व्यक्तित्वबिहीबार, भाद्र ७, २०६९

हुम्लाका मधेशी गुरु

हिमालखबर

देवनारायण साह

हुम्लाको फापर, मकै, कोदो र रातो चामलमा उनको दिल बसेको छ । नहोस् पनि किन, पूर्वी–तराईका यी शिक्षकले हुम्लालाई कर्मथलो बनाएको २८ वर्ष भइसकेछ । भन्छन्, “मास्टर बन्न पहिलोपटक सुर्खेतबाट उकालो चढ्दा मेरो मन अत्तालिएको थियो, तर आज यही ठाउँको मायामा बाँधिएको छु ।”

हो, अब उनलाई कर्णाली छाडेर जाँदा निकै गाह्रो हुनेछ । किनकि यो ठाउँले उनलाई अपार माया र सम्मान दिएको छ । त्यसो त यी समर्पित शिक्षकले २०३८ सालतिर इलाममा आईएड पढ्दा नै पहाड र पहाडी समाज बुझन पाएका थिए । त्यसपछि घर सप्तरी झ्रेका उनी सरासर कालीकोटको कोटबाडा उक्लिए । त्यहाँ दुई वर्ष पढाएपछि हुम्लामा स्थायी दरबन्दी पाए । २०४२ सालमा स्थायी शिक्षक भएका साहले त्यसयता हुम्लाका ६ वटा विद्यालयमा पढाए । उनी अहिले सीता निमावि, छिप्राका प्रधानाध्यापक छन् ।

स्थायी भएपछि परिवारसँग नजिक हुन उनले एक पटक सरुवाको कोशिश गरेका थिए, तर मधेशका जिल्ला शिक्षा अधिकारीले मागेको चार लाख बुझउने हैसियत भएन यी सामान्य शिक्षकसँग । त्यसपछि सरुवाको सोच चटक्कै त्यागेका यिनलाई अब यही ठाउँ प्यारो भएको छ । यहाँको हावापानी, जनजीवन र खानपानसँग आत्मीयता गाँसिएको छ । भन्छन्, “सप्तरीमा मलाई चिन्ने मुस्किलले १०–१२ जना होलान्, यहाँ हजारौंले चिन्छन्, माया र सम्मान दिएका छन् ।”

श्रीमती, दुई छोरा र दुई छोरीलाई भने चाहेर पनि पहाड ल्याउन नसकेका प्रधानाध्यापक साह वर्षमा एकचोटि घर पुग्छन् । उनलाई हुम्ली समाज साह्रै सहयोगी, सरल र सहृदयी लाग्छ । उनको अनुभवमा, भौगोलिक विकटता र कमजोर आर्थिक अवस्था भए पनि यहाँका मान्छेको दिल उदार छ । प्रअ साह भ्याएसम्म घरमै गएर बालबच्चाहरू ट्युसन पढाइदिन्छन् । अभिभावकहरू कहिलेकाहीँ घरमै बोलाएर खाना खुवाउँछन् । सबभन्दा महŒवपूर्ण कुरा सप्तरीका खाँट्टी मधेशी देवनारायण साहले यतिका वर्ष कर्णालीमा कहिल्यै ‘मधेशी’ हुनुपरेन । नेपाल एकीकरणदेखि राणा र पञ्चायतकालसम्म काठमाडौंका शासकहरूबाट थिचिएका मधेश र कर्णालीको भावना एउटै छ, एकअर्कालाई सम्मान र सहयोग गर्ने । उनी भन्छन्, “माओवादीको जनयुद्धकालमा भने तीन महिना झेला नै बोकाएर हैरान बनाए ।”

मधेशमा जन्मेहुर्केका साहको लवाई–खुवाई पनि हुम्लीहरूको जस्तै छ, अहिले । वर्षमा एक पटक घर झ्र्दा पनि पहाडको पहिरनमै हुन्छन् । त्यो देख्दा कतिपय आफन्त र नातेदारले ‘धोती–गम्छा बिस्र्यौ कि क्या’ भन्छन् । त्यस्तो सुन्दा उनी हाँस्दै शिरको ढाका टोपी मिलाउँछन् । उनी भन्छन्, “मेरा लागि धोती, टोपी दुवै नेपाली । किनकि म मधेशमा जन्मेर पहाडमा बसेको नेपाली ।”

-रामेश्वर बोहरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...