रिपोर्टबिहीबार, चैत्र २०, २०७०
छाला दान गरीबलाई वरदान
गहिरो गरी आगोले पोलेका बिरामीको ज्यान बचाउन उनकै या अरूको शरीरको नजलेको छाला काटेर राख्न जरूरी हुन्छ। यस्ता बिरामीको ज्यान जोगाउन कीर्तिपुर अस्पतालमा नेपालको पहिलो ‘स्किन ब्याङ्क’ चैत तेस्रो सातादेखि सञ्चालनमा आउँदैछ। यसका लागि आँखा दान जस्तै मृत्युअघि नै गरिएको छाला दानबाट जलेका बिरामीहरूको ज्यान जोगाउने दीर्घकालीन योजना छ।
न्यून आय भएका परिवारमा खाना पकाउन र सेक–ताप गर्न आगो बाल्ने चलन भएकोले यस्ता ९० प्रतिशत घटना गाउँघरमै हुन्छ। देशभर आगोले पोलेर अस्पतालसम्म पुगेका ५५ हजार बिरामीमध्ये दुई हजारको मृत्यु हुने गरेको तथ्याङ्क छ। ‘स्किन ब्याङ्क’ स्थापनाका लागि अहोरात्र खटिएका अस्पतालका बर्न तथा प्लाष्टिक सर्जरी विभाग (बीपीएसडी) प्रमुख शंकर राई भन्छन्, “पहिलो समस्या त आगोले पोल्दा उपचार नै पाइँदैन, अस्पताल पुग्दा पनि उपचार र औषधि ज्यादै महँगो छ।”
पोलेपछि के गर्ने भन्ने चेतना र अस्पतालमा ‘स्किन ट्रान्सप्लान्ट’ सुविधाको अभाव त छँदैछ। परिणाम, ३० प्रतिशत भन्दा बढी शरीर जलेका बिरामी उचित उपचार नपाएरै मर्छन्। विदेशका अस्पतालमा शल्यक्रिया सम्बन्धी उपकरण र ‘स्किन ब्याङ्क’ सुविधा भएकाले आगोले ९० प्रतिशत शरीर जलेका बिरामी पनि बाँच्छन्। काठमाडौंका शिक्षण, वीर, कान्ति, सुष्मा कोइराला मेमोरियल, काठमाडौं मेडिकल कलेज र कीर्तिपुर अस्पतालमा मात्र छाला ‘ट्रान्सप्लान्ट’ सुविधा छ। काठमाडौं बाहिर ठूला अस्पतालमा समेत ‘डिप फायर बर्न’ (गहिरो गरी पोलेको) सेवा छैन।
कीर्तिपुर अस्पताल हातामा खुलेको ८ डाक्टर, २१ नर्स र ४४ बेड भएको आईसीयू सेवा सहितको बीपीएसडीमा देशभरका बिरामी आइपुग्ने गरेका छन्। यसका लागि सरकारले भवन बनाइदिएको छ। रिसर्च इन्टरनेशनल, अप्रेशन स्माइल, वण्डर बक्स लगायतका संघ–संस्थाको सहयोगमा मोडल अस्पतालले चलाएको बीपीएसडीमा जलेका बाहेक जन्मँदै ओठ, तालु फाटेकाहरूले शल्यक्रिया र प्लाष्टिक सर्जरीको निःशुल्क सेवा पाएका छन्। बीपीएसडीको उद्घाटन ८ चैतमा भए पनि सेवा एक वर्ष अघिबाटै शुरू भएको हो। यहाँ गत माघयता मात्र अत्यधिक जलेका २० जना बिरामीको शल्यक्रिया गरेर छाला ‘ट्रान्सप्लान्ट’ गरिएको छ।
अँगेनाछेउमा बहिनीलाई खाना खुवाउँदा लुगामा सल्केको आगोले आधा शरीर जलेकी अमरवस्ती–९, धनगढीकी नौ वर्षीया पुष्पा चौधरीको उपचार धनगढी अस्पतालले गर्न नसकेपछि २९ फागुनमा कीर्तिपुर अस्पताल ल्याएपछि ज्यान बचेको उनका बाबु पतिराम चौधरीले बताए। लमजुङको निर्माणाधीन सडकमा काम गर्दा १२ फागुनमा करेन्टले जलेका सुरेश कुमाल (१८) को उपचार गर्न काठमाडौंको एक नर्सिङ होमले रु.५ लाख मागेको थियो। उनले कीर्तिपुरमा निःशुल्क उपचार पाएका छन्, तर ढिलो आइपुगेकाले ज्यान बचाउन दुवै हात काट्नु परेको छ।
‘ट्रान्सप्लान्ट’ विधि
आगोले पोलेको घाउ दुई किसिमको हुन्छ– आफैंले ड्रेसिङ गर्दा निको हुने ‘सुपर फिसियल बर्न’ र गहिरो पोलेको ‘डिप बर्न’। ‘डिप बर्न’ मा नयाँ छाला नटाँसे ढिलो–चाँडो बिरामीको मृत्यु हुन्छ र बाँचे पनि अङ्गभङ्ग या कुरुप हुन्छ। ‘डिप बर्न’ भएको १० दिनभित्र अर्को छाला ‘ट्रान्सप्लान्ट’ गरिसक्नुपर्छ।
आगोले जलेको ठाउँबाट शरीरको लागि आवश्यक सबै पानी सुक्छ या बगेर जान्छ। रोगसँग लड्ने क्षमता पनि हराउँछ। जलेको छालामा लचकता हराएर कडापन आउँछ। त्यस्तो भागमा नयाँ छाला नराखे दुई/तीन सातामा ‘इन्फेक्सन’ पनि हुन्छ। जलेको छालामा कडापन बढ्दै जाँदा रक्त सञ्चालन प्रक्रिया अवरुद्ध भएर हातखुट्टा काट्नुपर्ने हुन सक्छ। शरीरको २०/३० प्रतिशत भाग जले पनि तिघ्राको छाला साबूत छ भने त्यसलाई ‘ड्रमाटोन’ मेशीनले झिकेर पोलेको ठाउँमा टाँसिन्छ।
तिघ्राको एक हात छाला तन्काएर जलेको तीन हात जति ठाउँमा ‘ट्रान्सप्लान्ट’ गर्न सकिने भएकाले दुइटा तिघ्राको छालाले आधा शरीरलाई पुर्याउन सकिन्छ। एक महीना अगाडि जलेकी बुहारीको ज्यान बचाउन बुटवलका एक जेठाजुले छाला दिएका थिए।
बीपीएसडीका रजिष्ट्रार डा. विशाल कार्कीका अनुसार, शरीरले आफ्नो र अर्काको छाला छुट्याउन दुई/तीन सातासम्म लगाउँछ। अरूको छाला भए शरीरले ठीक हुँदै जाँदा अर्काको छाला फ्याँकिदिन्छ। त्यो अवस्थामा फेरि उसकै पलाइसकेको ठाउँको छाला काटेर राख्नुपर्ने भएकोले पुगेसम्म बिरामीकै छाला राख्नु उत्तम हुने डा. कार्की बताउँछन्।
गाउँघरका चूलो वा अँगेना साना केटाकेटीको सहज पहुँचमा हुने हुँदा वामे सर्ने उमेरका धेरै बालबच्चा आगोमा पर्ने गरेका छन्। डा. कार्की गाउँघरमा जलेका ९० प्रतिशतको हातखुट्टा, छाती र ढाड जलेको पाइएको बताउँछन्। करेन्ट लागेर जल्नेको संख्या १० प्रतिशत छ। साना बच्चाहरू तातोपानी र दूधले समेत जल्ने गरेको बताउँदै डा. कार्की भन्छन्, “नेपालमा आगोबाट कसरी जोगिने भन्ने चेतनाकै अभाव छ।”
———————————————————————————————————————————————-
देशकै पहिलो ‘स्किन ब्याङ्क’
नेपालको स्वास्थ्य सेवामा रक्त दान मात्र होइन मृत्युपर्यन्त आँखा दान र शरीर दानको राम्रो अभ्यास हुँदै आएको छ। कीर्तिपुर अस्पतालले ‘स्किन ब्याङ्क’ स्थापना गरेपछि अब ‘छाला दान, जीवन दान’ को नयाँ अवधारणा पनि प्रयोगमा आउनेछ। ‘स्किन ब्याङ्क’ ले मृत्युपछि शरीरको छाला उपलब्ध गराउन सार्वजनिक आह्वान गर्र्दैछ। परिवारको समेत मञ्जुरीमा छाला दान गर्ने उदारमनाहरूको मृत्यु भएपछि तिघ्राको छाला झिकी ‘स्किन ब्याङ्क’ मा राखेर जलेका बिरामीमा ‘ट्रान्सप्लान्ट’ गरिनेछ।
अस्पतालका बीपीएसडीका प्रमुख डा. शंकर राईका अनुसार ‘छाला दान’ गर्ने व्यक्तिको मृत्यु भएको ६ घण्टाभित्र तिघ्राको छाला झिकेर शरीर फिर्ता गरिनेछ। यसरी निकालेको छाला पाँच वर्षसम्म काम लाग्छ। दुई जना मृत व्यक्तिको छालाले ९० प्रतिशत शरीर जलेको एक जनालाई बचाउन सकिने डा. राई बताउँछन्।
———————————————————————————————————————————————–
आगोले जलेमा
** जल्नासाथ नदौडिने बरु भुईंमा लडीबुडी गरेर शरीरको आगो निभाउने।
** पोलेको ठाउँ नडुबाउने, बग्ने पानीले पखाल्ने। पानीले पखाल्दा घाउलाई गहिरो हुन दिंदैन।
** पोलेको ठाउँमा बरफ दल्दा तत्काल सञ्चो लागे पनि रक्त सञ्चालनमा अवरोध गरेर खतरा बढाउँछ।
** अनुहार पोलेमा श्वास–प्रश्वासको नली फुलेर तुरुन्तै मृत्यु हुने भएकाले चाँडो उपचार केन्द्रमा पुर्याउने।
साप्ताहिक खबरपत्रिका हिमालबाट