हो । नेपालले सन् २००७ मा एसीसी यु–१९ एलिट कपको फाइनलमा पराजित गरेयता अफगानिस्तानलाई हराउन सकेको थिएन ।
नेपालका जितेन्द्र मुखिया र शक्ति गौचनको बलिङसामु अफगानिस्तानी ब्याट्सम्यान निरीह भए । अफगानिस्तानले सबै ओभर खेल्दै ८ विकेट गुमाएको थियो ।
म्याद अफ दी म्याच जितेन्द्रले ४ ओभरमा १८ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । शक्ति गौचनले १८ बलमा १४ रन खर्चिएर २ विकेट हात पारे ।
सोमपाल कामीले एक मेडन राख्दै २ विकेट लिए । उनले ३२ रन दिए । वसन्त रेग्मीले ३ ओभरमा २८ रन खर्चिएर एक विकेट लिए भने कप्तान पारस खड्काले पनि ३ ओभर खेल्दा १४ रन मात्र दिए । तीन ओभर खेलेका सागर पुनले भने १० रन खर्चिए ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४१ रनको योगफल तयार पारेको थियो । शरद भेषवाकरले ३७, ज्ञानेन्द्र मल्ले २२ र सागर पुनले ८ रनको योगदान गरे । कप्तान पारस खड्का भने एक रनमै आउट भए । नटआउट रहेका विनोद भण्डारीले ४ र नरेश बुढाऐरले २ रन जोडे ।
टी–२० विश्वकपको समूह चरणमा नेपालले अफगानिस्तानलाई हराएपछि ४ अंक बटुलेको छ । नेपालले हङकङलाई २ चैतमा ८० रनले जितेको हो ।
तर, नेपालले सुपरटेनमा पुग्न हङकङले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ ।