Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सुशील दा'को चिठी - Himalkhabar.com

ब्लगबुधबार, चैत्र १२, २०७०

सुशील दा’को चिठी

शंकर तिवारी

लामो र पट्यारलाग्दो औपचारिक झमेलाहरू पूरा गरेपछि नेहरू मेमोरियल म्युजियमको आर्काइभ सेक्सनको मेरो टेबलमा चटर्जीका दुई बाकस कागजपत्र आइपुगे। संयोगको कुरा, मैले ती कागज पल्टाउँदै गर्दा नेपालको दोस्रो संविधानसभाले सुशील कोइरालालाई प्रधानमन्त्री निर्वाचित गरिरहेको थियो।

भोला चटर्जीलाई नेपालमा धेरैले ‘बीपी कोइरालाः अ पोर्ट्रेट अफ अ रिभोलुसनरी’ पुस्तकको लेखक भनेर चिन्छन्। उनी नेपालको प्रजातान्त्रिक आन्दोलनसँग अनेक प्रसंगमा जोडिएका छन्। प्रथमतः एक जना समाजवादी कार्यकर्ता रहेका उनी २००७ सालमा नेपाली क्रान्तिका लागि बर्माबाट हतियार लिएर आउनेमध्येका प्रमुख थिए। चटर्जीले १९९२ मा देहान्त हुनुभन्दा दुई वर्ष अगाडि आफूसँग रहेका महत्वपूर्ण कागजातहरू नेहरू मेमोरियल म्युजियमलाई हस्तान्तरण गरेका थिए, जसमा सुशील कोइरालाले पठाएको एउटा हवाईपत्र पनि भेटियो ।

सुशीलको संस्कार

सुशील कोइराला कुनै विलक्षण प्रतिभाले नभई पारिवारिक विरासतबाट नेपाली राजनीतिको उचाइमा पुगेका राजनीतिकर्मी हुन्। संविधानसभाबाट आफ्नै कार्यकालमा संविधान जारी गर्न सके भने चाहिं उनी इतिहासमा महानायकका रूपमा स्थापित हुनेछन्– बीपी वा जीपी कोइरालाकै हाराहारीमा।

कम आँकिएका नेताहरूले सहजतापूर्वक जिम्मेवारीहरू पूरा गरेर ऐतिहासिक भएका उदाहरण थुप्रै छन्। सिने हिरोबाट राष्ट्रपति बनेका रोनाल्ड रेगानलाई पनि शुरूमा खासै पत्ताइएको थिएन, तर चीनसँगको सम्बन्ध सुधार गर्न सकेकोमा उनी अमेरिकी इतिहासमा औसत भन्दा माथिल्लो तहका राष्ट्रपति बन्न पुगे।

सुशीलकी आमा कुमुदिनी बीपीको साख्य सानिमा थिइन्। प्रवासको अभावग्रस्त समयमा पढ्न बनारस जान लागेका बीपीलाई कुमुदिनीले आफूसँग भएको सुन लुकाएर दिएकी थिइन्। त्यो सुन आमा दिव्याले कसरी आफ्नो कछाडमा सिलाइदिइन् र बनारसमा कसरी बेचियो भन्ने कुराको वर्णन बीपीको ‘आत्मवृत्तान्त’ को सुरुआती पेजहरूमा छ।

कालान्तरमा कोइराला परिवारकै बोधप्रसादसँग कुमुदिनीको विवाह भएर जेठो छोरोको रूपमा सुशील जन्मे। कुमुदिनीले सुशील जन्मनुभन्दा पहिला नै बीपीलाई ठूलो गुन लगाएकी थिइन्। यसरी सहज अनुमान गर्न सकिन्छ, गिरिजाप्रसादले सुशीललाई यत्तिकै कांग्रेस पार्टीको उत्तराधिकार सुम्पेका थिएनन्।

राजा महेन्द्रले रचेको १ पुस २०१७ को काण्डमा बीपी मन्त्रिमण्डलका सदस्यहरूसहित जेल परेपछि कोइराला परिवारका लागि चन्द्रशम्शेरको शासनकालपछिको सबभन्दा कष्टकर समय आइपुग्यो। त्यसपछि सुशील भतिजाहरूको हेरचाह र पढाइमा रेखदेखका लागि सुशिला भाउजूसँग बनारसमा रहन थाले।

उनी त्यहाँ जागीर खान्थे, तर उनलाई त्यसमा ‘करिअर’ बनाउनु थिएन। सुशीलाको अभावग्रस्त गृहस्थीमा टेवा पुर्‍याउनु मात्र उनको उद्देश्य थियो। सुशीलले भोला चटर्जीलाई लेखेको चिठीमा देशको संक्रमणकाल रहुञ्जेलसम्मका लागि जागीर खोजेको उल्लेख गरेका छन्।

‘जेलजर्नल’ को १७ जून १९६४ को इन्ट्रीमा बीपीले लेखेका छन्– ‘सुशील कुनै सर्भिसका निम्ति कोशिश गर्दैछन्– यदि उनले भने जस्तो पाए भने सुशीलालाई काठमाडौं बस्न सजिलो हुनेछ।’ बीपीको त्यो इन्ट्रीभन्दा १० महीना अगाडि २० सेप्टेम्बर १९६३ मा सुशीलले चटर्जीलाई ‘माई डियर भोला दा…’ भन्दै लेखेको पत्रको आशय बीपीको इन्ट्रीसँग ठ्याक्क मिल्छ (त्यसअघि भाउजू सुशीलाले पनि सुशीललाई जागीर खोज्न सघाइदिन आग्रह गर्दै चटर्जीलाई चिठी लेखेकी थिइन्)।

सुशीलले चटर्जीलाई चिठी लेख्दाका बखत उनको सार्वजनिक परिचय बीपी सरकारका परराष्ट्रमन्त्री तुलसी गिरिको निजी सहायकको मात्र थियो। उनले डिप्लोमाको अध्ययन पूरा गर्न नसकेकोमा पछुतो मान्दै आफूसँग आइकमको मात्रै सर्टिफिकेट भएको उल्लेख गरेका छन्। उनले तुलसी गिरिको नाम उल्लेख नगरी आफूसँग परराष्ट्र मन्त्रीको निजी सचिव भएर काम गरेको अनुभव भएको बताएका छन्।

सुशीलले चाहेको भए तुलसी गिरिको मन्त्रिमण्डलमा कोइराला थर भजाएर ठूलै पद लिन सक्थे होलान्, तर उनी बीपीको परिवारप्रति बफादार भएर एक अज्ञेय यात्रामा लागेका थिए। उनले बीपीलाई प्रधानमन्त्री नबन्न बारम्बार आग्रह गरेकी सुशीला भाउजूबाट असल संस्कार ग्रहण गरेको हुनुपर्छ। बीपी नेपालमा गान्धीको भूमिकामा रहनुपर्छ भन्ने सुशीलाको आग्रह रहने गर्थ्यो, तर नियतिको मूढाग्रह बीपीलाई नेहरू बनाउन चाहन्थ्यो। बीपी नेपाली लोकतन्त्रको लडाईंमा गान्धी र नेहरू दुवैको चरित्र धारण गरेर उभिन पुगे।

अन्तरमुखी स्वभावका सुशीलले सुशीलाको आग्रहको निहितार्थ आत्मसात् गरेकोले होला २०४६ सालपछि अवसर पाएका कांग्रेसीहरू बत्तीको अगाडि मैन पग्लिए झैं हुँदा पनि उनी सत्ताको सम्मोहनबाट जोगिए। पार्टीमा जीपीको उदय हुँदै गर्दा सुशीलले ‘किचन क्याबिनेट’ मा अनेक भूमिका निर्वाह गरे– मन्त्री, उपप्रधानमन्त्री नमागी, नभई। कालान्तरमा उनले प्रधानमन्त्री पदको दाबा पेश गरेर दोस्रो पटकमा भए पनि। पाँच दशकअघि एउटा जागीरको आशामा आफूले लेखेको चिठी अहिले पढ्ने हो भने उनलाई कस्तो लाग्दो हो!

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>