अन्तर्वार्ता/विचारशनिबार, चैत्र ८, २०७०
‘शान्तिप्रक्रिया पूरा गराउन अनशन’
१७ चैतदेखि आमरण अनशन बस्ने निर्णय किन गर्नुभएको हो ?
अन्तराष्ट्रिय फौजदारी अदालताको रोम विधान (आइसीसी)लाई नेपालले अनुमोदन गर्नपर्छ भनेर हामीले लामो समयदेखि आवाज उठाउदै आएको थियौ । विसं २०६३ मा पुर्नस्थापित प्रतिनिधी सभाले सरकारलाई आइसीसी रोम विधान अनुमोदन गर्न निर्देशन पनि दिएको हो । तर, सरकारहरुले केही काम गरेनन् । त्यसैले दबाब दिन आमरण अनसन बस्ने निर्णय गरेको हुँ ।
यो माग अहिले नै किन गर्नु भएको हो ?
मनवताविरुद्धको अपराध, युद्ध अपराध र आम संहार रोक्ने उदेश्यले आइसीसी विधान बनेको हो । विश्वका १३९ देशले हस्ताक्षर गरेको र १२२ देश राज्यपक्ष रहेको यो विधान नेपालले अनुमोदन नगरेकोमा मलाई आश्चर्य लाग्छ । मान्छे मारेर, अर्काको स्वतन्त्रता अपहरण गरेर वा युद्ध अपराध गरेर सत्ता कब्जा गर्ने वा सत्तामा पुग्ने प्रवृत्ति निरुत्साहित गर्न आइसीसी विधान तल्काल अनुमोदन गर्न आबश्यक छ ।
यति छोटो समयमा त्यत्रो निर्णय भ्याइएला र ?
संसदले पहिल्यै निर्देशन दिएकाले सरकारले चाहेमा एक दिनमै सक्छ ।
अहिले यो बिषय उठाउँदा शान्तिप्रक्रियामा समस्या आउँदैन ?
शान्ति संझैता कार्यन्वयन गराउन हामीले १० बुँदे धारणा पनि राखेका छौं । तर, पिडीतहरुलाई न्याय र राहत नदिएसम्म शान्तिप्रक्रिया निष्कर्षमा पुग्दैन । शान्ति प्रक्रिया पुरा गराउन नै आमरण अनसन बस्न लागेको हुँ ।
भारतका अन्ना हजारे जस्तै बन्न अनशन गर्न लाग्नु भएको त होइन ?
फागुन २०४६ मा तरहरा बन्दी शिवीरमा, चैत २०४६ मा तेह्रथुम कारागारमा र असार २०६२ मा बन्दी हुँदा अनशन बसेँ भने बन्दी रहँदै २१ असारदेखि अनशन बस्ने घोषणा गरेकोमा २० असारमा रिहा गरिएकाले बस्नु परेन । यो मेरो पाँचौ अनशन हुने भएकाले लोकप्रियतासँग जोडिदैन ।