सम्पादकीयसोमबार, चैत्र १०, २०७०

क्रिकेटः सफलताको पारी दिगो बनाऊँ

हिमालखबर

टि–२० विश्वकप खेलेर फर्केका टीम नेपालका खेलाडीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समर्थक माझ । तस्वीरः देवकी विष्ट/हिमालखबर

बंगलादेशमा भएको क्रिकेट टी—२० विश्वकपमा पहिलो पटक सहभागी भएको नेपाली टोलीले पहिलो चरणका तीनमध्ये दुई खेलमा विजय हासिल गरेर नेपालीलाई खुशी र उत्साहित बनाएको छ । टेष्ट खेल्ने बंगलादेशसँग पराजित भए पनि नेपालले एक दिवसीय मान्यता प्राप्त अफगानिस्तानलाई पराजित गर्यो भने आफू बराबरको हङकङलाई पनि मात दियो ।

यसरी हङकङसँग हारेको बंगलादेश जसरी नै दुई जित र एक हार बेहोरे पनि रन रेट कम भएकाले नेपाल सुपरटेनमा पुगेन । सुपरटेनमा पुग्न सकेको भए नेपालको जित अरू गौरवपूर्ण हुनेथियो । तर, अहिलेको सफलता पनि नेपाली क्रिकेटका लागि सानो होइन । क्रिकेट खेल्ने एउटा अन्तर्राष्ट्रियस्तरको रंगशाला समेत नभएको अवस्थामा खेलाडी र प्रशिक्षकले मुलुकलाई दिलाएको यो उपलब्धि सलामयोग्य छ । यो विजयलाई दिगो बनाउन अहिलेदेखि नै तयारी गरिएन भने चाहिं मुलुकको यो खुशी क्षणभंगुर हुनेछ । सफलताको पहिलो खुट्किलोले बढाउने आशा पूरा नहुँदा निराशा समेत ल्याउन सक्छ । त्यस्तो अवस्था आउनु नेपाली क्रिकेटका लागि दुर्भाग्य हो ।

अहिलेको खुशीलाई दिगो बनाउन खेलाडी, नेपाल क्रिकेट संघ (क्यान) र संचार क्षेत्रको होस्टेमा सरकार र निजी क्षेत्रले पनि दिल खोलेर हैंसे गर्नुपर्छ । सरकारले नीति तथा कार्यक्रम मार्फत क्रिकेटका लागि रंगशाला बनाउने घोषणा गरेर सकारात्मक थालनी गरेको पनि छ । तर, कार्यान्वयन नभएको घोषणाको कुनै अर्थ हुँदैन । विकास निर्माणका अरू काममा जस्तै रंगशाला निर्माणमा वर्षाैं लगाइयो, जमीन नपाएको नाममा अलमलाइयो वा निर्माणमा कसको भूमिका रहने भन्ने विवाद निकालियो भने दुर्भाग्यपूर्ण हुनेछ । ध्यान दिनुपर्ने कुरा– क्रिकेटमा बलियो दक्षिण एशियामा छिमेकीहरूसँग प्रतिस्पर्धा गर्न एउटा मात्र रंगशाला पर्याप्त हुने छैन । अन्तर्राष्ट्रियस्तरका दर्जनौं रंगशाला भएका भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने हो भने नेपालमा पनि हरेक विकास क्षेत्रमा स्तरीय रंगशाला बनाउनै पर्छ ।

क्यानले पनि क्लबहरूलाई ब्यूँताउँदै तिनीहरूको राष्ट्रिय लिग आयोजना गर्नुपर्छ । त्यसमा क्रिकेटप्रेमी र निजी क्षेत्र पनि लाग्नुपर्छ । क्रिकेटप्रेमी र निजी क्षेत्र तन, मन र धनका साथ लागेनन् भने क्लबहरू बन्न सक्दैनन् । बलिया क्लब नबनेसम्म प्रतिस्पर्धी राष्ट्रिय लिग आयोजना हुन सक्दैन । बलियो लिग हुँदा मात्र क्षमतावान र प्रतिस्पर्धी खेलाडी उत्पादन हुनसक्छन् । भौतिक पूर्वाधार तयार पारेर अवसर सिर्जना गरियो भने मात्र युवाहरू क्रिकेटमा उत्प्रेरित भएर स्टारहरू जन्मिने छन्, आफ्ना सन्तान क्रिकेटमा लाग्दा बिग्रँदैनन् भनेर आमाबाबु विश्वस्त हुनेछन् । र क्रिकेटको पक्षमा राष्ट्रिय मनोविज्ञान निर्माण हुनेछ ।

नेपालले अहिले नगन्य लगानीमा क्रिकेटमा सफलता पाएको छ । लगानी बढाउने हो भने सफलता बढ्छ । त्यसका लागि सानैदेखि क्रिकेट सिकाउने एकेडेमी आवश्यक छ, जहाँ आवश्यक खेल सामग्री होस्, योग्य प्रशिक्षक हुन्, विदेशीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने गरी ‘स्टामिना’ बढाउन चाहिने खान्कीको व्यवस्था होस् । यही विश्वकपमा पनि हामीले देख्यौं– विदेशीको तुलनामा नेपाली खेलाडीले थोरै मात्र ‘बाउण्ड्री’ पाए । अर्थात्, स्टामिनाको अभावले छक्का र चौकाको वर्षा हुन सकेन । सानैदेखि आत्मविश्वासपूर्वक प्रतिस्पर्धा गर्न सक्ने बनाउन मनोवैज्ञानिक प्रशिक्षण पनि उत्तिकै आवश्यक देखिन्छ । यी सबै पूर्वाधारको व्यवस्था हुने हो भने नेपाली युवाले प्रतिस्पर्धा गरेर जो कोहीलाई बोल्ड गर्न सक्छन् ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...