ब्लगबुधबार, माघ ८, २०७०

झन् सुनसान

हिमालखबर

आरडी कुलुङ

संखुवासभाको तुम्लिङटार या खाँदबारीबाट अरुण नदीको कात्तिके पुल तरेपछि शुरू हुने अरुण उपत्यका–साल्पापास (कुलुपोङ्खो भञ्ज्याङ) भएर धेरै पटक हिंडेको छु । एडमण्ड हिलारी र तेञ्जिङ शेर्पा यही बाटो सगरमाथा गएका थिए ।

भूगोलविद् डा. हर्क गुरुङले पनि ‘मैले देखेको नेपाल’ मा यो प्रसिद्व पदमार्गबारे लेखेका छन् । सोलुखुम्बु जान गत पुस अन्तिम साता कुलुपोङ्खोपास पार गर्दा भने उत्तरी भोजपुर पूराका पूरा सुनसान थियो ।

भोजपुर–सोलु सीमामा पर्ने सनम गाउँ ।

माओवादीले लडाईंसँगै सुनसान हुन थालेको यो क्षेत्रको उराठपनले सोलुको नेले बजारसम्म सडक आएपछि स्थायी हो कि भन्ने भ्रम दिइरहेको छ । यसपाला कात्तिके पुल तरेर कात्तिकेबजार भन्दामाथि पुगेपछि जता हे¥यो उतै निरवताले राज गरेको पाइयो । मझुवा, चालिसे, नागदह, खाटाम्मा, गोथेबजार, दोभाने, तेन्दो, साल्पाफेदी, जौबारी, गुराँसे र कुलुङपोङ्खोका सबै होटल–पसल बन्द भएछन् ।

तीन दिनको यो बाटोमा पहिले यात्री र खच्चडहरूको ताँती लागेका हुन्थे । त्यसमा मिसिएको हुन्थ्यो, पूर्वी सोलुखुम्बुको महाकुलुङबाट तुम्लिङटार झ्र्ने भरियाको लस्कर । अहिले त बाटोमा एउटा मान्छे भेटिए अचम्म मान्नुपर्ने भएछ । नेलेमा बजार पाएका महाकुलुङवासी तुम्लिङटार झ्र्न छाडेपछि यो रुट पूरै निर्जन भएछ ।

जौबारीकी फुरी शेर्पाले साल्पा मेलाको समयमा मात्र मान्छे देख्न थालेको नरमाइलो गरी बताइन् । यो क्षेत्रको विकासमा सरकारले ध्यान नदिंदा र स्थानीय बुद्धिजीवी तथा हुनेखानेहरूले आफ्नो गाउँ बनाउनुको साटो शहर पस्ने संस्कृतिलाई बढावा दिंदा उत्तरी भोजपुर दिनप्रतिदिन मूर्झउँदै गएको खाटाम्माका एमाले कार्यकर्ता जीवन कुलुङले बताए ।

अथाह सम्भावना
जलविद्युत्, पर्यटन, जडिबुटीजन्य वनपैदावार र कृषिमा उत्तरी भोजपुरले अथाह सम्भावना बोकेको छ । प्रसिद्ध धार्मिकस्थल साल्पा र सिलिचुङ यहीं छ । साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन गर्दा मात्र पनि यस भेगका १० प्रतिशत जनता रोजगार बन्छन् । भोजपुरको धेरै अलैंची र रुद्राक्ष उब्जाउने क्षेत्र पनि यही हो ।

नेपाली हातेकागजको कच्चा पदार्थ लोक्ता र अर्गेलीको त खानी नै भन्दा हुन्छ यसलाई । चौकीडाँडा, खाटाम्मा, कुलुङ, कुदाककाउले, दोभाने आदिलाई खाद्यान्न बाली र सुन्तला, किवी लगायतका फलफूलको भण्डार भन्दा हुन्छ । यहींको इर्खुवाखोलामा १० मेगावाटभन्दा बढी विद्युत् क्षमता भएको विद्युत् विकास विभागको वेबसाइटले बताउँछ ।

समृद्धिको पहिलो ढोका भने सडकले खोल्नेछ । दोभाने–८ मा पर्ने साल्पाफेदीसम्म सडक पुर्‍याउने हो भने सोलुखुम्बुसँगको व्यापार बिउँतिएर यो क्षेत्रमा हेर्नलायक परिवर्तन आउनेछ ।

अरुण उपत्यका ।

कुलुपोङ्खो भञ्ज्याङसम्म सडक पुग्दा त्यसले उत्तरी भोजपुरलाई सगरमाथा पर्यटनसँग जोड्नुको साथै खोटाङ, सोलुखुम्बु र भोजपुरबीचको अन्तर जिल्ला व्यापारलाई चुलीमा पुर्‍याउँछ । कुलुपोङ्खो भञ्ज्याङसम्म सडक पुग्दा साल्पापोखरी र सिलिचुङ चुचुरा जाने पर्यटक लाखतिर उक्लन्छ, त्यसले सोलुखुम्बुलाई पूर्वी तराईसँग जोड्ने भएकोले ।

अहिले गाडी चलेको संखुवासभाको हेलुवाबेंसी वा चेवाबेंसीबाट साल्पाफेदी करीब ४० किलोमिटर उत्तर–पश्चिममा छ । हेलुवाबेंसीबाट बुम्लिङ, कुलुङ, चौकीडाँडा र दिङ्लाबाट नेपालेडाँडासम्म ट्रयाक खुलिसकेको छ ।

चौकीडाँडाबाट साल्पाफेदी २५ किलोमिटर जति होला । थप २५ किलोमिटर ट्रयाक खोलेर मोटरेवल बाटो बनाउँदा सोलु–भोजपुर सीमाको कुलुपोङ्खो भञ्ज्याङ जोडिन्छ । संखुवासभा–भोजपुर जोड्न तुर्केघाट पुल निर्माणाधीन छ । हेलुवाबेंसी–कुलुङ जोड्ने पनि पुल बनाउँदा अरू सहज हुनेछ ।

अरुण उपत्यका–साल्पाफेदी–कुलुपोङ्खो सडक बन्दा भोजपुरको सात गाविसका २० हजार ६३७, पूर्वी सोलुखुम्बुको पाँच गाविसका २० हजार ९८२ र उत्तरी खोटाङको तीन गाविसका ५ हजार ८०२ गरी ४७ हजार ४२१ जनसंख्यालाई लाभ पुग्छ । यस दृष्टिले सडक नै उत्तरी भोजपुरको भाग्यरेखा हो । लघुजलविद्युत् आयोजनाबाट सामुदायिक विद्युतीकरणको उपाय पनि छँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>