रमझमबुधबार, चैत्र १९, २०७०

बलिउडमा सम्पदा

हिमालखबर

चार वर्षअघि नयाँदिल्लीस्थित एसियन एकेडेमी अफ फिल्म एन्ड टेलिभिजनबाट सिनेमामा स्नातकोत्तर गरेकी सम्पदा मल्ल क्रियटिभ प्रोड्युसर रहेको फिल्म ‘केरी अन कुत्तो’ अहिले रिलिजको तयारीमा छ।

यो फिल्म मुम्बईकै त्रिशांक इन्टरटेनमेन्टले निर्माण गरेको हो। त्रिशांक इन्टरटेनमेन्ट सम्पदा सहित उनका सहपाठी अशोक यादव र शशांक शेखर सिंहको हो भने चलचित्रको निर्देशक अशोक हुन्।

शाहरूख खानको ‘रेड चिल्लिज’ कम्पनीको ‘अलवेज कभी कभी’ बाट डेब्यु गरेका सत्यजीत दुबे र ग्यांग्स अफ वासेपुर फिल्मबाट चर्चित भएका पर्पेन्डिकुलर (आदित्य कुमार) ‘केरी अन कुत्तो’ मा मुख्य कलाकार छन्।

चलचित्र निर्माण प्रक्रियाको गहिरो ज्ञान भएकालाई क्रियटिभ प्रोड्युसर बनाइन्छ। क्रियटिभ प्रोड्युसरले फिल्मको स्क्रिप्ट छान्नेदेखि रिलिजसम्मका सम्पूर्ण सिर्जनात्मक पक्ष हेर्छ। नेपाली फिल्ममा यस्तो चलन शुरु भइसकेको छैन।

सम्पदाले बलिउडमा आफ्नो फिल्म करिअर शुरु भएको हिमाल सँग बताइन्। उनले पढाइ सकिनासाथ स्टारप्लसको ‘ये रिस्ता क्या कहलाता है’ र ‘नाभ्या,’ कलर्सको ‘उतरन’ र ‘भाग्यविधाता,’ सोनीको ‘परवरिस’, लाइफ ओकेको ‘सौभाग्यवती भवः’ लगायतका चर्चित टेलिसिरियलहरूको एसोसिएट स्क्रिन प्ले राइटर भएकी थिइन्।

यशराज फिल्मसको चलचित्र ‘शुद्धदेशी रोमान्स’ को डकुमेन्ट्री मेकरको जिम्मेवारी पनि उनले पाएकी थिइन्। तर, आफ्नै फिल्मको काम शुरु भएकोले त्यो काम बीचमै छोड्नुपरेको सम्पदा बताउँछिन्।

नेपालीमा प्रतिबिम्ब नामक छोटो फिल्म बनाएकी उनी रंगकर्मी अशेष मल्लकी छोरी हुन्। सम्पदा भन्छिन्, “फिल्म प्रदर्शनपछि मेरो करिअरले गति पाउनेमा विश्वस्त छु।”
ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>