रिपोर्टआइतबार, चैत्र ९, २०७०
व्यवसायसँगै सेवा
मीना शर्मा
वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण गर्ने क्लिनिक चलाएर राम्रै आम्दानी गरिरहेकी यमुना कटुवाल (२८) लाई अरू दाम र नाम कमाउने गरी केही नयाँ काम गर्ने इच्छा थियो । त्यस्तैमा चार वर्षअघि बिरामी वृद्धवृद्धालाई स्वास्थ्य सेवा सहित घरेलु वातावरणमा स्याहार गर्ने केन्द्र खोल्ने सोच आएपछि व्यवस्थापनमा स्नातक उनले असोज २०६७ मा काठमाडौंको बाँसबारीमा ‘अर्किड केयर होम’ खोलिन् । जुन, बिरामी आमाबाबुलाई स्याहार गर्न नभ्याएका, केही खर्च गर्न सक्ने र कामकाजी छोराछोरीका लागि अहिले वरदान बनेको छ ।
नौलो काम
दैनिक रु.८९५ तिरेर नर्सिङ केयर सहित खान र बस्न पनि पाउने व्यवस्था भएको अर्किड केयरको सेवा नेपालका लागि नौलो हो । यहाँ आवासीय सेवा मात्र लिने हो भने दैनिक रु.७२५ र दिवा सेवाका लागि दैनिक रु.३९५ तिर्नुपर्दछ । अल्जाइमर, डिमेन्सिया जस्ता समस्या भएका वृद्धवृद्धाका लागि मासिक रु.३० हजार शुल्क लाग्छ ।
अस्पतालबाट डिस्चार्ज भएपछि नियमित रूपमा औषधि खानुपर्ने र ‘थेरापी’ गर्नुपर्ने नसा, हाडजोर्नी र प्यारालाइसिसका बिरामी यहाँ आउने गरेका छन् । सञ्चालन भएको तीन वर्षमा १५० जनाले सेवा लिइसकेको संचालक कटुवाल बताउँछिन् । सात जनाको मेडिकल टीम सहित २४ जना कर्मचारी रहेको यहाँ स्वास्थ्य परीक्षणका लागि हप्तामा दुई पटक चिकित्सकलाई बोलाउने गरिएको छ । शिरोधारा, आयुर्वेदिक थेरापी, स्पा थेरापी, स्टीम/साउना र योग/प्राणायामको पनि सुविधा भएको यो केयर होमसँग २५ जनालाई आवासीय सेवा दिने क्षमता छ । बिरामी वृद्धलाई सन्तुलित खाना खुवाउन पोषणविद्को पनि सल्लाह लिने गरिएको कटुवाल बताउँछिन् ।
संयुक्त परिवार टुक्रिएर एकल परिवार बन्न थालेको नेपालको शहरी समाजमा पछिल्लो समय परिवारका वृद्धवृद्धाको कम हेरचाह हुन थालेको छ । आर्थिक उपार्जनका लागि दौडधुप गर्नुपर्ने बाध्यताले आमाबाबुलाई राम्रो स्याहारसुसार गर्न चाहनेले पनि सक्ने स्थिति छैन । त्यस्तो अवस्थामा आर्थिक अवस्था बलियो बनाएका छोराछोरीले राम्रो सुविधा सहित सेवा दिने संस्था खोजी गर्न थालेका थिए । समाजको यो आवश्यकता बुझेर आफूले केयर होम खोलेको कटुवालको भनाइ छ ।
समाजको खाँचो पूरा गर्न खोलेकाले केयर होमले व्यवसायसँगै सेवा पनि दिएको कटुवाल बताउँछिन् । “छिमेकी र आफन्तले कुरा काट्न नसक्ने वातावरण र सेवा दिएका छौं, हामीले आफ्नै आमाबाबुलाई जसरी सेवा दिएकाले यहाँ आमाबाबु राख्ने छोराछोरी निर्धक्क हुनसक्छन्” कटुवालको विश्वास छ ।
साप्ताहिक खबरपत्रिका हिमालबाट