खेलकुदमंगलबार, चैत्र ११, २०७०

नेपाललाई टी–२० राष्ट्रको मान्यता दिने तयारी, दासानायकेको म्याद थप

हिमालखबर

आईसीसीले हालसम्म सदस्य राष्ट्रलाई टेस्ट र एकदिवसीय मान्यतामा मात्र वर्गीकरण गर्दै आएको छ। एकदिवसीय राष्ट्रको मान्यता पाएका राष्ट्रले मात्र स्वत: टी–२० राष्ट्रको मान्यता पाएर बढीभन्दा बढी प्रतियोगिता खेल्दै आएका छन्।

बंगलादेशमा जारी टी–२० विश्वकपमा नेपालले एसोसिएट राष्ट्रमध्ये उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीले सकारात्मक रूपमा लिएर नयाँ संरचनाका लागि छलफल अघि बढाएको जानकारी नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेले दिए।

‘विश्वकपमा नेपालले गरेको उत्कृष्ट प्रदर्शनलाई लिएर एकदिवसीय मान्यताप्राप्त राष्ट्र नभए पनि स्तरअनुसारको दर्जा पाउनुपर्ने बहस चलेको छ।

आईसीसीले टी–२० राष्ट्रको वर्गीकरण गर्ने भएकाले नेपाल पनि त्यसमा पर्ने पक्का छ तर यसका लागि क्यान आफैंले पहल गर्नुपर्छ’, उनले भने। टी–२० ढाँचा वर्गीकरणमा नेपाल आईसीसीको रोजाइमा रहेको उनले बताए।

नेपालले टी–२० मान्यता पायो भने थप स्तरीय प्रतियोगिता खेल्न पाउनेछ। विश्वकपको समूहगत चरणमा तीन खेलमा दुईमा जित हात पारेको नेपालको स्तर के हुने भन्ने विषयमा नेपाली टोली ढाकामै रहँदा पनि प्रश्न उठेको थियो।

कप्तान पारस खड्काले पनि नेपाली क्रिकेटलाई कहाँ राख्ने र कस्तो अवसर दिने भन्ने विषय आईसीसीको भएको बताएका थिए। ‘हामीले आफ्नो स्तर देखाएका छौं, अब कुन ठाउँमा राख्ने भन्ने काम आईसीसीको हो’, अफगानिस्तानलाई हराएपछि पारसले भनेका थिए।

नेपालले टी–२० विश्वकपमा एसोसिएट राष्ट्रमध्ये आफूलाई नम्बर एक स्थानमा उभ्याउँदै विश्व क्रिकेटलाई चकित बनाएको थियो। तीनमध्ये दुई खेलमा जित हात पारेको नेपालको जितको प्रतिशत ६६ छ।

यसले नेपाललाई टी–२० बरियतामा ११ औं स्थानमा पुर्याकएको छ। टेस्ट मान्यताप्राप्त १० राष्ट्रपछि नेपाल एसोसिएट राष्ट्रमा पहिलो स्थानमा रहनेछ। यद्यपि न्युजिल्यान्डमा यसै वर्ष भएको भएको एकदिवसीय विश्वकप छनोटमा खराब प्रदर्शन गरेपछि नेपालले एकदिवसीय टिमको मान्यता पाउने मौका भने गुमाएको थियो।

दासानायकेको सम्झौता एक वर्ष थपियो
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता अवधि एक वर्ष थप्ने निर्णय गरेको छ। क्यानको कार्यकारिणी समितिको सोमबार बसेको बैठकले सम्झौता एक वर्ष थप्ने निर्णय गरेको हो।

सन् २०११ मा नेपाल आएका दासानायकेको पछिल्लो सम्झौता अवधि आगामी सोमबार सकिँदैछ। उनको सम्झौता एक वर्ष लम्ब्याउने निर्णय भएको जानकारी क्यानका महासचिव अशोकनाथ प्याकुरेलले दिए। बैठकले राष्ट्रिय टोलीका लागि छुट्टै बलिङ र ब्याटिङ प्रशिक्षकको व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

क्यानको बैठकले सम्झौता अवधि थपे पनि शर्तसहितको सम्झौता गर्ने बहस चलाएको थियो। कार्यकारिणी समितिमा क्यानविरुद्ध मिडियामा नबोल्ने, क्रिकेटबाहेक अन्य कुरामा प्रतिक्रिया नदिने र खेलाडी नउक्साउनेजस्ता शर्त राख्ने विषयमा छलफल भए पनि दासानायकेसँग कुनै शर्त अघि सारिएको थिएन। अवधि थपिएलगत्तै दासानायके केही दिनको विश्रामका लागि बुधबार क्यानडा जाँदैछन्।

उनले आफूले शर्तसहितको सम्झौता नगर्ने बताउँदै आएका थिए। उनकै प्रशिक्षणमा नेपालले पहिलोपटक एसीसी इलाइट ट्रफी उपाधि जितेको थियो। आईसीसी वर्ल्ड क्रिकेट डिभिजन चारदेखि दुईसम्मको सफलता पनि उनकै नेतृत्वमा पाएको हो।
अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>