रिपोर्टमंगलबार, चैत्र ११, २०७०

मारवाडी पौरख

रमेश कुमार

जंगबहादुर राणाले व्यापार प्रयोजनका लागि वि.सं. १९०५–१० तिर बिहारको बेतिया र राजस्थानबाट सीमित परिवार मारवाडीलाई नेपाल भित्र्याएका थिए। त्यसरी भित्रिएका मारवाडीहरूले मिहिनेत र लगनको बलमा सम्भव बनाएको प्रगतिको कथा यति लोभलाग्दो छ कि आज नेपालको व्यापार–व्यवसायको ठूलो हिस्सा यही समुदायको हातमा छ। नेपालमा कपडा व्यापारबाट शुरू भएको मारवाडीहरूको व्यावसायिक पहल अहिले खाद्यान्नदेखि गाडी, अस्पतालदेखि ब्याङ्क–बीमा र निर्माण सामग्रीदेखि विद्युतीय उत्पादनसम्म फैलिएको छ।

नेपाल–भोट युद्धमा सहयोगबापत राणा प्रधानमन्त्रीले केदारदास टिबडेवालालाई दिएको तक्मा

करीब एकलाखको संख्यामा रहेका मारवाडी समुदाय राजधानी र तराईका शहरदेखि दुर्गम पहाडी बजारमा समेत जमेका छन्– सफल व्यापारी, व्यवसायी र उद्योगीको रूपमा। मल्टिनेशनल नेपालीको हैसियत बनाएका विनोद चौधरी फोर्ब्स को सूचीमा पर्ने पहिलो अर्बपति नेपाली बनेका छन्। नेपाली मारवाडीहरूको यो सफलताको सूत्र के त? उनीहरूमध्ये अधिकांशले हिमालसँग भने, “नाफा नोक्सान केलाउने क्षमता, जोखिम लिने गुण र कडा मिहिनेत।”

नेपाल प्रवेशको कथा

मारवाडीहरूको नेपाल प्रवेशबारे फरक–फरक मत छ। बेतियामा रहेकी बुहारीको घरमा आवतजावतबाट जंगबहादुरले राजस्थानबाट बेतिया बसाइँ सरेका हरजश राय, उच्चडमल मारवाडी (टिवडेवाला) र आशाराम–घाँसीराम (सुरजमल) लाई व्यवसायका लागि नेपाल भित्र्याएको एकथरी भनाइ छ। वि.सं. १९१२ को नेपाल–भोट युद्धमा गरेको सहयोगको लागि उच्चडमल परिवारका एक सदस्यले जंगबहादुरबाट तक्मा पाएका थिए ।

उच्चडमलका छैटौं पुस्ताका निरन्जन टिबरेवालासँग आफ्ना पूर्वजले वि.सं. १९२१ मा कारोबार गरेको प्रमाण छ। उद्योगी राजेन्द्र खेतानसँग पनि १९६६ सालमा आफ्ना पुर्खाले कारोबार गर्न पाएको सरकारी निस्सा छ।

वि.सं. १९६६ मा नेपाल सरकारले खेतान परिवारलाई कारोबार गर्न दिएको निस्सा।

व्यवसायी वनवारीलाल मित्तल जंगबहादुर प्रधानमन्त्री हुनेबित्तिकै राजस्थानबाट भित्रिएका एक दर्जन मारवाडी परिवार नै पुराना भएको बताउँछन्। शुरूमा भित्रिएर यहाँको सम्भावना आकलन गरेका मारवाडीहरूले राणा प्रधानमन्त्रीहरूसँग आग्रह गरेर थप एक दर्जन आफन्तलाई बोलाएको सुनिएको उच्चडमलका छैटौं पुस्ता निरन्जनकुमार टिबरेवाला बताउँछन्। यो हिसाबले मारवाडीहरू नेपाल आएको मोटामोटी १६० वर्ष भएको देखिन्छ।

वि.सं. १९६६ मा टिबडेवाला परिवारले किनेको काठमाडौंको भेडासिंह स्थित घर।

मित्तलका अनुसार, शुरूतिरै काठमाडौं भित्रिएका मारवाडीमध्ये धेरैजसो भारत र तेस्रो मुलुकबाट कपडा आयात गरी खुद्रा र थोक बिक्री गर्थे। मखन, इन्द्रचोक, भेडासिंमा उनीहरूको पसल थियो। चन्द्रशमशेर (सन् १९०१–१९२९) श्री ३ हुँदा प्रकाशित ‘लन्डन एयर बूक’ को ‘कमर्सियल’ शीर्षकमा सूचीकृत व्यवसायीमा कतिपय मारवाडी छन्। रामकरण–केदारदास, मायाराम–भोलाराम, बुधराम–हरिजश राय, चुनीलाल–हरिनारायण त्यो वेलाका नामी व्यापारी भएको उक्त पुस्तकमा उल्लेख छ। त्यतिवेला एक दर्जन व्यापारीमध्ये आधा मारवाडी थिए।

राजेन्द्र खेतान आफू वि.सं. १९०४/५ को हाराहारीमा नेपाल भित्रिएका किसुनरामको पाँचौं पुस्ता भएको बताउँछन्। खेतानका अनुसार, त्यतिवेला जंगबहादुरले राजस्थानबाट झिकाएका ३२ मध्ये २२ परिवार मारवाडी र १० परिवार रौनियार थिए। तिनैलाई बत्तीस कोठी महाजनको पदवी दिइएको खेतान बताउँछन्। श्री ३ ले नै विशेष महत्व दिएकाले काठमाडौंको शक्तिकेन्द्रहरूमा मारवाडीको पहुँच हुनु स्वाभाविकै थियो। उपत्यका बाहिरकाले विना अनुमति प्रवेश समेत नपाउने त्यो वेलाका काठमाडौंमा मारवाडीहरूले जग्गाजमीन किन्न पाउँथे।

नागरिकता, सुरक्षा र सहयोगी ल्याउन पाउने शर्तमा मारवाडीहरू नेपाल आएको टिबरेवाला बताउँछन्। सहयोगीहरूले पछि परिवार ल्याउने अनुमति पाए। कालान्तरमा उनीहरू पनि नेपालमा बलिया व्यवसायीका रूपमा स्थापित भएको टिबरेवाला बताउँछन्। मारवाडीहरूलाई राज्यले कतिसम्म विश्वास गरेको थियो भने उनीहरूले आयात गरेको सामान भन्सारमा फुकाउनु पर्दैनथ्यो, घरमै ल्याएर यति ल्याएँ भनेर ६ महीनाभित्र कर तिरे पुग्थ्यो। हरजश राय सन्तानहरूलाई भने बेइमानी गरेको भन्दै राणाहरूले उपत्यकाबाट निकाला गरेका थिए।

शुरूमा काठमाडौंमा मित्तल परिवारले कपडा व्यापार थालेको थियो। रामरतन दासको इन्द्रचोकको कपडा व्यापारलाई उनका छोरा बलदेवदास र नाति हनुमानप्रसादले विस्तार गरे। त्यो कारोबार विस्तार गरेर अहिले चौथो पुस्ताका वनवारी र पाँचौं पुस्ताका सुधीरले हाँकिरहेका छन्। २००१ सालमा वनवारीका बाबु हनुमानप्रसादको निधन हुँदा गोर्खापत्र ले सम्पादकीय नै लेख्नुले मारवाडीहरूको महत्व दर्साउँछ। “त्यतिवेला म ८ वर्षको थिएँ”, वनवारीलाल मित्तल सम्झ्न्छन्, “श्री ३ जुद्धशमशेरले बोलाएर शोक व्यक्त गरेको र उनका भाइ पद्मशमशेर रोएको मैले बिर्सेको छैन।”

१९९० सालको भूकम्पपछि गरेको सहयोगले मारवाडीहरूको सामाजिक मर्यादा फराकिलो भएको मित्तल बताउँछन्। त्यो वेला दिल खोलेर सहयोग नगरेको भए राष्ट्रियताको नारा उचालेर काठमाडौंबाट मारवाडीहरू धपाइने अवस्था रहेको अर्बपति विनोद चौधरी बताउँछन्।

करीब २००० सालतिर काठमाडौंमा नूनको अभावका वेला भारतबाट नून ल्याएर बिक्री गर्दै मित्तल परिवार ।

आफ्नी एक रानीले कुरा लगाएपछि मारवाडीसँग आगो भएका जुद्धशमशेरले भूकम्पपछि पाएको सहयोगबाट खुशी हुँदै ‘बडा उल्टो सोचेको रहेछु, आपत्मा मारवाडीले सहयोग गरे, यहाँका साहू (अन्य व्यापारी) हरूले त च्युरा समेत लुकाए’ भनेको सुनेको मित्तल बताउँछन्। विनोद चौधरी सहयोगबापत आफ्ना हजुरबाले पुरस्कारस्वरुप जुद्धशमशेरबाट नयाँ पसल कवल पाएको र चौधरी समूहको जग बसेको बताउँछन्।

निरन्जन टिबरेवाला कतिपय मारवाडीले नेपाल आएपछि सम्पत्ति सिर्जना गरे पनि कतिपय शुरूमै प्रशस्त पूँजीका साथ आएको बताउँछन्। उनका हजुरबाका काका केदारनाथले त्यतिवेलै एक पटकमा एक लाख भारुको सामान आयात गर्थे रे! ब्याङ्क नभएको त्यो वेला भारुसँग नेरुको भाउ साहू केदारनाथकै मनसायमा निर्धारण हुने र उनको सिंगो कोठा चाँदीले भरिएको सुनेको टिबरेवाला बताउँछन्।

नेपालको जुट उद्योग स्थापनामा गोल्छा, विमान कम्पनी सञ्चालनमा खेतान, पेट्रोलियम आयातमा टिबरेवाला र अपार्टमेन्ट व्यवसायमा सुरजमल परिवारको महत्वपूर्ण भूमिका रह्यो। शंकरलाल टिबरेवालाले १९९० सालमा कालीमाटीमा नेपालको पहिलो पेट्रोलपम्प खोलेका थिए। सबै मारवाडीले कपडा र खाद्यान्नको व्यापार गरिरहेकोमा गोल्छा, दुगड र केडिया परिवारले उद्योगमा हात हालेर व्यवसायमा विविधीकरण गरेका थिए। “सन् १९६० पछि बर्माबाट अरू मारवाडीहरू आउन थालेपछि नेपालमा मारवाडीहरूले व्यवसायमा विविधता दिन थालेका हुन्”, उद्योगी खेतान भन्छन्।

अहिले मारवाडीहरूको व्यवसाय तीन तरिकाले चलिरहेको देखिन्छ– पारिवारिक व्यवसायका रूपमा आफैं निर्णय गर्ने गरी, निर्णय प्रक्रियामा कर्मचारी समेत सहभागी हुने कर्पोरेट तरिका र साझेदारीबाट। बढी मिहिनेत गर्ने र आफैंले सबै जिम्मेवारी लिने हुनाले मारवाडीहरूको व्यवसाय कर्पोरेट हुननसकेको आलोचना पनि सुनिन्छ। तर, विनोद चौधरी आफूले चेकमा हस्ताक्षर नगरेको वर्षौं भइसकेको र निर्णय लिन पनि कर्मचारीहरूलाई छोडिदिएको बताउँछन्। यसैगरी, आफू नहुँदा पनि आफ्नो समूहको काम सुचारु हुने राजेन्द्र खेतान बताउँछन्।

कहाँ–कहाँ छन्

नेपालीको दैनिक जीवनमा प्रयोग हुने त्यस्ता कुनै वस्तु छैनन् जसको उत्पादन र प्रवर्द्धन मारवाडी परिवारले नगरेको होओस्। व्यापारबाट उठेका मारवाडीहरू अहिले उत्पादनमूलक र सेवा उद्योगमा जमेका छन्।निजीवाणिज्यब्याङ्कहरूमात मारवाडी परिवारकै आधिपत्य छ।

चौधरी समूहले नबिलब्याङ्क, खेतानपरिवारले लक्ष्मी, नेपाल र हिमालयनब्याङ्क,गोल्छाले एनआईसी एशिया र नेपालब्याङ्क, विशाल समूहलेएनआईसी एशिया ब्याङ्क, टीएम दुगड समूहले सनराइज ब्याङ्क, मुरारकाले एनएमबी ब्याङ्क, एमसी समूह र केडियाले सिद्धार्थ ब्याङ्कमा लगानी गरेका छन्। सनराइज, एनआईसी एशिया, एनएमबी, सिद्धार्थ र लक्ष्मी ब्याङ्कमा ६० प्रतिशतभन्दा बढी, नबिल ब्याङ्कमा ५३ प्रतिशत, कुमारी र सिभिल ब्याङ्कमा १५ प्रतिशत, नेपाल ब्याङ्कमा २० प्रतिशत मारवाडीको लगानी छ।

सरकारी स्वामित्वको नेपालब्याङ्क लिमिटेडमा खेतान परिवारको करीब ७ प्रतिशत शेयर छ। राजेन्द्रका भाइ प्रेमप्रकाश संचालक रहेको हिमालयन ब्याङ्कमा खेतानसमूहको ठूलो लगानी छ। प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्स चलाइरहेको खेतानसमूहब्याङ्किङ क्षेत्रमा सबभन्दा ठूलो लगानीकर्ता हो।

एनआईसी एशियामा विशाल समूह (अग्रवाल परिवार) को ४५ प्रतिशतभन्दा बढी शेयर छ। एनआईसी एशिया र लक्ष्मी ब्याङ्कमा संघाई परिवारको पनिउल्लेख्य लगानी छ। स्टान्डर्ड चार्टर्डब्याङ्कमा शंकरलाल अग्रवाल परिवारको ४ प्रतिशत शेयर छ। ग्राण्डब्याङ्कमा गौरवअग्रवाल (एमएस समूह) को ७ प्रतिशत लगानी देखिन्छ। योब्याङ्कमाजगदीश अग्रवाल र पवनकुमार भिमसरियाको पनि करोडौंको शेयर छ।

स्टेटब्याङ्क अफ इन्डियाको ५५ प्रतिशत शेयर रहेको नेपाल एसबीआईब्याङ्कमा निरन्जनकुमार टिबरेवाला र मनोजकुमार अग्रवाल सञ्चालक छन्। कुमारी ब्याङ्कमा शारडा परिवार प्रवर्द्धक छ। योब्याङ्कमा मुरारका, दुगड, गोयल समूहको पनि लगानी छ। टीएम दुगड परिवारको २३ प्रतिशत एकमुष्ट शेयर रहेकोसनराइजब्याङ्कमा गोयल परिवारको १० प्रतिशत शेयर छ भने अग्रवाल, शारडा र तातेड परिवारको पनि ठूलै लगानी छ।

मदनलाल–चिरञ्जीलाल समूहको २० प्रतिशत शेयर रहेको सिद्धार्थब्याङ्कमा केडिया समूहको पनि लगानी छ। चिरञ्जीलाल अग्रवाल अध्यक्ष रहेको योब्याङ्कको ६ जना सञ्चालक मारवाडी छन्। एनएमबीब्याङ्कमा मुरारका, अग्रवाल, राठी, गोयल, जैन लगायतको लगानी छ। त्यस्तै, कमर्ज एन्ड ट्रस्टमा मारवाडी परिवारको ७ प्रतिशत लगानी छ। नेपाल ब्याङ्कमा गोल्छा, खेतान परिवार र निरन्जनकुमार टिबरेवालाको उल्लेख्य शेयर छ।

एनआईसी एशियामा अध्यक्ष जगदीश अग्रवाल सहित ६ सदस्य र लक्ष्मी ब्याङ्कमा अध्यक्ष राजेन्द्र खेतान सहित ४ सदस्य मारवाडी छन्। सनराइज ब्याङ्कमा अध्यक्ष मोतीलाल दुगड सहित पाँच सदस्य मारवाडी छन्। प्राइम र कुमारी ब्याङ्कमा केएल दुगड समूहको संस्थापक शेयर छ। ग्लोबल ब्याङ्कमा मारवाडी परिवारको ८ प्रतिशत लगानी छ भने लुम्बिनी ब्याङ्कमा ६ प्रतिशत। ब्याङ्क अफ काठमाडौं, जनता, नेपाल इन्भेष्टमेन्ट, मेगा लगायतका ब्याङ्कहरूमा पनि मारवाडीहरूको लगानी छ।

२३ बीमा कम्पनीमध्ये ११ वटामा मारवाडी समुदायको मुख्य लगानी छ। अन्य कम्पनीमा पनि उनीहरूको धेरथोर लगानी छ। संघाई र अग्रवाल समूहको बढी शेयर रहेको नेशनल लाइफ इन्स्योरेन्समा करीब ८० प्रतिशत लगानी मारवाडी समुदायको छ। एलआईसी इन्डियाको ५५ प्रतिशत शेयर रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनमा विशाल समूहको २५ प्रतिशत लगानी छ।

विजयकुमार सरावगी अध्यक्ष रहेको एशियन लाइफ इन्स्योरेन्समा मारवाडी समुदायको ४० प्रतिशतभन्दा बढी लगानी छ। यसैगरी, टीएम दुगड समूहको मुख्य लगानी रहेको गुराँस लाइफ इन्स्योरेन्समा ७० प्रतिशत, महेशकुमार अग्रवाल अध्यक्ष रहेको सूर्या लाइफ इन्स्योरेन्समा ७० प्रतिशत र प्रेमप्रकाश खेतान अध्यक्ष रहेको प्राइम लाइफ इन्स्योरेन्समा पनि ७० प्रतिशत शेयर हिस्सा मारवाडी समुदायकै छ। युनाइटेड इन्स्योरेन्समा चौधरी समूहको करीब २६ प्रतिशत लगानी छ।

खेतान समूह मुख्य प्रवर्द्धक रहेको एभरेष्ट इन्स्योरेन्समा ६० प्रतिशतभन्दा बढी लगानी निरन्जन टिबरेवाला सहितका मारवाडी परिवारको छ। सगरमाथा इन्स्योरेन्सको बहुमत शेयर गोल्छा, मदनलाल चिरञ्जीलाल लगायत मारवाडी समुदायसँग छ। सिद्धार्थ इन्स्योरेन्समा केडिया, अग्रवाल समूह सहितका मारवाडीहरूको ६० प्रतिशत लगानी छ। विशाल समूहको ३० प्रतिशत लगानी रहेको प्रुडेन्सियल इन्स्योरेन्समा करीब ६० प्रतिशत लगानी मारवाडी समुदायको छ। शिखर इन्स्योरेन्स र एनएलजीमा पनि मारवाडीहरूको लगानी छ।

सिमेन्ट उद्योगहरू मारवाडीकै हातमा छन्। ४० सिमेन्ट उद्योगमध्ये ३० भन्दा बढी मारवाडीहरूको हो। केडिया, गोयल, अग्रवाल, संघाई, गोल्यान, राठी, तायल, कयाल, चौधरी, लक्की, शारडा, मुरारका, चाचान आदि मारवाडी परिवार सिमेन्ट उद्योगमा अग्रणी छन्।

खाद्य उद्योगमा त मारवाडीहरूको एकाधिकार नै छ भन्दा हुन्छ। नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट मेम्बर अन्तर्गत फुड प्रोसेसिङमा संलग्न कुल ४२ मध्ये २९ सदस्य मारवाडी छन्। वनस्पति घ्यू, तेल, फास्ट मुभिङ कन्जुमर गुड्स, मसला, दाल, मैदा बिस्कुट आदि उत्पादन गर्ने अधिकांश कम्पनी मारवाडीका छन्।

वनस्पति घ्यू र तेलका ठूला १६ वटै कम्पनी मारवाडीको स्वामित्वमा छन्। बिस्कुट र चाउचाउका सबै नामी ब्रान्ड मारवाडीहरूकै हुन्। महासंघको फलाम, स्टील, पाइप र अल्मुनियम अन्तर्गतका २२ एसोसिएट सदस्यमध्ये ९ मारवाडी समुदायका छन्। स्टीलनेस स्टीलका ९ मध्ये ६ वटा कम्पनी मारवाडी व्यवसायीका छन्।

त्यस्तै, साबुन केमिकल र डिटरजेन्ट उत्पादन गर्ने महासंघमा आवद्ध पाँचमध्ये एक विदेशीलाई छोडेर सबै मारवाडीकै छन्। चिनी उत्पादन गर्ने ११ उद्योगमध्ये ९ वटा मारवाडीका हुन्। महासंघमा आवद्ध जुट उद्योगका चारमध्ये तीन सदस्य मारवाडी छन् भने विद्युतीय तार उत्पादन गर्ने १० उद्योगमध्ये आधामा मारवाडी परिवारको लगानी छ।

ज्वेलरी र जेम्सका २२ एसोसिएट सदस्यमध्ये ८ जना मारवाडी छन्। कत्था, रोजिन एन्ड टर्पेन्टाइनका पाँचमध्ये तीन उद्योग मारवाडीको हो। प्याकेजिङ, कागज, पल्प र स्ट्र बोर्डका ९ सदस्य उद्योगमध्ये ६ वटा मारवाडीकै छ। त्यस्तै, प्लाष्टिक, फर्म, पोलिथिन र रबरका २२ सदस्य उद्योगमध्ये १३ वटा मारवाडीको छ।

कपडा, गार्मेन्ट, कार्पेट, उलन र धागोका ३६ ठूला उद्योगमध्ये १३ मारवाडीका हुन्। टे्रडिङका ५४ मध्ये १३ कम्पनीका मालिक मारवाडी छन्। सेवामूलक उद्योगमा पनि मारवाडीहरू कम छैनन्। राधेश्याम सर्राफले याक एन्ड यती र ह्यात सञ्चालन गरिरहेका छन्। शशिकान्त अग्रवालले म्यारिओट चेन भित्र्याउँदै काठमाडौंमा पाँचतारे र चारतारे होटलको काम थालेका छन्। शंकर समूहले पनि काठमाडौं र उपत्यका बाहिर पाँचतारे होटलको लागि जग्गा किन्न लागेको छ। विराटनगरका मोती दुगडले पाँचतारे होटल निर्माणको प्रक्रिया थालेका छन् भने चौधरी समूहले नवलपरासी र चितवनमा रिसोर्टहरू बनाउँदैछ।

यसैगरी, यामाहा मोटरसाइकलदेखि महिन्द्रा र बजाजसम्म र मारुतिदेखि फोर्डसम्मका मोटर बेच्ने व्यवसायी मारवाडी छन्। नेपालीका हातहातमा पुगिरहेका मोबाइल र अन्य ग्याजेटको बजार पनि मारवाडीहरूकै हातमा छ। सामसुङ ब्रान्डको मोबाइलको नेपाली बजार दीपक मल्होत्राको हातमा छ भने एप्पल कम्पनीका उत्पादनहरू शंकर समूहसँग।

यसैगरी, नोकिया ब्रान्डको आधिकारिक बिक्रेता गोल्छा समूह हो। स्पाइस, कलर्स, ब्ल्याकबेरी लगायतका मोबाइलको बिक्री लक्की समूह (सतिशकुमार मुर, रमेश गुप्ता) अन्तर्गत हुन्छ। सीजी र एलजी मोबाइल चौधरी समूहले बेच्छ। गोल्छा समूहको नियोटेरिकले एचपी, लोगिटेक, डेल, हुवाई लगायतका विश्वप्रसिद्ध ब्रान्डका कम्प्युटर लगायतका उपकरण बेच्ने जिम्मा पनि लिएको छ।

घरायसी उपकरण र विद्युतीय सामग्रीको ठूलो बजार हिस्सा मारवाडीकै हातमा छ। सामसुङ ब्रान्ड गोल्छा समूह अन्तर्गतको हिम इलेक्ट्रोनिक्सले बेच्छ भने सार्प टीभी शंकर समूहले। चैाधरी समूहले एलजी र सीजी ब्रान्डका टीभी र विद्युतीय उपकरण बिक्री गर्छ। अमित अग्रवालको कम्पनी एसएचटीसीले फुजित्सु, प्रोलिंक, भर्बाटिम आदि ब्रान्ड बेच्छ।

लोडसेडिङमा चल्तीको इन्भर्टर सुकामको कारोबार पनि मारवाडी परिवारकै हातमा छ। नर्भिक अस्पतालमा चौधरी समूहको लगानी छ भने हाउजिङ र अपार्टमेन्ट व्यवसायमा चौधरी, एमसस, सुरजमल समूह, केएल दुगड समूह तथा राजकुमार अग्रवाल आदिले लगानी बढाइरहेका छन्। सफल मिडिया हाउस कान्तिपुरका मालिक मारवाडी समुदायकै कैलाश सिरोहिया हुन् भने पंकज जलानले प्रविधि र शिक्षाका क्षेत्रमा लगानी बढाएका छन्।

आईटी क्षेत्रको ‘पायोनियर’ कम्पनी वर्ल्ड लिंक दिलीप अग्रवाल लगायतका मारवाडीहरूको हो। निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघमा आवद्ध ४७ लाइफ टाइम प्रमोटरमध्ये ४१ र ४१ प्रमोटरमध्ये ३० जना मारवाडी छन्। त्यस्तै, ८२ कर्पोरेट सदस्यमध्ये ३७ जना मारवाडी छन्। नेपाल उद्योग वाणिज्य महासंघका ६२९ एसोसिएट सदस्यमध्ये १७७ जना मारवाडी हुनुले पनि व्यवसायमा उनीहरूको प्रभाव देखाउँछ।

सफलताका सूत्र

संसार प्रसिद्ध व्यापारिक समुदायमध्येको मारवाडी राजस्थानबाट फैलिएको दुई शताब्दी भएको छ। १८औं शताब्दीको मध्यबाट भारतको शेखावटी र जोधपुर (मारवाड) क्षेत्रबाट फैलिएकाले उनीहरू जहाँ जहाँ पुगे मारवाडी सम्बोधन पाए। अवसर खोज्दै बसाइँसराइ गर्नु र नयाँ ठाउँमा घुलमिल गरेर व्यवसाय सञ्चालन गर्नु मारवाडीको विशेषता हो।

नेपालमा मारवाडीहरूको आगमनसँगै नयाँ–नयाँ डिजाइनका कपडा र अन्य मालवस्तु देखिएको बताउने संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, “स्थानीय संस्कृतिमा भिज्न स्थानीय भाषा सिक्नेमा पनि उनीहरू अगाडि देखिए।”

एकले अर्कोलाई व्यापारको पूँजीदेखि सीपसम्ममा सहयोग गर्ने प्रणाली र संयुक्त परिवारका कारण मारवाडीहरूले प्रगति गरेको वनवारीलाल मित्तल बताउँछन्। अहिले मारवाडीहरूको कारोबार क्षेत्र आँखाले देख्न भ्याउनेसम्म फैलिएको छ। सभासद समेत रहेका व्यवसायी विमल केडिया काम गर्ने जाँगर, अवसर छोप्ने प्रवृत्ति र विस्तारको आकांक्षाले मारवाडीहरूलाई सफल बनाएको बताउँछन्। “शान्त, सरल र मिलनसार हुने मारवाडीको संस्कारगत गुणले पनि उनीहरूलाई सफल बनाएको देखिन्छ”, केडिया भन्छन्।

अर्बपति विनोद चौधरी नयाँ वातावरणमा आफूलाई बदल्ने शक्ति र नयाँ अवसरलाई छोप्ने चातुर्यलाई मारवाडी सफलताको सूत्र मान्छन्। उनी दैनिक नाफा नोक्सानको हिसाब निकाल्ने ‘पर्ता सिस्टम’ कतिपय मारवाडीले नछोडेको बताउँछन्। व्यापारको दैनिक स्वास्थ्य जाँच्ने यो हरहिसाबले आय–व्यय दुरुस्त राख्छ। “सफल व्यवसायी हुने/नहुने लक्षण मारवाडीको औंलामा हुन्छ”, चौधरी भन्छन्, “मारवाडीहरू तत्काल प्रतिफलको गणना गरेर व्यावसायिक निर्णय लिन्छन्।”

युवा उद्यमी विकास दुगड मारवाडी समुदायमा आधुनिक एकाउन्टिङ सिस्टमभन्दा ‘पर्ता सिस्टम’ बढी प्रभावकारी भएको बताउँछन्। उनको विचारमा जोखिम लिने क्षमता, बसाइँ सरेर गएको ठाउँ अनुकूल हुनसक्ने क्षमता र नाफा नोक्सानको गणना गरेर लगानी गर्ने सीपका कारण मारवाडी सफल भएका हुन्। मारवाडीहरूले ‘क्यास फ्लो’ को शक्ति बुझेकाले उनीहरूमा ‘टाइट फाइनान्सियल सिस्टम’ को अभ्यास रहेको बताउँदै दुगड भन्छन्, “मारवाडी परिवारमा छोराछोरीले पनि दैनिक खर्चको विवरण बुझाउनुपर्छ, जुन सफल व्यवसायी बन्ने हिसाबकिताबको ‘स्कूलिङ’ पनि हो।”

उद्योगी पशुपति मुरारका मारवाडी परिवारका सदस्यहरू एकाउन्टिङमा जन्मजातै चतुर हुने र सिकाइ पनि उस्तै हुने बताउँदै भन्छन्, “मैले आठ कक्षा पढ्दै ब्यालेन्स सिट बनाउन जानिसकेको थिएँ।” त्यसैले, घरमै व्यवसायको ‘स्कूलिङ’ पाएका कारण एकाधलाई छोडेर मारवाडीका नयाँ पुस्ता पनि व्यवसायमै होमिएको देखिन्छ। जस्तो, वनवारीलाल मित्तलका छोरा सुधीर अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को उच्च पद (निर्देशक) मा पुगेर तथा वृत्ति–विकासको सम्भावना हुँदाहुँदै पनि जागीर छोडेर व्यवसायमै आएका छन्।

राजेन्द्र खेतान जोखिम सबै ठाउँमा हुने भए पनि ‘क्यालकुलेटिभ रिस्क’ लिन सक्नुु, अवसर छोप्नु र नाफा–घाटाको तत्काल गणना गर्नुलाई मारवाडीको क्षमता ठान्छन्। कोमलता, इमान्दारी र मिहिनेतलाई पनि मारवाडीको क्षमता मान्ने मित्तल ब्याङ्क नभएको समयमा मारवाडी इमान्दार हुन्छन् भनेर उनीहरूलाई रकम राख्न दिने चलन रहेको बताउँछन्। “राणाकालमा मारवाडीको लालबहीलाई तमसुकभन्दा बढी मान्यता थियो” उनी भन्छन्, “त्यसबाहेक मारवाडीहरूमा सबै सम्पत्ति लगानी गर्ने आँट हुन्छ।”

कम लागत र खर्चमै प्रतिस्पर्धात्मक वस्तु उत्पादन गर्न सक्नु मारवाडीको अर्को विशेषता हो। विनोद चौधरीले विदेशमा लगानी विस्तार गर्दा पुरानै अफिसको एउटा कोठामा कार्यालय स्थापना गरेर कम खर्चमै सबै काम हेर्न सक्ने गरी व्यवस्थापन गरेको आफ्नो आत्मकथामा लेखेका छन्। चौधरी अनावश्यक खर्च रोक्न परिवारका सदस्यहरूको मासिक मोबाइल खर्चको समेत विवरण हेर्ने पद्धति बसाएको बताउँछन्। “माइक्रो म्यानेजमेन्ट गर्न नसक्नेले म्याक्रो म्यानेजमेन्ट गर्न सक्दैन”, उनी भन्छन्।

‘द मारवारिज’ पुस्तकका लेखक टम टिमबर्गले मारवाडी समुदायमा आफ्नो पछाडि बाबु, काका, दाजु र परिवारको शक्ति पनि भएकाले असफल भइन्छ भन्ने डर कम हुने उल्लेख गरेका छन्। त्यही भएकोले होला, हतारमा पनि आफूभन्दा ठूलाको खुट्टा समाउने संस्कृति मारवाडी समुदायमा छ। उनीहरू कर्मचारीसरह काम गर्छन्।

एमएस समूहका शशिकान्त अग्रवाल बिहान ७ बजे पसल खोलेर साँझ्सम्म बस्ने आफ्नो हजुरबाबाट मिहिनेत गर्ने संस्कार सिकेको बताउँछन्। उनका अनुसार, मारवाडी समुदायले व्यावसायिक विस्तार गर्नुमा नयाँ सदस्यलाई आफन्तहरूबाट बीउ पूँजी उपलब्ध हुनु पनि हो। वनवारीलाल मित्तल नयाँ ठाउँमा जाँदा बस्न, खान मात्र हैन, व्यवसाय शुरू गर्न समेत अरू मारवाडीले पूँजी दिने ‘बासा’ प्रणाली रहेको बताउँछन्।

राजस्थानको मरुभूमिमा उत्पादकत्व कम हुनाले सम्भावना खोज्न मारवाडीहरूमा बसाइँसराइ चलेको मानिन्छ। त्यसले उनीहरूलाई मिहिनेत र सामाजिकता सिकायो। उद्योगी शेखर गोल्छा बसाइँ सरेको प्रष्ट उद्देश्य हुने, कमाएको नाफा व्यवसायमै लगानी गर्ने र व्यापारिक ‘स्कूलिङ’ का कारण मारवाडी सफल भएको बताउँछन्। यसरी अगाडि बढेको मारवाडीको व्यवसाय अब कर्पोरेट संरचनामा जाँदैछ। विनोद चौधरी सामान्य पसल, गद्दी, अफिस हुँदै कर्पोरेट कल्चरमा बदलिइरहेको व्यवसायमा सक्षम व्यवस्थापन र रचनात्मक उद्यमशीलताले मात्र मारवाडी सफलताको साख जोगाउन सक्ने बताउँछन्।

—————————————————————————————

धर्म र लोक कल्याण

मारवाडी समुदायको भान्छामा माछामासु, मदिरा वर्जित छ। नेपालमा मारवाडीको पुरानो परिवारमध्येका एक वनवारीलाल मित्तल २००४ सालमा झाडाडा फैलँदा लसुन प्याज खाए बाँचिन्छ भनेर त्यो वेला मात्र भान्छामा लसुन प्याज भित्रिएको बताउँछन्। जैन र हिन्दू धर्मावलम्बी मारवाडी समुदायको सामाजिक कल्याण परम्परागत संस्कार नै हो।

२०१० सालमा काठमाडौंमा मारवाडी सेवा समिति स्थापना गरेका उनीहरूले अहिलेसम्म निःशुल्क होमियोदातव्य चिकित्सालय, निःशुल्क भोजन र पानी तथा धर्मशाला चलाउँदै आएका छन्। मानवीय र धार्मिक स्वभावकै कारण मारवाडीको व्यावसायिक साख बनेको समितिका अध्यक्ष तथा सभासद श्रवण अग्रवाल बताउँछन्।

आधुनिक सीएसआर (संस्थागत सामाजिक उत्तरदायित्व) नआउँदै मारवाडी व्यवसायीहरूले नाफाको निश्चित अंश लोककल्याणमा खर्चदै आएका छन्। खेतान समूहले हरि खेतान बहुमुखी क्याम्पस, काठमाडौं विश्वविद्यालय लगायतको स्थापना र सञ्चालनमा, केडिया अर्गनाइजेसनले आँखा अस्पताल सहित थुप्रै सामाजिक क्षेत्रमा, गोल्छा अर्गनाइजेसनले रामलाल गोल्छा आँखा अस्पताल र हंसराज गोल्छा अस्पताल सहितका संस्थामा, चौधरी समूहले विद्यालय, छात्रवृत्ति लगायतका क्षेत्रमा, मुरारका अर्गनाइजेसनले रामकुमार उमाप्रसाद मुरारका अस्पताल, क्याम्पस स्थापना र सञ्चालनमा महत्वपूर्ण योगदान गरेका छन्।

धेरै छन् सफल

उद्योग, व्यापारका थुप्रै क्षेत्रमा फैलिएको लक्की ग्रुप नेपालमा ठूलो कारोबार गर्ने मध्येको एउटा हो। खानेतेलदेखि मोबाइलसम्म, सिमेन्टदेखि होम एप्लाइन्ससम्मका थुप्रै क्षेत्रमा यो समूह फैलिएको छ। सतिशकुमार मुर, रमेश गुप्ता सहितका व्यवसायीले नेतृत्व दिएको यो समूह विस्तारको सम्भावना भएको समूह मानिन्छ।

यस्तै, चर्चित गोदावरी मार्बल उत्पादक एमसी (मदनलाल– चिरञ्जीलाल) समूहको उद्योग र व्यवसायको फैलावट नेपालमा मात्र होइन, भारतमा समेत छ। ब्याङ्कदेखि प्याकेजिङसम्म धागोदेखि तारसम्म यो समूहले उत्पादन गर्छ। वीरगन्जको चाचन समूह निर्माण सामग्रीदेखि खाद्यान्नसम्ममा अनेकौं क्षेत्रमा ठूलो उत्पादन र बिक्री गर्छ।

अत्यधिक चलेको हिलटेक ट्यांकी र अन्य उत्पादन गर्ने कमल जैन, वाग्मती प्लाष्टिकका स्वर्गीय जगदीश राठी पनि नेपाली उद्योग क्षेत्रका सफल नाम हुन्। पुरानो मारवाडी परिवारका ऋषिकुमार तुल्स्यान अपार्टमेन्ट, व्यापार लगायतका व्यवसाय हाँकिरहेका छन्। केमिकल, मसला, चियादेखि फास्ट फुडसम्म उत्पादन गरिरहेका विराटनगरका मोती दुगडले पाँच तारे होटल स्थापना थालेका छन्।

सभासदसमेत रहेका व्यवसायी श्रवण अग्रवाल ।

यसैगरी, वीरगन्जका सत्यनारायण क्यालले पुस्तैनी कपडा, काठ, तेल र चामल व्यवसायलाई रोलिङ मील, सिमेन्ट र आयात कारोबारसम्म विस्तार गरेका छन्। यसैगरी, बुटवलका सतिशचन्द्र कशौधनले सोप एण्ड केमिकल्सदेखि कलेजसम्म संचालन गरेका छन्। नेपालगंजका युवा उद्योगी सतिशकुमार अग्रवाल वार्षिक रु.५० करोड हाराहारीमा आर्थिक कारोबार गरिरहेका छन्।

पंचायतकालभरि खाद्यान्न पसलमा सीमित धनगढी–८ का मनोज अग्रवालको परिचय २०४६ को राजनीतिक परिवर्तनपछि खाद्यान्न उद्योगीका रूपमा बदलिएको छ। चितवनका उमाशंकर अग्रवाल पनि २०४६ पछि ठूला खाद्यान्न व्यापारीको रूपमा उदाएका छन्। नेपालमा सफल यस्ता मारवाडीहरूको सूची बनाउँदै जाने हो भने त्यो धेरै लामो हुन्छ।

व्यवसायसँगै राजनीति

१०५ वर्षअघि सरदार मलले कपडाको सामान्य व्यापारबाट शुरू गरेको व्यवसाय अहिले फैलिएर आरएमसी समूह बनेको छ। सिमेन्ट, स्टील, पाइप जस्ता निर्माण सामग्रीमा वार्षिक रु.५ अर्बभन्दा बढीको कारोबार गर्ने यो समूहलाई सभासद समेत रहेका व्यवसायी श्रवण अग्रवालले नेतृत्व दिइरहेका छन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>