रमझमशनिबार, चैत्र ८, २०७०
स्रष्टासँग संगीतकार
काठमाडौं, अनामनगरस्थित मण्डला थियटर ८ चैत साँझ पनि खचाखच थियो । संधै जसो नाटक हेर्न दर्शक आउने थियटर पहिलो पटक सुगम संगीतका पारखीले भरिएका थिए । ‘रहेछ आयु केवल भेटको……….’ बोलको गीतबाट कार्यक्रम शुरु भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाद्वारा लिखित गीत युवा संगीतकार पारस मुकारुङले गाए । हो, संगीतकार मुकारुङ दुई दशक लामो सांगीतिक यात्रापछि पहिलो पटक गायकको रुपमा प्रस्तुत भएका थिए ।
‘स्रष्टासँग संगीतकार’ कार्यक्रममा मुकारुङले नयाँ पुराना गरी १४ गीत गाएका हुन । स्वप्निल स्मृतिले लेखेका ‘तमोर पारे कान्छी…..’ गीतलाई दर्शकले वान्स मोर भनेपछि उनले दुई पटक गाए । आफैले संगीत भरेको चर्चित गीत ‘आधा उमेर निन्द्रामै बित्यो, आधा हाँस–खेलैमा…’ गीत गाएर मुकारुङले दर्शकलाई मन्त्रमुग्ध पारे ।
गायक जगदीश समाल, राजेश पायल राई, दीप श्रेष्ठ, भीषण मुकारुङ, यम बराल, लासिमीत राई, झुमा लिम्बु र कुन्ति मोक्तानद्वारा स्वरबद्ध गीत मध्ये युगल गायनमा मुकारुङलाई लासिमीत राईले साथ दिएकी थिइन । कार्यक्रममा उनले वैरागी काइँला, श्रवण मुकारुङ, शुभ मुकारुङ, सञ्जोग लाफा मगर, उपेन्द्र सुब्बा, जयप्रकाश गुरुङ, गंगाराज मुकारुङ, हाङयुग अज्ञात, नवीन दाहाल, दुतेन्द्र चाम्लिङ र बसन्त मुकारुङ रचित गीत गाएका थिए ।
मुकारुङलाई सुन्न दर्शकहरू रु. एक हजारको टिकट काटेर गएका थिए । कार्यक्रममा गायक राजेश पायल राईले रु. १० हजार सहयोग दिने घोषणा गरे । नेपाली वाङमय परिषद र एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित कार्यक्रमबाट बचेको रकम लिभिङ होम नामक बालगृहलाई सहयोग गरिने परिषदका अध्यक्ष शशी लुमुम्भुले जानकारी दिए । वरिष्ठ संगीतकार अमर गुरुङको आशिस् मन्तब्यपछि कार्यक्रम शुरु भएको थियो ।