रिपोर्टसोमबार, चैत्र १७, २०७०
लोकतान्त्रिक वामपन्थ बलियो बन्दै
सामन्ती सत्ताको अवरोधले श्रम गर्ने अवसर नपाएको ठूलो श्रमशक्ति असन्तुष्ट र विद्रोही बन्नु नेपालमा सामन्ती सत्ता समाप्त हुनुको कारण थियो । २०४६ को परिवर्तनपछि विकास भएको यो वर्ग रोजगारी चाहन्थ्यो । विश्वमा कम्युनिष्ट विरोधी लहर चलिरहेका वेला नेकपा (एमाले) भने त्यही वर्गलाई बाँध्दै शक्तिशाली दल बन्यो । त्यसो गर्न सक्नुमा उसको क्रान्तिकारी पृष्ठभूमि, परिवर्तनकारी नारा र बदलिंदो सामाजिक धारलाई बुझ्न सक्ने गतिशील नेतृत्व कारण थियो ।
तर चालीसको दशकमा विभाजित भएर पचासको दशकमा एकीकृत भएको माओवादीले छोटो समयमै त्यो वर्गलाई आकर्षण गर्ने सफलता पायो । त्यस्तो सफलता पाउनुको प्रमुख कारण उसले एमालेले भन्दा अझ क्रान्तिकारी नारा लगाउनु कारण देखिन्छ । तर, शान्तिपूर्ण राजनीतिमा केही समय रहेपछि ती नाराले काम नगरेकाले ऊ पुनः एमालेभन्दा सानो हुन बाध्य हुनुपर्यो । आजको दुनियाँलाई बुझेको र देखेको त्यो वर्गले स्वतन्त्रता र आफ्नो उन्नति गर्ने अवसर पाउने व्यवस्थालाई चर्का नाराभन्दा महत्वपूर्ण ठान्यो । तल्लो वर्गका लागि राज्यले सहुलियतपूर्ण नीति लिनुपर्ने पक्षमा पनि रहेको त्यो वर्ग लोकतान्त्रिक वामपन्थ पक्षीय हो भन्ने दोस्रो संविधानसभा निर्वाचन परिणामबाट एमाले पुनः शक्तिशाली बन्नुले देखाउँछ ।
हुन त, एमाओवादीले पनि लोकतान्त्रिक वामपन्थ बन्न नै शान्तिपूर्ण बाटो र बहुदलीय प्रतिस्पर्धा अपनाएको थियो । तर, हिंसात्मक विगत, बहुलता र खुला समाजबारे द्विविधा देखाएको र जातीय/सामुदायिक विभाजनको पक्षमा उभिएकाले उसको त्यो प्रयास सफल हुन सकेन ।
खुलापनले ल्याएको परिवर्तनपछि जन्मेको त्यो वर्गको उदयले नेपाली समाजको चरित्रमा आएको परिवर्तन पनि देखाउँछ । र, त्यसले समाजको नयाँ ढंगले अध्ययन र विश्लेषण गर्न वामपन्थी आन्दोलनलाई बाध्य पार्दैछ । यसरी बाध्य बनेका नेपाली वामपन्थीमध्ये समाज पहिले जस्तै अर्धसामन्ती नै रहेको एकथरी बताउँदैछन् भने अर्काेथरी समाजको मूल प्रवृत्ति पूँजीवादी भएको विश्लेषण गर्न थालेका छन् ।
यस्ता विश्लेषण गर्ने क्रममा एमाले र एमाओवादीको एउटा पंक्तिबीच आश्चर्यजनक रूपमा समान धारणा बन्न थालेको देखिंदैछ । जसले, दुई ठूला वामपन्थी दलबीचमा नयाँ ध्रुवीकरण हुने सैद्धान्तिक संभावना बढाएको छ । समाजको मूल चरित्र निर्धारणमा दुई पार्टीबीच समान धारणा बनेमा लिइने बाटोबारे पनि उस्तै धारणा बन्ने र त्यसले एकता नजिक पुर्याउने अनुमान पनि गरिंदैछ ।
यस्तो वेला, ‘नेपाल अध्ययन केन्द्र’ नामक गैरसरकारी संस्थाले १३ चैतमा काठमाडौंमा गरेको एउटा कार्यक्रममा पनि एमालेका प्रमुख नेताहरूले यस्तै संकेत दिए । एमाले अध्यक्ष झलनाथ खनालले २०६२/६३ को राजनीतिक परिवर्तनपछि नेपाली समाज पूँजीवादी समाजमा रूपान्तरण भएको बुझाइ सबैको भएमा कम्युनिष्टहरूको एउटै केन्द्र बनाउन सकिने बताए । वरिष्ठ नेता माधवकुमार नेपालले पनि राजनीतिक रूपमा सामन्तवादको अन्त्य र पूँजीवादको व्यापक विस्तार भएकोले संक्रमणकालीन समाजको चरित्र अनुरूप सामाजिक आन्दोलनका कार्यक्रम तयार गर्नुपर्ने बताए । उनको पनि यो विषयमा एकमत हुनेबीच एकता हुनसक्ने ठहर थियो । महाधिवेशनको सँघारमा रहेकाले एमाले नेताहरूका यी भनाइ अझ महत्वपूर्ण बनेका छन् ।
एमाओवादीका नेता राम कार्कीले भने आफ्नो पार्टीकोे हेटौंडा महाधिवेशनले नेपाली समाजको मूल चरित्र पूँजीवादी रहेको निष्कर्ष निकालिसकेको बताएका थिए । एमाले महाधिवेशनले पनि त्यस्तै निष्कर्ष निकाल्ने हो भने कम्युनिष्टहरूबीच सैद्धान्तिक दूरी कम हुने उनको धारणा थियो ।
‘आजको नेपाली समाजः अबको कम्युनिष्ट आन्दोलन’ विषयक उक्त कार्यक्रममा एमाले नेता घनश्याम भुसालले नेपाली समाजको व्याख्या गर्दै कम्युनिष्ट पार्टीहरूले समाजको वस्तुनिष्ठ विश्लेषण गर्न नसकेकाले कार्यक्रमहरूमा अलमलिनु परेको बताएका थिए । आजका कम्युनिष्ट पार्टीहरूमा भने अनुसार नगर्ने र गरे अनुसार नभन्ने प्रवृत्ति रहेको उनको भनाइ थियो । सैद्धान्तिक आधार नभएको विषयलाई आधार बनाएर संघर्ष गर्छौं भनेकाले संघर्ष हुन नसकेको तथा चुनावदेखि चुनावसम्मको दौडमा अलमलिनु परेको पनि उनले बताए ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
