थप समाचारसोमबार, चैत्र १७, २०७०

पूर्वी पहाडमा झुसिले आतंक

हिमालखबर

लक्ष्मी गौतम, पाँचथर

गाविस र इलाका परिषद्ले जिल्ला विकास समितिसँग मोटरबाटो खन्ने, त्यसमा ग्राभेल गर्ने, खानेपानी ल्याउने, पुल–पुलेसा बनाउने र मर्मत गर्ने जस्ता माग राख्ने गरेकोमा पाँचथरका एक दर्जन गाविस र इलाका परिषद्ले भने झुसिल्किरा नियन्त्रण गर्न माग गरे ।

झुसिल्किराले गाईवस्तुले खाने डालेघाँस, जंगल, अलैंची र अम्रिसो नष्ट पार्दै खानेपानीको मुहानलाई समेत फोहोर र असुरक्षित बनाएपछि ती गाविस र इलाका परिषद्ले यो वर्ष यस्तो माग गरेका हुन् ।

रोग बढायो

मलिलो र ओसिलो माटो भएका ठाउँका रूख–बुट्यानमा लाग्ने टाउको र शरीर हल्का रातो भएको यो कीरालाई शरीरमा कडा रौं (झुस) हुने भएकाले झुसिल्किरा भनिएको हो । यसको रौं पर्नासाथ मान्छे र जनावरको शरीर चिलाउने, फोका उठ्ने, घाउ बढेर आँखा र जिब्रो पाक्ने गर्छ ।

घाम तात्न थालेपछि रूखका फेदमा थुप्रिने र साँझ पर्दै गएपछि रूखको टुप्पातिर चढ्ने भएकाले यसलाई काउछो र लस्करे कीरा पनि भनिन्छ ।

गत असोज महीनादेखि इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङमा देखिन थालेको यो कीराको बढी प्रकोप पाँचथर पूर्वोत्तरका सिदिन, मेमेङ, प्राङवुङ, एकतिन, च्याङथापु, फलैंचा, लुङरुपा, याङनाम, रानीटार र ओयाम गाविसमा बढी छ ।

२९ फागुनमा गाईलाई घाँस काट्दा पाँचथर एकतिन–३ जिमाहाका पदमध्वज आङथोपुको आँखामा झुसिल्किराको झुस पसेर चिलाउन थालेपछि स्वास्थ्यकर्मीको सल्लाहमा ‘आइड्रप’ हाल्दा पनि निको नभएर आँखा सुन्निंदै पाक्न थाल्यो । जिल्ला अस्पतालमा अप्रेशन गराएका उनी भन्छन्, “झुसिल्किराले झन्डै आँखाको ज्योति लग्यो ।” झुसिल्किराको झुस बिझेर आँखाको उपचार गराउन पाँचथरको एकतिन, मेमेङ र प्राङवुङ गाविसका दर्जनौं मानिस आएको स्थानीय स्वास्थ्यकर्मी बताउँछन् ।

झुसिल्किराको झुस पसेपछि आँखाको अप्रेशन गरेर आराम गरिरहेका पदमध्वज आङथोपु । तस्वीरहरुः लक्ष्मी गौतम

रूख, पात र भुईंघाँसमा छरिएका झुस खाएर गाईवस्तुको च्यापु, जिब्रो सुन्निने, रौं झ्र्ने र आँखा पाक्ने समस्या पनि देखिएको छ । मेमेङ–३ की मनिता जवेगू यो समस्याले कैयौं गाईवस्तु मरेको बताउँछिन् । खानेपानी मुहानबाट झुस बगेर धारामा आएपछि त्यो पिउने मानिस र गाईवस्तुमा जिब्रो र घाँटी चिलाउने समस्या देखिएको पनि उनको भनाइ छ ।

प्राङवुङ गाविसका प्राविधिक सहायक उदय तिम्सिना झुसिल्किराले पुराना पात र नयाँ पालुवा समेत खाएकाले उत्तिसको जंगल र डालेघाँसका रूख उजाड देखिएको र पानीको मुहान पनि सुक्न थालेको बताउँछन् । झुसिल्किरा बस्ने रूखको आसपासमा घाँस पनि नपलाउने हुँदा बालीनाली उम्रन नसकेको उनको भनाइ छ । बतास चल्दा रूखको झुस उडेर पैदल र सवारी साधनका यात्रुलाई समस्या पारेको फिदिम—याङनाम—फालौट मार्गका ट्याक्सी चालक हस्त मगर बताउँछन् ।

स्थानीय निकायको चासो

प्राङवुङ, मेमेङ, सिदिन, च्याङथापु, लुङरुपा र एकतिन गाविस, तीन नम्बर इलाका परिषद् बैठकले झुसिल्किरा नियन्त्रण गर्न जिविससँग माग गर्दा शुरूमा आश्चर्य लागेको पाँचथरका स्थानीय विकास अधिकारी तुलसीबहादुर श्रेष्ठ बताउँछन् । तर, दलका प्रतिनिधिसँग लुङरुपा गाविस पुगेपछि जिल्ला विकास समितिको स्रोतले मात्र समस्या समाधान नहुने देखेर वन, पशुसेवा र कृषि विकास कार्यालयको राय सहित स्थानीय विकास, वन र कृषि मन्त्रालयमा बजेट माग गरिएको उनको भनाइ छ ।

झुसिल्किरा नियन्त्रण गर्ने उपाय जिल्ला कृषि र वन कार्यालयले अझै पत्ता लगाउन सकेका छैनन् । विषादि प्रयोग गरेर नियन्त्रण गर्न सकिए पनि वन्यजन्तु र वातावरणमा प्रतिकूल असर पार्ने र खर्चिलो पनि हुने जिल्ला कृषि विकास कार्यालय पाँचथरका बाली संरक्षण अधिकृत लक्ष्यबहादुर चौधरीको भनाइ छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>