टिप्पणीबिहीबार, चैत्र १३, २०७०

क्षयरोगको सन्त्रास

डा. सुमनराज ताम्राकार

युरोप, अमेरिकामा सातमध्ये एक मृत्यु क्षयरोगबाट भइरहेको समयमा सन् १८८२ मा डा. रबर्ट कोकले क्षयरोगको जीवाणु पत्ता लगाएर ठूलो राहत दिलाएका थिए। त्यो उपलब्धिको स्मरण गर्दै रोग विरुद्ध जनचेतना जगाउन वर्षेनि २४ मार्चमा विश्व क्षयरोग दिवस मनाइन्छ। क्षयरोग संक्रमणबाट हुने मृत्यु शून्यमा झार्न ‘३० लाख संक्रमितमा पहुँच, परीक्षण तथा पूर्ण उपचार’ भन्ने नाराका साथ विश्वभर १० चैतमा यो दिवस मनाइँदैछ।

हाल विश्वमा वर्षमा करीब ९० लाख व्यक्तिलाई क्षयरोगको जीवाणु संक्रमण हुने भए पनि त्यसमध्ये एकतिहाई अर्थात् ३० लाख जति संक्रमित छुट्ने गरेका छन्। तीमध्ये अधिकांश अति पछौटे ठाउँहरूमा बस्ने शरणार्थी, खानी मजदूर, लागूपदार्थ दुर्व्यसनी, यौनकर्मी छन्। समयमै त्यो संख्या पत्ता लगाएर क्षयरोगबाट मृत्यु हुनेको संख्या शून्यमा झार्न व्यापक जनचेतना आवश्यक छ।

लक्षण र निदान

क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुबाट हुन्छ। नेपालमा सबभन्दा धेरैलाई फोक्सोको क्षयरोग लागेको छ। घाँटीको गिर्खा (ग्लेन्ड), पेट, ढाडको हड्डी, गर्भाशय, शुक्रवाहिनी नली, मुटु र मस्तिष्कको झिल्लीमा पनि क्षयरोग लाग्छ। नेपालमा अहिले करीब ७५ हजार क्षयरोगी छन् भने वर्षेनि करीब २५ हजार नयाँ रोगी थपिने गरेका छन्। क्षयरोगबाट प्रत्येक वर्ष करीब ६ हजार नेपालीको मृत्यु भइरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको हरेक तेस्रो व्यक्तिमा क्षयरोग उत्पन्न गराउने जीवाणु हुन सक्छ, तर प्रतिरोधक क्षमता कम भएको अवस्थामा यो रोग लाग्छ। क्षयरोग सर्ने मुख्य माध्यम रोगीको खकार, थुक र श्वासप्रश्वास हो। कुपोषण, निम्नस्तरको जीवनस्तर तथा वासस्थान, अत्यधिक घुँइचो वातावरण तथा अशिक्षा क्षयरोग बढाउने सामाजिक तत्वहरू हुन्। क्षयरोग लागेको छ भने साँझपख मन्द ज्वरो र पसिना आउनुको साथै खानामा रुचि हराउँछ।

फोक्सोमा क्षयरोग लागेको छ भने खोकी लाग्ने, खकारमा रगत देखा पर्ने र छाती दुख्ने हुन्छ। घाँटीको ग्लेन्डमा क्षयरोग लाग्दा गिर्खाहरू सुनिन्छन्। ती ग्लेन्डहरू फुटेर पीप बग्दा पनि दुख्दैन। मस्तिष्कको झिल्लीमा क्षयरोग लाग्दा टाउको दुख्ने, गर्दन कडा हुने र काँप ज्वरो आउने हुन्छ।

बालबालिकामा पेटको क्षयरोग बढी पाइएको छ। पेटको क्षयरोग लाग्दा पेट दुख्ने, दिसा एकनासको नहुने, पेटमा पानी जम्ने, पेट फुल्ने, पेटमा पीठो मुछिएको जस्तो डल्लो भेटिने हुन्छ। ढाड र पेटको पानी वा ग्लेन्डको मासु जाँचेर फोक्सोभन्दा बाहिरको क्षयरोग पत्ता लाग्छ। फोक्सोको क्षयरोग भने एक्सरे, खकार, रगत वा छाला जाँचबाट पत्ता लाग्छ।

क्षयरोग उपचारका लागि डाइरेक्टली अब्जर्भ्ड टि्रटमेन्ट सर्टकोर्स (डट्स) प्रभावकारी प्रमाणित भएको छ। डट्स अन्तर्गत स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्षयरोगीलाई न्यूनतम ६ महीना बहुऔषधि खुवाइन्छ। उपस्वास्थ्यचौकी, स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र वा अस्पतालहरूमा क्षयरोगको औषधि निःशुल्क पाइन्छ। कतिपय डट्स केन्द्रमा खकार परीक्षणको पनि निःशुल्क सेवा छ। क्षयरोग निदानका लागि निरन्तर तीन पटक खकार जाँच गर्नुपर्छ।

बच्चाहरूलाई जन्मेको एक वर्षभित्र दायाँ पाखुरामा पाक्ने गरी एक मात्रा बीसीजी खोप दिनुपर्दछ। खोप लगाएको दिन ज्वरो आउन सक्छ। खोप लगाएको ठाउँमा फोका आयो भने त्यसलाई माड्न वा औषधि लगाउन हुँदैन।

एचआईभीको समस्या

एचआईभी/एड्स संक्रमण क्षयरोगको निदानमा समस्या हुन पुगेको छ। किनभने, एचआईभी संक्रमित व्यक्तिलाई क्षयरोग हुने खतरा ६ गुणा बढ्छ। हालैका दिनमा बहुऔषधि प्रतिरोधी (मल्टी ड्रग रेसिस्टेन्ट) क्षयरोगीको संख्यामा पनि बढोत्तरी भएको छ। क्षयरोगीले नियमित औषधि सेवन नगर्दा वा निश्चित समयसम्म औषधि नखाँदा रोगको जीवाणुमा बहुऔषध प्रतिरोध क्षमता विकसित हुन्छ।

यस्ता क्षयरोगको उपचारमा दिइने औषधिहरू थप जटिलतायुक्त र महँगो भइकन पनि प्रभावकारी नहुन सक्छ। त्यस्तो उपचारको अवधि पनि दुई वर्षभन्दा लामो हुन सक्छ। नेपालमा क्षयरोगको प्रभावकारी रोकथाम तथा उपचारका लागि चेतना विस्तार लगायत थुप्रै काम गर्न बाँकी रहेको यो अवस्थाले देखाउँछ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...