ब्लगमंगलबार, चैत्र १८, २०७०
‘प्लेन हाइज्याक’ मा पर्दा…
नर्वेमा भएको युनेस्कोको विश्व सम्मेलनमा भाग लिएर नेदरल्याण्ड्सको आम्सट्राडामबाट फर्कंदै गर्दा २५ नोभेम्बर १९७३ मा लेबनानको बेरुतबाट म चढेको डच एयरलाइन्सको जम्बोजेट विमान इराकको आकाशमा पुगेपछि अपहरणमा पर्यो। इजरायलसँग द्वन्द्वरत प्यालेस्टाइनी विद्रोही समूहले ३३ घण्टा नियन्त्रणमा लिएको २४७ यात्रु सहितको त्यो विशाल विमानमा म एक्लो नेपाली थिएँ। ४०० सीटको त्यो जहाजमा २१० जना जापानी थिए भने खाली सीट रहेको ठाउँमा कार्गो राखिएको थियो।
नर्वेबाट सानो जहाजमा आएकोमा आम्सट्राडामबाट भर्खरै सञ्चालनमा आएको जम्बोजेट विमान चढ्दा वेग्लै आनन्द लागिरहेको थियो। बेरुतको ट्रान्जिटबाट नयाँदिल्लीको लागि जहाज उडेपछि बेलुकीको खाना खाएर अगाडि राखिएको भिडियो स्त्रि्कनमा मनोरञ्जनात्मक कार्यक्रम हेर्न थालें।
त्यहीवेला अगाडिको बिजनेस क्लासतिरबाट जहाजका ‘स्टेवार्ड’ लाई एक तन्नेरीले गाली गर्दै अन्य यात्रु भएतिर लखेटेको देखियो। त्यसपछि ऊ मेरो लाइनकै खाली सीटमा आएर बस्यो। उसलाई पछ्याउँदै हातमा ग्रिनेड बोकेको अन्दाजी २० वर्षको र पेस्तोल बोकेको २८ वर्षजतिका युवाहरू अरबी भाषामा गाली गर्दै आए। र, अगाडि रहेका हामीलाई पछाडि जाने आदेश दिए। त्यही वेला माइकमा जहाजको क्याप्टेनले केही भन्न खोजेको सुनिंदै गर्दा माइक ‘अफ’ भयो।
यति भएपछि जहाज ‘हाइज्याक’ भएको बुझन गाह्रो परेन। तर; कसले, किन र अब के हुन्छ भन्नेमा भने सबै यात्रु अन्योलमा थियौं। केहीबेरमै ककपिटमा बसेको तेस्रो अपहरणकारीले ‘वी आर सरी टु दिश’ भन्दै टुटेफुटेको अंग्रेजीमा बोल्न शुरू गर्यो। नेदरल्याण्ड्स सरकारले प्यालेस्टाइन विरोधी नीति लिएको र त्यो जहाजले इजरायलका लागि हतियार सप्लाइ गरेको भन्ने उसको आरोप थियो। त्यसपछि उसले सबै यात्रुलाई टाउकोमा हात राखेर घोप्टो पर्न आदेश दियो। उसले यात्रुहरूप्रति नरमभाव देखाउँदै जहाजलाई चाहिं जे पनि गर्न सक्ने चेतावनी दियो। धेरै यात्रुहरू आतंकित बने पनि मलाई भने ‘एड्भेन्चर’ महसूस भइरहेको थियो।
आफू वरिपरिका गतिविधि र जहाज रोकिंदा झयालबाट देखिने दृश्यबाहेक अरू केही थाहा पाउने स्थिति थिएन। तर, जहाज पुगेका सबै देशका सरकार र अपहरणकारीबीच मध्यस्थता र दोभाषेको भूमिका निभाएका लेबनानका पूर्व राष्ट्रपतिका छोरा र म अपहरण मुक्त भएपछि आम्सट्राडाम फर्कंदा एउटै सीटमा परेकाले ३३ घण्टाका सबै घटनाको जानकारी पाएँ।
३३ घण्टामा पाँच देश
३३ घण्टामा त्यो जहाजलाई अपहरणकारीले लेबनान बाहेक अरू चार देश पुर्याए। सिरियाको दमास्कसमा एक घण्टा रोकेर उडेको जहाज डेढ घण्टापछि साइप्रसको निकोसिया पुग्दा रातको ११ बजेको थियो। त्यहाँ आधा घण्टा रोकेर अपहरणकारीले माग राखेपछि जहाज लिवियाको राजधानी त्रिपोली लाग्यो। त्यतिवेलासम्म नेदरल्याण्ड्स सरकारले आपतकालीन क्याबिनेट बैठक राखेर प्रो―इजरायल नीति फिर्ता लिने निर्णय लिइसकेछ भने डच एयरलाइन्सले पनि इजरायलका लागि कहिल्यै हतियार नबोकेको स्पष्टीकरण दिइसकेको रहेछ।

लिवियाका राष्ट्रपति मुहम्मर अल गद्दाफी छिमेकी देश माल्टा गएकाले जहाजबारे निर्णय गर्न उनी नै आउनुपर्ने थियो । तर, माल्टाबाट फर्किएका गद्दाफीले अपहरणकारीको माग नसुनी विना शर्त यात्रु छाड्नुपर्ने अडान लिए । यता अपहरणकारी भने जबरजस्ती जहाज उडाउने योजना बनाउँदै थिए ।
झयालबाट बाहिर हेर्दा लिवियाको सेनाका गाडी र ट्याङ्कले जहाजअघिको रनवे छेकेको देखिन्थ्यो। त्यहाँ विमानस्थल विस्तार गरिंदै रहेछ। अर्को रनवे बनाउन ग्राभेलिङ हुँदै गरेको देखिन्थ्यो। रातभरि केही नखाएकाले हामीलाई भोक लागेको थियो। केहीबेरमा खाना त आयो, तर अपहरणकारीहरूका लागि मात्रै। जहाजमा खानेपानी पनि सकिएको थियो। यसैबीच शुरूमा ग्रिनेड बोकेर थर्काउने अपहरणकारीसँग आँखा जुध्दा म हाँसेपछि ऊ पनि मुस्कुरायो।
लिवियाका राष्ट्रपति मुहम्मर अल गद्दाफी छिमेकी देश माल्टा गएकाले जहाजबारे निर्णय गर्न उनी नै आउनुपर्ने थियो। तर, माल्टाबाट फर्किएका गद्दाफीले अपहरणकारीको माग नसुनी विना शर्त यात्रु छाड्नुपर्ने अडान लिए। यता अपहरणकारी भने जबरजस्ती जहाज उडाउने योजना बनाउँदै थिए। इन्जिन स्ट्राट गरेपछि ३२ वर्ष जतिका मुख्य अपहरणकारीले गद्दाफीलाई ग्राभेल गरिएको रनवेबाट जहाज उडाउन लागेको बताउँदै केही भएमा जिम्मेवार हुनुपर्ने बताए। नभन्दै केहीबेरमा जहाज कच्ची रनवेमा दौडन थाल्यो। नजिकैका रूखहरूबाट बँच्दै जहाज केहीछिनमै आकाशमा पुग्यो। विमानस्थलमा रहेका लिवियाको सेनाले केही गर्न सकेन।
समुद्रमा फाल हान्ने तयारी
त्रिपोलीबाट माल्टाको आकाशमा जहाज पुगेपछि अपहरणकारीसँग त्यहाँका प्रधानमन्त्री डम मोटीफले आफ्नो विमानस्थल ७४७ जस्तो ठूलो जहाजका लागि उपयुक्त नभएकाले अन्यत्र जान भने। तर, जहाजमा इन्धन सकिएकाले अन्त जाने अवस्था थिएन। एयरपोर्टको टावरबाट प्रधानमन्त्री र ककपिटबाट अपहरणकारीबीच वार्ता भइरहँदा जहाज माल्टा नजिकैको समुद्रमाथि उड्दैथियो।
त्यसपछि अपहरणकारीले ‘रनवेमा बस्न नदिने हो भने यात्रुहरूलाई समुद्रमा खसालेर एयरपोर्टमा जहाज झारिदिने’ धम्की दिए। नभन्दै अपहरणकारीले हामीलाई आकस्मिक ढोका खोल्ने तरिका सिकाउँदै लाइफ ज्याकेट बाँडे। त्यसरी हामी एक घण्टासम्म ज्याकेट लगाएरै हाम फाल्न तयार रह्यौं। मेरो पछि रहेकी एक भारतीय महिलाका चार जना साना बच्चा भने नयाँ ज्याकेट लगाउन पाएकोमा रमाउँदै दौडिरहेका थिए। यस्तैमा साँझ् ७ बजेतिर प्रधानमन्त्री मोटीफले यात्रुसहित जहाज एयरपोर्टमा ल्याण्ड गर्ने अनुमति दिंदै रनवे छोटो भएकाले सावधानीसाथ स्पीड ब्रेक लगाउन भने। केहीबेरमै जहाज तल झर्यो र सीट बेल्ट झन्डै चुँडिने गरी ब्रेक लाग्यो। सीट बेल्ट नबाँधेको भए शायद हामी रकेट जस्तै उछिट्टिने थियौ होला।
त्यसपछि पनि अपहरणकारी र प्रधानमन्त्री मोटीफबीच ‘बार्गेनिङ’ चलिरहयो। अपहरणकारीले पहिले जहाजमा तेल भर्न माग गरे भने मोटीफले पहिले यात्रु छाड्नुपर्ने अडान राखे। केहीबेरमा इन्धनसँग यात्रु साट्ने सहमति भए पनि दुवै पक्ष पूरै विश्वास गर्ने अवस्थामा थिएनन्। फुल ट्याङ्की भर्न ७० हजार लिटर इन्धन चाहिने भएकाले ३५ हजार लिटर हालेपछि ५० प्रतिशत यात्रु छाड्ने र बाँकी इन्धन भरेपछि सबै यात्रु छाड्ने सहमति भयो।
३५ हजार लिटर इन्धन भर्न ट्याङ्करहरू आए र अग्लो भर्याङ लगाइयो। जम्बोजेट विमानका लागि माल्टा एयरपोर्टमा सुविधा रहेनछ। पहिलो लटको इन्धन भर्न तीन घण्टा लाग्यो। त्यसबीच मध्यरातमा हाम्रा लागि ‘पेन केक’ आयो। राति दुई बजे आधा तेल भरेपछि आधा यात्रुको नाम बोलाइयो। तर, मेरो नाम आएन। बाँकी तेल भर्दा बिहान पाँच बज्यो। सबै यात्रुको नाम भनिसक्दा पनि मेरो नाम आएन। म छक्क परेको वेला नजिकैको यात्रुले अपहरणकारीले संकलन गरेको राहदानीका आधारमा नाम बोलाइएको बताए। मेरो राहदानी पहिले बसेको अगाडिको सीटमा ह्याण्डब्यागमा रहेकाले दिएको थिइनँ।
अपहरणकारीले पनि एक जना यात्रुले राहदानी नदिएको थाहा पाएर ऊ इजरायली हुनसक्ने अनुमान गरेका रहेछन्। मैले ब्यागबाट राहदानी निकालेर मसँग अघि आँखा जुधाउने अपहरणकारीलाई ‘सर माई पासपोर्ट’ भन्दै दिंदा उसले आँखा तर्दै पासपोर्ट लियो। केहीबेरमा मेरो नाम पनि बोलाइयो। त्यसपछि टुरिष्ट बसले हामीलाई माल्टाको फाइभस्टार होटलमा पुर्यायो र शाही भोज खुवाइयो।
बिहानी पख माल्टा घुमेपछि बेलुकी दुई वटा साना जहाज हामीलाई लिन आए। म चढेको जहाज आम्सट्राडाम नै फर्कियो। हामीलाई छाडेपछि बन्धक बनाइएको जहाज दुबई लगिएछ र त्यहाँबाट अपहरणकारीलाई रिहा गरिएछ। हामी आम्सट्राडाम विमानस्थलमा ओर्लंदै गर्दा अपहरणमा परेको जहाज पनि सँगै ल्याण्ड गर्दैथियो, जहाँ मेरो लगेज थियो।
मेरा लागि जहाज अपहरणको त्यो घटना डरभन्दा पनि रोमाञ्चक रह्यो। तर त्यसको २० दिनपछि बीबीसी रेडियोले एथेन्समा अर्को हवाइजहाज अपहरण भएको र अपहरणकारीले ६ जना यात्रुको हत्या गरेको खबर सुन्दा भने म डराएर निदाउन पनि सकिनँ।
म नेपाल फर्कंदा निकै कमलाई त्यो जहाज अपहरण भएको र म त्यहाँ रहेको थाहा थियो। त्यो वेला म राजदरबारको जाँचबुझ् केन्द्रको सेक्सन अफिसर थिएँ। केही महीनापछि मेरो कार्यालयमा केएलएम जहाजका काठमाडौं, नयाँदिल्ली र बंगलादेशका प्रमुखहरू आए। उनीहरूले अपहरणमा परेर मानसिक पीडा भोग्नु परेकोमा ‘सरी’ भन्दै एउटा खाम दिए र खोल्न भने। जहाँ क्षतिपूर्ति बापत ११२० अमेरिकी डलरको चेक थियो। १ डलरको त्यो वेला रु.१० रहेकाले मैले रु.११ हजार २०० पाएको थिएँ।
प्रस्तुतिः डम्बरकृष्ण श्रेष्ठ
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
