ब्लगसोमबार, चैत्र १०, २०७०
सुरक्षित निर्माणको चेतना
मौलिक वास्तुकला बचाउन प्रयासरत भक्तपुर नगरवासीलाई सुन्दरसँगै सुरक्षित संरचनामा राख्न प्रयत्नरत छ । भक्तपुरले निर्माण संस्कृतिलाई सबल बनाउन नगरवासीलाई घर बनाउनुअघि बलियो वास्तुको तालिम लिनैपर्ने व्यवस्था गरेको छ ।
तीन वर्षअघिसम्म ऐच्छिक रहेको यो प्रावधान अब अनिवार्य बनेको छ, नत्र घरको नक्शा पास हुँदैन । ऐच्छिक व्यवस्था प्रभावकारी नभएपछि नगरपालिकाको नक्शा शाखाले घर बनाउन चाहनेहरूलाई हरेक शुक्रबार सुरक्षित निर्माण सम्बन्धी नियम—कानून सिकाउन थालेको छ ।
सिकाउनै पर्ने कुरो
सडक मिचेर घर बनाउनु हुन्न भन्ने कुरा काठमाडौं उपत्यकाभित्रका घरधनी र जग्गाधनीले सिकिसके । बाबुराम भट्टराई सरकारले थालेको ध्वंसात्मक सडक विस्तारले सिकाएको महँगो पाठ हो यो । सामान्य मानवीय संवेदना र नागरिक हकको ख्याल नगरी थालिएको यो ‘लाल विकास’ ले धेरैलाई पीडित बनाए पनि सडक नमिचिकन घर बनाउने चेतना चाहिं रोप्यो ।
अब सडकपट्टि एक मिटर र छिमेकीको साँधपट्टि डेढ मिटर छोडेर घर बनाउने मापदण्ड पनि धेरैले पालना गर्न थालेका छन् । तर, साढे दुई तल्ले घरको नक्शा पास गरेर त्योभन्दा बढी तल्ला थपेर आकाश मिच्ने काम भने जारी छ ।
राजधानी उपत्यकामा घर बनाउनेहरूले आकाश मिच्न नपाइने नियम थाहा नभएको होइन र यो नियम त्यसै बनाइएको पनि होइन । तर, न घरधनीहरूले यसको पालना गरेका छन् न त महानगर, नगरपालिका र गाविसले अनुगमन गरेका छन् । यसबाट बढ्दो शहर असुरक्षित हुनुको साथै महानगर, नगरपालिका र गाविस राजस्व गुमाइरहेका छन् । यसबाट नियम मिच्नेहरूको मनोबल बढेको छ ।
साढे दुई तल्लेको भार थाम्ने गरी बनाइएकोे जगमाथि सगर्व चार–पाँच तल्ले घर ठड्याउँदा भोलि आइलाग्ने विपतबारे उनीहरूको चेतनाको ढोका बन्द भएको देखिन्छ । छिमेकमा धमाधम ‘धरहरा’ हरू बनेर आफ्नो घरमा घामै नछिरेर ओसिलो/अँध्यारो बनेपछि अनिच्छापूर्वक तला उकास्नेहरू पनि धेरै छन् ।
शहर व्यवस्थित र स्वस्थकर बनोस् भनेर नै हो, तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिले २०६४ सालमा जग्गाको अनुपात अनुसारको घर बनाउने मापदण्ड बनाएको । यसका लागि समितिले सिंगो उपत्यकालाई पुरानो शहरी क्षेत्र, आवासीय क्षेत्र, संस्थागत, औद्योगिक, शहरी विस्तार, सतह सवारी, विमानस्थल, खेलकुद र संरक्षण क्षेत्र गरी ९ क्षेत्र र विभिन्न उपक्षेत्रमा विभाजन गरी निर्माणका लागि फ्लोर एरिया रेसियो (फार) अनुसार बनाउन पाइने अधिकतम तला तोकिदिएको थियो । घर वा भवनको तलाहरूको कुल क्षेत्रफललाई भवन बन्ने जग्गाको सम्पूर्ण क्षेत्रफलले भागा गरेर ‘फारले’ निकालिन्छ ।
यस अनुसार मैतीदेवीमा कसैले चार आना जग्गामा घर बनाउन चाह्यो भने उसले जमीनको ७० प्रतिशत भाग ओगट्ने गरी बनाउन पाउँछ । नगर विकास समितिले आवासीय भवनका लागि मैतिदेवीको फ्लोर एरिया रेसियो २.५ तोकेको छ । यो भनेको चार आना जग्गामा ३४२२.२५ वर्ग फिट (एक आना बराबर ३४२.२५ वर्गफिट) नबढ्ने गरी अर्थात् ७० प्रतिशत जमीन ढाक्दा साढे तीन तलासम्मको घर बनाउन पाइन्छ भन्ने हो ।
जग्गाधनीले यस्ता कुराको मेसो पाएका रहेनछन् भने पनि नक्शा कोर्ने इन्जिनियरलाई थाहा नहुने कुरै हुँदैन । र, नक्शा पनि नीतिनियमभित्रै बसेर कोर्नुपर्छ, तर त्यस्तो भइरहेको छैन ।
काठमाडौंमा बेथिति भइरहेको वेला भक्तपुर नगरपालिकाले घरधनीका लागि आधारभूत निर्माण शिक्षा दिन थाल्नु ज्यादै राम्रो कुरा हो । यो काम अरू नगरपालिका र नक्शा पासको प्रावधान भएका गाविसहरूले पनि शुरू गरिहाल्नुपर्छ । यसका लागि जनशक्ति थपिरहनु पनि नपर्ला । परेछ भने पनि यसले जगाउने चेतनाका अगाडि थपिएको जनशक्तिको भार केही होइन ।
सुरक्षित निर्माणको तरिकासँगै नियमकानून नमिच्न र मिचे आइलाग्ने कानूनी कष्टबारे कान फुक्न सकियो भने सुरक्षित शहरको सपना हाम्रा लागि धेरै परको कुरा बन्ने छैन । सुरक्षित निर्माण संस्कृतिको जग बसाउनेहरूको जय होस् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट