अर्थ/बजारशनिबार, चैत्र ८, २०७०
चिलिमेको शेयर: सोझामाथि ठगी
फुर्पा तामाङ
गत वर्ष रु.७०० को हाराहारीमा रहेको चिलिमे जलविद्युत् कम्पनीको शेयरको भाउ बढेर यो वर्ष रु.१७०० सम्म पुग्यो । यसरी मूल्य बढिरहेको शेयरप्रति सबैको आँखा पर्छ नै । र, यसरी चिलिमेमा सबैको चासो बढ्दा राम्रै भएको छ, केही टाठाबाठाले गरिरहेको ठगी बाहिर आएकोले । सोझसीधाको शेयरमा ठगी भएको कुरा बाहिर आएपछि कम्पनीले पनि चासो दिएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक कुलमान घिसिङ चिलिमेको शेयरलाई सुनको अण्डा पार्ने कुखुरीसँग तुलना गर्छन् । तर, यस्तो शेयरमा गाउँवासी ठगिएको खबरले जिल्लामा ठूलै खैलाबैला मच्चिएको थियो । यसबारे कसैले उजुरी भने नगरेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताउँछन् ।
खरीद–बिक्री भइसकेका शेयरका धनीहरू साह्रै सोझ भएकोले उजुरी नपरेको अनुमान गर्न सकिन्छ । अबको खरीद बिक्री रोक्न कम्पनीले शेयरधनीको नाममा एकाउन्टपेयी चेक दिन सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
तर, सोझ गाउँलेहरूले पाएको शेयर नबेचून्, बेच्नै परे जिल्ला भित्रैकालाई चल्तीको मूल्यमा बेचून् भन्ने उद्देश्य पूरा गर्न कम्पनीको विज्ञप्ति र एकाउन्टपेयी चेक मात्र पर्याप्त छैन । कम्पनीले गाउँघरमा टोली पठाएर शेयर सम्बन्धी आधारभूत सचेतना कार्यक्रम पनि चलाउनुपर्छ ।
यसका लागि समन्वय गर्न शिक्षण संस्था, आमा समूह, क्लब र गैर–सरकारी संस्थाहरू तयार छन् । अहिले मुख्यतः शेयर बिक्रीको तरिका, बिचौलियाबाट जोगिने उपाय र कसैले ठगेमा अपनाउनुपर्ने कानूनी प्रक्रियाबारे गाउँघरका शेयरधनीहरूलाई बुझउन सके पर्याप्त हुने देखिन्छ । यो कम्पनीको सामाजिक दायित्व पनि हो ।
कसरी पाए शेयर
रसुवावासीले चिलिमे जलविद्युत् आयोजनाको शेयर पाउन कम्ती संघर्ष गर्नु परेको थिएन । २०५६\५७ तिर अभियानको क्रममा दुर्गम नेपाल नामक संस्थाले जिल्लामा शेयरको कुरा उठाउँदा बुझने मानिस कमै थिए ।
त्यो कारण पनि हुन सक्छ, कम्पनीले स्थानीयवासीको लागि शेयर छुट्याएको थिएन । विभिन्न राजनीतिक दल, नागरिक समाज र संघ–संस्थाहरूको समर्थन दुर्गम नेपालको अभियानकै कारण कम्पनीले २०६४ मा सर्वसाधारणको लागि शेयर जारी गर्ने सूचना प्रकाशित गरेको थियो ।
यसरी रसुवावासीले १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता शेयरका लागि रु.२७ करोड ४ लाख ८६ हजार लगानी गर्न पाएका थिए । यो शेयर बढेर अहिले २२ लाख ७१ हजार ३६० कित्ता पुगेको छ, जसको हालको बजार मूल्य रु.३ अर्ब ५४ करोड ३३ लाख २१ हजार ६०० हुन्छ ।
स्वाभाविक हो, कम्पनीको शेयर हुनेहरू अहिले गाउँमा धनाढ्यमा गनिन्छन् । ठूलोभार्खुका मिङ्मार तामाङ भन्छन्, “चिलिमेको शेयरले घरमै बसीबसी १५–२० लाख रुपैयाँको धनी बनाएको छ ।”
शेयरमा लगानीको लागि २० प्रतिशत आफैं जोहो गर्न सक्नेलाई मात्र जनता ब्याङ्क र मेगा ब्याङ्कले बाँकी ८० प्रतिशत ऋण दिएकाले त्यतिवेला ठूलोभार्खुकै कर्पुदे तामाङ लगायत कतिपय गाउँलेले शेयर फारम भर्न पाएनन् ।
यो अनुभवलाई ध्यानमा राखेर अब जारी हुने सान्जेन र रसुवागढी हाइड्रो पावर आयोजनाको शेयरमा ब्याङ्कहरूले गरीबजनको लागि शतप्रतिशत लगानी गर्दा दुवै पक्षलाई फाइदा हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
