खेलकुदआइतबार, चैत्र ९, २०७०
टी–२० विश्वकपको उत्साह जोगाउने चुनौती
७ चैत बिहान ढाकाको सोनारगाउँस्थित प्यान प्यासिफिक होटलबाट निस्कने क्रममा नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले हिमाल सँग भने, “आउँदो मे महीनामा एसीसी ट्रफी खेलेपछि लामो समय हामीसँग अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिता छैनन्, खेलाडीले वर्षभरि क्रिकेट खेल्न नपाउँदासम्म अन्तर्राष्ट्रियस्तरको क्रिकेटमा राम्रो नतीजा दिन निकै कठिन हुन्छ ।”
पहिलो पटक क्रिकेटको सबैभन्दा छोटो फर्म्याट टी–२० को विश्वकपमा पुगेकोमा समूह चरणका तीनमध्ये दुई वटा जित आत्मसात् गर्दै इतिहास रचेको नेपाली टीमको सफलतामा देशभित्र हर्षोल्लासको माहोल छ । नेपाली क्रिकेट टोली ढाकाको होटलबाट निस्कँदै गर्दा काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका निम्ति समर्थकहरूको ठूलो भीड जम्मा भइसकेको थियो । अब्बल दर्जाको क्रिकेट खेलिरहेको हङकङ र एकदिवसीय मान्यता प्राप्त अफगानिस्तानलाई पराजित गर्दै बंगलादेशकै बराबर अंक हासिल गरेको नेपाली टीमका कप्तानको मनस्थिति भने त्यस्तो थिएन ।
उनको त्यो मनस्थिति र भनाइले नेपालले हासिल गरेको माथिल्लो स्तरको सफलता कति दिगो रहला भन्ने प्रश्न खडा गर्छ । त्यसैले विश्वकपमा हासिल गरेको सफलतापछि मुलुकवासीमा देखिएको खुशी र उत्साह तथा खेलाडीहरूको मनोबल जोगाउनु मुख्य चुनौती हुने देखिन्छ ।
विश्व मञ्चमा पदार्पण
चितागोंगस्थित जहुर अहमद चौधरी स्टेडियममा समूह चरणको आफ्नो पहिलो खेलमा हङकङको सामना गर्न नेपाली क्रिकेट टीम मैदानमा उत्रँदा टीमको प्रदर्शनलाई लिएर अनेक अड्कलबाजी चलिरहेका थिए ।
न्युजिल्याण्डमा भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा गरेको बिर्सनलायक प्रदर्शन र चितागोंग पुग्नुअघि युएई र ढाकामा खेलिएका चार वटा अभ्यास खेलमध्ये तीन वटामा भोगेको पराजयले नेपाली टीम कमजोर मनोबल र दबाबमा देखिएको थियो । तर, हङकङ विरुद्ध २ चैतको पहिलो खेलमा नेपाली टीम दबाबमा परेको देखिएन । व्याटिङ, बलिङ र फिल्डिङमा अब्बल प्रदर्शन गर्दै हङकङ विरुद्ध नेपालले ८० रनको शानदार जित हासिल गर्यो ।
आफ्नो खेल हेर्न देश विदेशबाट आइपुगेका करीब तीन हजार समर्थकमाझ हङकङ विरुद्धको खेलमा जसरी टेस्ट मान्यताप्राप्त आयोजक बंगलादेश विरुद्ध सन्तुलित प्रदर्शन गर्न नसके पनि त्यहाँका क्रिकेटप्रेमीको मन जित्न भने नेपाल सफल भयो । समूह चरणको अन्तिम खेलमा एकदिवसीय मान्यताप्राप्त अफगानिस्तान विरुद्ध सात वर्षपछि पहिलो जित हासिल गरेर नेपालले बंगलादेशलाई पछि पार्दै विश्वकपको दोस्रो चरण (सुपरटेन) मा पुग्ने सम्भावना पनि जीवित राख्यो । तर, दबाबमा रहेको बंगलादेश विरुद्धको खेलमा तुलनात्मक रूपमा कमजोर प्रदर्शन गर्नु नेपाल दोस्रो चरण प्रवेश नगर्नुको कारण बन्न पुग्यो ।
कप्तान पारस खड्का नतीजा जेसुकै भए पनि बंगलादेशमा नेपालले राम्रो क्रिकेट खेलेको बताउँछन् । “हामीले आफ्नो क्षमताभन्दा पनि बढी खेल्यौं जस्तो लाग्छ, केही राम्रो भयो भने केही कमजोरी पनि भए” उनी भन्छन्, “यसलाई हाम्रो सफलताको सुरुआतको रूपमा लिनुपर्छ ।”
चितागोंगमा खेल्ने टीममध्ये बंगलादेशपछि टीभी कमेन्टेटरहरूले सबैभन्दा धेरै चर्चा र तारिफ नेपाली टोलीकै गरे । उनीहरूले मात्रै नभएर स्टेडियममा क्रिकेट हेर्न आएका बंगलादेशी समर्थकहरूले पनि नेपाली टीमको प्रदर्शनको खुलेर तारिफ गरे ।
बंगलादेश प्रहरीमा कार्यरत मोहम्मद असरफुल इस्लम हङकङ विरुद्धको खेलमा टीभीमा नेपालको ब्याटिङ हेरेपछि दोस्रो इनिङ हेर्न मैदानमै आएका थिए । “नेपालको खेल र समर्थकको उत्साह साँच्चिकै गज्जबको लाग्यो” उनले भने, “बंगलादेशमा जस्तो क्रेज छ, नेपालमा पनि त्यस्तै रहेछ, नेपालको खेल पनि बंगलादेशको भन्दा कम्तीको लागेन ।”
बंगलादेशमा खेलेको टी–२० विश्वकपसँगै क्रिकेटको विश्वमा नेपालको परिचय फेरिएको छ । नेपाल अब क्रिकेटको ‘इमर्जिङ राष्ट्र’ मात्र रहेन । यो सफलतासँगै नेपालले एकदिवसीय मान्यता पाउने/नपाउने विषय ६ चैतको अफगानिस्तानसँगको खेलपछि कप्तान खड्काले संकेत गरे झैं ‘आईसीसीले गर्ने निर्णयमा निर्भर’ रहे पनि नेपालले एकदिवसीय राष्ट्रमा उक्लिएर ‘क्रिकेट नेशन’ बन्न सक्ने सम्भावना बढाएको छ । त्यसो भयो भने नेपाल क्रिकेटको गन्तव्य पनि बन्न सक्छ ।
‘मिसन वान डे’
‘क्रिकेट नेशन’ बन्न राम्रो खेल मात्र भएर पुग्दैन, अन्तर्राष्ट्रिय मापदण्डका क्रिकेट स्टेडियम लगायतका पूर्वाधार, समर्थक र क्रिकेटमैत्री वातावरण पनि चाहिन्छ । विश्वकपका वेला राजधानी लगायत देशका प्रमुख शहरहरूमा देखिएको क्रिकेटप्रेमीहरूको उत्साह, सरकार र राजनीतिकर्मीहरूले देखाएको चासो र बन्दै गएको ‘क्रिकेट कल्चर’ ले आशलाग्दो संकेत गरेको छ ।
तर, क्रिकेटको यो ‘मोमेन्टम’ जोगाइराख्न सरकारसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, निजीक्षेत्र र सबैको पहलकदमी आवश्यक छ । कम्तीमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुनसक्ने चार÷पाँच वटा क्रिकेट रंगशाला निर्माण, वर्षभरि नै खेलाडीलाई व्यस्त बनाइराख्ने प्रतियोगिताको आयोजना, घरेलु क्रिकेटको ‘व्यस्त क्यालेन्डर’ निर्माण र खेलाडीलाई खेलमा समर्पित हुने आधार तयार पार्ने काम अबको प्राथमिकता हुनुपर्नेछ ।
क्रिकेट विकासमा राज्यको प्राथमिकता र अन्तर्राष्ट्रिय सहयोगको उत्तिकै महत्व हुन्छ । बंगाल क्रिकेट एसोसिएसनका अध्यक्ष रहेका जगमोहन डालमियाँ भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्ष बनेपछि सन् १९८७ देखि भारतको क्रिकेटमा पैसा भित्रिन थालेको हो । पिलकन (पाकिस्तान, इन्डिया र श्रीलंका) मिलेर संयुक्त रूपमा विश्वकप आयोजना गरेपछि अन्तर्राष्ट्रिय सहयोग भित्रिएर दक्षिण एशिया क्रिकेटको ‘हब’ बन्यो ।
नेपाली क्रिकेटलाई त्यो अवस्थासँग तुलना गर्न नसकिए पनि क्रिकेटमा अन्तर्राष्ट्रिय सहयोग भित्र्याउन अहिले ‘मोमेन्टम’ तयार भएको छ । क्रिकेटमा राज्यले लगानी गर्ने र क्रिकेट संघको नेतृत्वले अन्तर्राष्ट्रिय सहयोग भित्र्याउन पहल गर्ने हो भने यो अवस्था क्रिकेट विकासमा गति दिने गतिलो अवसर बन्न सक्छ ।
बंगलादेशमा नेपाली खेलाडीले राम्रो छाप छाडेका छन् । क्रिकेट संघले पहलकदमी लिंदा बंगलादेश प्रिमियर लिग (बीपीएल) मा केही नेपाली खेलाडीले अवसर पाउन सक्छन् । त्यस्तै लिग यहाँ पनि शुरू गर्ने हो भने खेलाडीको स्तर उकास्न मद्दत गर्नेछ । टी–२० विश्वकपमा नेपाली बलिङ र फिल्डिङ चुस्त देखिए पनि ब्याटिङको समस्या अझै सुल्झन नसकेको देखियो । पूरै इनिङभर धेरैजसो नेपाली ब्याट्सम्यानहरू ठूल्ठूला ‘पावर सट’ खेल्न नसक्ने अवस्थामा देखिए, जबकि बंगलादेश, अफगानिस्तान र हङकङका खेलाडीहरूलाई त्यस्तो खेल्न कठिनाई भएको देखिएन ।
खेलाडीको मनोबल, स्टामिना आदिलाई पनि यसको कारण मान्ने गरिन्छ । तर, नेपाली टीमका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर कतिवेला कस्तो ‘सट’ खेल्ने भन्ने कति खेल खेलिन्छ भन्ने विषयले निक्र्योल गर्ने बताउँछन् । “हामी वर्षभरिमा जम्माजम्मी १०–१२ म्याच खेल्छौं भने सयौं म्याच खेल्ने जसरी कसरी प्रदर्शन गर्न सक्छौं ?” उनी भन्छन्, “धेरै प्रतियोगिता खेल्न पाउने, बाहिर गएर तथा बाहिरका खेलाडीलाई ल्याएर खेल्न पाउने हो भने मात्रै हामीले सिक्न पाउँछौं र परिपक्व बन्छौं ।”
———————————————————————————————————————————————-
हामी बल्ल पाइला टेक्दैछौं, एकैचोटि धेरै ठूलो उपलब्धि सोचेर मात्र पाइन्न । हामी कस्तो क्रिकेट खेल्दैछौं भन्ने थाहा पाउन नेपाली क्रिकेट कसरी आएको छ भनेर पनि हेर्नुपर्छ । हामी टीभी हेरेर खेल्न सिकेको पुस्ताका हौं । त्यसैले ठूलो अपेक्षा राख्नु स्वाभाविक भए पनि हाम्रो वास्तविकता बुझिदिनुपर्छ । हामी त लागिपर्छौं, तर क्रिकेटको विकास गर्न व्यवस्थापकीय काम गर्नुपर्छ ।
घरेलु क्रिकेटको संरचनामा सुधार गर्नुपर्छ । वर्षैैभरि क्रिकेट खेल्ने वातावरण हुनुपर्छ । क्रिकेट संघमा सुधार गर्नुपर्छ । हामी अझै राम्रो क्रिकेट खेल्न सक्छौं । नयाँ चरणमा प्रवेश गरेर हामीले त्यो देखाएका पनि छौं ।
पारस खड्का, कप्तान
———————————————————————————————————————————————-
हामीले जित्दा वाहवाही गर्दै यसो गर्छौं र उसो गर्छौं भनेर गरिएको वाचा बिर्सिइन्छ । हामीले राम्रो गर्दा मात्र हैन, नराम्रा दिनबाट गुज्रिंदा पनि यो प्रोत्साहन हुनुपर्यो । हाम्रो मिहिनेतमा कमी छैन, तर धेरै प्रतियोगितामा खेल खेल्न पाउनु पर्यो । घरेलु क्रिकेट राम्रो हुनुपर्यो, विदेशमा गएर खेल्ने र विदेशी खेलाडी पनि नेपालमा आएर खेल्ने वातावरण बनाउनुपर्यो । हामीले सिक्ने त्यसरी हो ।
शरद भेषवाकर, ब्याट्सम्यान
साप्ताहिक खबरपत्रिका हिमालबाट